काँग्रेसका नेताले यो बुझ्न सक्छन् ?

सात सालको आन्दोलनपछि २०१५ सालको चुनावमा काङ्ग्रेसले बहुमत प्राप्त गर्‍यो । त्यतिबेला देशको प्रधानमन्त्री विपी बन्ने कि सुवर्ण शमशेर बन्ने भन्नेमा फरक मतहरू आएका रहेछन् । अर्थशास्त्रका ज्ञाता र शालिन ब्यक्तित्व सुवर्ण शमशेर देशको प्रधानमन्त्री बन्दा काङ्ग्रेस र लोकतन्त्र सुरक्षित हुन्छ । किनभने, राजा महेन्द्र जति बीपीको ब्यक्तित्वप्रति सशङ्कित छन् त्यति सुवर्ण शमशेरसँग रहँदैनन् भन्ने कुरा पनि आएछ । सायद सुवर्ण शमशेर प्रधानमन्त्री बनेमा राजाबाट ‘कू’ हुने सम्भावना नहुने तर्कहरू पनि आएका रहेछन् । उता बीपी प्रधानमन्त्री नबनेका अवस्थामा सुवर्ण शमशेर र बढि शालिन भएकोले राजा महेन्द्रले पेलेर जाने हुँदा काङ्ग्रेसको हैसियत नै राजाको पछि लाग्ने जस्तो हुनेछ भन्नेहरूले बीपी प्रधानमन्त्री हुनु पर्दछ भन्ने सोच बनाए । त्यसैले बीपी नै प्रधानमन्त्री बन्नु पर्दछ भन्नेहरूको विचारले प्रधानता पाएको पनि रहेछ ।

राजभक्त काङ्ग्रेस बन्ने कि जनपक्षीय काङ्ग्रेस बन्ने भन्ने विकल्पमा काङ्ग्रेस जनपक्षीय बन्दा २०१७ सालमा काङ्ग्रेसका नेताहरू थुनिए र लोकतन्त्रकै अन्त्य भयो । बीपी र त्यसबेलाका क्रान्तिकारीहरूले राजासँग झुक्न चाहेनन् । झुक्न चाहेर राजाको इच्छाअनुसार काम गरेको भए पञ्चहरूको स्थान नेपाली काङ्ग्रेसका नेताहरूले लिने थिए । राजाले चाहेको त्यो विचारको पछि लागेर प्रधानमन्त्री बन्न भन्दा बीपीहरूलाई जेलको जीवन उपयुक्त लाग्यो । त्यतिबेला काङ्ग्रेसले राजालाई साथ दिएको भए काङ्ग्रेस न लोकतन्त्रवादी हुन्थ्यो, न समाजवादी र अहिले यसको हैसियत राप्रपाको भन्दा कमजोर हुन सक्ने थियो । पछिका आन्दोलनहरू काङ्ग्रेसको विरुद्धमा हुने थिए ।

यहाँ भन्नैपर्छ कि राजाले शेरबहादुर देउवालाई काङ्ग्रेसको नाममा प्रधानमन्त्री बनाएर अपदस्त नगरेको भए त्यसपछिको आन्दोलन काङ्ग्रेसको विरुद्ध हुने थियो । राजाको कदमको विरोध गरेर अर्काथरी काङ्ग्रेसले लोकतन्त्र र समाजवादको दीपलाई अविचलित बनाए । राजाले नहटाएको भए अरुको विरुद्धमा देउवाले राजाको तर्फबाट भएको प्रधानमन्त्रीको हैसियतले पञ्चहरूले जस्तै आक्रमण गर्थे । काङ्ग्रेस भनेको राजाको तानाशाहीको ताबेदार हो भन्ने कुरा अहिले पनि प्रमाणित भइरहन्थ्यो । त्योभन्दा पहिला काङ्ग्रेसले राजा माने पनि राष्ट्रियताको सम्बन्धमा मानेको थियो । अहिलेको कम्युुनिष्ट पार्टीका तत्कालीन नेता एवम् प्रधानमन्त्रीले पनि अङ्ग्रेजीमा राजा नेपालमा लामो समयको लागि चाहिन्छन् भनेकोमा विवादित पनि भएका थिए । काङ्ग्रेस, बीपी, शेरबहादुरको सम्बन्धमा भन्नुपर्दा बढि आशा राखेर विश्वास गरेकोले गल्ती गर्दा वा आफ्नो विश्वासमा कुठाराघात गर्दा जति पीडा हुन्छ, आशा नै कम गरेर पछि लागिएको छ भने पीडा कम हुन्छ । बीपीमा जनताको बढि आशा थियो र उनले त्यो आशालाई जगाइरहे ।

