प्रचण्डले मिलाएर केही मिल्लेवाला छैन – शेखर कोइराला (नेता, नेपाली कांग्रेस)

० राजनीतिक गतिरोध अन्त्यको सवालमा फेरि पनि नेपाली कांग्रेस अल्मलिएको अनुभूति गरिएको छ, किन यसरी कांग्रेस रुमलिएको होला ?

– नेपाली कांग्रेस रुमलिएको देखिए पनि यथार्थ त्यो होइन । सरकार परिवर्तन नभएसम्म सहमति हुन सक्दैन भन्ने कांग्रेसले सुरुदेखि नै जो अडान राख्दै आएको छ, यसले अलिकता अपठ्यारो स्थिति निम्त्याएको हुन सक्छ । मेरो विचारमा कांग्रेसले पहिले आफ्नो तर्फबाट सरकारमा नेतृत्व गर्ने कसले, आन्दोलन हांक्ने कसले भन्नेमा नेतृत्व तय गर्नु आवश्यक छ । यो तय गरेपछि धेरै कुरा स्पष्ट हुन सक्छ र कांग्रेस अल्मलिए जस्तो पनि देखिंदैन ।
० नेतृत्व कसले लिंदा उपयुक्त होला जस्तो लाग्छ तपाईंलाई ?
– तीन नेताबाहेक अरु पनि सक्षम थुप्रै छन् तर तीन नेतामध्यबाटै गर्ने भएपनि हामीलाई त केही आपत्ति छैन । जो भए पनि हुन्छ, नेताहरुले मिलेर निर्णय गर्नुपर्छ ।
० प्रधानमन्त्री बनाउनु पर्दा कसलाई बनाउने त, खाली मिलेर गरे हुन्छ भनेर मात्रै त समस्या सुल्झिंदैन नि ?
– प्रधानमन्त्री को बन्ने भन्ने कुरा वास्तवमा नेपाली कांग्रेसका लागि गौण कुरा हो हेर्नुस्, आज देश अत्यन्त गएगुज्रेको अवस्थामा पुगिसक्यो । जो बने पनि उहांहरुले कुनै नयां कुरा या नतिजा दिन सक्नुहोला भन्ने मलाई लाग्दैन, खाली बन्नका लागि बन्ने भन्ने मात्रै हो । जो प्रधानमन्त्री बने पनि एउटै काम मुख्य गर्ने हो, त्यो भनेको निर्वाचन गराउने मात्र हो ।
० संविधानसभा पुनःस्थापना गर्ने सवाल अब निरर्थक भएकै हो त ?
– पुनस्थापन गर्ने मात्र भनेर भएन नि, कसरी गर्ने, गरेर के गर्ने भन्ने कुरा कम्ती अप्ठ्यारो छ र ? दलीय नेतृत्वहरुले पनि अब यो बुझ्न थालेझैं लागेको छ ।
० प्रचण्डजी त अझै पनि पुनस्थापनको सोचम रहनुभएको बुझिन्छ, यसको चांजोपांजो उहांले मिलाउनुहोला नि ति ?
– प्रचण्डजीले मिलाएर मिल्ने र सक्ने भए धेरै कुरा मिलिसक्थ्यो होला नि त, खै देश त झन् लथालिङग भइरहेछ, के हेरिरहनुभएको छ प्रचण्ड ? अर्को कुरा सबैले याद राख्नुपर्ने के छ भने प्रचण्डजीले कहिले के बोल्नुहुन्छ कहिले के भन्ने कुराबारे विभिन्न मितिका अखबारका कटिङ उपलब्ध गराईदिनुहोस् न मलाई, त्यो हेरेर खुशी हुन्थें म । अर्थात्, उहांले १५ जेठमा के बोल्नुभयो, १६ जेठमा के बोल्नुभयो र आज असोजसम्म आइपुग्दा कतिपटक आफ्ना कुरा बदल्नुभयो, विचार गरेर हेरौं त π अनि बोली र विचारको अडान नभएका यस्ता नेताले कतिबेला के भन्छन् त्यसैमा लागेर हिंड्न मिल्दैन नि । उहांका कार्यकर्ताहरु बहकिएलान् तर हामी त बहकिन्नौं नि π
० तपाईंकै पार्टीका सभापतिले पनि त पुनस्र्थापना हुन सक्छ भन्नुभएकै हो नि यसबीचमा ?
