सालिक -अमर न्यौपाने

उज्यालो चिसिँदै गरेको साँझ । भीडको ओहोरदोहोर । दिउँसोको काम सकेर साँझको बन्दोबस्तमा जुटेको चोक र चोकको परिवेशलाई नियालिरहेका छन्, तलाउजस्ता एक जोर पुराना र गहिरा आँखा, चोकको पूर्वउत्तरतिर रहेको तीनतले पहेँलो घरको तेस्रो तलाको सडकतिर फर्केको कोठाको झ्यालबाट ।

अब्दुल अलि यो सहर कलिलै हुँदा यही सहरको मझेरीमा जन्मिएको रे । ऊ जन्मेको पन्चानब्बे वर्ष भयो रे । उसले थाहा पाएकै एकानब्बे वर्ष भयो । सहर अहिले अझ जवान भएको छ । ऊ बूढो भयो । ऊ, उसको बा, हजुरबा… जन्माउने यो सहर समय बित्दै जाँदा झन्झन् जवान भएको हेरिरह्यो । हेरेर मात्र चित्त बुझेन । पहेँलो कागजमा लेख्यो – ‘यो सहर कहिले बूढो हुन्छ ? सायद मान्छेहरू जति जन्माउँछ सहर त्यति जवान हुन्छ । आफ्नै आँखामा बुढिएको म र आफ्नै आँखामा मस्त भएको यो सहर समय हिँड्दै जाँदा किन झन्झन् जवान हुँदैछ ? हातहरू कामे थर्र…रअ । लेखेर सुस्तायो ।
उसलाई लेख्न मन पर्छ । उर्दूमा । हिन्दीमा होइन । आजभोलि नेपालीमा लेख्न मनपर्छ तर उर्दू शायरहरू औधी मन पर्छन् । उमेरका कारण मन परेका कुरा गर्न नसकेको सम्झेर चोक नियाल्यो । नियालिरह्यो झ्यालबाट । समयले उसको आँखाको शक्ति खोसेको रहेनछ अझै । देख्छ, चस्मा नलगाएरै यो सहर झ्यालबाट देखिनेसम्म । हिउँजस्तो सेतो दाह्री सुम्सुम्यायो ।
लेख्तै गयो – ‘यो सहर आफ्नो जवानी बेचेर पनि बूढो हुँदैन । जवानीमा पनि यति फोहरी यो सहर बूढो भएपछि कस्तो होला ? यो सहरले नुहाउनै जानेको छैन । कहिलेकाहीँ प्रकृतिले नै नुहाइदिँदा पनि आफ्नो शरीर पखालेको मैलो पानी आफ्नै शरीरका खोल्साखाल्सीमा जमाएर, कुहाएर भ्यागुता र सर्प पालेर बाँच्छ यो सहर । फोहरकै कारण कहिले सुकेलुतो, कहिले पाकेलुतो कहिल्यै छुट्तैन यो सहरलाई र पनि यो ठाउँले निरन्तर कहिल्यै नटुङ्गिने कथा बाँचिरहेछ । असङ्ख्य मानिसहरूको कथा बोकेर समय हिँडिरहेछ ।
उमर खोर्याम, वसिरबद्र आफताब राय ‘रूसवा’ जस्ता उर्दू सायरहरूको गजल उसलाई मन पर्छ । आफू पनि त्यही प्रभावमा लेख्ने गर्छ । लेख्छ कहिलेकाहीँ । छाप्न मन गर्दैन । लेख्तै च्यात्छ आफ्नो उमेरझैँ। केही सम्झेझैँ लेख्यो एक सेर– अतीत बिर्सिएर सहर ओहोरदोहोर गर्छ ।
आफ्नै जवानीलाई किन यति फोहोर गर्छ ।।
अरु सेर लेख्न सकेन । फर्द भयो । बाकी गद्यमै लेख्यो – ‘यो सहर इतिहास बिर्सन खोज्छ । वरिपरिका घरहरू चोकलाई आफ्नो इतिहास सम्झाउन खोज्छन् । फरकफरक शासनव्यवस्थामा यो चोक फरकफरक सालिक भएर उभिन्छ र भीडलाई मौन पत्थरको अमूक आदेशले नियन्त्रण गर्न खोज्छ । अहिले चोकमा यो भीडलाई हेर्ने, नियन्त्रण गर्ने कुनै पत्थरको संवेदना उभिएको छैन । यो चोक अहिले नयाँ सालिक कुरिरहेछ । नयाँ नाम खोजिरहेछ ।’
लेख्तालेख्तै अचानक सहरभरि झ्याप्प बत्ती गएपछि बूढाले लेख्न सकेन । अँध्यारो पो भइसकेछ ! बत्ती गएपछि उसले शून्य अनुभव गर्यो। धमिलो उज्यालोमा चोक देखेन । तकियाको आडेस लागेर पल्टियो तन्द्रामा परेझैँ । बूढो समय उसको आँखा अगाडि चोकमा एकतमासले पोखियो ।
