उमा थापाको कथा, ‘पिँजडा’

“ममी हेर्नुस् त, मेरो स्वीटीले बिहान दिएको दूध,भात, पानी केही पनि खाइनछे । झोक्राएर पो बस्दै छे, बिरामी भएजस्तो छ हस्पिटल लैजाम् न ।” ६ वर्षीय छोरी कराउँदै छे । “खै ? के भएछ त त्यसलाई ? मैले तिमीलाई भनेकै थिएँ नि त । किन ल्याएको यो सुगालाई घरमा ?  हामी कोही घरमा बस्न पाउँदैनौँ । दिनभर एक्लै हुन्छ भनेको  होइन ?” “अनि हजुरले दिउँसो स्वीटीलाई पसलमा नै लगेर राखेको भए पनि हुँदैनथ्यो र ?”सानी छोरीले प्रतिवाद गरी ।

काठमाडौंको बसाइ, छोराछोरीको निजी विद्यालयको फिस, घरभाडा एकजनाको कमाइले धान्न मुस्किल भएकाले सरलाले सानो कस्मेटिक पसल राखेकी छे । दिउँसे त्यही जान्छे । स्कुल छुट्टी भएपछि  स्कुल नजिकै भएकाेले बच्चाहरू आफै आउँछन्  र एक कुनामा बसेर गृहकार्य गर्छन् । श्रीमान पनि अफिस विदा भएपछि त्यही पसलमा आउँछन् अनि सबै सबै पसल बन्द गरेर फर्कन्छन् । दुः ख गरेर डेरा नजिकै एकचेक्टा घडेरी जोडेका छन् ।  दुईचार वर्ष अगाडि लगाएका फलफूलका बिरुवा हुर्केर फल्न  थालिसके तर घर बनाउने सपना भने पूरा भएको छैन।  सरलाको जीवनमा सहरको रहर पनि गाउँघरको घाँस दाउरा मेलापातभन्दा कम्ती कहर भने छैन ।

सधैँ अफिसको काम सकेर सरलाका श्रीमान् पनि पसलमा नै आउँथे अनि सबै सँगसँगै साँझमा घर फर्कन्थे। आज अफिसको कामको सिलसिलामा श्रीमान् केही दिनका लागि दुर्गम जिल्लातिर गएका हुनाले पसलबाट तीन जना  घर फर्किए । झमक्क साँझ परेकाले सरला सरासर भान्सातिर लागेकी थिइन्, बच्चाहरु सरासर आफूले पालेको सुगा हेर्दै थिए । सम्भवले भन्यो,” नानी, स्वीटीलाई पिँजडा बाहिर निकाल त हेरौँ के भएको रहेछ ? ” सिम्रनले पिँजडाको ढोका खोली आफ्ना साना फूलजस्ता कोमल हातले सुगालाई मुसारी अनि भनी, “स्वीटी तिमीलाई के भयो ? किन खाना नखाएकी? एक्लै भएर हो ?”

सरला भान्साबाट आइनपुग्दै सुगा सिम्रनको हातबाट फुत्किएर भुर्र उड्यो । कौसीको डिलमा बस्यो र चिँचि करायो । सायद वर्षौंदेखि कुजिएको पखेटा निकै दुख्यो होला सुगाले पखेटा फटफटायो । सिम्रन, सम्भव र सरला डिलतिर नपुग्दै भुर्र उडेको सुगा पहेँलै भएर पाकेका हलुवावेदको रुखमा बस्यो र हलुवावेद खान थाल्यो ।

दिनभर केही नखाई झोक्राएर बसेको स्वीटीले हलुवावेद मीठो मानीमानी हाँगा चाहर्दैचाहर्दै खाएको देखेर सिम्रन एकछिनसम्म त दङ्ग परी । के सोची कुन्नि ? एकछिनपछि “ममी, दादा मेरो स्वीटी रूखमा बस्यो समातेर ल्याइदिनुहोस् भन्दै ऊ कराउन थाली ।” कसरी  ल्याउने त्यति अग्लो रूपमा यहाँ छतबाट कसरी समाउन जाने ?” सरलाले भनिन् । सिम्रन झन् चिच्याउँदै रुन कराउन थाली “अरु कुरा मलाई थाहा छैन। मेरो स्वीटी मलाई जसरी नि चाहिन्छ । मैले मामालाई मेरो वर्थडे भाग किन्न लगाको ।”

