आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष -डा.खगेन्द्र प्र.लुइँटेल

१. डायस्पोराको परिचय
हेब्रुली नबिगत तथा अङ्ग्रेजी exile सँग सम्बद्ध ग्रिसेली शब्द diaspora (डायस्पोरा) को पुरानो अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु वा कसैलाई दण्ड दिई एउटा मुलुकबाट निकालेर अर्को मुलुकमा धपाउनु भन्ने भए पनि यतिखेर डायस्पोराको सम्बन्ध सोझै यहुदी निर्वासन वा दण्डसँग गाँसिदैन र यसले बलपूर्वक ननिकालिई आफैँ सँसारभर फैलिनु भन्ने अर्थबोध गराउँछ । वर्तमान सन्दर्भमा डायस्पोरा शब्द प्रारम्भिक वा पुरानो अर्थ निर्वासनमा मात्र सङ्कुचित नरही यसको अर्थविस्तार र अर्थपरिवर्तन भएर यसले फैलावट/विकीर्णन (dispresion), फिँजाइ (spreading), छराइ/तितरबितर (scatering), बसाइँसराइ(migration) आदि अनेक अर्थ दिन थालेको छ ।

 

डायस्पोरा–डायस्पोरिक शब्दको नेपाली समानार्थी शब्द खोज्न त्यति सजिलो नभए पनि मोटामोटीमा यसलाई निर्वासन, विकीर्णन, विस्थापन, प्रवास/आप्रवासजस्ता विभिन्न शब्दबाट अथ्र्याउन सकिने स्थिति रहेको छ । यिनमा डायस्पोरा/डायस्पोरिकका लागि विशेष पारिभाषिक शब्दका रूपमा आप्रवास/आप्रवासी शब्द प्रयोग गर्नु बढी सान्दर्भिक र उपयुक्त देखिन्छ । वर्तमान सन्दर्भमा यसको अर्थबोध गराउन गैरआवासीय शब्दको पनि प्रयोग गर्न सकिने स्थिति देखापर्न थालिसकेको छ । सिङ्गो साहित्यका सन्दर्भमा आप्रवासी वा गैरआवासीय साहित्य भन्न सकिन्छ भने नेपाली साहित्यका सन्दर्भमा आप्रवासी नेपाली साहित्य वा गैरआवासीय नेपाली साहित्य भन्न सकिन्छ । कसैले डायस्पोराका लागि देशपारीय शब्द पनि प्रयोग गरेको पाइन्छ । यस सन्दर्भबाट भन्ने हो भने मेची वा काली वा हिमाल वा तराईका केही भूभाग पार गर्नेबित्तिकै देशपारि हुन्छ तर ती सबैलाई डायस्पोरिक भन्न मिल्दैन । यसरी पारीय भन्दै जबर्जस्ती गर्ने भए अञ्चलपारीय, जिल्लापारीय, गाउँपारीय, टोलपारीय, बाटोपारीय, घरपारीय, खोलापारीय आदिमा छुट्ट्याउनुपर्ने हुनसक्छ । कसैले घरदेश र परदेश शब्दको प्रयोग गरेको पाइए पनि यसले डायस्पोराको अर्थ वहन गर्न सत्तैmन । यसरी मनगढन्ते पाराले हावादारी शब्द राखेर आफ्नोपन देखाउन खोज्ने लाहुरे वृत्तिले धेरैतिर नोक्सान पुर्‍याएको छ भने यसले डायस्पोरालाई पनि क्षति नै पुर्‍याइरहेको छ । यस्ता निरर्थक शब्दको प्रयोग गर्नु पटक्कै उपयुक्त हुँदैन । यति हुँदाहुँदै पनि डायस्पोराका लागि नेपाली शब्द के राख्ने भनी शब्दकै विवादमा अल्झेर समय बिताउनु हुन्न । नेपालीमा कतिपय अङ्ग्रेजी शब्द पनि राम्रैगरी पचिसकेका हुँदा पुरानै शब्द डायस्पोरा/डायस्पोरिकलाई नयाँ सन्दर्भअनुरूप परिभाषित गरेर अथ्र्याई प्रयोग गरे पनि फरक पर्दैन ।
कुनै शब्दको अर्थ सङ्कोच, अर्थविस्तार, अर्थपरिवर्तन आदि सामान्य प्रक्रिया नै भएकाले कुनै शब्दलाई पहिले जुन अर्थमा प्रयोग गरिन्थ्यो त्यही अर्थमा प्रयोग गरिनुपर्छ भन्ने छैन । अहिले डायस्पोराको पनि अर्थविस्तार र अर्थपरिवर्तन भएको छ । पहिले विशेषतः यहुदी समुदायको निर्वासनसँग सम्बद्ध डायस्पोराले अहिले विशेषतः आप्रवासनलाई सङ्केत गर्छ । विभिन्न सन्दर्भबाट हेर्दा डायस्पोरा भनेको कुनै खास राष्ट्र वा सँस्कृतिका मानिसहरू अन्य राष्ट्र वा सँस्कृतिमा निर्वासित भएर, फैलिएर, विकीर्ण भएर, फिँजिएर, छरिएर वा तितरबितर भएर, बसाइँ सरेर एवँ प्रवासिएर बस्नु भन्ने हुन्छ ।
प्रत्येक राष्ट्रको आफ्नो डायस्पोरा हुन्छ र त्यो आफ्नो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहेको हुन्छ । यसर्थ आफ्नो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुने हुँदा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । एउटा मुलुकबाट अर्को मुलुकमा प्रवासिँदा, बसाइँ सर्दा वा छरिएर बस्दा सम्बद्ध मुलुकको सामाजिक–साँस्कृतिक परिवेशजन्य भिन्नताले जीवनभोगाइमा सङ्कट उत्पन्न हुँदाहुँदै पनि त्यही सङ्कटका बीच बाँचिरहेका वा बाँच्न बाध्य भइरहेका मानिसहरू नै डायस्पोरा हुन् । यस्तो स्थिति जुनसुकै मुलुक वा जातिमा हुनसक्छ । यसप्रकार विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्नपुगेको छ । नेपालबाट अन्यत्र मुलुकमा लामो समयदेखि छरिएर रहेकाहरू सम्बद्ध देशका नेपाली डायस्पोरा हुन् । यी सबै सन्दर्भबाट हेर्दा आफ्नो मातृभूमि छाडेर अर्को कुनै पराइ मुलुकमा गई आफ्नो मुलुक र आफन्तजनका वियोगको पीडा खपेर पनि त्यहीँ जीवन धान्न बाध्य व्यक्ति डायस्पोरिक हुन्छ र त्यस्ता व्यक्तिबाट त्यसै प्रकारको अनुभूति प्रस्तुत गरी लेखिएको साहित्य डायस्पोरिक हुन्छ । साहित्यिक सन्दर्भमा सामान्यतया तन त्यता र मन यता हुने खालको अभिव्यक्तिलाई डायस्पोरिक भन्नसकिन्छ । यसरी डायस्पोरा शब्द र यसको प्रयोग सन्दर्भ सुरुतिर अर्कै भए पनि अहिले यसले नवीन सन्दर्भार्थका साथ साहित्यिक स्वरूप ग्रहणसमेत गर्न थालिसकेको छ ।
२. डायस्पोरा र डायस्पोरिक साहित्य