सहर अघिल्लो दिनदेखि नै नुहाएर सुकिलो थियो । मानिसहरू सहर सजाउनमा व्यस्त थिए । गाउँलेजस्ता देखिने सहरबासीहरू आफ्नो चोकलाई गाउँजस्तै सहर सम्झन्थे ।
कलिलो सहर शिशुजस्तै सुन्दर । चोकको चारैतिर सडककिनारामा लामबद्ध तीन सयभन्दा बढीको हाराहारीमा एकनासका कोठीहरू । भर्खर तातेताते हिँड्न खोजेको बजार । चोकमा कुनै सालिक थिएन । त्यहाँ पनि एउटा कोठी थियो, जसलाई सबै ‘कोतुवाली’ भन्थे । तीन सरकारको सवारी हुँदै छ भनेर मानिसहरू सडककिनारमा लामबद्ध हुँदै फूलअबिर लिएर सरकारको स्वागत र जयगानका लागि बिहानैदेखि लामबद्ध कुरिरहेका थिए । सवारी भइसकेको थिएन । सवारी हुने बेला भयो भनेर मानिस आत्तिएर लाइनमा बसेको पनि घण्टौ भएको थियो । भए आफ्नै घरको नभए खोजेर जतिसक्तो स्वादिलो बनाएर तीन सरकारलाई मनपर्ने परिकारहरू लिएर आएका थिए कतिले । बरु मान्छे नै किन नहोस् ।
बिहान एघार बजेको शुभसाइतमा सजिसजाऊ हात्तीमाथि चढेर तीन सरकारको सवारी भयो । सरकारको पछिपछि सया सुरक्षा फौजहरू, घोडचढीहरू, आसेपासे धुपौरेहरूदेखि लिएर सरकारका कर्मचारीहरूको लामो लाम थियो । त्यसपछि स्थानीय सर्वसाधारणका प्रमुखहरू । त्यसपछि धेरै पर सर्वसाधारणहरू ।
गाउँजस्तो सहर जयजय गानको भक्तिभजनमा डुब्यो । साक्षात् भगवान् प्रकट भएझैँ मानिसहरू अचम्मित थिए । सरकारको हात्ती लमकलमक गर्दै चोकमा आएर उभियो । हजारौँ मानिसहरूको उपस्थितिको माझमा ।
यहाँका सबै वर्ग, जाति, धर्म, संस्कृतिका मानिसहरू सरकारको दर्शन र सेवामा आएका थिए । कस्ता रहेछन् हाम्रो देश चलाउने सरकार भनेर हतारिँदै हेर्न आएका । कुनै अवतार पुरुषझैँ तीन सरकार आफ्नो स्वागत, सेवा र भक्तिमा उपस्थित हजारौँ प्रजालाई गर्वसाथ लामालामा जुँगामा ताउ लगाउँदै चारैतिर हेर्दै थियो तर प्रजाहरू कसैले पनि तीन सरकारसँग आँखामा हेर्न सकेनन् । मात्रै दर्शन गरे । भक्ति गरे । स्वस्ति गरे । जयजय गरे ।
तीन सरकारका भक्त तथा राष्ट्रसेवकहरूलाई हात्ती माथिबाटै सरकारले पुरस्कार, मान, पद्वी दिने कार्यक्रमअनुसार दियो । पुरस्कारस्वरूप कतिले बीसदेखि सय बिघासम्म जग्गा मौजा पाए । सुन, चाँदी, गिन्नी, असर्फी पाए । कतिले डिठ्ठा, बैदार, खरिदार, मुखिया… हुने मौका पाए । धेरैको पदोन्नति भयो । सबैले सरकारको जयजय गरे ।उच्च वर्गजस्तो देखिने एउटा समूह निम्न वर्गजस्तो भएर पाउ पर्न त मिलेन हात्तीमाथि चढेका तीन सरकारको तर पनि तल भुइ”बाटै पाउ परेको शैलीमा आलाप गरिरहेको थियो–
– ‘सरकार ! हाम्रा अवतार पुरुष, भगवान्, दयाका सागर, दुःखमोचक….!’ – ‘सरकार त एक महिनापछि सिकार गरेर गइवक्सन्छ । हजुरको अनुपस्थितिमा हामी टुहुरा हुन्छौँ ।’
– ‘हामीलाई टुहुरो हुनबाट बचाउनु प¥यो सरकार ।’
– ‘हाम्रो सुरक्षा हाम्रो रेखदेख कसले गर्छ सरकार ?’
– ‘हामीलाई न्याय कसले दिन्छ सरकार ?’
– ‘सरकारको न्यास्रो लाग्दा हामी कस्लाई हेर्ने सरकार ? हामी कस्लाई सरकार भन्ने ? कस्को सेवा गर्ने ?’
