आज विजया दशमी, घरघरमा टीका, १०.१९ मा उत्तम साइत

काठमाडौं । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व सोमबार हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीका लगाउँने उत्तम साइत भने १०.१९ बजे भएको बताइन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपरेको हो ।,

यस वर्षको विजयादशमीको टीकाको साइत १० बजेर ११ मिनेट छ । विजयादशमीको दिन सूर्योदय ०६:३३ र सूर्यास्त १७:४९ मा हुनेछ । त्यसैगरी चन्द्रोदय १५:१० र चन्द्रास्त २६:४६ । दशमी तिथि ११ बजेर २१ मिनेट जाँदासम्म छ । नक्षत्र ७ बजेसम्म धनिष्ठा परेको छ, त्यसपछि श्रवण । वृद्धि योग २८.६ घडीसम्म छ । ११:२१ बजेसम्म गर करण र वणिज करण २३:४२ बजेरसम्म छ । सूर्य तुला राशिमा हुनेछन् भने चन्द्रमा कुम्भ राशिमा हुने छन् ।

कात्तिक ७ गते शुक्रबार फूलपाती थियो । तर फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइएको छ । यसदिन बलि दिनेहरुले बलिसहित देवीको पूजा आराधना गरेका छन् । बेलुकी कालरात्रि मनाइयो भने हिजो कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइएको छ । तर यस वर्ष पहिले पहिलेजस्तो चहल पहल भएन, प्रायः सबै उपत्यकाका मन्दिरका ढोकामा ताल्चा लागेका थिए ।

कसरी निकालिन्छ साइत ?
१. तिथि : आश्विन शुक्लपक्षको दशमी तिथिलाई विजया दशमी भनिन्छ । सामान्यतः त्यो दिनभरि नै टीकाको साइत हो । विजयादशमी तिथि स्वयंमा शुभ हो । शास्त्रमा भनिएको छ– ‘श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा ।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः । अर्थात् आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजया दशमी भन्ने बुझ्नुपर्दछ ।

विजयादशमीको पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी यसदिन विभिन्न देश, काल र परम्पराबमोजिम भिन्नभिन्न ढंगले यस पर्वलाई मनाउने चलन छ । आश्विन शुक्ल प्रतिपदादेखि आदिशक्ति माता दुर्गाको श्रद्धाभक्तिपूर्वक आराधना गरी त्यसबाट प्राप्त आशीर्वादस्वरूप आफ्ना मान्यजनहरूबाट टीका थापी आशिर्वाद लिने चलन विशुद्ध नेपाली परम्परा हो । सनातन हिन्दुधर्मावलम्बीहरूमा नवरात्रको पूजाआराधना गर्ने र माता दुर्गाको प्रसाद ग्रहण गर्ने परम्परा ठाउँठाउँमा रहेको पाइए पनि नेपालीबाहेक अन्यले मान्यजनसँग टीका थाप्ने र त्यसपछि लगातार पूर्णिमासम्म यो क्रम जारी राख्ने प्रचलन अन्यत्र पाइँदैन ।

२. काल : दशमी तिथिलाई नै विजया दशमी भन्ने गरिए पनि यस दिनमा पर्ने कुन चाहिँ समय विजयादशमीको विशिष्ट समय हो भन्ने कुराको जानकारी लिनु साइत निर्धारण गर्ने अवसरमा महत्वपूर्ण हुन्छ । यस सम्बन्धमा निम्नानुसारका शास्त्रीय प्रमाणको विवेचना गरेर निक्र्योल गर्नुपर्छ । शास्त्रमा भनिएको छ– ‘कालो विजयो ज्ञेयः सर्वकार्यार्थसिद्धये ।। आश्विनस्य सिते पक्षे दशम्यां तारकोदये । आश्विन महिनाको शुक्ल पक्षको दशमीका दिन ताराको उदयपछि समस्त कार्यसिद्धिका निम्ति विजय नामको काल हुन्छ ।