डायस्पोरालाई नेपाली सन्दर्भबाट मात्र अथ्र्याउन नसकिने अवस्था सिर्जना भइसकेकाले यसलाई न्यूनतम रूपमा सैद्धान्तिकीकरण गर्न आवश्यक छ । यसका लागि यस विषयका ज्ञाता तथा अध्येताहरूको गहन छलफलबाट निष्कर्ष निकाली त्यसलाई सर्वत्र प्रचारप्रसार गरिनुपर्छ । डायस्पोरालाई स्पष्ट रूपमा अथ्र्याएर सैद्धान्तिकीकरण गरिसकेपछि कुन व्यक्ति डायस्पोराभित्र पर्छ र कुन पर्दैन भन्ने कुरा स्वतः निर्धारित हुन्छ । यसर्थ अहिले को डायस्पोरिक हो र को होइन भन्दा पनि डायस्पोरा वा डायस्पोरिक साहित्य के हो भन्ने समस्या भएकाले सर्वप्रथम यसको निराकरण गरिनु आवश्यक छ । डायस्पोरालाई अथ्र्याएर स्पष्ट पारिसकेपछि स्वतः वर्गीकरण गर्न सकिने अवस्था आउँछ र यसलाई विभिन्न ढङ्गले वर्गीकरण गर्न पनि सकिन्छ । सम्बद्ध व्यक्ति कुन मुलुकमा गएर बसेको छ त्यसै आधारमा पनि वर्गीकरण गर्न सकिने हुँदा यसका नेपाली अमेरिकी डायस्पोरा, नेपाली बेलायती डायस्पोरा आदि अनेक प्रकार हुनसक्छन् । यसैगरी प्रस्तुतिगत–प्रवृत्तिगत आधारमा पनि यसको वर्गीकरण गर्न सकिन्छ ।
वर्तमान विश्वका प्रायः अविकसित मुलुकहरूबाट विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढ्दो छ । जुन ठाउँबाट जहाँ गएका हुन् त्यहीँको भाषा, सँस्कृतिमा ती सब विलयन हुने क्रम पनि जारी छ । नेपालबाट पनि प्रशस्तै नेपालीहरू सँसारका विभिन्न ठाउँमा विकीर्णन, विस्थापन वा निर्वासन भएका छन् वा प्रवासिएका छन् । डायस्पोरामा ‘जहाँ छौ त्यहीँका हौ’ भनिए पनि जाति र सँस्कृतिका नाममा ‘आफ्नै राष्ट्रको वा नेपाली’ भन्ने मानसिकता रहिरहन्छ तापनि तिनले रीतिथितिलगायतका सबै पक्ष त्यहीँको आत्मसात् गर्नुपर्ने हुन्छ । यस्तो स्थिति आउन निकै लामो समय लाग्छ, छोटो समयमा हुँदैन । यसर्थ मातृभूमि त्यागेर अन्यत्र गई छोटो समय वा अस्थायी बसोबास गर्नेलाई नभएर लामो समय वा स्थायी बसोबास गर्नेलाई मात्र डायस्पोरा मान्नुपर्ने हुन्छ ।

अर्काको देशमा जतिसुकै सम्पन्न भएर अनेकौँ सुखसुविधाका साथ बसे पनि आफ्नो मातृभूमि र आफन्तहरूप्रतिको सम्झना र सद्भाव स्मरणमा रहिरहन्छ । यताबाट तिनको नागरिकता वा नागरिकका हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकार गुमिसकेको वा गुम्न लागेको हुन्छ भने उतापटि केही मात्रामा त्यस्तो अधिकार प्राप्त भएको वा नभएको स्थिति रहन्छ तर पनि आत्मपहिचान वा परिचयको सङ्कट (crisis of idendity) भने सदैव जीवित रहन्छ । यसरी प्रवासिएकाहरूले मातृभूमि सम्झे पनि परिस्थितिवश उतैको भाषा, सँस्कृति, अपरिचय आदिसँग सङ्घर्षरत रही बसोबास गर्दागर्दै त्यतै विलयन भएकालाई पनि डायस्पोरा नै भनिन्छ । यताबाट उता गए पनि फर्केर आउनचाहिँ चाहने तर सहजै फर्केर आउन नसकी उतै स्थायी रूपमा बसोबास गर्ने बाध्यता भएका मानिसहरू पनि डायस्पोरा हुन् । यिनको तन उता र मन यता वा आधा मन उता अनि आधा मन यता हुने गर्छ र तिनमा जहिले पनि असुरक्षा, भय, सन्त्रास, मानसिक पीडा, अपरिचय, बिरानोपन वा पराइपन आदिका साथै मातृभूमि र आफन्तजनको सम्झना, कर्मलाई धिक्कार्ने वृत्तिलगायत अनेक प्रकारको पीडाबोध भइरहन्छ । यिनीहरू भौतिक रूपमा पुगेको ठाउँसँग र मानसिक रूपमा मूल थलो वा मातृभूमिसँग गाँसिएको द्वैध मनस्थिति वा दुईतिरको पन वा दोहोरो पीडामा बाँच्न बाध्य हुन्छन् । यस्तैयस्ता भावना वा विचारहरू डायस्पोरिक साहित्यमा अभिव्यक्त भएका हुन्छन् । यसरी हेर्दा यताको भावना बोकेर उता गई त्यतैको जीवन भोगाइका सकस आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भन्नु उपयुक्त हुन्छ । अझ भनौँ मूलभूमिबाट पराइभूमिमा पुगेका व्यक्ति वा समुदायका समस्याहरू चित्रित साहित्य नै डायस्पोरिक साहित्य हो ।

विदेसिने चलन नयाँ नभएकाले यसैसँग सन्दर्भित शब्द डायस्पोरा पनि नयाँ हुने कुरै भएन । उहिलेदेखि अहिलेसम्म अनेक कारणबाट थुपै्र मानिसहरू आफ्नो जन्मभूमि छाडेर विदेसिने क्रम निरन्तरप्रायः छ । कतिपय बाध्यात्मक रूपमा विदेसिएका हुन्छन् भने कतिपय स्वेच्छाले राजीखुसी विदेसिएका हुन्छन् । व्यापारव्यवसाय, सैन्यकर्म, अध्ययन, वैवाहिक सम्बन्धलगायत राजनैतिक अस्तव्यस्तता, धार्मिक हिँसा, प्राकृतिक प्रकोप आदिका साथै शरणार्थी र युद्धपीडित भएर अनि सुखसुविधाको खोजीका लागि पनि मानिसहरूमा विदेसिने प्रवृत्ति पाइन्छ । यतिखेर तेस्रो विश्वका शरणार्थीहरूसमेत अमेरिकाली तथा युरोपेली मुलुकतिर जान लालायित देखिन्छन् भने कतिपय गइसकेका पनि छन् । कतिपय स्वदेशबाट विरक्तिएर नफर्किने हिसाबले विदेसिए पनि त्यहाँ आफ्नो अस्मिता नदेखी फेरि मातृभूमिमै फर्केर आउँछन् । आफ्नो कमाइधमाइ आदि सकेर स्वदेश फर्किने इरादा बोकी विदेसिएकाहरूका मनमा फर्किने चाहना अवश्य हुन्छ तर बाध्यात्मक परिस्थितिका कारण तिनीहरू फर्किन सक्दैनन् र त्यतै बस्छन् । यसरी आफ्नो मातृभूमिबाट अलगिएर गएकाहरू मिलेर त्यहीँ एउटा भावनात्मक समाजको निर्माण गर्छन्, त्यसैलाई डायस्पोरा भनिन्छ । यस्तो प्रायः तेस्रो विश्वका गरिब, अविकसित र अशान्त मुलुकबाट पहिलो विश्वका धनी, विकसित र सम्पन्न मुलुकमा हुने गर्छ । कतिपय धनी मुलुकले गरिब मुलुकका नागरिकहरूलाई वैधानिक प्रक्रिया पूरा गरेरै आफ्नो मुलुकमा भित्त्याउने गरेको पनि पाइन्छ । यस्तैयस्ता ढङ्गबाट निर्मित समाजका सदस्यहरूद्वारा सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरिन्छ । कतिपय डायस्पोरिक साहित्यलाई औपनिवेशिक आदि सन्दर्भले पनि प्रत्यक्ष–परोक्ष प्रभाव पार्छ । यताबाट छुटेका र उतापटि नजोडिएका वा राम्ररी जोडिन नसकेका वा तन उता र मन यता भएकाहरूबाट त्यस्तैत्यस्ता सन्दर्भहरूलाई लिएर आत्मपहिचानको सङ्कट, गृहस्मृति–गृहविरह (लयकतबनिष्ब), भय, पीडा, त्रास, असुरक्षा, अनिश्चितता, अपरिचय, बिरानोपन, आफू र आफ्नो सत्व हराएको औपनिवेशिक अनुभूति र त्यसको खोजी, द्वैध मनस्थिति आदिको अभिव्यक्ति गरिएका साहित्यलाई डायस्पोरिक साहित्यमा मानिन्छ र डायस्पोरिक साहित्यका विशेषता भनेका पनि यिनै हुन् ।