– ‘सरकारको प्रतिमा यो चोकमा भए हामी सबै कुरा पाउने थियौँ ।’
– ‘सरकारको प्रतिमालाई नै सरकार ठानेर हामी तेसैअनुसार चल्छौँ सरकार ।’ – ‘हामी आफ्ना भगवानको प्रतिमा राख्न चाहन्छौँ सरकार ।’
एकाएक भीड सरकारको भक्ति गर्दागर्दै रुन थाल्यो । सबैका ऑखा सम्भावित विछोडको कल्पनामा रसाएजस्ता देखिए । एक महिनापछि आफूसँग हुने विछोडमा आजैदेखि शोकमग्न भक्तजनहरूलाई देखेर तीन सरकारको अनुहार भर्खर उदाएको घामझैँ धपक्क बल्यो, मुस्कुरायो । सूर्यजस्तो अनुहार लिएर टाउको चारैतिर घुम्यो र अत्यन्त प्रसन्न चित्तले भक्तहरूले गरेको भक्तिआलाप हेर्दै, छड्के पारेर ओठ मधुर मुस्कुराहटमा तीन सरकारबाट हुकुम भयो – ‘तिमीहरूको भक्ति र प्रार्थनाबाट म अत्यन्त प्रसन्न भए ।’ एक महिनाभित्र यस चोकमा तिमीहरूको तीन सरकारको प्रतिमा विदेशी कालिगढद्वारा अष्टधातुले बनाइनेछ ।’
तीन सरकारको अमृतवाणी सुनेर प्रजा हर्षित देखिए । फेरि सबैले तीन सरकारको जयजय गरे । भजन गरे । कीर्तन गरे ।
तीन सरकारबाट अझै अगाडि हुकुम भयो – ‘जाने बेलामा म आफ्नो प्रतिमामा प्राण–प्रतिष्ठा गराएर जानेछु । यही प्रतिमाका माध्यमबाट तिमीहरू सध शासित हुनू । सञ्चालित हुनू । आफूलाई दुःख र अन्याय पर्दा यही प्रतिमालाई आएर सुनाउनू । भक्ति र प्रार्थना गर्नू । तिमीहरूको प्रार्थनाबाट म प्रसन्न भए भने साक्षात् प्रकट हुनेछु । नभए पनि तिमीहरूको सुखदुःख म धातुका आखाले हेरिरहेको हुनेछु । धातुकै कानले सुनिरहेकै हुनेछु । धातुकै मनमस्तिष्कले मनन् गरिरहेको हुनेछु र धातुकै मुखले न्याय दिइरहेको हुनेछु । कसैले भोको बस्नु पर्दैन । कसैले बेकाम बस्नु पर्दैन । कसैले अन्याय भोग्नु पर्दैन ।’ फेरि सबैले एकसाथ जयजय गरे ।
उ प्रसन्न चित्तले सरकारबाट अझै अगाडि हुकुम हुदै गयो – ‘मेरो आत्माको अंश पनि त्यही प्रतिमामा म छोडेर जानेछु । तिमीहरूले त्यही प्रतिमालाई साक्षात् अवतार मानेर मेरो जन्मदिनमा भव्य जन्मोत्सव मनाउनू । म सबै हेरिरहेको हुन्छु, सुनिरहेको हुन्छु र विचार गरिराखेको हुन्छु ।’
फेरि सबैले एकसाथ जयजय गरे । सरकारबाट अझै अगाडि हुकुम हुदै गयो – ‘हाम्रा भाइछोराहरू प्रशस्त छन् । तीमध्ये चार भाइ अबदेखि यस सहरको चार दिशामा सहर घेरेर बस्छन् । उनीहरूलाई राजा मान्नू । सेवा गर्नू । भक्ति गर्नू । विभिन्न पर्वमा आशीर्वाद लिन जानू ।’
फेरि सबैले एक साथ जयजय गरे ।
आफ्ना बी र सी क्लासका भाइखलकहरूलाई दायाँबायाँ हेर्दै अझै अगाडि हुकुम भयो – ‘यिनीहरू व्यर्थमा यहा बस्न डराइरहेछन् । यहा सर्प र बिच्छीको डर हुन्छ रे । औलो लाग्छ रे । धूलो, हिलो, गर्मी छ रे । छ त ?’
सबैले पसिना पुछ्दै भने – ‘छैन सरकार !’
अन्तमा हुकुम भयो ‘हाम्रा भाइहरूलाई यो सहरको चारै सुरमा दुईदुई हजार बिघा जमिन बिर्ता भयो ।’
फेरि सबैले जयजय गरे ।
हात्ती माथिबाटै सरकारबाट आफ्ना प्रजा अन्यायमा परेकालाई न्याय, जग्गा नहुनेलाई जग्गा, घर नहुनेलाई घर, लुगा नहुनेलाई लुगा, अन्न नहुनेलाई अन्न बक्सिस भयो ।
प्रजा धन्य भए ।
एक महिनासम्म केही बाघ, गैँडा, चितुवा, मृग, चित्तलहरूले तीन सरकारको हातबाट मुक्ति पाए । भित्रभित्रै केही मान्छेहरूले पनि मुक्ति पाए भन्ने गाइँगुइँ हल्ला सुनियो तर प्रकटमा कसैले केही भन्न सकेनन् । सबैले जयजय मात्र गरे । एक महिनापछि तीन सरकार आफ्नो प्रतिमामा प्राणप्रतिष्ठा अर्थात् आफ्नो आत्माको अंश राखेर गयो । त्यही बेलादेखि तीन सरकारका सुरक्षाकर्मीले प्रतिमालाई वरिपरिबाट चौबीसै घण्टा पहरा दिन थाले । चोकको नाम त्यहा”देखि ‘जुद्धचोक’ भयो ।
परबाट तीन जना टोपी, भोटो, कछाड लगाएका, पहाडतिरबाट झरेकाजस्ता देखिने नौला मान्छे हिँड्दैहिँड्दै चोकमा आइपुगे । चोकमा हातखुट्टा नभएको, टाउको र आधा जीउमात्र भएको, जुँगेमुठे कालो मान्छेआकार देखेर अनौठो मान्दै कुनै नौलो जन्तुलाई झैँ हेरे । ती पहाडियाहरूले तीन सकारलाई त्यसरी आँखा जुधाएर हेरेको देखेर पहरा दिइरहेको सिपाही कड्क्यो – ‘आँखा तल झार् ! ए पाखे सुनिनस् ? आँखा तल झार् !’
