बाबुरामलाई बोक्दा कांध गन्हाउंछ : केपी ओली

० तपाईं भारत गइरहनुहुन्छ नि, किन ?
– सबैलाई थाहा भएकै कुरा हो, बङ्ग्याउन खोज्नु अलग कुरा हो । मैले किड्नीको प्रत्यारोपण गरेको छु । त्यसको फलोअपका लागि जाने गर्छु । कतिपय टेस्टहरू यहां हुंदैनन् त्यसका लागि पनि जानुपर्छ । बकवास गर्नेहरूले राजनीतिक उपचारका लागि भनेर प्रचार गरिरहेका छन् । तर, म स्वास्थ्य उपचारका लागि नै समयसमयमा भारत गइरहन्छु । राजनीतिक उपचारका लागि म भारत गइरहनुपर्छ भन्ने आवश्यकता ठान्दिनं । विद्या आर्जन गर्न, काम खोज्न, कोही व्यापारका लागि, कोही गोष्ठी–सेमिनारका लागि जान्छन् । कसैले यसो चिनजान छ भने राजनीतिक कुराकानी गर्लान् तर मचाहिं त्यसरी कहिले पनि गएको छैन ।
० नेपाली नेताहरू बारम्बार भारत गइरहन्छन्, त्यो संयोग मात्रै हो कि त्यसमा अर्थ पनि छ ?
– म त जांदै जांदैनथें । नेपालमा ट्रान्सप्लान्ट हुंदैन थियो र भारत गएको हुं । त्यसपछि नियमित परीक्षणमा गइरहन्छु । अब त्यहांका नेताहरूसंग, पदाधिकारीहरूसंग मेरो राम्रो चिनजान छ, भेटघाट त स्वाभाविक नै हो ।
० कस्तो कुराकानी हुन्छ ?
– नेपालको सम्बन्धमा छिमेकीहरूले यहांको राजनीतिक, आर्थिक, सामाजिक विषयमा रुचि लिन्छन्, यो अस्वाभाविक पनि होइन । तिनै विषयमा कुराकानी हुन्छन् ।
० राजनीतिमा त भारतको हस्तक्षेप छ भनिन्छ नि ?
– म त राजनीतिक रूपमा हस्तक्षेप देख्दिनं, तर मागियो भने, जे पनि गरिदिन्छु भन्यो भने होला तर मसंग कोही पनि भारतीयहरूले त्यसो भन्दैनन् । तपाईंहरूको कुरा हो तपाईंहरूनै गर्नुस् हाम्रो चासो त लोकतन्त्रमा मात्र हो भन्ने गर्छन् । लोकतन्त्र शान्ति र स्थायित्वका लागि हामीले के गर्न सक्छौं भन्नुस् भन्छन् ।
० नेपाली नेताहरूले प्रधानमन्त्री र मन्त्री बनाइदिनुप¥यो भनेर भन्ने गर्छन् भनिन्छ नि ?
– खोइ, मैले त त्यो कुरा सुनेको छैन । दलहरूले एकातिर भूमिगत क्रान्ति गर्ने भनेर ट्रेन्च खनाउने अर्कोतिर सहयोगका लागि पत्र लेख्ने काम गर्छन् । यस्तो नाटक, तमासा र दोहोरो भूमिका मलाई ठीक लाग्दैन । माओवादीको बाहिरी कुरा एउटा हुन्छ भित्री व्यवहार अर्को हुन्छ, यो कुरा अब सबैले बुझिसके नि ।
० पछिल्लो समयमा प्रधानमन्त्रीले भारतको तारिफ धेरै गरिरहनुभएको छ नि ?
– उहां अभिशप्त हुनुहुन्छ । प्रधानमन्त्रीले त अझै बढी नै गर्नुपर्छ । बाहिर विरोध पनि बढी गर्नुपर्छ किनकि असली कुरा लुकाउन, भित्र भारतको दलाली पनि बढी नै गर्नुपर्छ । किनभने भारतको विरोधलाई डाइलुट गर्न पनि त दलाली बढी चाहियो । भारतको दलालीको कारणले माओवादीले सक्कली व्यवहार नै गर्दैन ।
० नेपालमा भारतको समर्थनबिना कोही पनि प्रधानमन्त्री बन्न सक्दैन भनिन्छ नि ?
