“तारानाथको तानाबाना” – रोशन साँवा

नेपालमा सबभन्दा बढी पुस्तक कसले लेखे होलान्? यसको सही र आधिकारिक जवाफ कतै अभिलेखीकृत छैन। तर तारानाथ शर्माको दाबी छ, ‘सबभन्दा बढी पुस्तक मैले लेखेको हुँ। अहिलेसम्म मेरा दुई सय २६ पुस्तक छापिइसकेका छन्।’ उनको यो सूचीमा सम्पादन गरेका पुस्तक पर्दैनन् रे।

 

झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक शर्माले निबन्ध, कथा, उपन्यासजस्ता सिर्जना, समालोचना र पाठ्यपुस्तक लेखेका छन्। अंग्रेजी भाषा विज्ञानका विद्यावारिधि उनका नेपाली भाषामा पुस्तक धेरै छन्। उनको खास थर भण्डारी हो, तर बनारसमा पढ्न गएपछि नाममा शर्मा झुन्ड्याए। अंग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाए।

चार कोरी वर्षको संघारमा पुग्न लाग्दा पनि उनी फुर्तिला छन्, सक्रिय छन्। डिल्लीबजारस्थित टाइम्स इन्टरनेसनल कलेजका प्राचार्य उनी नेपालकै पाका प्राचार्यमध्ये पर्छन्। लेखनयात्राले छ दशक पार गर्दा पनि थाकेका छैनन्। ‘नेपाली-अंग्रेजी भाषाको शब्दकोश लेखिरहेको छु। राजदरबार हत्याकाण्डलाई उपन्यासका रूपमा उतार्ने तयारीमा छु र चन्द्रशमशेर राणाबारे पनि लेख्ने विचारमा छु,’ उनले सुनाए। नियात्रा पनि लेखिरहेको उनले सुनाए।

तारानाथ शर्मा १९९१ असार ९ गते प्रजापति उपाध्याय र देवकीको जेठो छोराका रूपमा इलाम, बरबोटेमा जन्मेका हुन्। उनी जन्मेको ठाउँलाई त्यतिबेला सित्तलपाटी भनिन्थ्यो। घरछेउ ठूलो बरको रुख भएकाले पछि गाविसको नाम नै बरबोटे भयो। संयोग, उनको परिवार बसाइ सरेर गएको फिक्कलको ठाउँलाई पनि अहिले बरबोटे भनिन्छ। बसाइ सर्दा त्यस ठाउँको नाम सुदुङ थियो।

तारानाथलाई बोधनारायण घिमिरेले धुलेपाटीमा अक्षर चिनाएका हुन्। ‘घरको सिकुवामा उनी सिकाउँथे। अक्षर चिनिसकेपछि रुद्री, चण्डी पढेँ, अलिअलि वेद पनि पढेँ। संस्कृतको अमर कोश पनि घोकेँ,’ उनले सुनाए, ‘ज्योतिषको गणना गर्ने किताब भाषोति पनि उनैले सिकाए।’ भाषोति पढिसकेपछि धुलेपाटीमै गणना गरेर १९९९ को पात्रो बनाएको उनले सम्भि्कए।

त्यतिबेला गाउँमा अक्षर चिन्ने एकदम थोरै हुन्थे। आफूले चाँडै फररर पढ्न-लेख्न जानेकोमा तारानाथ मक्ख। एकदिन उनले बरको रुखनेर कागजको टुक्रा फेला पारे। पढ्न तम्सेका उनले अक्षर बुझ्नै सकेनन्। ‘आफूलाई खुब जान्ने ठान्थेँ तर अक्षरै चिन्न नसकेपछि रोएँ। त्यति नै बेला आइपुगेका लाहुरेले ‘यो त अंग्रेजी’ हो भनेपछि झसंग भएँ। मैले त देवनागरी लिपिमात्र जानेको रहेछु,’ उनले सुनाए।

कोलकातामा अंग्रेजबाट अपमान सहनुपरेपछि प्रजापतिले इखिएर तारानाथलाई अंग्रेजी पढाउन थालेका हुन्। प्रजापति इलाम सदरमुकामस्थित मालअड्डामा काम गर्थे। बेलाबेला भारत गइरहने प्रजापतिलाई तत्कालीन बडाहाकिम महावीर शमशेरले काम दिएर कोलकाता पठाएका थिए। त्यहाँ अलमलिएर सुटबुट लगाएको अंग्रेजलाई हिन्दीमा जवाफ फर्काएछ, ‘आँखा देख्दैनौ? त्यहीँ लेखेको छ त!’ अंग्रेजी जानेका भए उनले अंग्रेजलाई सोध्ने थिएनन्। विनम्रपूर्वक सोध्दा अपमानित भएपछि आँखामा आँसु रसाइरहँदा छोरालाई अंग्रेजी पढाउने अठोट लिएछन् र घरमा आएर छोरालाई भनेछन्, ‘नानी तारा, तैंले अब अंग्रेजी पढ्नुपर्छ। तँ यसरी पढ कि पछि गएर अंग्रेजहरूलाई पनि अंग्रेजी पढाइदे।’