अन्य मुलुकका झैँ हाम्रा नेपालीहरू पनि विभिन्न सन्दर्भबाट उहिलेदेखि नै विदेसिने क्रम पाइन्छ । विदेसिएकामध्ये कतिपय फर्किए, कतिपय फर्किन चाहेर पनि फर्किन सकेनन् र उतै इहलीला समाप्त पारे भने कतिपयचाहिँ उतै घरजम गरेर बसेका छन् । वास्तवमा क्षणिक आवेशमा बाहेक अब म कहिल्यै नेपाल फर्किन्न भनेर कमै मात्र विदेसिन्छन् । तिनमा स्वदेश फर्कने सोचाइ र चाहना भए पनि परिस्थितिजन्य कारणबाट फर्कन नमिल्ने स्थिति पनि आउनसक्छ । अझ विशेषगरी डेढदुई दशकको हाराहारीदेखि नेपालीहरू विदेसिने क्रम झन् बढ्दो छ । उच्चशिक्षित युवाहरूमा विदेशप्रतिको मोह दिनदिनै बढेकोबढ्यै छ । यसको प्रमुख कारक तत्त्व नेपालमा विगत दशकदेखि चलेको सशस्त्र युद्ध पनि एक हो भने अन्य कारणहरूमा पैसा कमाएर सुखसुविधापूर्वक जिउने अभिलाषा, उच्चशिक्षा हासिल गर्ने चाहना, देखासिकी गर्ने मनोवृत्ति आदि पनि रहेका छन् ।

सामान्यतया यताबाट उता गएर छोटोदेखि लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक/आप्रवासी साहित्य भन्ने गरेको पाइए पनि वास्तविक डायस्पोरिक साहित्यचाहिँ लामो समय बसोबास गरी त्यहीँको भाषा, सँस्कृति, रहनसहन आदि अङ्गीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मानिन्छ । विदेशी नेपाली साहित्य भनिएमा नेपालबाहिरका जोसुकैले लेखेका सबै साहित्यलाई लिन सकिन्छ तर ती सबैलाई डायस्पोरिक साहित्यचाहिँ भन्न मिल्दैन । यताबाट जो जहाँ गयो त्यहीँको भाषा, सँस्कृति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका तर आफ्नो जातीय धर्मचाहिँ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहिँ डायस्पोरिक साहित्य भन्न मिल्छ । नेपालीमा यस्तैयस्ता अनेक विषयवस्तुमा आधारित थुप्रै कृतिहरू लेखिएको पाइए पनि ती सबैलाई डायस्पोरिक साहित्यभित्र समेट्न सकिन्न ।
३. नेपाली सन्दर्भमा डायस्पोरा
केही समय यतादेखि नेपाली साहित्यका क्षेत्रमा डायस्पोरा शब्दको प्रयोग निकै हुन थालेको देखिए पनि यो कुनै नौलो र नवनिर्मित शब्द नभई उहिलेदेखि विभिन्न सन्दर्भार्थमा प्रयोग हुँदै आएको शब्द हो । ईसाको पाँचौँ शताब्दीतिरदेखि प्रचलित डायस्पोरा शब्द कुनै नयाँ शब्द नभएर प्राचीन शब्द भएकाले नेपालीमा यसको पहिलो पटक प्रयोग कहिले, कसले र कहाँबाट गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण हुँदैन । कुनै नयाँ शब्द निर्माण गरी प्रयोग गर्दा मात्र त्यसको प्रयोग कहिले, कसले र कहाँबाट गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नेपालीमा यतिखेर केहीले अल्पज्ञान वा अनभिज्ञताका कारण डायस्पोरा शब्दको जथाभावी प्रयोग गरेकाले यसबारेमा निकै गम्भीर प्रश्न उठाउनसमेत थालिएको हुँदा यसको ऐतिहासिक र वर्तमान दुवै सन्दर्भ केलाई वास्तविक अर्थ ठम्याउनु आवश्यक छ । यसरी चासो राख्नु यसको विकासका लागि सराहनीय कार्य भए पनि सर्वत्र आफ्नो मात्र बखान गर्ने अरूको चर्चै नगर्ने निन्दनीय कार्यबाट नेपाली डायस्पोरा पिल्सिएको देखिन्छ ।
डायस्पोराबारेमा यसै पङ्क्तिकारद्वारा २०६४ सालमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित गोष्ठीमा प्रस्तुत ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’ शीर्षक कार्यपत्रलाई डायस्पोराको सैद्धान्तिक सन्दर्भसहितको प्रथम कार्यपत्र मानिएको छ । त्यसमा डायस्पोराका बारेमा अनेकौँ सैद्धान्तिक र प्रायोगिक समस्या र समाधानका उपायसमेत सुझाइएको थियो । त्यस कार्यपत्रलाई त्यस वर्षकै सर्वोत्कृष्ट रचना ठहराई विशेष ढङ्गबाट पुरस्कृतसमेत गरिएको कुरा ज्ञातव्य नै छ । यस्तै यसै पङ्क्तिकारबाट तारानाथ शर्मा र अन्यद्वारा सम्पादित आधा सय कविका सयजति कविताको सँगालो उत्तर अमेरिकाका नेपाली कवि र कविता (२०६६) नामक पुस्तकमा लेखिएको ‘उत्तर अमेरिकाली डायस्पोरामा नेपाली कविता’ शीर्षक भूमिकामा डायस्पोराको सैद्धान्तिक स्वरूपका साथै नेपाली सन्दर्भमा डायस्पोराबारे कतिपय गम्भीर समस्याहरू उठाउनाका साथै तिनका समाधानको बाटो पनि सुझाइएको थियो र त्यो भूमिका सम्बद्ध क्षेत्रमा निकै चर्चित रहेको कुरा सर्वविदितै छ । डायस्पोराको सैद्धान्तिक र प्रायोगिक पक्षबारे यस पङ्क्तिकारका अन्य थुप्रै लेखहरू विभिन्न पत्रपत्रिकाका साथै अनलाइनमा समेत प्रकाशित भइसकेको कुरा पनि सार्वजनिक नै छ । डायस्पोराबारेका यस पङ्क्तिकारका यी विभिन्न लेखनपछि यताका कतिपयले तिनैलाई सामान्य भाषान्तर गरेर वा नगरेरै पनि विना सन्दर्भ सारसुर गरी डायस्पोराबारेको पहिलो लेखक आफैँ भएको भन्दै कतिपय लेख छापेको र कार्यपत्रसमेत प्रस्तुत गरेको देखिन्छ तर… त्यस्ताप्रति दया गर्नुभन्दा अर्को विकल्प छैन । यसरी अर्काले गरेको कामलाई आफ्नो बनाउने प्रयत्न कतिपय तथाकथित समालोचक भनाउँदा टिप्पणीकारहरूको पेसाजस्तै भएको छ । कसले पहिले लेख्यो, कहिले लेख्यो, के लेख्यो, कस्तो लेख्यो आदिबारेमा इतिहासले मूल्याङ्कन गर्ने हुँदा त्यसमा चिन्ता लिनु आवश्यक नभए पनि यो प्रसङ्ग यहाँ उठाउनाको तात्पर्य आत्मप्रशँसा नभएर कतिपयले डायस्पोराको प्रवर्तक र आधिकारिक व्याख्याता आफू नै भएको भनी सामान्य पाठकमा भ्रम फिँजाउने अभिव्यक्ति दिन थालेकाले अरूको नपढ्ने र आत्मरतिमै मख्ख पर्नेहरूलाई जानकारी दिने उद्देश्य मात्र हो ।
