अभागीको तीज -सजना गुरुङ

चारै तिर तीजको रमझम , हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् ! गीत , गजल मा तीज ! रेडियो , टेलिविजन मा तीज ! जता ततै तीजको लहर छाएको छ !
आज त म पनि साथीहरुसंग किनमेल गर्न जाने योजना बनाएकी थिएँ , उफ ! कसो बिर्सिएना छु ! छिटो छिटो तयार भएर लागे साथीको घर तिर ! साथीको घरको गेट सम्म के पुग्दै थिएँ कति खुशी भए सबै निस्कदै गरेको देखेर ! सबै भएर लाग्यौ महेन्द्र पुल तिर !
“ सुजाता ! तिमी सारी किन्ने कि कुर्ता ? “
“ सारी ! ” मैले छोटो जवाफ दिएँ !
“ कुन रंगको किन्ने ? “ फेरि प्रश्न गरी कमला ले !
उत्तर दिन छोडेर उल्टै प्रश्न गरिदिएँ मैले , “ तिमी कुन रंगको किन्ने ? “
“ रातो किन्ने नि ! “ छोटो जवाफ दिई कमलाले !
“ ल ल रातो सारी आफ्नो लागि र रातो कमिज लोग्नेको लागि लिनु पर्छ ल सबैले ……हा , हा , हा ..” हाँस्दै बोलिन् तारा !
“ ल , ल , छिटो छिटो शपिंग गरेर फर्किनु पर्छ फेरि भोलि सम्म सारी ब्लाउज तयार हुदैन , दाजु लिन आउछु भनेर फोन गरी सक्नु भयो मेरो त ! भोलि साँझ लाग्नु पर्छ मेरो प्यारो माइती घरमा ! “ कमला बोलिन् !
यस्तै हाँसो ठट्टा गर्दै किनमेल गर्यौ , सारी , पोते चुरा सबै सबै सोह्र शृंगारका सामानहरु | महेन्द्र पुल देखि पृथ्वी चोक सम्मै पो पुग्यौ त राम्रो सारीको खोजीमा | शपिंग सकेर फर्क्यौ आ आफ्नो घरमा | घरको ढोका खोलेर भित्र मात्र के पसेकी थिएँ ? बुहारीले मेरो हातको सारी भाको झोला खोसेर भनिन् ,
“ दिदी ! तीजमा सबै रातो सारी लगाउँछन् , हजुर त के सेतो सारी किनेर ल्याउनु भएको ? “
“ विचरी ! के गरोस् त बत्तीस वर्ष नाग्दा पनि सिउँदो भर्ने एउटा पनि लोग्ने मान्छे नभेटे पछि ! “ मेरो जेठा भाइको श्रीमती बोलिन् !
“ किन यस्तो सारी किनेर नभाको पैसा पनि सक्नु परेको होला ? कहिले आउला यसको बुद्दी ?” आमा पनि भान्सा घरबाट निस्केर बैठक कक्षमा आउदै बोल्नु भयो !
“ हजुरको लागि के तीज ? के तिहार ? जहिल्यै माइतमा नै त बस्नु हुन्छ ! यस्तो सारी लगाएर अरुको तीज पनि खराब नपारी दिनुस् | कान्छी दिदी आउनुहुन्छ भोलि वहाँको नानी बाबु अनि हाम्रो नानी बाबूहरु हेरेर घरमै बसेको राम्रो हजुर त ! “ कान्छा भाइको श्रीमती बोलिन् मेरो सारी भुइमा फ्याकी दिंदै |
“ जहिले , जून चाड पर्व आए पनि यहि त काम गरेकी छु मैले , भाइको , बहिनीको छोरा छोरी हेर बस घरमै ! यसपाली को तीज त म पनि मेरो साथीहरुसंग मनाउने छु , हाँसेर , नाँचेर , रमाइलो गरेर ! “ रुन्चे काँपेको स्वरमा भनें मैले !
“ हाँस्न , रमाइलो गर्न त भाग्यमा पनि त लेखेको हुनु पर्यो नि दिदी ? के अनि कुन खुशीमा हाँस्नु हुन्छ हजुर ? न घर ? न लोग्ने ? न बालबच्चा ? कसरी रमाउँन सक्नुहुन्छ ? “ बोलिन् फेरि जेठा भाइको श्रीमती !