हेर्दाहेर्दै साँझ पर्दै गयो ।  कावा खाँदै गुँडतिर फर्कन लागेका अरू चराहरु पनि त्यसै रूखमा थपिए । चुच्चाले ठुगीँठुगीँ हलुवावेद चाखे । हेर्दाहेर्दै कागका एक हुल आएर रुखमा बसे अरु सबै चराहरु काग आएर बसेको देखेर उडे, परको जङ्गलतिर  र तीनै जनाका आँखाबाट ओझेल परे। “स्वीटी, स्वीटी, दादा हजुरले गर्दा स्वीटीले मलाई छोडेर गई, अहिले नै गएर स्वीटी ल्याइदिनुस् । हजुरले नै त हो नि पिँजडाको ढोका खोल भनेको ” सिम्रन खुट्टा बजार्दै रुन थाली ।

केही महिनाअघि वर्थडेको दिन उसलाई मामाले गिफ्टको रुपमा सुगा किनिदिएको थिए । ऊ  आफैले रोजेको सजीव उपहार थियो त्यो । उसलाई सबैभन्दा मन पर्ने नाम स्वीटी नाम दिएकी थिई । स्कुल जाँदाको समय पनि उसलाई स्वीटीसँगको दुरी नमिठो लाग्थ्यो । एक किसिमको गहिरो आफ्नोपनको  लगाव बसिसकेको थियो त्यो सुगासँग उसको । अझै भनौँ सबै परिवारको । केही शब्द दोहो-याउन सिकिसकेको थियो त्यो सुगाले पनि ।

बेलुकी खाना पनि खाना मानिन रोइरही । दाजु पनि निकै दुःखी थियो किनकि सुगाप्रति उसको पनि एक किसिमको लगाव थियो,  बहिनीले दादा भन्दा सुगाले पनि त्यसरी नै उसलाई दादा भनेर बोलाउँथ्यो । सरला स्वयम् पनि आफ्नै सन्तान जस्तो माया गर्न थालिसकेकी थिई । साँच्चै माया भन्ने चिजमा पनि कस्तो अनौठो अनुभूति हुने सरला मनमनै गम्न लागिन् ।

सरला छोरीलाई काखमा लिएर कपाल मुसार्दै सम्झाउन थाली, “हेर नानु । हामीले जति माया गरे पनि स्वीटीको परिवार हामी होइनौँ । उसको आफ्नै छुट्टै परिवार छ ।” सिम्रनले प्रतिवाद गरी “हामी उसको परिवार होइन रे ? भनेपछि हजुरले उसलाई माया नै गर्नु हुँदोरहेनछ ।  स्वीटी मेरी छोरी हो । मैले अर्को बर्थडेमा मामालाई उसको साथी पनि किनी दिनु है, उसलाई साथी हुन्छ भनिसकेको थिएँ।  स्वीटी र उसको साथीको बिहे गरिदिएर त्यही पिँजडामा सँगै राखिदिने भनेको पनि थिएँ ।”

सरलालाई छोरीको कुरा सुनेर अनौठो लाग्यो। आफू सानो छँदा पुराना कपडाको पुतली बनाएर खेलेको, बिहे गराइदिएको सम्झनामा हराइन्।  आफूले निर्जीव पुतलीलाई मानसिक रूपमा सजीवता प्रदान गरेर आफ्नो पुतली दुलाहाको घर पठाउँदा रोएको अभिनय गर्दा मनमा त साँच्चै जस्तो अनुभूति भएको सम्झना पो भयो । आफू निर्जीव पुतलीसँगको भावानात्मक नातामा जोडिएको सम्झिन् अनि छोरीको सुगासँगको आफ्नोपनासँग तालमेल गर्न थालिन् । साँच्चै नै मनमा नमिठो अनुभूति पलायो ।

छोरो सम्भव खाटमा कुनापट्टि फर्किएर घोप्टो परेर सुतेको थियो । उसलाई एक त सुगाले छोडेर गएको नमिठो अनुभूति थियो अर्को बहिनीले त्यसको दोष उसलाई नै दिएकी थिई। छोरी अझै भक्कानिदै रुँदै थिई । ऊ छोरीको टाउको मुसार्दै सम्झाउन थाली,” हेर छोरी मैले अघि नै भनिसकेँ हामी स्वीटीको परिवार होइनौँ । उसको परिवार अर्कै छ, हामी जस्तो घरमा बस्दैन । उसको घर संसार अर्कै छ, उसको घर त जङ्गल  हो नि त” सिम्रनले प्रतिवाद गरी स्वीटिको घर जङ्गल रे ?  मेरो साथी स्वस्तिकाको घरमा पालेको परेवा त कहिलै जङ्गल जाँदैन त । उसकै घरमा गुँड बनाएर बसेको छ त । त्यही नै हो त उसको घर ।” सरलाले भनी,” हो नि त परेवा त हामी मान्छे बस्ने घरमा गुँड बनाएर बस्छ । हाम्रो घरलाई नै उसले आफ्नो घर ठानेर बस्छ । तिम्रो साथी स्वस्तिकाले परेवालाई पिँजडामा थुनेर पालेको छ र ?”  ” छैन, उनीहरु छानाको कुनामा आफै गुँड लगाएर बस्छन् ।” सिम्रनले भनी ।