यतिखेर अरूका खोजपूर्ण लेखनलाई चर्चासम्म नगरी आफ्ना सामान्य अखबारी लेखनलाई पहिलो कार्यपत्र एवँ आधिकारिक लेखसमेत भन्न बाँकी नराखी आत्मश्लाघामा रमाउने प्रवृत्ति पनि बढ्दो छ । यसको ज्वलन्त उदाहरणका रूपमा अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन (२०६८) नामक पुस्तकमा लेखिएको डा. गोविन्दराज भट्टराईको ‘नेपाली डायस्पोरा अध्ययनमा यस प्रथम ऐतिहासिक उपलब्धिको स्वागत गर्दछु’ शीर्षक भूमिका मात्र हेरे पुग्छ । ‘प्रामाणिक इतिहासको स्थापना गर्ने भन्ने होमनाथ सुवेदीको अनुरोधमा लेखिएको’ भनिएको यस पुस्तकको भूमिकामा गोविन्दराज भट्टराईले ‘नेपाली भाषासाहित्यको कृतिमा त्यसको (डायस्पोरा) प्रयोग भएको प्रथम साहित्यिक कृति मुगलान देखिएको छ । मेरो अध्ययनले अरू साहित्यिक प्रकाशनमा भेटेको छुइनँ । त्यसले गोविन्दराज भट्टराईलाई डायस्पोराको प्रथम प्रयोक्ता र परिचायक व्यक्तिका रूपमा स्वीकार्नु पर्ने इतिहासले देखाएको छ’ भन्ने कुरा उल्लेख गरेका छन् । मुगलान र डायस्पोराको कुनै सम्बन्ध नभएको स्पष्ट हुँदाहुँदै पनि यस्ता अनावश्यक कुरा जोडेर स्वघोषित प्रथम हुने प्रयत्न गर्ने डा. भट्टराईले नेपालीमा मुगलान शब्दको निर्माण र प्रथम प्रयोग पनि मैले नै गरेको भन्नसमेत बाँकी नराख्ने स्थिति देखापरेको छ । यसै भूमिकामा भट्टराईले ‘मुगलानको चौथो सँस्करणको भूमिका (२०६०) मा मैले पहिलोपल्ट डायस्पोरा शब्दको प्रयोग नेपाली भाषामा गरेँ’ भनेका छन् । प्राचीन कालदेखि प्रचलित शब्दलाई नेपाली रूपान्तरणसम्म नगरी जस्ताको तस्तै प्रयोग गरी मपाइँत्व प्रदर्शन गर्नु कुन पुरुषार्थ हो र ? आफ्नाबाहेक अरूको अध्ययन नगर्ने आत्मश्लाघीले भन्ने कुरा यहाँभन्दा बढी के नै हुन्छ र ? यसरी नै आत्मप्रशँसा गर्दै जाने हो भने त त्यसको कुनै औषधी छैन तर यथार्थवादी हुने हो भनेचाहिँ यस्ता कुराको कुनै अर्थ पनि छैन । यस्तैगरी भदौमा आँखा फुटेका डिँगाले सधैँ हरियो देख्छ भनेझैँ जताततै उत्तरआधुनिकता देख्ने भट्टराईले ‘डायस्पोरालाई उत्तरआधुनिकताको हाँगो’ भन्ने उल्लेख गरेका छन् । एकातिर ‘मुगलानलाई डायस्पोराको आरम्भ बिन्दु’ भन्ने अनि अर्कातिर डायस्पोरालाई उत्तरआधुनिकतासँग जोड्ने ? उसो भए मुगलान पनि उत्तरआधुनिक कृति हो त ? ईसापूर्वदेखिका सन्दर्भको विस्तारित रूप डायस्पोरा पनि उत्तरआधुनिकता हो भने अब उत्तरआधुनिकताको पनि पुनव्र्याख्या गर्नुपर्ने भयो । यस्ता चरम हास्यास्पद कुराको कुनै औचित्य छैन । मुग्लानबाट डायस्पोरा थालिएको भए त्यसअगिका जङ्गबहादुरको बेलाइत यात्रा (१९०७ तिर), मुनामदन (१९९१), मुलुकबाहिर (२००४) आदिलाई के भन्ने नि ? विदेशी सन्दर्भको वर्णन गरिएकै कृतिलाई डायस्पोरिक भन्नु पर्ने भए यस्तो वर्णन जङ्गबहादुरको बेलाइत यात्रामै पाइन्छ । अहिलेसम्म यसका लेखक अज्ञात छन् । यो कृति त गोविन्दराजको होइन होला ? जङ्गबहादुर आफ्नो शासनकालमा बेलायत गएका थिए र त्यसै विषयमा केन्द्रित रहेर कसैद्वारा जङ्गबहादुरको बेलाइत यात्रा नामक कृति लेखियो तर गोविन्दराज भट्टराई त मुगलान लेख्न भुटान त गएका थिएनन् । यस्तै देवकोटाको मुनामदन, लैनसिँह बाङ्देलको मुलुकबाहिरमा पनि मुगलानमा भन्दा बढी नै विदेशी प्रसङ्ग आएका छन् । ती कृति मुगलान (२०३१) भन्दा निकै पहिलेका हुन् भन्नु नपर्ला । आफ्नो अध्ययनले नभेटेको भन्ने भट्टराईले सायद यी कृति पनि पढेका छैनन् कि ? यीबाहेक अन्य कतिपय साहित्यकारले पनि विदेशी विषयवस्तुमा आधारित कृति लेखेका छन् । यस्तै लोकसाहित्यतर्फ हेर्ने हो भने चन्द्रशमशेरको कर्खामा पनि चन्द्रशमशेरको बेलायत यात्राकै वर्णन पाइन्छ । यी कतिपय शासकीय सन्दर्भका अतिरिक्त भोटको लडाइँको सवाइजस्ता सामान्य नागरिकसँग गाँसिएका विदेशी विषयवस्तु वर्णित साहित्यिक सँरचनाहरू पनि केही मात्रामा भेटिन्छन् । साहित्यिक दृष्टिले यी सबै महत्त्वपूर्ण भए पनि यी कुनै पनि कृति र यसखाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्दैन । विदेशको वर्णन नै डायस्पोराको परिचायक अभिलक्षण पनि होइन । यसर्थ जे पायो र जुन पायो त्यसैलाई डायस्पोरिक नभनी सैद्धान्तिक स्पष्टताका साथ जिम्मेवारीपूर्वक भन्नु राम्रो हुन्छ, निरर्थक मनगढन्ते कुरा कथुरेर पाठकलाई दिग्भ्रमित पार्ने र इतिहासको अपव्याख्या गर्ने प्रयत्न गर्नु हुँदैन । तथाकथित मै हुँ भन्ने अल्पज्ञानीले धेरैलाई भुलाउने प्रयत्न गरेकाले नजान्नेले नलेख्दा हुन्छ, सबैलाई सबै विषयमा ज्ञान हुनैपर्छ भन्ने छैन तर मान्छे भुलाउने ढाँचाले निरर्थक गन्थन लेख्नुचाहिँ उपयुक्त हुँदैन भन्ने कुरा बोध गराउनै पर्ने भइसकेकाले यी सबै कुरा उल्लेख गरिएको हो ।

यसै पुस्तकको भूमिकामा डा. भट्टराईले ‘२०६२ चैत्रमा प्रकाशित मेरो तेस्रो समालोचना कृति उत्तरआधुनिक ऐना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २००५ र २००६ को उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भयो । त्यो नै डायस्पोरिक साहित्यलाई, त्यसको नयाँ दिशालाई सँस्थागत गर्ने प्रथम प्रयत्न हो’ भन्दै ‘२००९ को अगस्टमा अमेरिकाको न्युयोर्कले डायस्पोरिक नेपाली साहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो । त्यस्तो महासम्मेलनको प्रमुख आतिथ्य ग्रहण गर्ने अवसर पाउनु मेरो निम्ति ठूलो सौभाग्यको कुरा थियो । त्यति मात्र होइन त्यही अवसरमा नेपाली साहित्यको अनुसन्धातालाई प्रदान गरिने ई.