तारानाथ फिक्कलमा डेरा बसेर चन्द्र-मोहन मिडिल स्कुलमा एकैचोटि तीन कक्षादेखि अंग्रेजी पढ्न थालेका हुन्। पशुपतिनगरका राजबहादुर राईले अंग्रेजी पढाउन काठमाडौंका चन्द्रभक्त कसजुलाई लगेका थिए। ‘गुरुलाई मैले फुरुक्क हुँदै नेपाली र संस्कृत पढ्न सक्ने बताएँ। त्यसपछि उहाँले मलाई परशु प्रधानको नेपाली पुस्तकको एक पाना पढ्न लगाउनुभयो, मैले पनि फरर्र पढेँ। तर, भएन भन्नुभयो,’ उनले सुनाए, ‘पढेर के बुझ्यौं भनेर सोध्नुभयो, मैले केही बुझेकै थिइनँ। त्यसपछि उहाँले नै पढ्नु भनेको बुझ्नु हो, पढ्दा कहाँ कति अडिने भनेर कमा, पूर्णविराम पनि हेर्नुपर्छ भनेपछि म छाँगाबाट खसेझैं भएँ।’

तारानाथले छ कक्षासम्म पहिलो हुँदै फिक्कलमा पढे। त्यसपछि दार्जिलिङको सेन्ट जोसेफमा एकै चोटि नौ कक्षामा भर्ना भए र जिल्ला प्रथम हुँद १२ कक्षासम्म पढे अनि थप पढाइका लागि बनारस गए। ‘बिए सकेर घर फर्केका बेला पिताजीले हेडमास्टर खाली छ, यतै बस, अब पढाउन सक्दिनँ भनेर रोक्न खोजे तर तर म अनेक बहाना बनाएर ७० रुपैयाँ मागेर काठमाडौं छिरेँ,’ उनले सुनाए।

उनले काठमाडौंमा छात्रवृत्तिका लागि आवेदन दिए, पाए पनि र पटना हानिए। ‘छात्रवृत्ति पाउनेका सूचीमा म एक नम्बरमा थिएँ। तर पहिलो रोजाइको कोलकाता पहुँचवालाले छान्दा मैले पटना जानुपर्‍यो,’ उनले बताए।

उनी बेलायतमा पनि गएर ‘दोस्रो भाषाका रूपमा अंग्रेजी’ (इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज) पढे। उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गरे। नेपालका कलेजमा त पढाए नै, अमेरिकामा पनि पढाउन भ्याए। उनी चार वर्षअघिसम्म भिजिटिङ प्रोफेसरका रूपमा अमेरिकी विश्वविद्यालयमा पढाउँथे। भन्छन्, ‘मैले अंग्रेजहरूलाई पनि पढाएर पिताजीको इच्छा पूरा गरेँ।’

तारानाथ शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो। खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाले। ‘हिमध्वनि’ भन्ने पत्रिकाको सम्पादन गरे। उनको प्रकाशितमध्ये अन्तिम कृति ‘चरी भरर’ निबन्ध संग्रह हो।

तारानाथ कविता पनि लेख्छन् तर थोरै। १४ मे १९५२ मा दार्जिलिङमा लक्ष्मीप्रसाद देवकोटा भेटेपछि कविता लेखनमा केन्द्रित नभएको उनले सुनाए। ‘दार्जिलिङमा देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण सम बर्सेनि आउँथे। स्कुलमा छलेर उनीहरूसँग भेट्न जाँदा देवकोटाले कविता नेलेख्नू, भित्रभित्रै पोल्छ, कविताले मलाई डढाइसक्यो भनेर मेरो डायरीमा लेखिदिए,’ उनले सुनाए। देवकोटाले त्यतिबेला उनलाई इन्जिनियर हुन आग्रह गरेका थिए रे।

