राष्ट्रबादी,प्रजातन्त्रबादी र कन्जरभेटिभलाई संगै लान चाहन्छौं :, प्रकाशचन्द्र लोहनी, सहअध्यक्ष (राजपा)

० मुलुकको राजनीतिलाई निकास दिने भन्दै तीन ठूला दलका नेताहरु छलफलमा जुटिरहेका छन्, तपाईंहरुले कुन रुपमा मूल्याङ्कन गर्नुभएको छ यो छलफललाई ?
– उहांहरु विगत २–३ वर्षदेखि नै यस्ता छलफल गरिरहनु भएको हो र जहिले पनि अब निकास निस्कन्छ, अब हामी यसो गर्छौं, उसो गर्छौं भन्नुहुन्छ उहांहरु । तर, हालत भने झन्–झन् बिग्रिरहेको छ । तसर्थ ठूला भनिउका दलका नेताले भनेका कुराको आधार लिने ठाउं नै छैन । तथापि, देशको समस्या निकासका लागि त दलहरुबीच सहमतिको आवश्यकता छ नै । सहमति भएन भन्दैमा बाहिरबाट कोही ल्याएर त काम चल्दैन, हामीहरुबीच नै हुनुपर्छ । देश बनाउने त आखिर हामीहरुले नै हो । त्यसकारण फेरि पनि एकपटक आशा गरौं कि जो छलफल चलेको छ यसले कुनै निकास निकालोस् ।
० ठूला भनिएका दलले सहमतिका नाममा गरेको निर्णयमा तपाईंहरुले सहीछाप ठोक्ने क्रम त चलिरहेकै छ, तीन दलले नै मुलुक चल्ने भएपछि अन्य दलको सान्दर्भिकता त रहेन नि होइन ?
– जनआन्दोलनका क्रममा ठूला भनिएका दलहरुको उपस्थिति र उनीहरुको सांगठनिक प्रभावका कारण यस्तो हुन गएको हो । तर, साना दलका पनि आफ्ना मौलिक र महत्वपूर्ण सोच–विचारहरु छन् । सांगठनिक हिसाबले सानो या कमजोर हुंदैमा उसको महत्व नै समाप्त हुन्छ या हुनुपर्छ भन्न मिल्दैन । जे होस्, साना दलहरुले पनि आफ्नो दायरा बढाउंदै जनतामा जानुपर्ने कुरालाई बढ्ता ध्यान दिनुपर्ने अवस्था भने पक्कै छ ।
० अहिले जारी सम्वादले निकास निकाल्छ भन्नेमा कति विश्वस्त हुनुहुन्छ त तपाईंहरु ?
– हेर्नुस्, माओवादीको मुख्य उद्देश्य भनेको सत्ता कब्जा हो र आधा सत्ता त कब्जा गरिसकेको छ उसले । प्रधानमन्त्री बाबुराम भट्टराईले ‘अब आउने सरकारलाई मात्र मैले शासनको बागडोर हस्तान्तरण गर्ने हो’ भन्ने जो अभिव्यक्ति दिएका छन्, त्यो भनेको सत्तामा आफू अकन्टक रहेको छु र रहन्छु भन्ने मानसिकताको उपज हो । यसरी सत्ता नछोड्ने मनस्थितिबाट माओवादी अघि बढिरहेको र सरकारलाई हटाउन कुनै वैधानिक बाटो पनि नरहेको बिचित्रको अवस्था नै वर्तमानमा मुलुक समस्याको भासमा पर्ने कारकतत्व हो । यसरी कुनै हालतमा सत्ता नछोड्ने मानसिकतामा रहेका एमाओवादीसंगको छलफलबाट सहमति र निकास निस्किहाल्छ भनेर विश्वास गर्नुचाहिं एकप्रकारले आफैलाई ढांट्नु नै हो ।
० माओवादीले सत्ता कब्जा गर्ने मनसाय राखेको छ भन्ने कुरा त कांग्रेस, एमालेलगायत तपाईंहरुले समेत उहिल्यैदेखि भन्दै आउनुभएकै हो, यसरी थाहा हुंदाहुंदै पनि किन रोक्न सक्नुभएन त तपाईंहरुले ?