सँ. २००९ को (प्रथम) डायस्पोरा खेमलाल हरिकला लामिछाने पुरस्कार तथा सम्मान ग्रहण गर्ने सौभाग्य मलाई प्राप्त भएको थियो … यसले एउटा इतिहासको आरम्भ गर्‍यो’ भन्नाका साथै कतिपय लाहुरे साहित्यकारहरूका कृतिमा भूमिका लेखेर डायस्पोराको एकलौटी विकास गरेको र यसबारे लेख्ने आफूबाहेक अरू कोही नभएको भन्ने खालका कुरा पनि उल्लेख गरेका छन् । डा. भट्टराईको उत्तरआधुनिक ऐनामा डायस्पोराबारे के लेखिएको छ र र त्यसले डायस्पोरिक साहित्यको नयाँ दिशालाई सँस्थागत गर्‍यो ? निबन्धात्मक ढाँचाका आत्मप्रशँसाकेन्द्री चरम प्रभाववादी विमोचकीय मन्तव्य र अखबारी लेखनलाई बटुलेर छापिएको यस पुस्तकबारे पाठकहरू विज्ञ भएकाले यस्तो अनावश्यक फुर्ती गर्नुको कुनै औचित्य छैन । यस्तै भट्टराईले नै उल्लेख गरेझैँ यी र यस्तै कतिपय प्रायोजित पुरस्कार हत्याउनु, केही लाहुरेहरूका भूमिका लेख्नु अनि कुनै कार्यक्रमको प्रमुख अतिथि हुनु नै डायस्पोराको प्रवर्तक र डायस्पोरिक लेखनको आधिकारिक व्याख्याताको मापदण्ड हो भने त त्यसमा केही भन्नु छैन । यदि यसैलाई मापदण्ड मान्ने हो भने पनि यस्तो निजले मात्र नभएर अरूले पनि प्राप्त गरेका छन् । यसर्थ यस्ता हास्यास्पद बकम्फुसे कुरा कथुरेर डायस्पोराको स्वघोषित प्रवर्तक र आधिकारिक व्याख्याता बन्न खोज्नुको अर्थ सपनामा लड्डु खानु जत्तिको पनि छैन । यसै भूमिकामा डा. भट्टराईले आफ्नो एउटा अखबारी लेखनलाई पनि उत्पातको बताउँदै अनि अरूको गहन अध्ययन–अनुसन्धानमा आधारित बहुप्रशँसित रचनालाई ‘बहुप्रचारित कार्यपत्र’ भन्नसमेत बाँकी राखेका छैनन् । यसरी आफूलाई नै सर्वेसर्वा ठान्ने र आफूबाहेक अर्काको लेखनको चर्चै नगर्ने वृत्तिबाट डायस्पोरिक साहित्यको विकास हुँदैन । डा. भट्टराईलाई प्रायोजित पुरस्कार ग्रहण गर्ने, लाहुरेलाई फुक्र्याउने र कतैका समारोहमा प्रमुख अतिथि हुने छुट भए पनि डायस्पोराको आधिकारिक व्याख्याता म मात्रै हुँ, अरू कोही छैनन् र अरूले गर्न पनि पाउँदैनन् अनि कसको कुन कृति डायस्पोरिक हो वा होइन भनी मैले नै अनुमोदन गर्नुपर्छ भन्नेजस्ता अहँकारी एकाधिकारवादी र निषेधकारी अभिव्यक्ति दिने छुटचाहिँ पटक्कै छैन । यसै भूमिकामा डा. भट्टराईले डायस्पोराको चर्चाका सन्दर्भमा सँरचनावादलाई ऐतिहासिक भन्दै गाली गरेका छन् । आधुनिकता भन्ने कुरो कहिल्यै ऐतिहासिक हुँदैन भन्ने तथ्यलाई भुलेर सँरचनावादलाई ऐतिहासिक भन्नु कति हास्यास्पद छ ? डायस्पोरा र सँरचनावाद भिन्न प्रवृत्तिका विषय भएकाले यहाँ तिनको उल्लेख किन आवश्यक भयो ? सँरचनावादका नामबाट यस पङ्क्तिकारलाई गाली गर्नु परेको भए अन्यत्रै गरेको भइहाल्थ्यो नि । सँरचनावाद नै नबुझ्नेले त्यसबारेमा टिप्पणी गर्नु निरर्थक कार्य हो । आत्मरतिमा रमाउने छुट सबैलाई भए पनि नभएका कुरा गरेर अनि भएका कुरा नगरेर अरूलाई होच्च्याउने छुटचाहिँ कसैलाई नभएकोतर्फ सम्बद्ध सबै सचेत हुनुपर्छ ।

यी विभिन्न सन्दर्भ कोट्ट्याएर यहाँ व्यक्ति गोविन्दराज भट्टराईको आलोचना गरिएको नभई उनका निकृष्ट वृत्तिको चर्चा गरिएको मात्र हो । यस्तैयस्ता अनावश्यक चर्चा गर्दै–सुन्दै जाने अनि डायस्पोरा र डायस्पोरिक साहित्यबारे सैद्धान्तिक, व्यावहारिक र प्रायोगिक निष्कर्ष ननिकाल्ने हो भने भोलि भद्रगोलको स्थिति आउन सक्छ भन्नेतर्फ सचेत र क्रियाशील हुनु अपरिहार्य भइसकेकाले यहाँ यस्ता केही सन्दर्भ कोट्ट्याइएको हो । यी सबै भनाइको तात्पर्य के हो भने अब डायस्पोराबारे विद्यमान भ्रान्तिहरूको निराकरण गर्नुपर्ने बेला भइसकेकाले यसतर्फ ढिलो नगरी जिम्मेवारीपूर्वक लाग्नुपर्छ भन्ने हो ।

भौगोलिक सीमा, अवधि, निरन्तरता, प्रवृत्ति आदिका आधारमा डायस्पोरिक साहित्यको निरूपण गर्नुपर्ने हुन्छ तापनि यसमा कतिपय जटिलतासमेत छन् । डायस्पोरिक नेपाली साहित्यलाई भौगोलिक सीमासँग जोडेर नेपाल भूमिबाहिर सबै, सार्क मुलुकबाहिर आदि अनेक थोक भन्ने गरिएको पनि पाइन्छ । त्यसमा पनि कतिपयले विशेषतः अमेरिका र बेलायतलाई केन्द्रबिन्दु बनाएर चर्चा गरेका छन् । यसो गरिनुमा व्यक्तिगत प्रयोजन नै मुख्य रहेको देखिन्छ । डायस्पोराको सम्बन्ध भौगोलिक सीमासँग अवश्य भए पनि त्यसबारेमा मतभिन्नता रहेको छ । कसैले यसलाई भिसासँग जोड्छन् भने कसैले यसलाई समुद्रपारसँग जोड्छन् अनि कसैले देशपारसँग जोड्छन् । यस्तै यसको अवधि, निरन्तरता र प्रवृत्तिका बारेमा मनगढन्ते व्याख्यान पाइन्छन् । यताबाट त्यता वा नेपालबाट विभिन्नतिर प्रवासिई लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएकै भए पनि ती सबै डायस्पोरिक साहित्य होइनन् । आफ्नो मातृभूमि छोडेर कतै बाहिरिँदैमा न त त्यो व्यक्ति डायस्पोरा हुन्छ नत त्यसले लेखेको साहित्य नै डायस्पोरिक हुन्छ । डायस्पोरिक हुनु नै त्यसको योग्यताको कसी हुँदैन । सिर्जनाभित्रको गुणवत्ताले नै लेखकको योग्यता, क्षमता र योगदानको निरूपण गर्छ । नेपाली परिप्रेक्ष्यबाट हेर्दा विदेशमा गएका बेला वा नगएका बेला पनि स्वदेश वा विदेशका बारेमा लेखिएका साहित्यलाई डायस्पोरा भन्ने गरेको पाइन्छ । वास्तवमा डायस्पोरिक साहित्य भनेको त्यस्तो होइन । यताबाट उता गएका र उतै बसेका वा फर्केकाहरूबाट सिर्जित सबै खाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिने स्थिति नरहन पनि सक्छ ।