भोटो, कछाड र टोपीहरू दङ्ग परे । एकअर्कालाई हेराहेर गरे । किन आँखा झार्ने हो केही नबुझेर ओठ लेप्राउँदै बाटो लाग्न खोज्दा फेरि सिपाही कड्क्यो –’सरकारलाई स्वस्ति गरेर जा !’ फेरि अलमल्ल परे । के हो स्वस्ति भनेको थाहा नपाएर उभिइरहे । पक्कै ढोग्ने होला भनेर ढोग्न गए । सिपाहीले रोक्यो । झण्डै डण्डा हान्यो । उनीहरू कुनै फन्दामा परेझै” मुख बिगार्न थाले । डरले काम्न थाले । ‘टाढैबाट स्वस्ति गरेर जा !’ सिपाही कड्क्यो । नबुझेर उनीहरूले नमस्ते गरेर गए ।
तराईको चर्को घाम । अर्को जोर दौरासुरुवाल र इष्टकोट छाता ओढेर आएको देखियो । उनीहरूले सालिक नजिकै आइपुग्दा पनि छाता बन्द नगरेको देखेर सिपाही फेरि कड्क्यो – ‘छाता बन्द गर् !’ नबुझेर ट्वाल्ल परे । डरले थर्ररर… कामे । कसो गरौँ, के गरौँ भए । सिपाही फेरि कड्क्यो – ‘बडो अटेरी रहेछ । महाराजको अगाडि छाता ओडेर हिँड्ने ? छाता बन्द गर् !’ चारैतिर हेरे । महाराज देखेनन् । नदेखेरै डरले छाता बन्द गरेर चुपचाप गए । पर पुगेर डराउँदै फेरि छाता ओडेर गए ।
अचानक बिजुली आयो । चारैतिर फेरि उज्यालो पोखियो । बूढाको तन्द्रा खुल्यो । तकियाबाट टाउको उठाएर चोकतिर हेर्यो । चोक उस्तै खाली थियो । सोच्यो – ‘कस्तो सपना देखिएछ ! जति बूढो भयो उति धेरै सपना देखिँदोरहेछ । मसक्क निदाउँनै नसकिने । विगत किन यसरी बाँचेर आइरहन्छ सपनामा ? बूढो मान्छे विभिन्न घट्ने घटनाहरूले मात्र बनेको जस्तो हुनेरहेछ ।’ सानो छँदा कहिल्यै सपना नदेखेको सम्झ्यो ।
अँध्यारो बढ्दै जाँदा चोक बिस्तारै पातलिँदै थियो । पानपसल, चाटपसल, फलफूलपसल क्यासेटपसलहरूमा अझै ग्राहकहरू झुम्मिदै थिए । केही रिक्सा, साइकल मोटरसाइकलहरू यताउति गर्दै थिए । टाँगाहरू भने चल्न बन्द भइसकेका थिए ।
उसका आँखा भने सालिकरहित रित्तो चोकमा अल्झिरहे । केही सम्झेझैँ भावुक भएर एक सेर लेख्यो – दुनियाँमा जस्को धेरै जयजय भयो सबैभन्दा उसैबाट किन भय भयो ?
फेरि झ्याप्प बिजुली गयो । अन्धकार फेरि खस्यो र चारैतिर फैलियो । तकियामा टाउको अड्यायो । फेरि ऊ तन्द्रामा प¥यो । अर्को बूढो समय फेरि उसको आँखा अगाडि चोकमा पोखियो ।
सैयौँ सुरक्षा फौज अघिपछि लगाएर तीन सरकारको भन्दा आधुनिक शैलीमा हात्तीमाथि पाँच सरकारको सवारी हुँदै थियो । मानिसहरू सभक्तिपूर्वक पाँच सरकारको स्वागतमा सडक दायाँवायाँ फूलअबिरसहित झन्डा उठाउँदै जयजय गरिहेका थिए– ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ !’
पाँच सरकार – चिरायू रहून् !
चोकमा आएर पाँच सरकारको हात्ती रोकियो । चारैतिर नजर भयो । अगाडि सामुन्ने चोकमा श्रीपेचको कल्की भाँचिएको अष्टधातुबाट निर्मित जुद्ध शमशेरको अर्धकदको सालिक अदबका साथ चुपचाप बसिरहेको थियो । पृष्ठभूमिमा पाँच सरकारको जयजयको तुमुल ध्वनि गुञ्जिरहेको थियो ।
एक जोर सुकिला दौरा, सुरुवाल, कोट र टोपीले पाउ परेर बिन्ति बिसायो–’सरकार ! यो सालिक जति गर्दा पनि हामीले ढाल्न सकेनौँ । हान्दाहान्दा श्रीपेचको कल्कीबाहेक केही तोड्न सकेनौँ । यसलाई हटाएर मौसुफ सरकारको पूर्णकदको प्रतिमा बनाउनु प¥यो सरकार !’