– म यस्तोखाले विषयवस्तुमा चर्चा पनि गर्न चाहन्न । नेपालको राष्ट्रियतालाई कमजोर बनाउने आत्मास्वाभिमान नभएका, गए–गुज्रेका तत्वहरूको मानसिकता हो त्यो । ती तत्वहरूले जहिले पनि त्यही गर्छन् । म त्यस्तो ठान्दिनं । म कसैको विषयमा भन्न चाहन्न, तर नेपालको सरकार नेपालीले बनाउनुपर्छ, नेपालीले नै सरकार परिवर्तन गर्नुपर्छ, विदेशीको चाकडीबाट होइन । नेपाली जनताको पक्षमा राम्रो काम गरेर टिक्नुपर्छ । म प्रधानमन्त्री बन्न भारत गएको भन्ने कुरा जवाफ दिनलायकको प्रश्नै होइन । यी राष्ट्रियता नभएको कुरा हो । तर, एउटा कुरा असल छिमेकीको सद्भाव त अवश्य चाहिन्छ । एउटा सरकार राम्ररी चलाउन संसारकै सबै देशसंग राम्रो सम्बन्ध त राख्नैपर्छ नि । हामी यहां भारत, चीन, युरोप, अमेरिकाविरोधी सरकार बनाउने होइनौं, नेपालका लागि काम गर्ने र सबैसंग राम्रो सम्बन्ध राख्ने सरकार निर्माण गर्नुपर्छ ।
० बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतको समर्थन थियो अरे नि ?
– भारतलाई पनि भ्रम थियो, त्यसैले बाबुरामजीलाई प्रधानमन्त्री बनाउन सहयोग थियो होला † तर, अब भारतको समर्थन छैन । बाबुरामलाई अहिले बोक्दा कांध पनि गन्हाउंछ । मैले भारतीय पक्षसंग कुरा गर्दा अहिलेको रिक्तता हुनुहुंदैन थियो, सहमतिविपरीत द्वन्द्वमा धकेलियो, संसद् रहन नदिने षड्यन्त्र भयो भन्ने भारतीयले बुझेका छन् । तानाशाही भारतको कारणले होइन त्यो माओवादीको मौलिक चरित्र हो ।
० अबको प्रधानमन्त्री को ?
– अब लोकतान्त्रिक पार्टीहरूबाट राजनीतिक सहमतिमा अर्को प्रधानमन्त्री हुन्छ । मैले आफूलाई उम्मेदवार बनाएको छैन । तर, बनाइयो भने त्यसलाई सफलतापूर्वक पूरा गर्छु । म ४८ वर्षदेखि क्रियाशील छु राजनीतिमा । नेपालको आरोह–अवरोह सबै भोगेको छु । म प्रधानमन्त्री हुनेबित्तिकै सकारात्मकपन सुरु हुन्छ । म प्रधानमन्त्री भएर फोटो मात्र झुन्ड्याउने पक्षमा छैन । हामीले अहिले काङ्ग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने चाहेका छौं । सबैभन्दा बढी सम्भावना काङ्ग्रेसको छ ।
० अहिलेको सरकारको आयु कति ?
– धेरै छैन । मिति तोक्दिनं, दशैंसम्म यो सरकार चल्दैन । दशैंअघि नै यो सरकार ढल्छ ।
० तपाईंको नेतृत्वलाई माओवादीले समर्थन गर्ला ?
– किन नगर्नु, हामीले उहांहरूको नेतृत्वलाई समर्थन गरेकै हो । उहांहरूले पनि गर्नुहुन्छ, तर मैले अहिलेसम्म यो विषयमा कुनै कुरा सोधेको छैन । प्रचण्डको बाहिरको अभिव्यक्तिलाई महत्वका साथ लिनुहुंदैन ।
० प्रधानमन्त्रीको बहिर्गमन कसरी हुन्छ ?
– उहां सहमतिका साथ नै जानुहुन्छ । भएन भने सहमतिको वातावरण बनाउन जानुहुन्छ ।
० सरकार टिकाउन मोर्चा नै बनिसक्यो नि ?
– सरकारी गठबन्धनको कुरा गर्नुभएको होला, त्यो सुन्दर मजाक मात्र हो । तपार्इंले केही दिनमै त्यो थाहा पाउनुहुन्छ के हुन्छ भनेर ।

२६ भाद्र २०६९, मंगलवार २२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..