यतिखेर यताबाट त्यतातिर गएका सबैलाई डायस्पोरिक लेखक भनाउने रहर देखिन्छ भने त्यस्तो भनिदिनेहरू यतापटि केही देखापर्न पनि थालेका छन् । यी दुवै डायस्पोराका लागि मात्र नभएर सिङ्गो नेपाली साहित्यका लागि अत्यन्त हानिकारक वस्तु हुन् । यताबाट त्यता गई बसोबास गर्ने कतिपय व्यक्तिद्वारा स्थापित कतिपय सानातिना पुरस्कार र तिनको प्रायोजित वितरणले हाम्रा कतिपय समालोचकलाई लोभ्याएर जे पायो त्यही लेखिदिने प्रवृत्ति पनि बढ्दो छ । यसतर्फ यताका लेखिदिने र त्यताका लेखाउने दुवै सचेत हुनु आवश्यक छ । समग्रतः नेपालीका सन्दर्भमा सामान्यतया सार्क मुलुकबाहिर एक दशकजति निरन्तर रूपमा (बौद्धिक–प्राज्ञिक छलफलबाट परिवर्तन गर्न सकिने) बसोबास गरेका व्यक्तिबाट सिर्जित साहित्यलाई डायस्पोरिक नेपाली साहित्य भन्न सकिन्छ तर यस्ता साहित्यमा डायस्पोरिक प्रवृत्ति भने अवश्य हुनुपर्छ ।
गैरआवासीय नेपाली ९ल्च्ल्० भन्ने सन्दर्भ कानुनी रूपमै व्याख्यायित छ । यसले नेपाली मूलको विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतलाई जनाउँछ । आफ्नो देश छोडेर आधा वर्षजति अन्यत्र गई बसोबास गरेका नेपालीलाई गैरआवासीय नेपाली मानिन्छ तर नेपाली डायस्पोराबारे कानुनी त के स्पष्टतः सैद्धान्तिक व्याख्यासमेत भएको छैन । हालसाल आएर यताका र उताका केही व्यक्तिहरूद्वारा डायस्पोरा वा डायस्पोरिक साहित्यबारे गरिएका सामान्य चर्चापरिचर्चा त्यसको प्रारम्भिक जानकारीका लागि उपयोगी भए पनि त्यतिलाई नै पर्याप्त मानेर ढुक्क हुने अवस्थाचाहिँ छैन । यसर्थ यसको स्पष्ट सैद्धान्तिक व्याख्या गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।
यताकाहरू उता गएर लेखिएका जति जम्मै साहित्यलाई डायस्पोरिक साहित्य भन्न थालिएमा यसबाट कतिपय गम्भीर प्रश्नहरू जन्मिन्छन् भन्दै यस पङ्क्तिकारले यसपूर्व नै पटकपटक केही समस्याहरू प्रस्तुत गरेको थियो । ती प्रश्नहरूलाई यहाँ पनि दोहोर्‍याइन्छ ः
ड्ड सम्बद्ध व्यक्ति उता गएको कति समय हुनुपर्ने ?
ड्ड त्यहाँ स्थायी बसोबास गरेको हुनु पर्ने कि नपर्ने ?
ड्ड यताको नागरिकता छोडेको र उताको लिएको हुनु पर्ने कि नपर्ने ?
ड्ड व्यापार, भ्रमण, अध्ययन, विवाह वा अन्य कुनै पेसा आदि उद्देश्यबाट उता गई उहीँ लेखिएका साहित्य मात्र डायस्पोरामा पर्ने कि ? उताबाट फर्केर आई यहीँ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य पनि पर्ने ?
ड्ड केही दिनका लागि यसो उता गई उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई के भन्ने ?
ड्ड धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यहीँ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा भन्ने कि नभन्ने ? अनि तिनका सिर्जनालाई डायस्पोरिक मान्ने कि नमान्ने ?
ड्ड उताको कुनै प्रतिष्ठित सँस्थाको नाम दिएर यता आफ्नै लगानीमा प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई के नाम दिने ?
ड्ड आफ्नै मातृभाषामा लेखिनु पर्ने वा आफू बसोबास गरेकै देशको वा अन्य मान्यताप्राप्त अन्तर्राष्ट्रिय भाषामा लेखिएको भए पनि हुने ? आदि ।
निकै अगाडि छलफलका लागि विभिन्न कार्यपत्र र उत्तरअमेरिकाका नेपाली कवि र कविताको भूमिकामा समेत राखिएका यी विभिन्न प्रश्नबारे गम्भीर रूपमा चिन्तनमनन गरी व्यक्ति डायस्पोरा र साहित्य डायस्पोराको अवधारणा स्पष्ट पार्नु आवश्यक छ भन्ने कुरा पनि उल्लेख गरिएको थियो । यसबारेमा पर्याप्तै चर्चा परिचर्चा पनि भएकै हो । यस सन्दर्भमा नेपालबाट उतातिर गएको कुनै व्यक्तिले मोटामोटी एक दशकजति अवधि निरन्तर रूपमा बिताएको हुनुपर्ने, त्यहाँ स्थायी वा अस्थायी रूपमा निरन्तर बसोबास गरेको हुनुपर्ने, यताको नागरिकता छोड्नु वा उताको लिनु आवश्यक नहुने वा छोडे–लिए कुनै फरक नपर्ने, जुनसुकै उद्देश्यबाट भए पनि उता गएकाले उतै बस्दा लेखिएका साहित्य मात्र डायस्पोरामा पर्ने तर यता फर्किएर आई यहीँ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य डायस्पोरामा नपर्ने, केही दिनका लागि यसो उता गई उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई डायस्पोरिक मान्न नसकिने, धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यहीँ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा नभन्ने र तिनका सिर्जनालाई डायस्पोरिक नमान्ने, उताका सँस्थाको नाम दिएर यता प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई डायस्पोरिक भन्न नमिल्ने, डायस्पोरिक साहित्यको सम्बन्ध भाषासँग नभएर कथ्य वा अनुभूतिसँग हुने अर्थात् आफ्नै मातृभाषा वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अङ्ग्रेजी आदि भाषामा लेखिएका कृतिमा पनि यताको वा उताको मार्मिक भावना मुखरित भएमा वा त्यसको विषयवस्तुचाहिँ आफ्नै मुख्य भूमि वा बसोबास गरेको भूमिसँग सम्बद्ध भएमा पनि तिनलाई डायस्पोरिक कृति मान्नु पर्छ यसर्थ भाषाका दृष्टिबाट हेर्दा प्रचलित जुनसुकै भाषामा पनि उताका वा यताका वा दुवैतिरका विषयवस्तुमा केन्द्रित रही आफ्नो देश, जाति, धर्म, सँस्कृति, अवस्था आदिबारे लेखिएका रचनालाई पनि डायस्पोरिक साहित्य मान्नुपर्छ भनी डायस्पोरा र डायस्पोरिक साहित्यको निरूपण गर्ने हो भने धेरै हदमा यससम्बन्धी समस्याको समाधान हुन्छ ।
