आधुनिक तिजसँगै हराउँदै गएको तिजब्रतको महत्व

परदेशको बसाइ, नजिकिँदै गरेको चाडबाडहरूले माइतीदेशको सम्झना कुन चेलीलाई नहोला र ? नजिकिँदै गरेको तिजको माहोलमा मलाई पनि माइती देशको सम्झनाले सताउन थाल्नु सामान्य नै मानेकी थिएँ । तिजका गीतहरू सुनिरहँदा तिजको झल्को मेटिने खालको गित पाउनु लगभग मुस्किल जस्तो भैसकेको रहेछ । यसै क्रममा घटना र विचार डटकममा प्रकाशित ‘तिज–गीतले नै मास्दै तिजको महत्व’ लेख पढ्ने मौका पाएँ । त्यसमा चर्चा गरिएको सोफिया थापाको तिजगीत ‘अबको तिज नो ब्रत प्लिज’मा गरिएको ब्रतको सानो बहसले मन भारी भयो ।

जुनसुकै धर्ममा पनि ब्रतलाई महत्वपुर्ण स्थान दिइरहेको वर्तमान अवस्थामा सो पक्षलाई अध्ययन वा विश्लेषण नै नगरी स्वतन्त्र सिर्जनाकोे नाममा यसरी मानिसहरूको स्वास्थ्यमाथि खेलबाड गरिनु सकारात्मक पक्ष पक्कै होइन । म आफू पनि स्वास्थ्य क्षेत्रसम्बन्धी पेशामा आबद्ध रहेको हुनाले यसरी सामाजिक रूपमा नै स्वास्थ्यको पक्षमा भ्रम फैलाउनुलाई सामाजिक अपराध नै ठहरी कानुनी कारवाही गरिनु पर्छ भन्ने मेरो पनि ब्यक्तिगत ठम्याइ रहेको छ । क्याम्व्रिज डिसनरीलाई आधार मान्दा ब्रत आफ्नो इच्छाअनुसार खानाबाट केही समयका लागि टाढा रहनु हो भन्ने तर्क पाइन्छ । यसैलाई आधार मान्दा पनि ब्रत कसैको इच्छाअनुसार नबसी स्वेच्छाले बसिने हुँदा सोफिया थापाले जस्तै ‘अबको तिज नो ब्रत प्लिज’ भन्दै समाजमा ब्रतमाथि यसरी कुनै भ्रम फैलाउन आवश्यक नरहेको सरल रूपमा बुझ्न सकिन्छ ।

ब्रतको महत्व केवल हिन्दु धर्ममा मात्र हाबी रहेको छ भन्नु हाम्रो ठूलो मुर्खता हुनेछ । हिन्दु समुदायमा जस्तै मुस्लिम समुदायमा यसको महत्व उस्तै रहेको पाइन्छ । मुस्लिम समुदायमा एक महिनाको लागि केही नखाइ ब्रत बस्ने गरिन्छ । कुरानलाई आधार मान्दा ब्रत बस्दा आफूले गरेको दुश्कर्महरू भगवानले माफ गर्ने कुरा उल्लेख गरिएको छ । उता क्रिश्चियन धर्ममा पनि ब्रतको महत्व उस्तै छ । यो धर्ममा पनि ४० दिनको लामो ब्रत बस्ने गरिन्छ । यो धर्मअनुसार ब्रत बस्नाले आफ्ना नराम्रा सोचहरू हटेर जाने र यसले प्रार्थना एवम् पूजामा ध्यान केन्द्रितत भइ दीन–दुःखीहरूलाई मद्दत गर्नमा आफ्नो मन हरबखत तल्लिन हुने मान्यता रहेको छ ।

यस्तै, ब्रतले मानव स्वास्थ्य विज्ञानमा पनि उस्तै महत्व राखेको छ । सामान्यतया हाम्रो शरीरमा धेरै अविकसित कोषहरू विकासोन्मुख अवस्थामा हुन्छन् र यदि यिनीहरूको सङ्ख्या बढ्दै गएर सङ्गठित रूप लिए भने तिनीहरूले क्यान्सरको रूप लिने गर्दछन् । यी विषेष कोषहरू हामीले खाने खानाबाट पोषित हुन्छन् र कम्तीमा बाह्र घण्टासम्म खाना खाइएन भने यी अपरिपक्व विकासोन्मुख कोषहरू आफै नास हुने गर्दछन् । ब्रतले रगतमा हुने सुगर तत्वको नियन्त्रण गरेको हुन्छ । ब्रत बस्दा विभिन्न रोगहरूबाट हुने सङ्क्रमण दरमा कमी आउँछ । ब्रत बस्दा सामान्यतया कोलेस्ट्रोल, उच्च रक्तचाप र हृदयको सुरक्षा गर्दछ । ब्रत बस्दा हामीले खाने खानाबाट प्राप्त हुने क्यालोरीको मात्रा कम गराई तौल घटाउन मद्दत गरेको हुन्छ । त्यस्तै, ब्रत बस्दा ल्यान्ड तथा ब्रेन सेलहरूले राम्रोसँग काम गर्छन् र ग्रोथ हर्मोन उत्पादनमा वृद्धि भइ शरिरका मांसपेसीहरू बलियो हुने र शरीरको तौल पनि घट्न सहयोग हुने, पाचन प्रक्रिया पनि राम्रो हुँदै जान्छ । ब्रत बस्दा सामान्यतया छिटो आउने बुढ्यौलीपनलाई पनि कम गराई दीर्घायु जीवनलाई प्रोत्साहित गरेको हुन्छ । यस अर्थमा हेर्दा पनि मानवस्वास्थ्यको लागि ब्रत अपरिहार्य जस्तो देखिन्छ ।