– नेताहरु के भएका भन्ने बुझ्न नसकेर म त छक्कै परिरहेको छु । सर्वोच्च अदालतले गरेका फैसला या निर्णयहरुलाई पनि त हामीले विचार गर्नुपर्छ । अर्को कुरा शासकीय स्वरुपमा सहमति हुनु प¥यो, नेपाली कांग्रेसले संसदीय शासकीय स्वरुपको अडान लिइरहेको छ र यो नै समयानुकुल छ, के प्रचण्डजी तयार हुनुहुन्छ यसमा ? जेठ २ गते हामीले शासकीय स्वरुप बारेको अडान हामीले किन छोड्यौं भने बहुपहिचानको आधारमा हुने भयो भनेर छोडेका थियौं । तर, त्यो कुरा त अहिले भइरहेको छैन । नेपाली काङ्ग्रेले जे–जे भन्यो त्यही–त्यही मान्निुहोला रे लौ प्रचण्डले र संविधानसभा ब्युंतिएला रे । तर के संविधानसभाजस्तो सार्वभौम संस्थाका सदस्यहरुले प्रचण्ड, सुशील कोइराला र झलनाथजीहरुले जे–जे कुरामा हस्ताक्षर गछैन् त्यो–त्यो मान्नैपर्छ या मान्छन् त्यसका सदस्यहरुले भन्ने के छ र ? अनि त्यसबेला संविधानसभा पुनस्र्थापन गरेर समस्या बल्झेला कि सुल्झिएला त ?
० पार्टीले गरेको निर्णय र निर्देशन पनि नमान्ने त तपाईंहरु ?
– जेठ १४ पछि बागमतीमा धेरै पानी बगिसक्यो । दलहरुमा टुटफुट आइसकेको छ, बराबरीको हैसियतमा माओवादी फुटेको छ । मधेसी दलहरुको हालत उस्तै छ । विजय गच्छदार अहिले गृहमन्त्री भनेर जतिसुकै फुईंफाईं हांके पनि उहां पनि माइनारिटीमा हुनुहुन्छ । एउटा पक्ष यो भयो । अर्को कुरा जेठ १४ भन्दा अघिको परिस्थिति अर्को थियो भने अहिलेको परिस्थिति बेग्लै हो । भारतीय राजदूतले पनि भन्नुभयो कि यो देशमा जातीय हिसाबले होइन आर्थिक र राजनीतिक हिसाबबाट मिलाएर प्रदेशहरुको निर्माण हुनु उपयुक्त देखिन्छ भनेर । चीनको नेपाल मामला हेर्ने महत्वपूर्ण व्यक्ति आइ पिङले पनि नेपालमा जातीय राज्य बन्नुहुंदैन बरु विकासको गति लिन सकिने हिसाबबाट फेडरलिज्ममा जानु राम्रो हुन्छ भन्ने सुझाब दिनुभएको छ । यी दुई छिमेकीहरुको सुझाव हामीले राम्रोसंग मनन गर्न सक्यौं भने यो धेरै अर्थपूर्ण छ । मैले भन्न खोजेको के भने जेठ १४ पछि धेरै घटनाहरु घटिसकेका छन्, राजनीतिक रुपमा धेरै उथलपुथल जस्तो भएको छ । सबैपक्षलाई आस्वस्त नपारीकन राजनीतिक दलका नेताहरुले मात्रै सहमति गरेर अघि बढ्न सकिन्न । पार्टीको आदेश–निर्देश अटेर गर्ने कुरा होइन ।
० राष्ट्रपतिले संविधानसभा पुनस्र्थापनाका लागि सहमति गरिदिनुभयो भने के होला नि ?
– राष्ट्रपतिले गरेर कसरी संविधानसभा पुनस्र्थापन हुन्छ, मलाई बताइदिनुहोस् न । उहांले दलहरुलाई बोलाएर ‘तपाईंहरु किन गम्भीर नबनेको ? देश खाल्डोमा पर्न लागिसक्यो’ भनेर सम्झाउने न हो, संविधानसभा ब्युंताउ भनेर भन्ने त होइन नि । हो, अन्तिम परेको घडीमा उहांले केही ठोस निर्णय लिएर अघि बढ्नै पर्ने पनि हुन्छ, तर अहिलेसम्मको अवस्था के हो भने उहां दलको नेतृत्वहरुलाई घच्घच्याउन त सक्नुहुन्छ तर दलहरुको सहमति नलिई केही गरिहाल्न सक्नुहुन्न, या त्यस्तो कदम उठाईहाल्न चाहिरहनुभएको छैन । दलहरु आफूले गर्नुपर्ने कुरामा राष्ट्रपतिलाई होम्न खोजेर कहां हुन्छ भनेको ? म त फेरि पनि भन्छु त्यसो गर्नु घोर अनर्थ हुनेछ, देशमा जातीय युद्ध निम्तिन्छ, गृहयुद्ध मच्चिन्छ ।
० पुनस्थापना हुंदा कसरी निम्तिन्छ गृहयुद्ध ?