“मैले त्यही त भनेको नि छोरी । यो घर स्वीटीको आफ्नो होइन, उसलाई त हामीले पिँजडामा थुनेर राखेका थियौँ । हामीलाई मिठो लाग्ने खानेकुरा हाम्रो खुसीअनुसार दिन्थ्यौँ , उसले मन लागेको खान पाउँदैनथ्यो उड्न पाउँदैन थियो । उसलाई सधैँ त्यसरी थुनिएर बस्नु पर्दा कति सकस हुन्थ्यो होला सोच त ।  कुँजिएर एकै ठाउँमा थुनिएर बस्नुपर्दा कति पीडा हुन्थ्यो होला। आफन्त सम्झेर कति रून्थ्यो होला । उसलाई खुल्ला आकाशमा रमाउन , उड्न, डालीडाली चाहर्दै फल चाख्दै खान, आफन्तकै बीच रमाउन मन लाग्छ । तिमी एकपटक सोच त तिमीलाई तिमीले भनेजस्तै मीठोमीठो खान दिएर, लाउन दिएर, तिमीलाई चाहिने खेलौना अनि सबै चिज दिएर कोठाभित्र राखेर बाहिरबाट साँचो लगाइदियो भने के तिमी खुसी हुन सक्छ्यौ ? केहीबेर  खानेकुरा खान्छ्यौ त्यसपछि कति गाह्रो हुन्छ हो कि होइन भन त ।”

खै, सिम्रनको अबोध बालमस्तिष्कले आमाले भनेका सब कुरा कसरी बुझ्यो ?  के सोच्यो उसको बालमस्तिष्कले  । खै, मोबाइल दिनुस् त म बुबासँग कुरा गर्छ  उसले भनी । बाबाले हिजै मेरो अफिसको काम भएको ठाउँमा सायद नेटवर्क नटिप्न सक्छ पर्सी बेलुकातिर मात्र म सदरमुकाम आइपुग्छु अनि फोन गर्छु भनेक थिए । उसले सिरानीनिरको मोबाइल टिपी र फटाफट बाबाको नम्बरमा डायल गरी । उताबाट आवाज आयो तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर उपलब्ध हुन सकेन ..। रिसले मोबाइल मिल्काएर घोप्टो परेर सुती । सायद उसको मनमा बाबा घरमा भएको भए आज उडेको स्वीटीलाई बुबाले समातेर ल्याइदिनुहुन्थ्यो भन्ने लाग्यो होला ।

सिम्रन सुक्क सुक्क गर्दै रुँदैरुँदै थिई एकछिनपछि निदाई । छोरो पनि खिन्न थियो ।  सरलाले भनी ,”बाबु ! तिमी पनि सुत अबेर भैसक्यो । ” छोराछोरीलाई मात्र के आफैलाई पनि कता कता नमिठो अनुभूति भएको महसुस गरिन् सरलाले । सरलालाई आफ्नै सन्तान जस्तो माया लाग्न थालेको थियो स्वीटिको । आखिर संसार त मायामा नै त अडेको छ नि ।

छोराछोरी दुवै निदाए । दिनभरिको थकाइ सुत्ने तर्खर गरिन् सरलाले तर आँखामा वर्षौंदेखि कुँजिएको पखेटा फट्पटाउदै खुल्ला आकाशमा उडेको सुगाको दृश्य बन्द आँखा भित्रको निलो आकाश अझ प्रष्ट देखिदै आयो । अघि भर्खर खुल्ला बाहिरी आँखाबाट ओझेल परेको सुगा भित्री आँखामा अझै प्रष्ट देखिँदै थियो, रमाउदै स्वतन्त्र रुपमा निलो आकाशमा कावा खाँदै उड्दै थियो ।

