राजाहरूको आतङ्क – देवप्रकाश त्रिपाठी

नारायणहिटी राजदरबारबाट झिकेर नागार्जुनमा थन्क्याइएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले यसो हातपाउ चलाउन खोज्दा नेपाली राजनीतिको उपरी तहमा निकै छटपटी बढेको देखियो । ‘श्री ५ महाराजाधिराज’को पदवी गुमेपछि साधारण नेपाली नागरिकको जीवन व्यतीत गरिरहनुभएका व्यक्तिले देवीदेवताका मन्दिरहरूमा पूजा गर्न जांदा प्रकट हुनै नपर्ने आक्रोश, असन्तुष्टि र छटपटीले हाम्रो राजनीतिक नेतृत्वको स्तर र तिनको क्षमता उजागर गरेको महसुस सचेत नागरिक समुदायले गरेको छ । पूर्वराजा ज्ञानेन्द्र पश्चिमाञ्चलका केही जिल्लाको भ्रमणमा निस्कंदा विभिन्न राजनीतिक दलसम्बद्ध व्यक्ति तथा स्वतन्त्र नागरिक जसरी उहांको स्वागत–सत्कारमा लामबद्ध भए त्यसले क्रियाशील राजनीतिकर्मीहरू आफ्नो आत्ममूल्याङ्कन गर्नुपर्ने अवस्था पुगिसकेको सङ्केत गर्दछ । भ्रमणका क्रममा जतिसुकै भव्य स्वागत–सत्कार भएको भए पनि पोखराबाट फर्किएर पूर्वराजा ज्ञानेन्द्र सोझै नारायणहिटी दरबार प्रवेश गर्ने स्थिति छैन र उहांले त्यस्तो सोच राख्नुभएजस्तो पनि लाग्दैन । तर, पूर्वराजाले हिंडडुल गर्न खोज्दा खास–खास दलका नेता तथा कार्यकर्ताहरू उहांको यात्रामा अवरोध पैदा गर्न जसरी अग्रसर भए त्यसले केही प्रश्न खडा गरेको छ । के कुनै नागरिक देशको कुनै पनि भूभागमा शयर गर्न या मानिसहरूसंग भेटी अन्तरक्रिया गर्न सक्दैनन् ? के नेपालमा ‘राजा’लाई अहिले पनि एउटा शक्तिका रूपमा हेरिंदै छ ? यदि शक्तिका रूपमा हेरिएको हो भने राजनीतिक सहमतिको विभिन्न प्रक्रियामा उनलाई किन सहभागी गराइंदैन ? के विद्यमान राजनीतिका ‘स्टेक होल्डर’हरू त्यति कमजोर भइसकेका छन्, पूर्वराजाले देवीदेवताका मन्दिरमा पूजा गर्दैमा उनीहरू आफ्नो आसन डगमगाउने ठान्दछन् ?