– दोस्रो जनआन्दोलनको त्यत्रो उपलब्धि ठानिएको संविधानसभाको जो विघटन भयो यस्तो कल्पना हामीले गरेका थिएनौं । अर्थात् यसरी संविधानसभा विघटन हुन्छ या विघटन गरिन्छ भन्ने अनुमान हामीले गर्न सकेनौं । जुन शक्तिले सबैभन्दा चर्को रुपमा संविधानसभाको माग गरेको थियो उसैले नै यति सजिलै विश्वमै अनुपम रुपमा गठित समावेसी संविधानसभालाई अवसान गराइ देला भनी कल्पना गर्ने कुरा पनि भएन । सर्वोच्च अदालतले संविधानसभालाई आफ्ना बारेमा के गर्ने भनेर आफैंले निर्णय गर्न सक्ने विकल्प दिएको थियो । तर, त्यो अधिकार उपभोग नै गर्न नपाई प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराईले संविधानसभाको घांटी थिचिदिए । मृत्युवरण गर्ने नै हो भने पनि संविधानसभा आफैले बैठक गरेर त्यो निर्णय लिन्थ्यो होला । बाबुरामजीले त्यो अधिकार कसरी पाए ? यसरी एक्कासी जबर्जस्ती बाबुराम भट्टराईले (हुनसक्छ, उहांको पार्टी एमाओवादीको उक्साहटमा यसो गरियो) सत्ता कब्जाको यस्तो कदम चाल्लान् भन्ने अनुमान गर्न नसकिएकैले हामीले रोक्न–छेक्न सकेनौं भनी स्वीकार गर्नुपर्ने हुन्छ ।
० संविधानसभा पुनस्र्थापना र अर्कोतिर निर्वाचनको विकल्पबारे पनि दलहरुबीच छलफल चलिरहेको छ, यसमा तपाईंहरुको धारणाचाहिं के हो ? – जुन कारणले संविधानसभालाई असंवैधानिक तवरबाट विघटन गरियो ती मुद्दाहरु आफ्नो ठाउंमा यथावत रहंदारहंदै, तिनका बारे के गर्ने भन्ने निक्र्योल नगरिकनै संविधानसभा पुनःस्थापना गर्ने भन्ने कुरा उपयुक्त होइन । यत्तिकै संविधानसभा पुनःस्थापना गर्न मिल्दैन । पुनःस्थापना गर्नेवित्तिकै असहमतिका ती बुंदाहरुलाई के गर्ने ? कि त सबै दलहरु ‘असहमति भएका मुद्दा यी–यी हुन् तर अब हामी यसमा यसरी एक भएर संविधानसभाबाट पारित गराई अघि बढ्छौं, जनतालाई चित्त बुझाउंछौं’ भनी दृढ अठोटका साथ अगाडि आउन सक्नुपरयो, त्यो अवस्थामा अल्पअवधिका लागि पुनःस्थापनालाई स्वीकार गर्न सकिन्छ । तर, ती केही पनि नभईकन पहिले पुनःस्थापना गर्ने अनि छलफल थल्ने भनेरचाहिं फेरि पनि उही अवस्था निम्तिन्छ । यसर्थ यो मान्य हुने कुरा होइन ।
० त्यसोभए नयां निर्वाचन नै सबैभन्दा उपयुक्त बाटो हो भनेर धेरैले भनेका छन्, तपाईंहरुको धारणा पनि त्यही हो त ?
– निर्वाचनका लागि पनि पहिले कुरा मिल्नु प¥यो । सहमतिको सरकारमा कुरा मिल्नुपर्छ । बाबुरामजीले छोडेर चुनाव गराउनकै लागि एक निश्पक्ष व्यक्तिहरुको सरकार गठन गरिनुपर्छ । बाबुरामजी नै प्रधानमन्त्री बसेर निर्वाचनमा जाने र समस्या हल हुने सम्भावना मैलेचाहिं देखेको छैन ।
० सरकारमा कसको नेतृत्व भयो भने सबैलाई मिलाएर लैजान सकिएला त ?