ओहो!  कति डरलाग्दो सपना अचानक ब्युँझिएर उठिन् सरला । डरलाग्दो दृश्यले पसिना पसिना भएकी रहिछे । उठेर बसी मोबाइल निकालेर हेरी रातिको तीन बजेको रहेछ । सपना कुनै सपना जस्तो नभएर विल्कुल वास्तविक दृश्य जस्तो, कुनै चलचित्रको दृश्यजस्तो आँखा अगाडि देखा पर्यो ।

उस्तै पिँजडा तर अलिक ठुलो  ।  निकै सुन्दर पिँजडाभित्र थुनिएको उस्त नै  सुगा तर मुखाकृति भने निकै पहिले परिचित एक नारीको थियो । पखेटा र शरीर सुगाकैजस्ता हरिया तर नयाँ पुरानाका घाउका चोटैचोट निकै विक्षिप्त र दयनीय । उनको मुखाकृति हेरेर सरला ती सुगारुपी महिलाको मनको पीडा अनुभूति गर्दैछे । हरेक ऊभित्रका भावना आफूभित्र एक एक अनुभूति हुँदै आए । ऊ अव्यक्त पीडाले विक्षिप्त हुँदै थिई। अचानक सपनाबाट ब्युँझिई । कुनै कुनै घटनाले मान्छेको अवचेतन मनमा कति गहिरो प्रभाव पारेको हुँदो रहेछ जुन वर्षौंपछि पनि सपनाकै माध्यमबाट भए पनि कुनै न कुनै अर्को घटनासँग साक्षात्कार भएर प्रकट हुँदा रहेछन् ।

एकैछिन अघिको सपना सपनामा पिँजडामा थुनिएर साक्षात्कार भएकी शोभा दिज्यूको रहस्यमय जीवन उसको आँखा सामु कुनै कारुणिक चलचित्रको दृश्यझैँ मानसपटलमा एकाएक आउन थाले । अघि एकैछिन अघि सपनामा पिँजडामा थुनिएर देखापरेकी शोभा दिज्यू साँच्चै एक भव्य र विशाल महलभित्र  पितृसत्तात्मक सामाजिक संरचनाको पिँजडामा अझ भनौँ सुन्दर महलरुपी जेलभित्र थुनिएकी कैदी नै थिइन् । सुगाको केवल पखेटा मात्र कुँजिएका थिए । एकछिन पीडाको अनुभूति गरे पनि उसले विस्तारै स्वतन्त्र आकाशमा आफ्नै मायालु घरसंसारतिर उडान भर्न सक्यो  तर शोभा दिज्यूको त पखेटा नै काटिएका थिए । सामाजिक संरचना र वर्षौंदेखिको मानसिक र शारीरिक यातनाले कहिल्यै उडान भर्ने नसक्ने गरी कुँजो पारिएका थिए ।

“बहिनी , सन्चै हुनुहुन्छ ?  तिजमा पनि माइत नगई पसल खोलेर बस्दै हुनुहुँदोरहेछ त ?” “हजुर गइनँ दिज्यू, बच्चा सानो छ, टाढाको माइती गाडीको लामो यात्रा  गाह्रो हुन्छ भनेर यसपाली पनि जान सकिनँ म त अनि हजुर पनि गइसेनछ त ? अनि पशुपति गएर आइसेको कि जानै बाँकी छ नि ?”

उमेरले पैँतिस नाघिसकेको, अझै वास्तविक उमेरभन्दा बुढ्यौली लागेजस्तो देखिने, खिरिलो  अग्लो कद भएकी, छोटो पारेर काटेको कपाल पछाडि लगेर बाँधेको, सारी र ब्लाउजमा खुलेकी शोभा दिज्यू  ।  उनको उदास उदास अनुहार, पाखुरा र आँखाको तल केही सुनिएका निला दागहरुले सागरजस्ता गहिरा आँखामा गहिरो वेदना र विक्षिप्तता स्पष्ट देखिन्थ्यो ।

काठमाडौँको मध्य शहर निकै ठूलो कम्पाउन्डभित्र सयौँ रोपनीमा फैलिएको, अग्ला अग्ला पर्खाल अनि रुख, बिरुवाले घेरिएको भव्य महल  । बिहानदेखि रातिसम्म गाडीहरूको लस्कर भित्र-बाहिर गरिरहन्छन् । गेट पालेलाई गेट खोलिदिने, बन्द गर्ने र सलाम ठोक्ने काम भ्याइनभ्याइ छ । तिजको दिन दुलहीझैँ सिँगारिएका महिलाहरूको आवतजावत बाक्लै छ । मूल गेटबाट नभई अर्कै सानो गेटको ढोका खोलेर दायाँबायाँ हेर्दै शोभा दिज्यू फुत्त पसलमा छिर्छिन्, पसलको छेउमा ढोकाको आधा फक्लेटाले छेकिने गरी आएर बस्छिन् । अलि लामो सास तान्दै एकछिन आँखा चिम्म गरेर बस्छिन्। तिजको यत्रो रमाइलो खुसीको दिनमा पनि उनमा कुनै उत्साह छैन । खुसीको ठाउँ त केवल उदासीले लिएको छ। त्यत्रो भव्य महलकी जेठी बुहारी कसरी सोध्ने कि के भयो हजुरलाई ? किन यस्तो  पीडा उदासी ? सोध्ने आँट भएन।