– अहिले प्रचण्डजीको हातमा ४ सय १७ (पूर्व)सभासदहरुको हस्ताक्षर छ । अघि मैले भनें कि संविधानसभा एउटा सार्वभौम संस्था हो । पार्टीहरुबाट चल्ने संस्था भए पनि सार्वभोम पनि हो । र, प्रचण्डजीले दुई तिहाई बहुमतको हस्ताक्षर आफूसंग लिएर राख्नुभएको छ, जसमा नेपाली कांग्रेसका केही सभासदहरुले पनि त्यहां हस्ताक्षर गरेर दिएका छन्, एमाले र अन्य पार्टीका सभासदले पनि दिएका छन् । यस अवस्थामा ब्युंतिने संविधानसभाले मुलुकलाई जातीय युद्धमा नलगेर कहां लैजान्छ ? अनि जातीय युद्धले गृहयुद्ध ननिम्त्याएर के निम्त्याउंछ ?
० तपाईं संघीयताकै विरोध गरिरहनुभएको त होइन ?
– जातीय राज्य बनाउनु हुन्न भनेर भन्नु पनि कतै संघीयताको बिरोध गरेको हुन्छ र ? मुलुक संघीयतामै जानुपर्छ, संघीयता थेग्नै सक्दैन यो देशले भनिरहेको छैन म । तर जातीय संघीयता किमार्थ हुनु हुन्न, साझा पहिचानयुक्त संघीयता हुनुपर्छ ।
० अहिलेको अवस्थामा नेपाली कांग्रेसलेचाहिं के गर्नु उपयुक्त हने देख्नुहुन्छ त तपाईं ?
– नेपाली कांग्रेसका केन्द्रिय सदस्य अधिकांशले पार्टी बैठकमा बोलेका या व्यक्त गरेका धारणालाई सभापति सुशील कोइरालाले लिपिवद्ध गरिदिनु परयो । त्यत्ति गरिदिए त्यहीं निस्कन्छ नेपाली कांग्रेस कसरी अघि बढ्नुपर्छ भन्ने कुरा । शेरबहादुरजी र रामचन्द्रजीलाई खुशी पार्नका लागि सभापतिले पार्टीका केन्द्रिय नेताहरुले बैठकमा व्यक्त गरेका धारणा या आवाज लुकाउने प्रयत्न गरिरहनुभएको छ । यसरी काम चल्दैन । कांग्रेसको लागि हितकर हुन सक्दैन यो प्रवृत्ति । सभापतिजस्तो जिम्मेवार व्यक्तिले अन्य नेताहरुको स्वार्थअनुसार कहिले पुनस्र्थापनाको कुरा त कहिले ‘त्यो हुंदैन कि’ भनेजस्तो गर्नु हुंदैन भन्ने मेरो स्पष्ट धारणा हो ।
० भनेपछि कांग्रेसका तीनैजना शीर्ष नोतबाट अब काम नचल्ने भयो ?
– त्यसो नै त भनिनहालौं तर उहांहरु तीनजनाले जे चाह्यो त्यहीचाहिं हुन सक्दैन, मिल्दैन अब । कांग्रेस केन्द्रिय समितिमा ८० जना सदस्यहरु छन्, महाधिवेशनका सदस्य साथीहरुले जिताएर पठाएका हुन् उहांहरुलाई, त्यो मनन गर्न सक्नुपर्छ उहांहरुले । देशभरका कार्यकर्ताले के धारणा व्यक्त गरिरहेका छन्, पचहत्तर जिल्लाका सभापतिहरुले के धारणा राखेका छन्, उहांहरुले सुन्नुपर्छ । मनन गरेर कार्यान्वयन गर्न सक्नुपर्छ । सभापतिहरुको आवाज सुनुवाई नहुने हो भने यो बैठक किन गरेको ? ७५ मा ६६ जनाले संविधानसभा पुनस्र्थापनाको विपक्षमा धारणा राखेका छन्, त्यो कति गम्भीर कुरा हो मैले भनिरहनु पर्छ र ?

६ आश्विन २०६९, शनिबार ०९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..