– नेतृत्व जसको भए पनि सबैको सहमतिमा सरकार बन्नुपर्छ । यसका लागि सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने एजेन्डामा केन्द्रित रहेर छलफल गरिनु आवश्यक होला । भोली बाबुरामजीले नै सबैलाई ‘म नै यो देशको लागि निर्विकल्प व्यक्ति हुं’ भनी कन्भिन्स गर्न सक्नुभयो भने उहां नै प्रधानमन्त्री बन्न पनि सक्नुहुन्छ । तर, सरकार त सहमतिबाटै बन्नुपर्छ । होइन र ‘अरुले जेसुकै भनुन् मै ठूलो हुं, मैले जे भन्यो त्यो मान्नुपर्छ, त्यही नै सहमति हो, नत्र मान्दैनौं’ भन्ने ढंगले नै प्रस्तुत भइरहने हो भने कुरा पनि मिल्दैन, नयां नेतृत्व खोज्ने काम पनि अलमलमै रहन्छ ।
० बाबुरामजीले त तपाइंहरु प्रधानमन्त्री कसलाई बनाउनुपर्ने हो सहमति बनाएर आउनुस्, छोडिदिन्छु भन्नुभएकै छ नि, होइन र ?
– पहिले त त्यसो भनेको हो तर अहिले त त्यसमा पनि अनेक सर्त थोपर्न थालिएको छ । ‘सहमति गरेर आउनुस् तर हामीले राखेका प्रस्तावमा पहिले नै समझदारी बनाएर आउनुस्’ भन्ने उहांको तर्क छ । यस्तो पनि कहिं हुन्छ ? उहांहरुले भनेको सबै मानिदिनुपर्ने हो भने अरुको अस्तित्व के रह्यो र ? त्यसै जे–जे मनलाग्छ गर्नुस् भनेर छोडिदिए भइहाल्यो नि । जुन कुरामा ती–चार वर्षमा समझदारी बन्न सकेन त्यो अहिले तत्कालै कसरी सहमति गर्न सकिन्छ ? चार वर्षमा सहमति बन्न नसकेको कुरालाई चारैदिनमा सहमत भएर आउ भन्नुको मतलब म छोड्दिनं भन्न खोजेको नै हो ।
० हो, त्यसरी ती विषयमा सहमति अहिले नै गर्न नसकिने हो भने त अर्को सरकार बनाएर मात्र पनि के फाइदा होला त ?
– अर्को सरकार बनाउनु परेको नै सहमति जुटाउन सजिलो होस भनेर हो । बाबुरामजीको हठले त संकटमा रहेको मुलुकलाई उत्रिनै नसक्नेगरी थप संकटमा पार्ने खतरा बढाएको छ ।
० राप्रपा जनशक्ति र राप्रपा नेपालबीच एकीकरण गरिने विषय पनि निकै चर्चामा छ, केले रोकिएको छ तपाईंहरुको पार्टी एकीकरण प्रक्रिया ?
– देशमा प्रजातान्त्रिक पार्टीहरुबीच एकीकरण वा एकताको आवश्यकता निकै बढेर गएको छ । हामीले त ‘प्रजातान्त्रिक’संगसंगै ‘कन्जरर्भेटिभ’ शब्द पनि जोड्न चाहेका छौं कि प्रजातान्त्रिक राष्ट्रवादी कन्जर्भेटिभ पार्टीको देशमा आवश्यकता छ । ०४७ सालमा हाम्रो सुरुवात वा स्थापना नै पनि राष्ट्रवादिता र कन्जर्भेटिजमकै आधारबाट भएको थियो । हामीले नजानेर या कमजोरीका कारण होला बीचमा टुटफुटको अवस्था आयो । नेपालको राष्ट्रियता अत्यन्त कमजोर भएर गएको अहिलेको अवस्थामा राष्ट्रवादी प्रजातान्त्रिक राष्ट्रवादी दलहरु एक भएर आउनुपर्छ, राष्ट्र र राष्ट्रियता बचाउन लाग्नुपर्छ भन्ने धारणाअन्तर्गत हामी अघि बढेका हौं । एकताको घोषणा गर्ने अवस्थाको नजिक पुग्नै लागेका छौं हामी ।
० एकीकरण नहुंदै तपाईंहरुबीच विवाद देखिएको छ, एकीकरणकै विषयलाई लिएर कतिपयलाई पार्टीबाटै निकालियो, यसले एकतामा असर पर्दैन ?
– पार्टीभित्र कुनै व्यक्तिको मन मिल्ने–नमिल्ने भन्ने कुरा कुनै ठ्रलो होइन । तीन पार्टी एक हुने कुरामा सबै सहमत छौं र यसलाई मूर्तरुप दिन लागिपरेका छौं ।
० राप्रपा नेपालले संवैधानिक राजतन्त्र, हिन्दु राज्य र केन्द्रिकृत शासन व्यवस्था जस्ता अवधारणा राखिरहेको छ, तपाईंहरु पनि त्यतै लाग्ने तयारीमा हो ?