“दिज्यू! अघिपछिभन्दा तिजको दिन त चेलीहरुलाई अझै बढी माइती घरको याद आउने नि मैले कुरा झिकेँ ।”  जवाफमा उनको मुखबाट केही पनि निस्किएन । उनको अनुहार हेरिरहन पनि अप्ठ्यारो महसुस भयो  । अलि बेरपछि उनले विस्तारै जवाफ दिइन्, “बहिनी अठ्ठार वर्ष भयाे माइत नगएको।  बिहेपछि एकपटक मात्र गएकी छु तिजमा माइत।” ” किन र  दिज्यू ?  कता हो र हजुरको माइती ?” मैले सोधेँ । अहँ, जवाफ आएन । सोधेको प्रश्न नै सुनिनन् कि उत्तर दिन आवश्यक ठानिनन् ।  आखिर एक सभ्रान्त परिवारको मर्यादाको कुरा पनि त थियो । लाग्दथ्यो , सायद उनको मुखाकृतिले मनमस्तिष्क कुनै कष्टपूर्ण यात्रातिर विचरण गर्दै छ ।

पसलकाे ठीक सामुन्ने उनकै घरकाे पर्खालकाे एक कुनामा एउटा डण्डीमा छाता बाँधेर त्यसकाे छाँयामा एक २७ / २८ वर्षीया महिला मकै पोल्दै छिन् । भदौरे चर्को घाम, त्यसमाथि आगोको तातो, पसिना पुस्दै आगो फुक्दै छिन् । चिसो दाउरा धुवाँको मुस्लो निस्कँदैछ ।धुवाँको मुस्लोमा उनको मुखाकृति बादलको घुम्टोबाट चियाउँदै गरेको शरदचन्द्र जस्तो देखिदैछ ।  कठोर परिश्रम र अभावको लेसमात्र पनि उसमा नपरेझैँ प्रतीत हुन्छ ।

दुर्गम गाउँ रोल्पाबाट अर्काको ज्याला मजदुरीबाट बिहान-बेलुकी  जोर्न कठिन भएपछि  हातमुख जोर्नैकाे लागि  कामको खोजीमा शहरको  एउटा कुनामा सुरु भएको  दैनन्दिनी थियो त्यो उसकाे । श्रीमान् शहरमा ज्यामी काम गर्न जान्छ ।  छोराछोरी नजिकै सरकारी स्कुलमा  पढ्न जान्छन् । उसले त्यही पर्खालको कुनामा मकै पोल्न थालेको वर्षौँ  बित्यो । केटाकेटी पढेर भोकले आकुल व्याकुल भएर आउँछन् । त्यही पोलेको मकै एक एक घाेगा बडाे स्वाद मानेर खान्छन् ।  साँझसम्म आमासँगै लुटुपुटु भएर बिताउँछन् । उनीहरु आफ्ना गृहकार्य त्यही बसेर गर्छन् ।

झम्के साँझ परेपछि लोग्ने पनि कामबाट फर्कन्छ र त्यही बसेर पोलेको मकै खान थाल्छ । ऊ दिनभरि नै मकै खान आउने सबै ग्राहकसँग प्रसन्न मुद्रामा गफ गर्दै मकै बेच्छे ।  झमक्क रात परेपछि सबै समान पोको पारेर कोठातिर लाग्छन् ।  कोठा भन्नु के छिँडीमुनिको अँध्यारो कोठरी ।

शोभा दिदी एकनासले कुनै जवाफ नदिइकन एकाेहाेराे  हेरिरहेकी  हुन्छिन्  तिनै महिलालाई।  खै,  के सोच्दै छिन् तिनी ?  सोचाइको कुन उडान भर्दै छिन् आखिर यिनी ।  यत्रो सम्पन्नताभित्र पनि आखिर के रहस्य लुकेको त । यत्रो सम्पन्नताभित्र पनि आखिर तिनी किन खुसी छैनन् ? कुन अदृश्य पीडामा डुबिरहेकी छिन् यिनी ? वर्षौँ भयो चिनजान भएको कहिल्यै खुल्दिनन् । खुसी र प्रसन्नता‌ले उनको जीवनमा कहिल्यै चियाउनसमेत सकेन । अठार वर्षसम्म माइत नजानु अर्थात् जान नपाउनु के रहस्य होला ?  उनको बारेमा महलको बारेमा जति सोच्यो त्यति नै रहस्यमय प्रतीत हुन्छ ।