अर्को जोर दौरा, सुरुवाल, कोट, टोपी पनि पाउ प¥यो – ‘हो सरकार ! हाम्रो बाहुबलले भेटेन । सरकारबाटै यसलाई हटाएर सरकारकै प्रतिमा हुनुप¥यो सरकार !’ पाउ पर्नेहरूको भीड लाग्यो । कुर्ता र धोतीहरू, कमिज र लुङ्गीहरू, शेरवानी कुर्ता सुरुवालहरू पनि पाउ पर्न लागे ।
– ‘सरकार ! यो कालो सालिकले यो चोकमा तर्साउँछ । यो त राणाहरूको भूत हो ।’
– ‘सरकार ! राणाशासनमा हामी लुटियौँ । सर्वश्व हरियो ।’
– ‘सरकार ! राणाहरूले आफ्नो शासन ढल्ने बेलामा झन् लुटे । यो चोकको पूर्वतिर मेरो पाँच सय बिघा जग्गा सबै लुटे । म अहिले सुकुम्बासी भएँ सरकार ।’
–’राणाहरूले हामीलाई पढ्नलेख्न दिएनन् सरकार ।’
– ‘हामीलाई दास र आफ्नै देशको कैदी बनाए सरकार !’
– ‘राणाहरूले हाम्रो रगतपसिना पिए सरकार !’
– ‘यहाँका जङ्गली पशुपङ्क्षीको मात्र हैन हाम्रा दिदीबैनीको पनि सिकार गरे सरकार !’
–’औलो, सर्प, बिच्छीको घर भनेर हामीलाई मात्र हैन यो ठाउँलाई नै राणाहरूले हेलाँ गरे सरकार !’
– ‘सरकारबाटै हाम्रो उद्दार होस् ।’
– ‘सरकार ! यहाँ मौसूफको प्रतिमा भए हामी सरकार गएपछि पनि प्रतिमा हेरेर मन बुझाउने थियौँ ।’
– ‘हो सरकार ! नत्र हामी त टुहुराटुहुरीजस्ता हुन्छौँ ।’
–’सरकारको प्रतिमा त पूर्णकद कै होस् । हेर्न पनि सजिलो हुन्छ ।
प्रजाको पीरव्यथासहितको भक्ति सुनेर पाँच सरकारको अनुहार पनि भर्खर उदाएको सूर्यझैँ भयो । सबैलाई आश्वस्त पार्ने मन्द मुस्कुराहट फुस्कियो ।
फुस्किरह्यो । पृष्ठभूमिमा ‘जयजय’ को आलाप बढ्दै थियो । बीचमा एउटा धनुष्टङ्कार भएर बोल्यो – ‘सरकारको प्रतिमा त सेतो हुनुपर्छ । ती राणाहरूको जस्तो कालो होइन ।’
प्रसन्न चित्तमा पाँच सरकारबाट हुकुम भयो – ‘जनचाहनाअनुसार नेपालकै कालिगढद्वारा यहाँ पूर्णकदको सेतो सालिक दुई महिनाभित्र बन्नेछ । सम्झनू यो चोकमा यहाँ का जनताहरूस”ग सधैँ सधैँ म बाँचिरहेको हुनेछु ।’
भर्खर आइपुगेको एउटा बूढो टाँगावालले अर्को टाँगावाललाई सोध्यो – ‘वो तीन सरकार हो कि पाँच सरकार ?’
– कहाँ तीन सरकार हुन्छ ? उसको सरकार त ढलिसक्यो । वो पाँच सरकार ।’ – ‘एउटै देखिन्छ त ?’
– ‘कहाँ छ बे एउटै । पाँच सरकारको जुँगै छैन । तीन सरकारको मोटोमोटो जुँगा थियो । यी त विष्णु भगवान्का अवतार हुन् ।’
उसले पत्याएझैँ गरेर टाउको हल्लायो र पर भीडबाट टाउको उठाएर हात्तीमाथिका पाँच सरकारलाई हे¥यो ।
चोकको नाम बदलियो । जुद्धचोक त्रिभुवनचोक भयो । चोक वरिपरि चारैतिर त्रिभुवनचोक लेखियो ।
+ फेरि बिजुली आयो । चारैतिर झलमल्ल भयो । फेरि बूढाको तन्द्रा भङ्ग भयो । टाउको उठायो तकियाबाट । हे¥यो चोकतिर । चोक सुनसान हुन लागिसकेछ । अझै दुईचार पसलहरू खुल्लै थिए । फाट्टफुट्ट मानिसहरू देखिन्थे । चोक उस्तै रित्तो थियो सालिकविहीन । छिनछिनमा किन बत्ती आउने र जाने भइरहेछ सोचेर मनमनै फेरि अर्को सेर लेख्यो –
फेरि बल्दाबल्दैको उज्यालो खोसिन्छ ।
तेल नसकिँदैको दियालो खोसिन्छ ।।
साँच्चै भयो । फेरि उज्यालो खोसियो । चारैतिर अध्यारो भयो । बूढो पनि अँध्यारोमा छाम्दै ओछ्यानमा पल्टयो र पल्टनै बित्तिकै तन्द्रामा प¥यो ।
+ एकाएक कालो सालिकजस्तो मान्छे देखा प¥यो चोकमा । ऊ हात्तीमाथि थिएन, घोडामाथि थिएन, मोटरमा थिएन । उसका अघिपछि सुरक्षा फौज थिएनन् । प्रजाहरू थिएनन् । मध्यरात पल्टिएको चोक सुनसान थियो । पहिले आफू रहेको स्तम्भ रित्तो देखेर धेरै बेरसम्म के–के सोचेर हे¥यो । त्यसपछि स्तम्भमा चढ्न खोज्यो । सकेन । फेरि चढ्न खोज्यो । सकेन । जति प्रयास गर्दा पनि नसकेपछि दिक्क भएर पसिना पुछ्दै बोल्यो–’यो चोकबाट मलाई कसले हटायो ?’