विश्वमा प्रचलित प्रजातन्त्रमा शान्तिपूर्ण गतिविधि गर्ने र स्वतन्त्र अभिव्यक्ति दिन पाउने हक हरेक नागरिकलाई हुन्छ । भनिन्छ, प्रजातन्त्रको विरोध गर्ने र प्रजातन्त्रप्रति असहमति जनाउने अधिकार पनि प्रजातन्त्रमा सुरक्षित हुन्छ । माओवादी विचारमा आधारित सर्वहारा अधिनायकत्वको पक्षमा प्रचार गर्न पाएझैं प्रजातन्त्रमा कोही राजतन्त्र चाहन्छन् भने राजतन्त्रकै पक्षमा अभिमत जाहेर गर्ने या गतिविधि गर्न पाउने हक पनि नागरिकलाई उपलब्ध हुन्छ । राजनीतिक उद्देश्यले अभिपे्ररित कुनै पनि शान्तिपूर्ण गतिविधिलाई प्रजातन्त्रले निषेध गर्दैन । पञ्चायती शासनकालमा कुनै कांगे्रस या कम्युनिस्टलाई आफ्ना गतिविधि गर्न रोक लगाएकै शैलीमा कसैलाई रोक लगाउन खोजिन्छ भने देशमा अहिले सांचो अर्थको प्रजातन्त्र अस्तित्वमा छ कि छैन भनेर प्रश्न उठाउनुपर्ने हुन्छ । पूर्वराजाको पश्चिमाञ्चल भ्रमणका क्रममा केही राजनीतिक दलहरूका तर्फबाट प्रस्तुत व्यवहारले यस्तो प्रश्न उठाउनुपर्ने अवस्था सिर्जना गरिदिएको हो । आफूलाई माओका अनुयायी ठान्नेहरूले मात्र पूर्वराजाको यात्रालाई अवरोध सिर्जना गर्न खोजेका भए त्यसलाई किन अस्वाभाविक मान्नुपर्ने थिएन भने उनीहरूले चाहेको राजनीतिक प्रणालीमा विपक्षी विचार र गतिविधि पूर्णरूपले निषेधित हुन्छ । सत्तामा पुगिसकेपछि विपक्षी या विरोधीहरूलाई खोजी–खोजी मार्नु स्टालिनवाद र माओवादको सामान्य धर्म नै हो । रसियामा स्टालिनले आफूसंग असहमत आफ्नै पार्टीका चौरान्नब्बे हजार कार्यकर्ताको हत्या गर्नु र माओले चीनमा सत्तारुढ भइसकेपछि आफ्नो समर्थनमा नरहेको ठानिएका कम्तीमा तीन करोड निर्दोष चिनियां नागरिकको हत्या गर्नुले साम्यवादी अधिनायकवादमा असहमति ग्राह्य हुन सक्दैन भन्ने पुष्टि उहिल्यै गरिसकेको छ । तर, यहां प्रजातन्त्रको पक्षधर दाबी गर्दै आएका राजनीतिक दल सम्बद्ध नेता–कार्यकर्तासमेत निषेधको राजनीतिबाट अभिपे्ररित हुनुले एउटा गम्भीर चिन्ता जन्माएको छ ।
नेपालमा राष्ट्रिय एकता, सुदृढ सार्वभौमिकता, जनताको सहज एवम् सुरक्षित दैनिक जीवन र आर्थिक समृद्धि नहुनुमा राजतन्त्र जिम्मेवार रहेको प्रचार राजनीतिक दलहरूले गरे, जनताले दलका कुरा पत्याए र गणतन्त्र घोषणा हुंदासम्म मौन रहेर भए पनि सम्मति जनाए । गणतन्त्र घोषणापश्चात् देशका यावत् समस्या समाधानको प्रक्रिया सुरु हुने विश्वासमा रहेका जनताले लोकतन्त्र स्थापनाको ६ वर्षपछि आफूहरूमाथि गम्भीर धोखा भएको महसुस गरेका छन् । राजतन्त्रकालमा राजा–महाराजाहरू तामझामका साथ हिंडडुल गरेको, कुनै सार्वजनिक समारोहमा भाग लिन जांदा विद्यालयहरू बन्द गराई साना नानीहरूलाई समेत घन्टौं घाममा उभ्याउने गरिएको, सर्वसाधारणको आवागमन नै अवरुद्ध हुने गरी सवारी चलाउने गरेको र जनताको दैनिक जीवनलाई सुखद् एवम् सहज बनाउनेतर्फ खासै अभिरुचि नलिएको ठानिएका कारण जनताले राजनीतिक