एउटै दृश्य दुबै जनाका आँखामा तिनै मकै पोल्ने गोमा बहिनी साक्षात्कार भइरहे पनि दुबैको मन भने भिन्नभिन्न अनुभूतिजन्य मानसिक दृश्यको साक्षात्कार गर्दै थिए।  शोभा दिज्युले निकै बेरपछि लामो निश्वास छाडिन् र भनिन् , “सरला बहिनी,  मभन्दा त त्यो मकै पोलेर गुजारा चलाउने  गाेमा बहिनी धेरै खुशी, सुखी छे र जीवनप्रति  प्रसन्न छे ।”

हँ ?  कसरी तुलना हुन सक्छ यी दुई बीच ?,  के भन्दैछिन् आखिर यिनी ?,  खै, कुन  मानसिक संसारको कुनचाहिँ दृश्यसँग उनी साक्षात्कार गर्दै थिइन् , किन आँखामा छचल्किएको पीडाका थोपा बाहिर झर्न सकेनन् ?  ती थोपाहरू शुष्क र उदास  आँखाभित्रै विलिन भए ?  सायद यिनी यस्ता कयौँ अव्यक्त पीडाहरूलाई मर्यादा र प्रतिष्ठाको नाउँमा आँखाबाट नदी बनेर बग्न र ओठबाट प्रस्फुटित हुन नदिई भित्रभित्रै हृदयको गर्भभित्र लुकाउन र पचाउन व्यस्त भइसकेकी छिन् । म सोचमग्न भएँ । उदास र शुष्क आँखाभित्र दबिएका पीडा देख्दा यिनी सभ्रान्त परिवारमा बुहारी, महलकी रानी हुन् या कालकोठरीभित्र थुनिएकी कैदी हुन् स्पष्ट भन्न मुस्किल छ ।

यी दुई नारीको बाहिरी जीवन स्तरमा जति भिन्नता छ जीवन भोगाइ र जीवनमा प्राप्त गरेका सुख , खुसी र प्रसन्नतामा पनि उत्तिकै भिन्नता छ।  एउटी अभावै अभाव र कठोर परिश्रमबीच पनि अति प्रसन्न छे ।काँडाबीच फक्रेकी गुलाबझैँ अर्को सम्पन्नताभित्र पनि पानी नहालेर ओलाएको, मुर्झाएको, पहेँलिएर झर्न लागेको गमलाको फूलझैँ । गोमा दिदी जसको मुहारमा हरदम प्रसन्नता नाचिरहन्छ, शोभा दिज्यू जसको मुहारमा वर्षौंदेखि प्रसन्नताको किरणको  झुल्काेसम्म परेको देखिँदैन।  हरेक शब्द तौलेर जोखेर बोल्छिन् बोलेको कुराहरु पनि स्पष्ट नभई बिम्बात्मक हुन्छन्।  एकाध घण्टाको बसाइमा मुस्किलले आफ्नो बारेमा रहस्यमय ढङ्गले आठ दश वाक्य मात्र बोल्छिन्।

हुन त मनको वह पोख्न आएकी हुन्छिन् शोभा तर प्रतिष्ठा मर्यादालाई खै केके कुराले रोकिन्छन् अवरुद्ध हुन्छन् उनका गला उनको बोली । उनको बारेमा सोध्ने, खोतल्ने  साहास र सामर्थ पनि कसैमा हुँदैन।

“ओहाे! बहिनी आधा घण्टा पाे भैसकेछ म आएको त ।   मुमाज्यू  पशुपति दर्शन गरेर फर्किसिने बेला  हुन लाग्यो होला । फेरि मलाई यहाँ पसलमा आएको देखिस्याे भने …।”  बाँकी कुरा पूरा नै नगरी हतार-हतार दायाँबायाँ नहेरी गेटभित्र  छिरिन् । सरलाको मन द्विविधामा अल्झियो । सुख-दुःख , प्रसन्नता -अप्रसन्नता  आखिर के हाे त यसको परिभाषा अनि  यी विपरीत ध्रुवका प्राप्तिको  स्रोत ।  सुख र खुशीको परिभाषाभित्र दोबाटोमा घाम- पानी ,झरी- बादल नभनी मकै पोलेर परिवार पाल्ने गाेमा दिदी अटाइन् तर महलभित्रको सुखसयलमा राज गर्ने शोभा दिज्यू  अटाइनन् ।  मनभित्र वर्षौंसम्म त्यही प्रश्न आइरहे तर जवाफ रहस्यकै गर्भमा भित्र हराइरहे।