पटकपटक उसले यही आवाजमा कराइरह्यो तर कतैबाट केही आवाज आएन । सहर सुतेको थियो । सुनसान थियो । कतैबाट केही आवाज नआएपछि एक्लै भुत्भुताउन थाल्यो – ‘जयजय गर्दै पछि लाग्ने ती हजारौँ प्रजाहरू खै ? कहाँ मरे ? भक्ति, पूजा, आराधना गर्नेहरू कहाँ गए ? आफ्नै आवाज पनि कस्तो गधा कराएको जस्तो ? रोगी कुकुर भुकेजस्तो लागेको आफैलाई !’
चिडियाघरको बन्दी र भोको बाघझैँ एक्लै यताउता छट्पटाउँदै आश्चर्यभावमा एक्लै बर्बरायो – ‘म कहाँ छु अहिले ? कसले मलाई यसरी अलपत्र पारेर छोड्यो ? मलाई कसले यति कमजोर बनायो ?’
आफ्नोजस्तै कमजोर आवाज नजिकैबाट आएको सुन्यो । घुमेर हेर्यो चारैतिर । एउटा सेतो सालिकजस्तो मान्छे एक्लै बर्बराइरहेको रहेछ आफूले झैँ नजिकै –’म कहाँ छु ? कसरी म यति कमजोर भएँ ?’
ऊ सेतो सालिकतिर गयो । कताकता चिनेजस्तो गर्यो। तत्काल ठम्याउन सकेन । सेतो सालिकले पनि ऊ नजिकै गएपछि चिनेचिनेझैँ हेर्यो तर सेतो सालिकले पनि ठम्याउन सकेन । शरीरभरि घाउले दुवै नचिनिने भएका थिए । अनुहारको रङ उडेको थियो । पूरै शरीर खुइलिएको जीर्ण, त्यो पनि बुख्याचाजस्तो देखिन्थ्यो ।
सेतो सालिकले सोध्यो – ‘तिमी को हौ ?’
अदबसाथ बोल्न खोजेर पनि कमजोर आवाजमा कालो सालिकले भन्यो
– ‘म यो देशको शासक हुँ ।’
– ‘म पो यो देशको शासक हुँ ।’
– ‘एउटै देशमा कसरी दुई शासक हुन सक्छन् ?’
– ‘हुन सक्तैनन् । त्यसैले म शासक हुँ ।’
– ‘जिद्दी नगर । मेरो श्रीपेच देखेनौ ? तिम्रो टोपी छ । त्यसैले म शासक हुँ ।’
यस्तै बर्बराउँदै चोकको खाली स्तम्भमा चढ्न खोज्दै फेरि भन्यो – ‘हेर, म कसरी शासक हुन्छु ।’ कालो सालिक स्तम्भमा चढ्न खोज्यो । सकेन । फेरि चढ्न खोज्यो । लड्यो । तुरुन्तै उठ्न सकेन ।
त्यही मौकामा ‘हेर, म चढेर देखाउँछु किनभने यो देशको शासक म हुँ ।’ भन्दै सेतो सालिक स्तम्भमाथि चढ्न खोज्यो । सकेन । फेरि चढ्न खोज्यो । पछारियो । पक्की सडकमा पछारिएको देखेर कालो सालिक हाँस्यो खितित्त… । कालो सालिकको खिसीपूर्ण हाँसोले सेतो सालिकलाई तुरुन्तै सकिनसकी उठ्न बाध्य पा¥यो ।
ऐया कस्तो दुख्यो !’ भन्दै स्तम्भमाथि फेरि चढ्न खोज्यो । फेरि लड्यो । पछिल्लो पटक स्तम्भमाथि उभिनै लाग्दा लडेकाले सेतो सालिकको हातै भाचियो । अनुहारभरि सडकमा धेरै पटक पछारिएर घाउ नै घाउ भएको थियो । कालो सालिक हा”स्न खोज्यो । सकेन । किनभने उसको पनि घाउ दुखिरहेको थियो । सेतो सालिक लडेकोमा फेरि हा”स्ने प्रयास गर्दा रुन्चे हाँसो फुत्कियो ।
– ‘के हाँस्छौ ? तिम्रो झन् श्रीपेचको कल्की नै भाँचिएको छ ।’ – ‘तिम्रो त झन् हातै भाँचिएको छ ।’
फेरि कालो सालिक मुर्छा परेझैँ भयो । आँखा चिम्लियो । सेतो सालिकले बर्बराएको आँखा चिम्लेरै सुनिर¥यो । अचानक केही सम्झेझैँ आँखा खोलेर कालो सालिकले भन्यो – ‘तिमी श्री ५ हौ ?’ सेतो सालिक पनि झल्या”स्स भयो र भन्यो – ‘तिमी श्री ३ हौ ?’