ब्रतले योग विज्ञानमा पनि उस्तै महत्व राखेको छ । योग विधामा जगतगुरुका रूपले चिनिएका जगदिश वासुदेव (सदगुरु)ले पनि यस तत्थ्यलाई स्वीकार्दै योग विधामा ब्रतले धेरै ठुलो भूमिका खेलेकोे उल्लेख गरेका छन् । ध्यानहरूको राजा मानिने विपसना ध्यानमा पनि ब्रतलाई विषेष रूपमा हेरिएको छ । यस विधिमा पनि महिनौँ दिनसम्म योग गर्नको लागि ब्रत अनिवार्य शर्त मानिएको छ । त्यस्तै, ओशो ध्यान विधिमा पनि संयक आहारलाई बढि महत्वका साथ हेरिएको छ, जुन लगभग ब्रतसँग मिल्न जान्छ । यसरी हेर्दा ब्रत समुदायका मानिसहरूको स्वास्थ्यसुधारका लागि अपरिहार्य पक्षजस्तै देखिन्छ । मानवस्वास्थ्यको एक महत्वपूर्ण रत्नबुटीको रूपमा हाल ब्रतलाई लिन थालिएको छ ।

पङ्क्तिकार अहिले ३० वर्षकी भएँ । म सामान्य अवस्थामा ५५ केजी थिएँ र गर्भावस्थामा मेरो तौल ७२ केजीसम्म पुग्यो । गर्भावस्थामा तौल बढ्नुलाई सामान्य रूपमा लिइन्छ र मैले पनि सोही रूपमा लिएँ । नानीको आमा बनिसकेपछि एक वर्षपछि पनि मेरो तौल ६५ भन्दा माथि रह्यो । विस्तारै तौल बढ्ने प्रक्रिया सुरु भयो र आफूलाई नै गाह्रो महसुस हुन थाल्यो । सबभन्दा ठूलो कुरा शरीर दुख्ने, धेरै थकान महसुस हुन थाल्यो । थोरै ब्यायाम गर्दा वा हिँड्ने क्रममा श्वासप्रश्वास बढ्न थाल्यो । मोटोपन बढेसँगै मानसिक रूपमा पनि मोटोपनको चिन्ताले सताउन थालेको थियो । नानी दश महिनाकी भएपछि मैले विभिन्न योगाभ्यास गर्न थालेँ, जसमा मेरो शरीर नै बाधक बन्न थाल्यो । त्यसपछि म ब्रतका आधारभुत नियमहरू पालना गर्दै महिनाको दुई दिन ब्रत बस्न थालेँ, सँगै विस्तारै मेरो तौलमा सन्तुलन आउन थाल्यो । योगाभ्यास गर्न पनि सहज भयो । थकान हुने, शरीर दुख्ने समस्या पनि पुनः हराउँदै जान थाल्यो ।

आजकल मैलै आफैलाई एकदम खुल्ला महसुस गर्न थालेकी छु । कुनै खेल, व्यायाम, हिँड्न, दौडिन सहज रूपमा सक्छु र कुनै काम गर्न सक्दिनँ भन्ने भावना लगभग आउँदैन । महिनाको नियममित दुई दिन ब्रत बस्न थालेको एक वर्ष नपुग्दै मैले ७२ बाट आफ्नो तौल अहिले ५१ मा झारेकी छु । पेशाले मेरा श्रीमान् पनि डाक्टर हुनुहुन्छ । हामी आफ्नो स्वास्थ्यप्रति धेरै सचेत छौँ । अहिले मेरा श्रीमानले पनि मसँगै महिनाको दुई दिन ब्रत बस्नुहुन्छ । हामीमा झगडा एकदमै कम हुन्छ अर्थात् हुँदैहुँदैन भन्दा फरक पर्दैन । हामीबीच सधैं सकारात्मक भावना मात्र आएको अनुभव साटसाट गर्छौं । यसको एक मात्र कारण भनेको विशेषतः महिनामा गरिएको दुई दिनको ब्रत नै हो भन्ने हाम्रो निष्कर्ष रहेको छ । यसरी मेरो व्याक्तिगत जीवनमा पनि जीवन सरल र स्वस्थ बनाउन, सोचमा सकारात्मकता ल्याउन, श्रीमान्–श्रीमतीको सम्बन्धमा मिठासपन ल्याउनुको एक मात्र कारण भनेको ब्रत नै हो ।