यीबाहेक अहिले त्यताबाट उठाइएका विभिन्न प्रश्नहरू लगभग माथिकै प्रश्नसँग मेल खाने खालका छन् । तीमध्ये साहित्यिक वृत्तबाट हेर्दा डायस्पोरा के हो ?, डायस्पोरिक साहित्य भनेको के हो ?, डायस्पोरिक साहित्यकार हुने मापदण्ड के हो र कस्ता लेखक यसभित्र पर्छन् ?, कति समयसम्म देशबाहिर रहनुपर्ने ? स्थायी वा अस्थायी बसोबास के हुनुपर्ने भन्नेजस्ता प्रश्नको जबाफ माथि नै आइसकेको छ । यस्तै कस्तो विषयमा केकति रचना सिर्जना गर्नुपर्ने भन्नेमा डायस्पोरिक प्रवृत्ति झल्किने जेजति रचना सिर्जना गरिएको भए पनि हुने भन्नु उपयुक्त हुन्छ । कतिपय सिङ्गो कृति नै डायस्पोरिक हुन्छ भने कतिपय त्यसमा सङ्कलित थोरै रचना मात्र डायस्पोरिक हुन्छन् । विदेशमा रहेर डायस्पोरिक साहित्यकार भनिएकाहरू पुनः केही वर्षपछि स्वदेश फर्किएपछि उनीहरूलाई के भन्ने ? भन्ने प्रश्नको उत्तर सजिलो छ । विदेशबाट स्वदेश फर्केर यहीँ बसोबास गर्न थालेकाहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्दैन यसर्थ उता बसुन्जेलको अवधिमा डायस्पोरिक र यता आएपछि सम्बद्ध देश र भाषाको साहित्यकार भनिदिए पुग्छ । भ्रमणको बेलामा वा छोटो परदेश बसाइको बेलामा लेखिएका रचनालाई डायस्पोरिक साहित्य भन्ने कि नभन्ने ? स्वदेशी लेखकले विदेशी विषयमा लेख्दैमा त्यस्ता कृतिलाई पनि डायस्पोरिक भन्ने कि नभन्ने ? भन्ने दुवै प्रश्नको उत्तर नभन्ने नै हुन्छ र त्यस्ता कृतिलाई डायस्पोरिक भन्न मिल्दैन । डायस्पोरा शब्दको सट्टा दक्षिण एसियाको साहित्यलाई प्रवासी र त्यसभन्दा परको साहित्यलाई आप्रवासी साहित्यको रूपमा परिभाषित गर्दा के हुन्छ भन्ने सन्दर्भमा बौद्धिक–प्राज्ञिक छलफलका आधारमा यिनलाई पारिभाषिक शब्दका रूपमा अथ्र्याई यसो भन्दा केही पनि फरक पर्दैन । नाम वा शब्द महत्त्वपूर्ण नभएर काम वा अर्थ महत्त्वपूर्ण हुन्छ ।
यताका हाम्रा कतिपय लेखक साहित्यकारहरू आफूलाई उत्तरआधुनिक भनाउन लालायित देखिने र त्यसो भनिदिँदा त्यो भनाइ प्रशँसा वा निन्दाको समेत भेउ नपाई मख्ख परेझैँ उताका आफूलाई डायस्पोरिक साहित्यकार भन्न–भनाउन बढी लालायित देखिने हुँदा अहिले आफूलाई डायस्पोराको साहित्यकार भनाउन रुचाउनेहरूको सङ्ख्या पनि अधिक भएकाले यता छापेर उता अनि उता छापेर यता विमोचन गराउने प्रचारमुखी प्रवृत्ति पनि बढ्दो छ । यति मात्र होइन केही दिन विदेश जाँदा लेखिएका यात्रा सँस्मरण मात्र होइन तीर्थयात्राबारे लेखिएका गन्थनलाई समेत डायस्पोरा भन्ने र भनिदिनेहरूसमेत भेटिन थालेका छन् । यस्तो प्रक्रियालाई बढावा दिइएमा त्यसबाट सक्कली डायस्पोरा ओझेलिने र नक्कलीहरू उज्यालिने सम्भावना पनि रहन्छ तर यस्तो अवस्था सैद्धान्तिक स्पष्टता नहुन्जेलका लागि मात्रै हुने भएकाले क्षणिक हुन्छ ।
कतिपय आत्मश्लाघी प्रायोजित टिप्पणीकारहरू आफूले पढेको वा भूमिका लेखेको कृतिलाई ‘नेपालीकै पहिलो डायस्पोरिक कृति’ भनिदिन पनि बाँकी राख्दैनन् । यसरी भनिदिँदा मात्र कृति डायस्पोरिक हुने कि साँच्चिकैको डायस्पोरिक हुनुपर्ने हो ? यसतर्फ उति ध्यान पुर्‍याएको देखिन्न । आफूले पढेका वा भूमिका लेखेका वा अध्ययनको केन्द्रक बनाएका वा मन परेका जतिलाई पहिलो, अद्वितीय, शतक वा दशककै उत्कृष्ट आदि विशेषण जडान गर्ने तर अरू कतिपय महत्त्वपूर्णलाई समेत बेवास्ता गर्ने लाहुरेवृत्ति पनि देखिन थालेको छ । यस्तै ठूलै डायस्पोरिक समालोचक भन्न रुचाउने कतिपयले यतैतिर हुँदा प्रकाशित कतिपय लेखकका कृतिलाई समेत डायस्पोरिक साहित्य भनी बढाइचढाइका साथ उल्लेख गर्ने गरेको पनि पाइन्छ तर यो एकदमै अनुपयुक्त र गैरजिम्मेवारपूर्ण कार्य हो । हुन त समालोचकलाई मात्र के दोष दिनु, कृतिकारहरू पनि भरसक आफूलाई हरक्षेत्रको पहिलो नै भन्न रुचाउँछन् र त्यसो भनिदिँदा मख्ख पर्छन् । थुप्रै कृतिहरूको सिर्जना गरिसकेकाहरू पनि आफ्नो पछिल्लो कृतिलाई पहिलो भनी आफ्नै इतिहास मारिएको समेत भेउ पाउँदैनन् । यसतर्फ कृतिकार र समालोचक दुवै सचेत हुनुपर्छ नत्र दुवैको अस्तित्वमाथि नै प्रश्नचि≈न खडा हुन बेर लाग्दैन ।
४. उपसँहार
यता वा उताबाट लेखिएका कतिपय कृति नेपाली साहित्यमा विशेष उल्लेखनीय रहे तापनि ती सबैलाई डायस्पोरिक कृति भन्न मिल्दैन । यसर्थ अहिलेका लेखकहरूले आफूलाई जबर्जस्ती डायस्पोरिक लेखक भन्न–भनाउन लगाउने र समालोचकहरूले पनि विना हिचकिचाहट भनिदिने परिपाटीलाई त्यागेर डायस्पोरिक नेपाली साहित्य, प्रवासी नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य र नेपालभित्रकै नेपाली साहित्यका बीचमा स्पष्टतः विभेदक रेखा कोर्नुपर्छ । यीमध्ये कुनै नामले मात्र साहित्यकार उत्कृष्ट हुने होइन, त्यसको उत्कृष्टताको कसी उसको साहित्यिक कृति नै हुन्छ । कुनै सर्जकले विदेशी भूमिमा बसेर लेखिएका सबै खाले कृतिलाई डायस्पोरिक साहित्य भन्ठान्ने समालोचकले पनि एकाध प्रवासी लाहुरे साहित्यको टिप्पणी गरेकै भरमा आफूलाई ठूलै डायस्पोरिक समालोचक ठान्ने वृत्ति त्याग्नुपर्छ । विदेशी भूमिमा बसेर लेखिएका सबै कृति डायस्पोरिक हुँदैनन् भने सामान्य टिप्पणीकार ठूलो समालोचक हुने कुरै आउँदैन । कसैको निकै पहिले प्रकाशित भई सर्वत्र चर्चित एवँ प्रशँसित हुनाका साथै वर्षभरिको उत्कृष्ट रचनाका रूपमा मूल्याङ्कित भई विभिन्न पुरस्कारसमेत प्राप्त गरिसकेको रचनालाई समेत सामान्य शब्दान्तर गरेर सन्दर्भसमेत नदिई आफ्नो बनाउने, आफ्नो सामान्य अखबारी लेखनलाई अनावश्यक चर्चा गरी र आफू पहिलो ठूलै स्वघोषित डायस्पोरिक समालोचक हुन रुचाउने निकृष्टवृत्ति पनि त्याग्नुपर्छ । सक्कली समालोचकले त यस्तो घृणित कार्य गर्दैन अनि समालोचक भनाउन चाहनेहरूले पनि यस्ता घृणित र अशोभनीय कार्य गर्नु हुँदैन । यस्ता कार्यबाट क्षणिक स्वार्थपूर्ति त होला तर इतिहास लुकाएर लुक्दैन भन्नेतर्फ सम्बद्ध सबै सचेत हुनुपर्छ । यस्तैगरी यतिखेर डायस्पोरालाई मात्राका रूपमा हेर्नुपर्ने अवस्था पनि रहेको देखिन्छ । मात्रा निर्धारण गर्न त्यति सजिलो नभए पनि कतिपय रचनामा डायस्पोराले सामान्य स्पर्श गरेको अनि कतिपयमा व्यापक प्रस्तुति रहेको हुने हुँदा । कुन कृतिमा डायस्पोराको केकस्तो अवस्था छ भन्नेबारे वस्तुगत जानकारीका लागि मात्रा केलाउनु पनि आवश्यक छ ।