– ‘हुँ। कसरी चिन्यौ ?’
– ‘समय चिन्नै नसक्नेगरी परिवर्तन भएछ । सुरुमा त तिमीलाई चिन्नै गाह्रो भयो । तिम्रो बोलीको लवज उस्तै रहेछ ।’
– ‘तिमीले कसरी चिन्यौ नि ?’
– ‘तिम्रो पनि बोलीको अवशेष लवज अझै उस्तै रहेछ ।’
– ‘किन हटायौ मलाई यो चोकबाट ? हामीले तिमीलाई मानेकै थियौँ । तिम्रै नाममा शासन गरेका थियौँ । जनताका समस्या तिमीसम्म आउन नदिइकन तिमीलाई सुखसयलमा राखेका थियौँ । किन हटायौ मलाई” ?’
सेतो सालिकले भन्यो – ‘जनताले मानेनन् हटाए ।’
– ‘तिमीलाई कसले हटायो त ?’
– ‘ए, हो त ! मलाई यो चोकबाट कसले हटायो ?’
अचानक आकाशवाणी भएझैँ एउटा आवाज आयो
– ‘मैले हो तिमीहरूको सालिक हटाएको !’
– ‘को हो पाँच सरकारलाई म भन्ने ? टुक्राटुक्रा गरिदिन्छु ।’
– ‘म समय हुँ । तिमी समयलाई टुक्राटुक्रा पार्न सक्तैनौ ।’
सेतो सालिकले अझैँ टाठिएझैँ बोल्यो – ‘उनको सालिक त मैले हटाएको हो, मलाई हटाएँ भन्ने को हो ?’
– ‘दुवैको सालिक मैले हटाएको । म समय हुँ।’
– ‘पा”च सरकारलाई म भन्ने साहस कसले गर्यो ? मसँग पेस्तोल छ । गोली ठोकिदिन्छु ।’
कालो सालिक अझ कड्क्यो – ‘मसँग तरबार छ टुक्राटुक्रा पारिदिन्छु समयलाई ।’ – ‘समयलाई कसैले मार्न सक्तैन । समयको नियम कसैले तोड्न सक्तैन । संसारका सबै निर्माणहरू समयसँगै बिलाउँछन् ।’
– ‘म त विष्णुको अवतार ।’
– ‘प्रत्येक जीवन आफै”मा एउटा अवतार हुन्छ । सबैले इतिहासको गर्तमा बिलाउनै पर्छ ।’ समयले भन्यो ।
– ‘हामी इतिहासँगै बिलाउदैनौँ।’ कालो सालिकले भन्यो ।
कालो र सेतो सालिकले द्वन्द्वको बीचमै कानेखुसी गरे । वार्ता गरेझैँ कुरा गरे । सेता सालिकले सुरक्षित उपाय पत्ता लगाएझैँ भन्यो
– ‘हामी एकअर्काको विरोधी नबनौ” । आपसी सहयोगमा उठौँ र स्तम्भमाथि चढौँ ।’
– तिमीले ठीक भन्यौ । तिमी हाम्रा असल कुटुम्ब हौ । हामीलेसँगै मिलेर स्तम्भमा उढ्नु पर्छ ।’
दुवै मिलेर चढ्न खोज्दा पनि चढ्न सकेनन् । माथि पुग्नै लाग्दा सडकमा पछारिए । पटकपटक पछारिए दुवै । अन्त्यमा उठ्न खोज्दाखोज्दै हुरी चलेजस्तो भयो । बिस्तारै उनीहरू चल्न चल्मलाउन छोडे र क्रमशः त्यही चोकमै विलाए । समय चारैतिर अमूर्त भएर फैलियो ।
सपनामै व्यूँझेर बूढाले झ्यालबाट हेर्यो र केही सोचेझै सपनामा नै अर्को सेर लेख्यो –
चोकचोकमा निर्जीव सालिक ढलेर के भो ?
पत्थरको मुटु हुने मालिक ढलेर के भो ?