यसैगरी शास्त्रमा भनिएको छ– ‘किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः ।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः ।। अर्थात् कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसंग उल्लेख गरेका छन्, तर विजय नाम गरेको योग नै सबै कार्यका निमित्त सिद्धिदायक हुन्छ । शास्त्रमा भनिएको छ– ‘मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम् ।। विजयाख्योऽष्टमः ।। अर्थात् मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्दछ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन् ।

माथिका श्लोकहरूमा विजय मुहूर्त साँझमा तारा उदय भएपछिको समयलाई मानिए पनि दिउँसो नै टीका थाप्ने चलनलाई समेत विचार गर्दा ‘मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम’ लाई आधारमान्दा जुन स्थानमा टीका थाप्ने हो त्यस ठाउँमा दिनको मध्याह्नकाल आश्विन शुक्लपक्षको दशमी तिथि परेको दिन विजयमुहूर्त मान्नुपर्ने हुन्छ ।

३. मध्याह्नकालको निर्णय : मध्याह्नकाल भन्नाले सामान्यतया दिनको १२ बजेलाई मानिन्छ । तर ज्योतिषशास्त्रले बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्मको समयको लम्बाइ वा अन्तरलाई बराबर पाँच भागमा विभाजन गरी बीचमा पर्न आउने तेस्रो खण्डलाई मध्याह्नकाल मान्दछ । सामान्यतः १२ घन्टाको दिउँसोको समयावधि परेमा तेस्रोभागमा पर्ने दुई घन्टा २४ मिनेटको समय मध्याह्न समय हुन आउँछ । गणितीय विश्लेषणले संसारका प्रत्येक ठाउँमा बेग्लाबेग्लै समयमा घाम झुल्किने र अस्ताउने तथा दिन र रातको लम्बाइ पनि फरकफरक हुने हुँदा मध्याह्नकाल पनि फरकफरक समयमा पर्न आउँछ ।

४. लग्न र बार बेला : विजयादशमीको साइतको मूल आधार आश्विन शुक्ल दशमी तिथिको मध्याह्नकाल हो, अर्थात् तपाईं जहाँ बस्नुहुन्छ त्यहाँ मध्याह्न समय हुनुपर्छ, विजयादशमीका दिन । मध्याह्नकालको करिब साढे दुई घन्टाको अवधिमा पनि राम्रो समय निर्धारण गर्न शुभकारक लग्न र उचित बारबेलाको चयन गर्नु र विषनाडीको परिहार गर्नु उत्तिकै आवश्यक हुन्छ ।

बारबेला– प्रत्येक दिन दिनको पूर्णावधि वा दिनमान (बिहान सूर्यादयदेखि बेलुका सूर्यास्तसम्मको अन्तर) लाई आठले भागगरी बारादि गणनाबाट आउने बारबेलालाई महत्व दिने आर्ष परम्परा रहिआएको छ ।

लग्न र विषनाडि– बिहान सूर्योदयका समयमा पूर्वीय क्षितिजमा देखिने आकाशमण्डलमा जुन राशि क्षेत्रको दृष्टिगोचर हुन्छ, त्यो त्यस दिनको पहिलो लग्न हुन्छ । एक अहोरात्रको समयावधि (२४ घन्टा) मा पूर्वीय क्षितिजमा बाह्रैवटा राशि क्षेत्रको दृश्य देख्न सकिन्छ । तीमध्ये शुभ र स्थिर मानिएका लग्नलाई शुभमुहूर्तको समय मान्ने गरिन्छ । तर एउटा लग्नको तीन बराबर भागमध्ये कुनै एउटा भागलाई विषनाडिकाल मानिन्छ, त्यसैले लग्न निर्धारण गरेर पनि विषनाडिको समयबाट जोगिँदै टीकाको साइत निर्धारण गर्नु उपयुक्त हुन्छ ।

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ, आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

ॐ, द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वाय्को जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्रझै दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ, जयन्ती मंगलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामथ्र्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको शक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।
नेवार समुदायले आजकै दिन खड्ग जात्रा मनाउँने परम्परा छ ।

१० कार्तिक २०७७, सोमबार ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..