बीपीको निधन भयो र ०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई देशको प्रधानमन्त्री बने । उनी राजासँग कहिल्यै झुकेनन् । गिरिजाप्रसाद कोइराला विवादरहित नेता होइनन् । तर उनले काङ्ग्रेसलाई राजाको चरणमा राख्न चाहेनन् । उनले बरु ‘बेबी किङ’को अवधारणा ल्याए । उनी राजावादी हुन् वा नहुन् तर उनी राजभक्तभन्दा बढि देशभक्त थिए । देशको लागि राजाको आवश्यकता परेमा भने उनी राजभक्त पनि हुन सक्थे भन्ने पनि छ । ‘देशमा राजा भएको भए यति अस्तब्यस्तता हुने थिएन कि’ भन्ने धारणाहरू आउनु अस्वाभाविक होइन । तर त्यो राजा लोकतन्त्र र समानताको पक्षमा रहेको अवस्थामा मात्र ।

बीपीले भनेका रहेछन् कि चीन र भारतसँग सुमधुर सम्बन्ध राख्नु पर्दछ तर सरकार चलाउने र बनाउने कुरामा उनीहरूसँग सल्लाह लिनु हुँदैन । यसको विपरीत अवस्था अहिले दलभित्र नै आयो । दलबाहिर त भारत र चीनको पछि लाग्ने पनि होलान् । सरकार सम्बन्धमा चिनियाँ सक्रियताले देखाएको छ कि प्रचण्ड, माधवकुमार, झलनाथ, वामदेवहरूले आफै मिल्ने हैसियत गुमाइसकेछन् । यो दुःखद हो । त्यस समयमा पनि बीपीहरूले काङ्ग्रेस राजाको हैन जनताको पार्टी हो भन्ने नै सन्देश दिए । सुशील कोइराला त इमान्दारीका प्रतीक नै भए । यस्तो काङ्ग्रेस पाटीँमा कसैले नसोचेको वैचारिक दुर्घटना भयो । राजाले काङ्ग्रेसलाई प्रयोग गर्न पाए । राजाले काङ्ग्रेसलाई फुटाउन सफल भए । काङ्ग्रेसका नेतालाई राजाले मनपरीसँग हटाउने र राख्ने गरे । राजाले हटाउँदा दुःख माने पनि राजाले राख्दा गोर्खाली राजाबाट न्याय पाए भन्ने नेता काङ्ग्रेसमा नै देखिए । कहाँको जनताको लागि राजासँग र राणासँग सङ्घर्ष अनि बलिदान गर्ने काङ्ग्रेस, कहाँ राजाबाट न्याय पाउने आशा राख्ने काङ्ग्रेस ? काङ्ग्रेसको हैसियत कहाँ पुगेको रहेछ भन्ने प्रष्ट छ ।

समाजवादको माध्यबाट जनताको पक्ष र हितमा काम गर्ने लक्ष्य लिँदा २०१७ सालमा अपदस्त भएको काङ्ग्रेस हो । त्यही काङ्ग्रेसलाई अपदस्त गर्ने शक्तिको अगाडि लम्पसार पर्ने काङ्ग्रेस बनाउने नेताहरूबाट काङ्ग्रेसले जनतामा के उदाहरण दिने ? काङ्ग्रेस जस्तो हुन पर्दछ भनेर बीपी, गणेशमान, महेनद्रनारायण, कृष्णप्रसाद भट्टराईको उदाहरण दिने काङ्ग्रेसहरू राजाको अभीष्ट पूरा गर्ने गोटी बन्ने काङ्ग्रेस भएपछि जनताको लागि सकारात्मक उदाहरणको पात्र काङ्ग्रेस बनेको छ कि छैन होला ?

मैले मनपराएका र अहिले पनि मनपराउने काङ्ग्रेसी नेताको हैसियत देखेर त्यो विषयमा मात्र दया लागेर आउँछ । ती धराने काङ्ग्रेसले राजकीय काङ्ग्रेसमा लाग्नुको पछाडिको कारण खोलेका थिए । उनका अनुसार कोइरालाहरूले परिवारका भन्दा बाहिरकालाई त्यति वास्ता नगर्ने र कार्यकर्तालाई उचित याद नगर्ने गर्थे । तर जहाँ उनी लागे त्यहाँबाट उनले बारम्बार चासो र माया पाएको बताए । उनको चासो र भावना ठिक हो । सकेसम्म नेता र नेता तथा नेता र कार्यकर्ताको सम्बन्ध नजिक, भावनात्मक र सहयोगी हुनै पर्दछ । त्योभन्दा बढि वैचारिक र जनताको बीचमा गएर काम गर्ने क्षमता, इमान्दारीलाई परख गर्ने हुनु पर्दछ । त्यो गरिएन भने दल गणेश प्रवृत्तिमा जान्छ, अझै कमजोर र साँघुरो हुँदै जान्छ । जनतामा राम्रो प्रभाव भएको इमान्दार मानिस महत्वपूर्ण कि नेताले माया गरेको र मन पराएको र पैसा भएको मानिस उपयुक्त ? जनताको मन र दलको लक्ष्यलाई महत्व दिन सकिएन भने २०१७ सालमा काङ्ग्रेसले राजाको स्तुती नगरेकोमा गल्ती भयो भन्न सक्नु पर्दछ ।