फेरि हेर्यो सडकमा । यही सडक हो, यही चोक हो, जहाँ प्रत्येक कालखण्डमा कैयौँ सहिदहरूको रगत बगेको थियो । एकाएक ती सहिदहरू उठे आ–आफ्नो रक्तबीजबाट तर ती सहिदहरू त्यो स्तम्भमा चढ्न खोजेनन् । हेरे चारैतिर । सहर झन् अव्यवस्थित र दुर्गन्धित देखे । चारैतिर अव्यवस्था देखे । देखेर दुःखी भए । सडकमा पान खाएर थुकिएको फोहर देखेर सोचे– हाम्रा सपनाहरू पनि यसरी नै चपाएर थुके मान्छेहरूले सडकमा । उनीहरू खिन्न मुद्रामा चोकमा उभिए र खिन्न भएर नै चारैतिर हेरे ।
एकाएक मानिसहरू जम्मा भए । चोकमा चारैतिरबाट विभिन्न विचार भएका मानिसहरू आए । चोकमा कस्को सालिक राख्ने भन्ने विषयमा फरकफरक विचारहरू प्रस्तुत भए । एउटा अग्लो र शालीन मान्छेले ‘सहिदको सालिक राख्ने’ भन्यो । सबैले सहमत जनाए तर कुन सहिदको राख्ने भन्ने बारेमा मत विभाजित भयो । चोकमा सालिक कस्को राख्ने भन्ने बारेमा सुरुमा सल्लाह, त्यसपछि झगडा अनि हात हालाहाल हुन थाल्यो । द्वन्द्व सुरु होलाजस्तो भयो ।
आफ्नो नाममा द्वन्द्व सुरु हुन लागेको देखेर सहिदहरू एकाएक सडकबाट गायब भए । सहिदहरू सडकमै बिलाएको त्यो भीडले थाहै पाएन थाहा पाउने प्रयास पनि गरेन । द्वन्द्वकै माझबाट एउटा अर्को अग्लो मान्छे बोल्यो –’अहिले हाम्रो सरकार छ । यो देशमा परिवर्तन हाम्रो पार्टीले गराएको हो । त्यसैले यहाँ हाम्रा महान् नेताको सालिक हुनुपर्छ ।’ भीडबाटै अर्को अग्लो मान्छे कड्क्यो –’हाम्रो पार्टीको नेतृत्वमा क्रान्ति सफल भएको हो । सधैँसधैँ क्रान्तिको नेतृत्व हाम्रो पार्टीले गरेको छ । त्यसैले यहाँ हाम्रो नेताको सालिक हुनुपर्छ ।’ भीड झन्झन् उम्लिदै गयो । अनेक किसिमका आवाजहरू सडकमा पोखिन थाले । जनजाति र मधेसीहरू पनि जाग्न थाले भीडको माझबाट । एउटा धोती र कमेज कड्क्यो – ‘यहाँ हाम्रो नेताको सालिक हुनुपर्छ ।’
भीडबाटै सेरवानी कुर्तासुरुवाल पड्क्यो – ‘यहाँ हाम्रो नेताको सालिक हुनुपर्छ ।’ जनजातिको अग्लो मान्छे कुर्लियो – ‘यहाँ हाम्रो नेताको सालिक हुनुपर्छ ।’ दलित वर्गीय आवाज विस्फोट भयो – ‘यहाँ हाम्रो नेताको सालिक हुनुपर्छ ।’ महिला ध्वनि चर्कियो – ‘यहाँ हाम्रो…।’ द्वन्द्व झन् चर्कियो । ढुङ्गा हानाहान हुन थाल्यो । प्रहरीहरूले द्वन्द्व नियन्त्रण गर्न सकेनन् । मानिसहरू आक्रोशित थिए । सबै आ–आफ्नो पाटी र नेताको पक्षमा नारा लगाउँदै थिए ।
यस्तैमा झडप सुरु भयो । भीड अनियन्त्रित बन्यो । प्रहरीहरू आएर पनि भीड नियन्त्रित भएन । लाठी वर्षन थाले । भीड झन् उम्लियो । अश्रुग्यास चारैतिर फैलियो । वातावरण पिरो बन्यो । अचानक गोलीको आवाज सुनिन थाल्यो । त्यसपछि सडकमा रगत बग्न थाल्यो र पनि भीड शान्त भएन । मात्र चुपचाप, शान्त र ज्ञानी देखिए सडकका साँढेहरू, गधाहरू, कुकुरहरू ।
+ फेरि बत्ती आयो । चारैतिर उज्यालो फैलियो । यस पटक बत्ती आउँदा बूढाको निद्रा खुल्न त खुल्यो तर अफ्ठ्यारो गरेर खुल्यो । बिस्तारै उठ्न त उठ्यो तर कतै भित्र दुखेझैँ गरेर उठ्यो । हे¥यो झ्यालबाट । सुनसान थियो । चोक उसरी नै सालिक कुरिरहेझैँ देखिन्थ्यो । मध्यरात भइसकेको रहेछ । बन्द घरहरू, बन्द पसलहरू उभिएको माझमा सडक निदाइरहेको थियो । मात्रै देखिन्थे तिनै, सधैँ देखिने– साँढेहरू, गधाहरू, कुकुरहरू, जो सडक पेटीमा उँगिरहेजस्ता देखिन्थे ।
तकियातिर हेर्यो । एउटा कागज टिप्यो । कलम टिप्यो । एउटा अर्को गजलको सेर लेख्न खोज्यो । सोचेझैँ गर्यो । सकेन । जति प्रयास गर्दा पनि लेख्न सकेन । सक्तैसकेन ।

१६ आश्विन २०६९, मंगलवार ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..