– यसको जवाफमा म के उदाहरण दिउं भने एनेकपा माओवादी र मधेसवादी जस्ता कुनै विचार–सिद्धान्त नमिल्ने दलहरुबीच त सहकार्य भएको छ भने हामी त एकै जगबाट उठेका शक्ति हौं । हामीले मुलुकको प्रचलित संविधानलाई मानेर अघि बढ्ने निर्णय गरिसकेका छौं । हाम्रो एकताको मूल आधार भनेको प्रचलित संविधानको परिधिभित्रै रहेर अघि बढ्ने भन्ने हो, तीनै पक्षले यो स्वीकार गरिसकेको अवस्था हो । यस विषयमा थप अवधारणा कुनै पक्षबाट आएका छन् भने यसमा पनि छलफल गरेर निर्णय लिन सकिन्छ ।
० राप्रपा नेपाल गणतन्त्र मानेर आउला त ?
– कोही केमा आउने या नआउने भन्दा पनि प्रचलित संविधानको परिधिमा रहेर अगाडि बढ्ने हामीहरुको अठोट हो । यसलाई महाधिवेशनमा प्रस्तुत गरेपछि महाधिवेशनले नै भावी दिशा तय गर्छ ।
० एकीकृत पार्टीको नेतृत्वचाहिं कसले गर्छ नि ?
– त्यो पनि महाधिवेशनले नै निर्णय गर्ने कुरा हो । अब ३–४ महिनामा हुने महाधिवेशनमा जसलाई आमकार्यकर्ताले बढी मत दिन्छन् उसैलाई हामी नेता मानेर अगाडि बढ्नेछौं ।
० तपाईंहरुलाई एक गराउन पूर्वराजा ज्ञानेन्द्रले आन्तरिक रुपमा भुमिका खेलिरहेको चर्चा छ नि, सत्य हो ?
– मानिसको ‘सिग्मेनट अफ इम्याजिनेसन’ भन्छ नि, कसैले कलपना गरेर नेको कुरो मात्र हो त्यो । वाहियात नै भन्न चाहन्छु म यो कुरालाई ।
० राप्रपा नेपालका अध्यक्ष कमल थापा बारम्बार आफ्नो भेट राजासंग भइरहने अभिव्यक्ति दिन्छन्, आशंक ागर्ने ठाउं त रह्यो नि ?
– पूर्वराजासंग सबैले भेटेका छन्, भेट्दैमा के हुन्छ , मैले पनि भेटेको छु ३–४ महिनाअगाडि । उहां पनि एक नागरिक हो यो देशको, नागरिकको हैसियतले भोली तपाईं पनि भेट्न सक्नुहुन्छ । पूर्वराजासंग भेट्दैमा उहांकै पछि–पछि लागेको अर्थ लगाउन मिल्छ र ? प्चण्डसंग भेट्दैमा के म माओवादी हुन्छु र ?
० तपाईंहरुको लगभग विचार पनि मिलेको हुनाले…?
– हामीले कन्जर्भेटिजमको कुरा गरेको भएर यस्तो प्रश्न गर्नुभएको होला, तर राम्रा कुरालाई नबिर्सौं, नलत्याऔं भन्न खोजेका हौं हामीले । पृथ्वीनारायण शाहलाई हामी बिर्सनेवाला छैनौं । नेपाल र नेपाली भनेर पहिचान गराउने व्यक्तिलाई पुरानो भनेर बिर्सन या त्याग्न मिल्दैन । धर्म, संस्कृतिले परिपूर्ण सुसंस्कृत राष्ट्र हो यो, त्यसैले यो देशका राम्रा कुरा लत्याउन र बिर्सन चाहन्नौं हामी । साथसाथै एक्काइसौं सताब्दिका लागि आर्थिक समुन्नति, समतामूलक समाजको निर्माण गर्दै अग्रगामी राष्ट्रको रुपमा आवश्यक मूल्य–मान्यतालाई पनि हामी बोक्छौं । यी दुबै कुरालाई समिश्रण र समन्वय गरेर हामी अघि बढ्न चाहन्छौं ।

१९ भाद्र २०६९, मंगलवार ०५:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..