परिवर्तन आफ्नो सुखद भविष्यको द्वार हुने विश्वास गरेका थिए । तर, ०६३ पछि उदाएका कतिपय नेताहरूको जीवनशैली र कार्यव्यवहार राजा–महाराजाको भन्दा कैयन अर्थमा विलासी र तडकभडकपूर्ण हुन थाल्यो । राज्य सञ्चालनसंग प्रत्यक्ष सरोकार राख्ने निकायहरूमा योग्य र इमानदार होइन दलीय भागवण्डाका आधारमा आ–आफ्ना मानिसको खोजी गरी चयन गर्न थालियो । राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बिथोल्ने गरी मुख्य नेताहरूबाट भएका व्यवहारले जनतामा थप त्रास पैदा गरायो । दलका नेताहरूसंग आफ्नो सुरक्षित भविष्य जोडिएको देख्ने जनता कालान्तरमा देशकै अस्तित्व पो नास गर्ने हुन् कि भन्ने चिन्तामा परे, पर्दै छन् । कहिल्यै कसैको पराधीन बन्नु नपरेकोमा गौरवान्वित नेपाली जनताले यस अवधिमा मुलुकको अस्तित्व नै मेट्ने पो हुन् कि भनी चिन्ता गर्नुप¥यो । प्रधानमन्त्रीजस्तो जिम्मेवार ओहोदामा रहेका व्यक्तिले समेत ‘चाबी अन्तै रहेछ’ भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएपछि जनता थप सशङ्कित र चिन्तित बन्नुपर्ने अवस्था आयो । खास–खास दलका नेताहरूको कार्यव्यवहार जनप्रतिनिधिको जस्तो नभई राजा–महाराजाको जस्तो भइदि.दा मुलुकमा एउटा राजा विस्थापित गरेर अनेकौं राजाहरू क्रियाशील हुन थालेको आभास जनतामा भयो, भइरहेको छ । राजनीतिक नेतृत्वको व्यवहार जनताबाट टाढिंदो छ, सर्वसाधारण जनताले उपेक्षित र अपमानित महसुस गर्ने गरी राजनीतिक नेतृत्वमा सत्ता र समूहकेन्द्रित प्रवृत्ति देखिएको छ । मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने कार्यक्रम अघि बढ्न सकेका छैनन्, लगानीकर्ताहरू प्रोत्साहित हुन सकेका छैनन् र उनीहरूलाई विश्वास दिलाउन राज्यले सकिरहेको छैन । विकास निर्माणका काम सुचारु हुन सकेका छैनन्, रोजगारी सिर्जना गर्न सरकार पूर्ण असफल छ, उद्योगधन्दा र व्यापार–व्यवसायका निम्ति अनुकूल वातावरण तयार गर्न पनि सरकारले सकिरहेको छैन ।
हिंसात्मक युद्धमा क्रियाशील माओवादीहरूलाई वार्ता र सम्झौताका माध्यमबाट मूल राजनीतिक प्रवाहमा ल्याइंदा देशबाट हिंसा, अराजकता, बलप्रयोग र आपराधिक क्रियाकलाप एकप्रकारले अन्त्य हुने अपेक्षा गरिएको थियो । तर, हिंसा र बल प्रयोगकै कारण माओवादीले सत्ताको मालिक बन्न पाएपछिको सन्देश बेग्लै गयो । ‘यदि कसैलाई यो देशमा केही पाउनु छ भने हिंसा र बल प्रयोगको बाटो अवलम्बन गर भन्ने सन्देश प्रवाहित भएपछि देशमा अनुशासनहीनताले सीमा नाघेको छ, हिंसा र बल प्रयोगका घटना यत्रतत्र सर्वत्र प्रकट भइरहेका छन् । जनताको जीउधनको सुरक्षा गर्न सरकार पूर्ण असफल छ । आपराधिक क्रियाकलाप नियन्त्रण हुन सकेको छैन, महंगी नियन्त्रण हुन नसक्दा साधारण जनताको जीवनस्तर झन् सङ्कटग्रस्त बन्न पुगेको छ । इतिहासकै ठूलो भ्रष्टाचार काण्डहरूको ढाकछोप गरेर सरकारले नयां कीर्तिमान राखेको छ । संविधान निर्माण गर्न जनताले दिएको चार वर्ष लामो समय पनि नेताहरूले पासा खेलेर सिध्याइदिएका छन् ।