कयौँ वर्षदेखि मानसपटलबाट ओझेल परेकी शोभा दिज्यू अचानक सपनामा  झुल्किन्।  त्यो पनि यस्तो रुपमा ।  आखिर के होला यो सपनाको सङ्केत ?  बिउँझिएको निकैबेरसम्म पनि सपना हो कि विपनाझैँ प्रतीत भइरह्यो सरलालाई । मन एक तमासको भयो।  कस्तो सपना देखियो यस्तो।  सुगालाई सम्झेर  निदाउनु अघिसम्मका सम्पूर्ण विषाद पूर्णरुपमा समाप्त भएझैँ अनुभूति भयो।  त्यसको साटो बरु मनमा एक किसिमको आनन्दको पनि सञ्चार भएझैँ भयो। सुगा उडेर गएकोमा मनमा प्रसन्नताको अनुभूति जस्तो पनि भयो ।  अचानक  मनमस्तिष्क सुगाबाट शोभादिज्यू र गाेमा बहिनीतिर दौडिए । मनमनले सोच्यो । साँच्चै आजभोलि शोभा दिज्यूको हालखबर के होला ?  हिजोको सुगाझैँ उनी त्यो महलरुपी पिँजडाबाट निस्किइन् होला र ? सुगाले त बरु  आफ्नो सामर्थ्यले  भ्याएसम्म  पिँजडाबाट बाहिर निस्कन नखाइकन भोकै बसेर  भने पनि प्रतिकारात्मक कदम त उठायो तर शोभा दिज्यु ,अहँ ! त्याे सम्भावना छैन । उनका शरीरमा अझै पनि नयाँ पुराना घाउका खत बाँकी नै होला कि ठिक भइसक्यो होला ।  त्यही महलको पिँजडामा आजीवन कुँजिनै रहन्छिन् कि……?

अँ, साँच्चै मकै पोल्ने गाेमा दिदीकाे हालखबर के होला ?  अहिले पनि उनी हरेक परिस्थितिमा उस्तै  प्रसन्न छिन् त होला नि ?  शोभा दिज्युले पढेलेखेकी शिक्षित भएरै पनि आखिर सुगालेझैँ  पिँजडाबाट निस्कने, उडान भर्ने-साहस किन बटुल्न सकिनन् ?

मनमा एकैचोटि आँधिबेहरी आएझैँ शोभा दिज्युको सम्झना आयो । उनलाई भेट्ने हुटहुटी भयो तर उनलाई भेट्न कसरी सम्भव छ र ? गोमा दिदी ? यत्रो दस वर्ष बितिसकेछ । उनीसँग पनि कसरी भेट होला र ?

बिहानको घरधन्दा सकिन् अनि हतारहतार  बच्चाहरूलाई स्कुलमा छोडेर पसल खोल्न गइन्। अहँ मन त पसलमा, काममा अडिदै अडिएन। एकहोरो सपना र शोभा दिज्युतिर नै दौडिरह्यो।

साँच्चै त्यो ठाउँतिर नगएको पनि दसौँ वर्ष बितिसकेछ। कस्तो भयो होला ? पुराना चिनेजानेका कोको होलान् ? मनको हुटहुटीको अगाडि उनको  केही जोड चलेन। पसलको सटर तानिन् र साँचो लगाएर साझा यातायात चढेर त्यतै लागिन् । दस वर्षको समय निकै लामो हो तर पहिलेभन्दा केही परिवर्तन भएजस्तो लागेन। उनले कस्मेटिक पसल खोलेको सटरमा फलफूल पसल सञ्चालन गरेको रहेछ। शोभा दिज्युको घर उस्तै रहेछ घरको रङ्ग भने परिवर्तन भएको रहेछ ।