के मलाई मर्ने अवस्थामा उपचारमा सहयोग गरेर बचाउने मानिसप्रति म आभारी नबनौँ ? के म उसको पछि नलागौँ ? लाग्नु पर्दछ तर उसले मानिस मार्दै हिँड्यो । अरु गलत गर्दै हिँड्यो भने उसप्रति ब्यक्तिगत रूपमा म आभारी छु तर तपाईंको यो काममा सहमत हुन सकिनँ भन्न सक्नु पर्दछ । म बाँचेको राम्रो गर्नको लागि हो भन्ने सोच्नु पर्दछ । बाबुले मलाई नजन्माएको भए मेरो अस्तित्व नै हुने थिएन भनेर बाबुले गरेका सबै अपराधलाई क्षम्य मान्नु हुँदैन । राजनीतिमा नेतालाई त्यस प्रकारले मान्न त घरमा मात्र सकिन्छ । राजनीतिका आफ्नै मुल्य र मान्यता हुन्छन् । बीपीले लोकतन्त्र र इमान्दारीका साथ विचारको पक्षमा लाग्नु पर्दछ भनेर पद गुमाए, जेलमा बसे, अहिले दलको नाममा पद हत्याउनको लागि लोकतन्त्रलाई दाउ लगाउने, दल फुटाउने, भ्रष्टाचार गर्ने काम सामान्य भयो ।

गणेशमान सिंहले आदर्शको लागि प्रधानमन्त्री पद लिएनन् । जतिसुकै राजनैतिक उतारचढाव आए पनि महेन्द्रनारायण नीतिले आदर्श छोडेनन् । अहिलेका नेताहरू त भविष्यमा आफ्नो पद सुरक्षित गर्न जित्ने ठाउँको महत्वपूर्ण मेयरको पद नै छोडेको पीडा अहिले पनि कम भएको छैन । आदर्शका प्रतिमुर्तिहरूको योगदानले सिँचिएको दलमा सांसद खरिद बिक्री, प्राडो–पजेरो काण्ड जस्ता कार्यहरू गर्नेको हालीमुहाली हुनु र इमान्दार र जनप्रियहरूको हैसियत मत दिने र प्रचार गर्ने मात्र हुँदै जानु र पैसावालाहरूले नेताहरूलाई पैसा बुझाइ टिकट लिएर हाबी हुनु भनेको निष्ठाको राजनीतिको अन्त्य होइन र ?

लोकतन्त्र र समाजवादको लागि काम गर्नेहरूले आफू नै इमान्दार नभएपछि जात, धर्म, भाषा र उत्पत्तिको आधारमा विभाजित हुँदै गएको समाजलाई जोड्न सक्लान् ? मोदीसँग विवाद हुन सक्दछ तर उनी प्रधानमन्त्री बनेर पनि उनकी आमा गरिवीमा बाँचेकी छन् । उनका भाइ बेलुन बेचिरहेका छन् । एउटा भाइ अहिले पनि सामान्य कामदार छन् । उनले चाहेको भए वा उनका भाइहरूले चाहेको भए अहिले ठुलै पद पाउने थिए होलान्, तर मोदीको उचाइ त बढ्ने थिएन । यतिबेला उनको इमेज विश्वमै बढिरहेको छ । यसपटक सुरक्षा परिषद्मा १९२ देशले मत दिँदा १८४ देशले अस्थायी सदस्यको लागि भारतलाई मत दिएका छन् र यो मत इतिहासमा भारतलाई मात्र हैन कुनै पनि देशलाई परेको अत्यन्त सर्वाधिक मत हो । उनको इज्जत र उनलाई दिइने विश्वास देश र विदेशमा जुन रूपमा आएको छ, त्यसको लागि उनको ब्यवहार नै प्रमुख हो । नेताहरूले उनबाट सिके पनि हुने हो । सी जिङ पिङबाट इमान्दारी र आध्यात्मिकताको भावना बुझे पनि हुने हो । पुटिनबाट रुसलाई अरु बिखण्डनबाट बचाइएको उनको इमान्दारी र क्रियाशीलताले नै हो । ट्रम्पले अमेरिकाको संस्कार र संस्कृतिको रक्षा गर्न चाहेकोले नै लोकप्रिय बनेका हुन् । यो काङ्ग्रेसका नेताहरूले बुझ्न सक्दछन् ?


(लेखक दामोदर पौडेल नेपाली काँग्रेस निकट बुद्धिजीवी हुनुहुन्छ)

१३ श्रावण २०७७, मंगलवार ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..