सरकारहरूले केही गरेनन् भन्ने गुनासोमा मात्र अहिले जनताको मानसिकता सीमित छैन, कसैले पनि केही गर्न नसक्ने रहेछन् भन्ने ठम्याइ उनीहरूको छ । राजनीतिकर्मीहरूप्रति जनतामा वितृष्णा हुंदा तिनको विकल्पमा नयां मानिसलाई ठाउं दिएर जनआस्था जगाउन सकिन्छ । तर, यहां राजनीतिप्रति नै वितृष्णा बढ्दो छ, जब जनतामा राजनीतिप्रति वितृष्णा बढ्छ त्यसले कुनै न कुनै रूपको अधिनायकवादलाई आमन्त्रण गर्ने निश्चित हुन्छ । राजनीतिक क्षेत्रको भूमिकाले अधिनायकवाद आमन्त्रण गर्ने उर्वरताको सृष्टि गरिरहेको छ । आफ्नै भूमिकाका कारण जनविश्वास गुमाएका खास–खास दलका खास नेताहरूमा पूर्वराजाको भ्रमणले एकप्रकारको आतङ्क सिर्जना गरिदिएको छ । एक समय थियो– ‘लौ राजाले हातपाउ चलाउन थाले, प्रतिगामीहरू सलबलाए’ भनिदिएकै भरमा मानिस सडकमा उत्रन्थे र दलहरू पनि एकताबद्धझैं देखिन पुग्थे । अहिले परिस्थिति बदलिएको छ, नेतृत्वप्रतिको भरोसा टुटेर खाली हुन पुगेको ठाउंमा पूर्वराजाको भूमिकालाई अपनाउने जनमनस्थिति बन्दै गएको सत्य दलका नेताहरूले स्वीकार गर्न नचाहे पनि वास्तविकता यही नै हो । संविधानसभाको स्वाभाविक मृत्युवरणपश्चात् उच्च तहका राजनीतिकर्मीहरूलाई एउटा अवसर उपलब्ध भएको थियो– ‘आफूहरूलाई सच्याउने र अघि बढ्ने ।’ तर, नेतृत्वमा न सच्चिने तत्परता देखियो न अघि बढ्ने । अब झन् नेपाललाई असफल राष्ट्रमा बदल्ने भूमिका पो निर्वाह गरिंदै छ कि भन्ने चिन्ताजनक स्थिति उत्पन्न भएको छ । यस्तो पृष्ठभूमिमा पूर्वराजाको जिल्ला भ्रमणप्रति प्रकट दृष्टिकोण र व्यवहारले उनीहरू आतङ्कित बनेको सङ्केत गर्दछ । यो देश कुनै राजा–महाराजको पेवा थिएन र हुन सकेन भने ०६३ पछि उमे्रका छोटे राजाहरू किन देशलाई आफ्नै बिर्ता ठान्ने भूल गर्दैै छन्– प्रश्न उठेको छ । अहिलेसम्म पूर्वराजालाई पुनः राजाका रूपमा नारायणहिटी राजदरबारमै स्थापित गर्ने तत्परता जनस्तरले लिएको छैन र जनस्तरको मात्र चाहनाले त्यस्तो प्रक्रिया सुरु हुन पनि यहां कठिन छ । गणतन्त्र घोषणामा जनचाहनाभन्दा बाह्य कारण प्रधान रहेको हु“दा नेपाली जनताले चाहेकै भरमा नेपालमा राजसंस्थाको पुनस्र्थापना हुनसक्ला भन्नेमा विश्वास गर्न सकिन्न । तथापि ‘राजा’ पुनः नारायणहिटी फर्कंदा आफूहरू असफल प्रमाणित हुने चिन्ताले राजनीतिक वृत्तमा केही नेताहरू आतङ्कित बनेका छन् । पौने तीन करोड जनतासंग नडराउने ‘नेताहरू’ पूर्वराजा बनेका एक नागरिकसंग यति धेरै डराउनुको कारण थप के हुनसक्ला खोजीको विषय हुनसक्छ । यद्यपि एउटा यथार्थ के हो भने पूर्वराजाको गतिविधिबाट ‘वर्तमान राजाहरू’ जति आतङ्कित भएका छन् योभन्दा कैयन गुण बढी आतङ्क ‘छोटेराजाहरू’ले जनतामा फैलाइसकेका छन् ।

१० आश्विन २०६९, बुधबार ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..