यिनीहरु त मात्र मौका खोज्छन् मलाई दश थरि कुरा सुनाउनालाई | यहाँ भन्दा बढी कुरा सुन्न सक्ने क्षमता छैन म सँग | मेरो सारी उठाएर लागें म चुपचाप मेरो कोठामा | आजको मान्छेहरु सबै शिक्षित छन् तर शिष्टाचार छदै छैन | बुहारीहरु भित्रीए पछि त मेरो जीवन यो घरलाई मात्र होइन म आफैलाई पनि धेरै बोझ लाग्न थाली सकेको आभास पो हुन्छ म स्वयम्लाई | कतिन्जेल आशाको त्यान्द्रोमा जिन्दगीलाई झुन्ड्याउनु ? अनि कहिले सम्म बाटो हेर्नु ? आफ्नो मनलाई झुटो सान्त्वना दिदै कि कोही अवश्य आउनेछ डोली अनि जन्ती लिएर मलाई पनि बेहुली बनाइ लैजाने छ त्यस पछि म पनि सम्मानित हुनेछु आफ्नाहरुको नजरमा | यसरी हरेक बिहान , दिन , साँझ अपमानित हुनु पर्ने छैन मैले पनि कसैबाट ! न मेरो भाइहरु बाट ? न बुहारीहरु बाट ? तर खै आज सम्म कोही आएन , मेरो हात थाम्नलाई ! मेरो हात माग्नलाई ! मेरो सिउँदो भर्नलाई ! यीसब कुरा भाग्यमै निर्भर गर्ने नै भए पनि मैले कसको के नै बिगारी दिएंकी थिएँ र जो मसंग यति अन्याय गर्यौ विधाता ? खै तिम्रो विधानमा सबैको लागि समानता ? कति दिन रुनु ? कहिले सम्म प्रतिक्षा गर्नु ? कहिले सम्म यस्तो दुर्भाग्यलाई झेलेर बाँच्नु ?
मनभरी कुरा खेलाउदा खेलाउदै कति बेला निदाएछु थाह नै भएन ! आँखा खोल्दा बिहान भै सकेको रहेछ | नित्यकर्म सकी खाना बनाउनमा व्यस्त भएँ ! खाना खाइसकेर बुहारीहरु माइत जाने तयारीमा लागे र म घर सफाइमा | काम सकेर म कपडा धुन तिर लागें | मेरै आँखा सामु बाट बुहारीहरु माइत लागे तर मलाई गएँ सम्म पनि भन्न आवश्यक सम्झेनन् | यो घरको लागि म केवल बोझ रहेछु भन्ने कुरा राम्ररी बुझाउदै छन् यी घरका मान्छेहरु | मन अमिलो भयो तर कुनै प्रतिक्रिया जनाइन , कपडा धुनुलाई नै निरन्तरता दिएँ |
साँझपख भाइ पनि बहिनीलाई लिएर आइन् ! धेरै महिनापछि बहिनीलाई देख्दा धेरै खुशी भएँ | आमाले यस्तो यस्तो खाना बनाउनु भनेर निर्देशन् दिनु भयो र मैले पनि खुशी खुशी तयार गरें ! आमाले आफ्नै हातले खानाको टेबल सजाउनु भयो | बहिनीको लागि भात , मासु , खीर , दुध , दही , घ्यु राख्नु भयो ! खाना खानुलाई म पनि के बस्न खोजेको थिएँ , “ हामीलाई केहि थप्नु पर्यो भने कसले थप्ने ? तिमी पछि खाँदा पनि भै हाल्छ नि , बहिनी कति महिनामा माइत आउदै छिन् , राम्रो सेवा गर्नु परेन र तीजमा त्यो पनि ? “ आमाले बस्नु पहिल्यै बोलिहाल्नु भयो |
“ हजुर त सधै यहीं , हजुरको लागि त हरेक दिन तीज जस्तै त होला नि दिदी ! हामीले जस्तो सासुको अधिनमा कहाँ बस्नु पर्छ र हजुरले ? “ बहिनी बोलिन् |
किन किन ? आमा र बहिनीले पनि यस्तो व्यवहार गर्दा अति मन दुख्यो मलाई ! आफुलाई नियन्त्रण गर्न खोजे तर असफल भएँ ! क्रोध र रोदन मिश्रित आवाजमा भनें , “ हो नि कान्छी तिमीले ठिक भन्यौ , न मेरो म माथी हुकुम चलाउने सासु हुनुहुन्छ ? न माया गर्ने आमा हुनुहुन्छ ? “