मन र आँखा दुबैले शोभा दिज्युको खोजी गर्दै छन् । उनको बारेमा सोेध्न पनि त सकिदैन कसैसँग । पाले पनि त फेरिएको रहेछ । शोभा दिज्युको बारेमा जान्न किन मन  यति धेरै  छटपटी भएको होला । अलि पर कुनामा एक अधबैँसे महिला उस्तै गरी मकै पोल्दै छिन् । हाउभाउ रुपरङ्ग पनि उस्तै। के तिनी गोमा दिदी नै त होइनन् ? नजिकै गएँ हो नै जस्तो लाग्यो। “तपाईंको नाम गोमा हो नि ? ” “हजुर हो, चिनेचिने जस्तो लाग्यो मलाई पनि । हँ, तपाईं ऊ त्यो घरमा कस्मेटिक पसल चलाउने सरला बहिनी जस्तो लाग्छ।”

“हो नि चिन्नु भयो त । के छ त तपाईंको खबर, बच्चाहरू के गर्दै छन् ? ” छोराको आर्मीमा जागिर लाग्यो । छोरी नर्स पढ्दै छे । “ओहो !हो र ? खुशी लाग्यो दिदी छोराछोरीको प्रगति सुनेर ।” “तपाईंको के छ नि बहिनी बाबु  जन्मनासाथ तपाईं कोठा सर्नु भयो ?”हो नि दिदी बाबु दस वर्षको भइसक्यो । त्यसपछि त भेट नै भएन नि त अनि साँच्चै शोभा दिज्युको के छ नि खबर ? तपाईं त यतै हुनुहुँदो रहेछ भेट हुन्छ होला नि कहिलेकाहीँ ? कस्तो भेट्न मन लागेको थियो मलाई त ।

उनको मुहारमा एकाएक खिन्नता छायो।  लामो सुस्केरा छाडेर मलाई एउटा मुढा बस्नको लागि दिइन् । एउटा घोगा पोलेको मकै पनि दिँदै भनिन् “उहाँको के कुरा गर्नु र बहिनी ? मान्छेको भाग्य पनि बुझ्नै नसकिने ।  यो महलमा रहुञ्जेल सबै भएर पनि कहिल्यै सुख पाइनन् ।  सधैँ कुटाइ खाएर चुपचाप सहेर बसिन् छोराको मायाले । छोरा पनि आफूसँग थिएन दार्जिलिङतिर होस्टेलमा राखिदिएका थिए रे दशैंमा घर आउँदा पनि नजिक पर्न दिँदैनथेँ रे । पछि उतै एक्सिडेन्ट भएर बितेछ । श्रीमान् सधैँ आधा रातमा नशामा चुर भएर आएर कुट्ने रहेछन्। अर्को बिहे गरेर  नक्सालतिरको घरमा राखेका थिए रे। छोराको मायाको त्यान्द्रोमा झुण्डिएर सबै सहेरै बसेकी थिइन् । अति भएपछि पालेको सहयोग लिएर  भागिछिन् । खै , इन्डियातिर कुन आश्रममा  सन्यास धारण गरेर पो बसेकी छिन् रे । पछि पालेलाई पनि निकालेछन् सहयोग गरेको शङ्का गरेर । एकदिन पालेलाई चाबहिलमा भेटेको थिएँ । उहाँको बारेमा सबै बताएको थियो ” दाँयाबाँया हेर्दै डराउँदै एकै सासमा शोभा दिज्युको बारेमा बताइन् । “जता बसे पनि आखिर के फरक पर्छ र ? एक पेट खान र एक सरो लाउनकै लागि किन लात र वात खानु छ र ? जता भए पनि सुखी र खुसी होऊन् बिचरा ।” भेट्न नपाए पनि मनमा खै किन अपार खुसीको सञ्चार भयो।

आज सरलालाई वर्षौँ पहिले शाेभा दिज्यूकाे  सुखी र दुःखीको परिभाषामा आफू नअटाएको र गोमा दिदी अटाएको कुराको रहस्य बाेध भएझैँ अनुभूति भयो।  साँच्चै शोभा दिज्यूकाे  सुख र दुःखको परिभाषा सत्य रहेछ। सुख र खुशीको अनुभूति भौतिक सम्पन्नताभित्र पनि नपाइने भिन्न अनुभूति पाे रहेछ। सुनकै  महलमा पनि सुख, खुसी र प्रसन्नताको कहिलेकाहीँ नअटाउने रहेछ भने  कठोर परिश्रम अभाव र झुपडीमा पनि  ती सबैले  सहजै प्रवेश गर्दा  रहेछन्। सुनको महलमा बसेर आँसुको पोखरीमा डुबिरहनुभन्दा झुपडीमा नै दश नङ्ग्रा खियाएर पनि सुख, शान्ति र खुशीको अनुभूति त हुने रहेछ।

१ भाद्र २०७७, सोमबार १८:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..