तारानाथले बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर झर्रोवादी अभियान थाले। उनीहरूले ‘नौलो पाइलो’ भन्ने पत्रिका निकाले र झर्रोवादबारे विभिन्न पत्रिकामा लेखे। नेपाली भाषामा हिन्दी, उर्दु, अंग्रेजी भाषाको आन्दोलन गर्न झर्रोवादी अभियान चालेका थिए। ‘हाम्रो अभियानलाई अहिले पनि अरूले पछ्याउँदैछन्,’ उनी गर्व गर्छन्।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि झर्रोवादी अभियानबाट प्रभावित भएर नाम फेरे। उनले श र ष हटाएर दन्त्य स लेख्ने अभियान थाले। ‘सुवाषको सट्टा सुवास लेख्न थालेँ,’ नेम्वाङले भने, ‘झर्रोवादको अर्थ बुझेपछि झर्रो शब्द खोज्न र प्रयोग गर्न थालेको हुँ।’

तारानाथ एकताका शर्माको सट्टा सर्मा लेख्थे। बनारसमा पढ्दा उनलाई आफ्नो थर ‘भण्डारी’ भारतीय जस्तो लागेछ र सर्मा लेख्न थालेछन्। थर फेरेर घर पुग्दा पिताजीले गुनासो गरेछन्। ‘एउटा पुस्तकमा ‘इदं पुस्तकम् प्रजापति शर्मणस्य’ लेखेको पत्ता लगाएपछि त्यसैको तर्कका आधारमा पिताजीलाई चुप बनाएँ,’ उनले सुनाए।

तारानाथ विद्यार्थी छँदै विभिन्न पत्रिकामा लेख तथा समालोचना छपाउँथे। उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्धसंग्रह रत्नपुस्तक भण्डारले २०१८ सालमा छापेको हो। दोस्रो कृतिका रूपमा २०२१ सालमा ‘घोत्ल्याइहरू’ भन्ने समालोचना संग्रह निस्क्यो। उनको सम्पादनमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता संग्रह २०२० सालमा र गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रह २०२१ सालमा निस्केको थियो।

भाषाशास्त्री बालकृष्ण पोखरेलले तारानाथको लेखलाई नियात्रा नामकरण गरिदिएका हुन्। त्यसअघिसम्म नियात्रा शब्द प्रयोगमै थिएन। बालकृष्णले रत्नश्रीमा २०२३ सालमा छापिएको तारानाथको ‘मेनाइ साँघुको मेला’ शीर्षक लेख पढेपछि ‘तिमीले नियात्रा लेखेछौ’ भनेका थिए। पछि, त्यही लेखसहितको ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहको भूमिकामा बालकृष्णले नियात्रा लेखिदिए। ‘यात्रा वर्णनमात्र नभई निजी कुरासमेत समेटिएकाले नियात्रा भन्नुपर्छ भन्ने बालकृष्णको तर्क थियो,’ तारानाथ भन्छन्। ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार पायो। निबन्ध संग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो।

उनले ‘सम र समका कृति’ का लागि २०२९ सालमा साझा पुरस्कार पाए। २०२३ सालमा रत्नश्री स्वर्णपदक थापेका थिए। २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार हात पारे।

पुस्तकको खुलेर आलोचना गर्ने समालोचकका रूपमा चिनिन्छन् तारानाथ शर्मा। मवीवि शाहको आलोचना गर्दा जेल गएको र बालकृष्ण समको समालोचना गर्दा निकटता बढेको प्रसंग छन् उनीसँग। पञ्चायतकालमा मवीवि शाहको ‘उसैको लागि’ भन्ने कविता समालोचना गर्ने क्रममा हिन्दी गीतको नक्कल भनेर उल्लेख गर्दा उनी तीन महिना जेल बसेका थिए। ‘जेल परे पनि मलाई दुःख लागेन, भित्रै दुइटा पुस्तक लेखेँ,’ उनी भन्छन्। त्यतिबेला समालोचना छाप्ने ‘हिन्दु’ का सम्पादकलाई पनि सोधपुछ गरिएको थियो। स्कुलमा सँगै पढेका पासाङ गोपर्माले बिन्ती गरेपछि ‘मलाई प्राध्यापक थुनेको मन पर्दैन’ भनेर राजा महेन्द्रले तारानाथलाई छाड्न निर्देशन दिएका थिए।

‘चिसो चुल्हो’ लाई ‘झुसुले डकार’ भनेर समालोचना गर्दा उनले बालकृष्ण समबाट उल्टै प्रशंसा पाएका थिए। उनी समलाई सधैं श्रद्धा गर्छन् र समकै कृति समालोचना गरेर साझा पुरस्कार पाए।