“ हेर , हेर कस्ती अलक्षिनी छोरी जन्माएछु , यो उमेर सम्म माइतै मा बसेकी छे , लाज शर्म केहि छैन; झन् अहिले त आमा पनि छैन पो भन्छे ! म तेरो आमा होइन भने किन मेरो घरमा बसेकी तँ खुरुक्क निस्केर गै हाल्न , तैले घर छोडेर गए पनि तँलाई खोज्न आउने कोही छैन , तँ गइस् भनेर रुने कोही छैन ! “ आमा झर्किदै बोल्नु भयो |
सहदा सहँदै शायद आज मेरो सारा सहने शक्ति नै सिद्दिएको थियो क्यारे त्यसैले मैले नचाहेरै पनि झगडा गरें बोले फेरि , “ यदि हजुर आमा हुनुहुन्थ्यो भने आफ्नो प्रत्येक सन्तान सँग समान व्यवहार गर्नुहुन्थ्यो ! यसरी कसैलाई काखा कसैलाई पाखा गर्नु हुने थिएन ! मैले केहि बोल्न साथ हजुरहरु सबै घरबाट निस्केर जाउ भनी हाल्नु हुन्छ , आज त म यो घर छोडेर जान्छु अहिले नै ! कति अपमान सहनु ? कति तिरष्कार सहनु ? कति रुनु ? म सँग अब यीसब सहेर बस्ने शक्ति छैन ! “
यति भनेर म आफ्नो कोठामा गएँ | खै आज सम्म सयौ बात र आफ्नाहरुको बातरुपी लात सहेर बसेको मलाइ यति विघ्न किन दुख्यो ? म आफैलाई थाह छैन ! मेरो भाग्यले किन यसरी मलाई ठग्यो ? किन यति धेरै अपहेलना सहेर जिउन बाध्य गरायो ? किन भावीले मेरै भाग्य लेख्दा यति धेरै अन्याय गर्यो ? आफ्नो रहर , आफ्नो सपना पूर्ण गर्नको लागि म कसै सामु झुकेर , कसै सामु भिग मागेर डोली र जन्ती लिएर मलाई लिन आउनु भनेर कहाँ भन्न सक्छु र ? न कुनै परी , जादुगर्नीले जस्तै आफ्नो अलौकिक शक्तिको प्रयोग द्वारा मलाई लैजानको लागि डोली र जन्ती मगाउन नै सक्छु ? यी सब कुरा मेरो हातमा छैन तर एक्लै जिउने हिम्मत गरेर यो उपहास , यो अपहेलना बाट टाढा त जान सक्छु ! यहि निर्णय गरेर म आफ्नो केहि लुगाफाटा झोलामा हाली हिंडे सदाको लागी घर छोडेर ! मलाई रोक्न न आमा आउनु भयो न बाबा ! न भाइ न बहिनी ? रातको दश बजिसकेको थियो घडी हेर्दा ! बाटो वरपरको घरको बार्तलीमा बलेको लाइटको प्रकाशले बाटो अलिकति उज्यालो देखिन्थ्यो ! अमरसिंग भित्रको मेरो घर छोडेर म अमरसिंग चोकमा आइपुगे ! केहि क्षण रोडमा उभिएर खै के सोंचे ? कहाँ जाउँ अब म ? गन्तव्य विहिन थिएँ र छु …………..
अचानक “ काठमाण्डौ ! काठमाण्डौ !!! “ भन्दै बस मेरो नजिक आइ रोकियो र म बसमा चढें ! बस तीव्र गतिमा गुड्दै थियो र म सोंच्दै थिएँ , आफ्नै मनसंग वार्तालाप गर्दै थिएँ , “ सबै चेलीहरु कति खुशी हुदै , रमाउदै माइत आउछन् ! तीज मनाउँछन् तर म यो संसारकै एक अभागी चेली होला जसले आफ्नै माइतीघर बाट बाध्य भइ निस्किएर यसरी तीज मनाउदै छे ! अभागीको तीज यसरी नै मानाइन्छ होला ! घर नभए पछि माइत पनि नहुदो रहेछ भन्ने कुरा आज राम्ररी बुझे मैले ! !
gurungsajana80@yahoo.com

२९ भाद्र २०६९, शुक्रबार १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..