यतिखेर कम्प्युटर र अफसेट छापाखाना प्रविधिको अत्यधिक विकासले गर्दा दिनानुदिन अनेक विधाका अनेक कृतिहरू छापिने र विमोचन गरिने क्रम निरन्तर भएकाले उताका त के यतैका पनि सबै कृति खोज्न सहज छैन । यसमा पनि सक्कली लेखकहरू नै पछि पर्छन् । केही टाठाबाठा, सम्पन्न र पहुँचवालाहरूले विमोचन आदिका नामबाट व्यापक विज्ञापन गरी कुनाकुनासम्म प्रचार गर्छन् र समालोचकको आँखा पनि त्यस्तै कृतिमा पर्न जान्छ अनि त्यसैलाई त्यस विधाको पहिलो कृति भनिदिन्छन् । डायस्पोरा भएरै बसेकाहरूबाट यता वा उताका सन्दर्भमा लेखिएका कृतिलाई मात्र डायस्पोरिक कृति मानी तीमध्येबाट विभिन्न विधाको पहिलो डायस्पोरिक कृति पत्ता लगाउन निकै शोधखोज गर्नु आवश्यक छ । विश्वभर छरिएर रहेका नेपाली डायस्पोराहरूद्वारा सिर्जित साहित्यलाई विधागत रूपमा छुट्ट्याएर सूचीबद्ध गरिएमा कुनचाहिँ विदेशमा नेपाली साहित्य र कुनचाहिँ डायस्पोरिक नेपाली साहित्य हो भनी छुट्ट्याउन सकिन्छ । आजको युग इलेक्ट्रोनिक युग भएकाले विदेशी भूमिमा बसेर साहित्यका विभिन्न विधामा लेखिएका साहित्यिक कृतिहरूको व्यापक खोजतलास गरी विधागत रूपमा वेबसाइटमा राखेर अनि पुस्तकाकार रूपमा त्यसको इतिहास तयार पार्नुपर्छ र तिनको वस्तुवादी मूल्याङ्कन गरिनुपर्छ । विदेसिएका नेपाली साहित्यकारहरूको सक्रियतामा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नामक सँस्थाका अनेकतिर फैलिएका शाखाप्रशाखाहरूलाई क्रियाशील तुल्याएर त्यसका माध्यमबाट सबैतिरका कृतिहरूको विधागत सूची तयार गर्न सकिन्छ । सम्बद्ध लेखकले विश्वको जुनसुकै कुनाबाट प्रकाशित आफ्ना सिर्जनाहरूको स्पष्ट विवरण (कृति र कृतिकारको नाम, प्रकाशन वर्ष, विधा आदि) खुलाएर विद्युतीय सञ्चार माध्यमबाटै भए पनि स्वदेशतर्फ जानकारी गराएमा कृति सूची तयार गर्न सजिलो पर्छ । यसका लागि लेखक र समालोचक दुवैले एकअर्कालाई दोष नलगाई आपसी समन्वय स्थापित गरेर सचेतताका साथ जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ । पहिले सामग्री सङ्कलन र वर्गीकरण गरी तिनको विश्लेषण गरिसकेपछि मात्र कुन कृति वास्तविक डायस्पोरिक हो र कुन होइन भनी निक्र्याैल गर्न सकिन्छ । यो काम तत्काल नगरिएमा पछि छुट्ट्याउनै नसक्ने गन्जागोलको स्थिति आउन सक्ने पक्का भएकाले यसतर्फ सम्बद्ध सबै सचेत रहनु अपरिहार्य छ । सैद्धान्तिक र व्यावहारिक दुवै पक्षबारे माथि उल्लेख गरिएका कतिपय समस्याहरू हुँदाहुँदै पनि नेपाली साहित्यको श्रीवृद्धिमा डायस्पोराको भूमिका उल्लेख्य रहेको देखिन्छ ।
प्रमुख सन्दर्भसामग्री
एड्वार्ड्स, बेन्टहेज, द प्राक्टिस अफ डायस्पोरा ः लिटरेचर, ट्रान्स्लेसन एन्ड राइज अफ ब्ल्याक इन्टरनेस्नालिज्म, हार्भर्ड ः क्याम्बिज युनिभर्सिटी प्रेस, सन् २००३ ।
खत्री र अन्य, सम्पा., अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन, वासिङ्गटन डिसी ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, २०६८ ।
द इन्साइक्लोपेडिया ब्रिटानिका, भोलुम ३, लन्डन ः विलियम बेन्टन पब्लिसर्स, सन् १९९० ।
द इन्साइक्लोपेडिया ब्रिटानिका, अल्टिमेट रेफरेन्स, सन् २००३ ।
भ्यानहियर, निकोलस, न्यु डायस्पोराज, लन्डन ः यु.सि.एल्. प्रेस, सन् १९९८ ।
लुइटेल, डा. खगेन्द्रप्रसाद, ‘एक्काईसौँ शताब्दीको कविता एक्काईसौँ शताब्दीजस्तै हुनुपर्छ’, अक्षर, (२–१, २०६२ भदौ–मङ्सिर) ।
………………………., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, गैरआवासीय नेपाली सङ्घ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाद्वारा २०६४ असोज २७ गते काठमाडौँमा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
………………………., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, जनमत, (२४–११–१२, २०६४ पुस), पृ. ९–१५ ।
………………………., ‘उत्तर अमेरिकाली डायस्पोरामा नेपाली कविता’ शर्मा, तारानाथ र अन्य, सम्पा., उत्तर अमेरिकाका नेपाली कवि र कविता, अमेरिका–क्यानडा ः उत्तर अमेरिकाका नेपाली कवि र कविता सङ्ग्रह प्रकाशन समिति, २०६६ ।
………………………., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, हाम्रो ध्वनि, (४०–९, २०६६ जेठ–असार), पृ. १३–२१ ।
………………………., ‘विश्वपरिप्रेक्ष्यमा उत्तरआधुनिकतासम्बन्धी दृष्टिकोण’, भृकुटी, (१०, २०६७ माघ–चैत), पृ. १२९–१३७ ।
………………………., ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’, समकालीन साहित्य डट् कम ।
………………………., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, समकालीन साहित्य डट् कम ।
………………………., ‘विशेष अन्तर्वार्ता’, खसखस डट् कम ।
………………………., ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’, प्रहरी, (५३–१, २०६८ वैशाख), पृ. १३–१७ ।
………………………., ‘डायस्पोरा सिद्धान्त र नेपाली सन्दर्भ’, शब्दाञ्जली, (४–३, २०६८), पृ. ७–१४ ।

(नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा २०१२ जुन ३० मा अमेरिकाको टेक्सासमा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र )

समकालीन नेपाली साहित्य डट‌‌ कम बाट साभार गरिएको

४ आश्विन २०६९, बिहीबार २०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..