तारानाथको समालोचना खारिनुमा विश्वेश्वरप्रसाद कोइरालाको पनि हात छ। कोइरालासँग २०१६ सालतिर पटनाबाट अंग्रेजीमा स्नातकोत्तर गरेर आएपछि जागिरको दौडधुप गरेका बेला उनको निकटता बढेको थियो। पद्मकन्या क्याम्पसमा दुई पटक विज्ञापन खुल्दा पनि विभिन्न बहाना बनाएर पाखा लगाइएपछि धर्मराज थापाले उनलाई डोर्‍याएर तत्कालीन प्रधानमन्त्री विश्वेश्वरसँग भेट गराइदिएका थिए। त्यसपछि उनले प्रधानमन्त्रीकै कार्यालयबाट नियुक्तिपत्र लिएर पद्मकन्यामा पढाउन थाले। धर्मराजले पनि त्यतिबेलै रेडियो नेपालको जागिर पाए। ‘त्यसपछि क्याम्पसको तलबले पुग्दैन भन्दै भाञ्जी शैलेजालगायत तीन जनालाई ट्युसन पढ्न बोलाएँ,’ तारानाथले भने। क्याम्पसबाट मासिक तलब दुई सय ८० रुपैयाँ आउँथ्यो।

पद्मकन्यामा जागिर थाल्नुअघि पनि उनी ट्युसन पढाउँथे। पुष्पलालले ट्युसन पढ्ने तीन जना खोजिदिएका थिए। ट्युसनबाट मासिक तीन सय रुपैयाँ आउँथ्यो।

पद्मकन्याको जागिरे भएपछि उनले साँझ पाँचदेखि छसम्म ट्युसन पढाउँथे। ‘त्यसपछि विश्वेश्वरसँग साहित्यिक गफ हुन्थ्यो। उतै आठ बजे खाना खाएर डेरा फकिन्थेँ। प्रायः उनका भाइ तारिणीले गाडीमा पुर्‍याइदिन्थे,’ उनले सम्झे। विश्वेश्वरसँगको अर्को प्रसंग : ‘एकदिन विश्वेश्वरले अंग्रेजीमा लेखिएको पुस्तक नेपालमा सबभन्दा पहिले कसले पढ्छ भनेर सोधे। मैले त ‘तपाईंले’ भनेर जवाफ दिएँ तर उनले ‘होइन, सूर्यप्रसाद उपाध्यायले पढ्छन्। सबभन्दा पहिले पुस्तक उनैकहाँ आउँछन्’ भने। त्यसपछि उनले पढ्नका लागि आफ्नो समय नभएको जनाउँदै सूर्यप्रसादसँग भएका र अरू पुस्तक पनि पढेर सारमा सुनाउने जिम्मेवारी दिए।’ त्यसपछि विश्वेश्वरले नै सूर्यप्रसादसँग चिनजान गराइदिएका थिए। त्यो चिनजानले विश्वसाहित्यमा उनलाई अद्यावधिक हुन मद्दत मिल्यो। पुस्तक पढ्ने र समीक्षा गर्ने क्रम बढायो। उनले आठ महिना विश्वेश्वरको संगत गरे। २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भएपछि संगत टुट्यो।

२००७ सालको आन्दोलनमा तारानाथ शर्मा सक्रिय थिए। ‘झापामा बिबी चेम्जोङ, नरेन्द्रनाथ बास्तोलाको अगुवाइमा भएको कांग्रेसको आन्दोलन सहपाठी पासाङ गोपर्मा, वीरेन्द्र खुजेलीसँग पछि लागेका थियौं,’ उनले सुनाए। इलामबाट १६ युवा लिएर तारानाथ झापा झरेका थिए, बुधबारेमा आयोजित कार्यक्रममा उनले पहिलो पटक भाषण ठोके। उनीहरू कृष्णप्रसाद बास्तोलाको घरमा बसेर आन्दोलनका कार्यक्रममा सरिक हुन्थे।

झापाका प्रशासकले आत्मसमपर्ण गरिसकेपछि कांग्रेसका कार्यकर्ता इलाम हानिएका थिए। ‘पशुपतिनगर भन्सारमा कार्यरत पिताजी बिरामी भएको सुनेर म त्यता गएँ। अरू मार्चपास गर्दै इलाम गए,’ उनले भने, ‘पशुपतिनगर पुग्दा त पिताजी पनि कांग्रेस भइसकेको थाहा पाएँ। उहाँले युवाहरूलाई खटाएर मोटरबाटो खनाइरहनुभएको रहेछ।’