म हिन्दु संस्कारमा हुर्कें बढेँ । अन्य संस्कारमा जस्तै हिन्दु संस्कारमा पनि ब्रतको ठुलो महत्व छ । हिन्दु संस्कारमा यो ब्रतको पक्षलाई जोडेर हेर्दा संस्कार पुर्णतः वैज्ञानिक पक्षबाट पोषित रहेको पाएकी छु । हिन्दु धर्ममा महिनामा दुई वटा एकादशी रहेको छ जुन दिनलाई हामी विशेष रूपले हेर्छौं । यी दुई दिनमा हामी पूजा गरेर, भगवानको नाममा योग–ध्यानमा मस्त रहन्छौँ । यसले एकातिर हामीमा भगवानप्रतिको आस्था र विश्वास बढ्दै जान्छ, जसले आफूलाई आत्म शुद्ध राखी दुःख–सुख, रिस–द्वेष, लोभ–लालच, कामबासना आदि दुर्गुणबाट सदैव टाढा राखि मानसिक रूपमा स्वस्थ तुल्याउँछ भने अर्कोतर्फ दुई दिनमा गरिने ब्रतले शारिरिक अवस्थामा सन्तुलन ल्याइ शारीरिक स्फुर्तता ल्याएको हुन्छ । अहिले श्रावण महिना चलिरहेको छ । सबै महिला दिदी–बहिनीहरू श्रावणको सोमबार भगवान शिवजीको आराधना गर्दै ब्रत बस्ने चलन छ । यसले आध्यात्मिक रूपमा आफ्नो मस्तिष्कमा आउने नकारात्मक सोचलाई हटाउने काम गर्छ । कुनै एक आस्थामा लाग्दा त्यसले अनुशासनको पाटोलाई पनि सदैव बलियो बनाउँछ । यसले आध्यात्मिक रूपमा शुद्धता ल्याई मानसिक स्वास्थ्य सन्तुलनमा राख्दछ ।

वैज्ञानिक रूपले हेर्दा श्रावण महिनामा सामान्यतया वर्षा हुन्छ र वर्षातको आगमनसँगै मौसममा आएको परिवर्तनमा ब्रतले शरीरको पाचन प्रक्रियामा उथलपुथल आउन नदिइ एकसमान राख्छ अनि शरीर शुद्धिकरण गर्छ । तर अहिले यसको विपरीत हामी चाडबाड र आधुनिकताको नाउँमा पिज्जा, बर्गर, फ्रेन्चफुड, विभिन्न नन भेजिटेरियन खानाहरू खाइरहेका छौँ । यी खानाहरूले हाम्रो शरीरमा मधुमेह, रक्तचाप, हृदयघात, मोटोपन जस्ता अनेकन रोगहरू नसोचेको दरमा बढ्ने गरेका छन् । हाम्रो शरीर आफैमा मन्दिर हो, जसरी मन्दिरमा सधैं सफा राख्छौँ, शुद्ध चिज मात्र प्रसादको रूपमा प्रयोग गर्छौं त्यसैगरी हामी पनि प्रार्थना गरेर, ब्रत बसेर र शरीरलाई भलो गर्ने खानाहरू मात्र खाएर आफ्नो शरिरलाई शुद्धिकरण गर्न आवश्यक छ ।

अबको हाम्रो आवश्यकता भनेको सानो उमेरदेखि नै आफ्नो सामर्थ्यअनुसार ब्रत बस्ने, खानामा नियन्त्रण गर्ने बानीको सुरुवात गरेर रोगी नभइ योगी भएर बाँच्नु हो । ब्रतप्रतिको भ्रम चिर्नु पनि हाम्रो कर्तव्य हो । आशा छ, जनस्वास्थ्यसँग सम्बन्धित निकायहरू ब्रतको बारेमा र ब्रतले आममानिसको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना दिनको लागि यससम्बन्धी विषयहरू विद्यालयस्तरमा राखेर होस् वा सामाजिक स्तरमा जनचेतना समावेस गरेर होस्, समुदायको स्वास्थ्यमा अग्रसर हुने छन् । अब समुदायका मानिस रोगी भएर होइन योगी भएर जीवनयापन गर्न प्रेरित हुने छन् ।

२६ श्रावण २०७७, सोमबार ०७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..