पिताजी भेटेपछि उनी आइतबारे खटिए। त्यहाँ उनको काम हुलाकमा आउने चिठीको सेन्सर गर्नु थियो। ‘इलाममा बडाहाकिम थिएँ। उनीहरूको चिठी यतैबाट आउँथ्यो। राणाहरूको चिठी भेटिए च्यातेर फ्याँकिदिन मलाई अह्राइएको थियो,’ उनले भने, ‘व्यक्तिगत चिठी बढी हुन्थ्यो। राणालाई जाने चिठीमा ‘तपाईंहरू उन्मुक्ति (विमोचन) चाहनुहुन्छ भने तुरुन्त आत्मसमर्पण गर्नुस् भनेर पुछारमा आफ्नो नामसमेत लेखिदिन्थेँ।’

केही दिनपछि बडाहाकिम विज्ञानशमशेर राणाले टुँडिखेलमा आत्मसमपर्ण गरे। ‘हामी पनि गएका थियौं। टुँडिखेलमा विज्ञानशमशेरले नरेन्द्रनाथ बास्तोलासँग ‘तारानाथजीलाई त देख्दिनँ नि!’ भन्दै जिज्ञासा राखे। मलाई देखाउँदा उनी तीनछक परे। उनले तारानाथ ठूलै होला भन्ठानेका रहेछन्। त्यसपछि उनले मसँग हात मिलाए। त्यति ठूलो मान्छेसँग मैले पहिलोपटक हात मिलाएको हुँ।’

बडाहाकिमले आत्मसमर्पण गरेपछि उनी पासाङ गोपर्मा र वीरेन्द्र खुजेलीसँग इलामको दरबार बस्न थालेका थिए। ‘तर पिताजीले अहिले राजनीति गर्ने बेला होइन, पढ्नुपर्छ भनेर राजाको छोराछोरी पढ्ने दार्जिलिङको सेन्ट जोसेफ पठाए,’ उनले सुनाए।

तारानाथ शर्मा आफूलाई व्यस्त राख्छन्। उनको अनुभवमा बुढेसकालमा व्यस्त हुँदा ‘डिप्रेसन’ले छुँदैन। ‘त्यसैले मैले स्कुल जान छाडेको छैन। केटाकेटीसँग गफिएर भुलिन्छु। १२ बजे स्कुलबाट फिर्छु। खाना खाएर नेपाली पत्रिका पढ्छु। भेटघाट गर्छु, जाँगर चल्यो भने लेख्छु,’ उनले सुनाए। उनी बिहान सबेरै उठेर योग गर्छन्। दूध-च्युरा र फलफूल खान्छन्। मधुमेह र रक्तचापको औषधि लिन्छन्। निम्तो आएका कार्यक्रमहरू भ्याउँछन्।

उनले यता पद्मकन्या, त्रिचन्द्र र त्रिभुवन विश्वविद्यालयमा पढाए। उनले साझेदारीमा साम्भवी विद्यालय खोलेका थिए तर साझेदारी धेरै टिकेन। नोबल एकृडेमीमा एक वर्ष प्राचार्य भए, त्यसपछि डनबस्को गए।

आत्मसन्तुष्टिका लागि लेखेको बताउने तारानाथ लेखेकै भरमा गुजारा चलाउन सक्ने अवस्था नरहेको बताउँछन्। हक्की स्वभावका उनी सरकारले आफ्ना लागि केही गरिदिएन भन्ने गुनासो पनि बेलाबेला ओकल्छन्। ‘अमेरिकामा थप दुई वर्ष पढाउँदा पेन्सन आउँछ। यहाँ मेरो केही छैन,’ उनी भन्छन्। उनको चित्तदुखाइ लेखहरूमा पनि भेटिन्छ। राजनीतिक दलप्रति पनि उति सन्तुष्ट छैनन्। पाँच महिनाअघि चितवनमा रगतले कट्कटिएको हातबाट अभिनन्दन नथाप्ने अड्डी कसे र सरस्वतीको भेषमा रहेकी बालिकाबाट अभिनन्दित भए।

उनी देवताप्रति उतिसाह्रो विश्वास गर्दैनन्। बरु साहित्यिक फाँटकै लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण समलाई श्रद्धा गर्छन्। ‘मेरा ब्रह्मा, विष्णु र महेश्वर भनेकै देवकोटा, पौडेल र सम हुन्,’ उनी भन्छन्।

२ चैत्र २०६८, बिहीबार ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..