सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न स्थानमा समेत भौतिकदुरीलाई कायम राखी स्वास्थ्य सतर्कतालाई ध्यानमा राखी  विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम सम्वत १८७१ साल असार २९ गते आज कै दिन तनहुँ जिल्लाको चुँदीरम्घा गाँउमा पण्डित श्रीकृष्ण आचार्यका नाति एवं पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सुपुत्रका रूपमा जन्मेका भानुभक्त आचार्य‚नेपाली साहित्यआकाशका एक उज्जवल नक्षत्र आदिकवि तथा राष्ट्रिय विभूती भानुभक्त आचार्यको जन्मदिन । यसै शुभ उपलक्षयमा हामी आज २०७औं भानुजयन्ती मनाई रहेका छौं। भानुभक्तको न्वारनको नाम देवीभक्त भएतापनि पछि तिनै बालक देवीभक्तबाट रामको भक्त अनि नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्याकाशमा आदिकवि भानुभक्तका नामले परिचित हुन पुगे ।

हजुरबुवा श्रीकृष्ण आचार्यबाट घरायसी वातावरणमा संस्कृत भाषाको प्रारम्भिका ज्ञान लिएका भानुभक्तले ५ वर्षको भएपछि हजुरवुवा श्रीकृष्णले उनलाई मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः जस्ता ज्ञान र नैतिक शिक्षा सम्बन्धि वोध गराउनुका साथै अक्षराम्भ गराएका थिए । विद्वान पण्डित हजुरवुवा श्रीकृष्ण आचार्यबातट अक्षराम्भ शुरु गरेका भानुभक्तलाई अमरकोशका तीनैकाण्ड,लघुकौमुदी लगायतका व्याकरण ग्रन्थहरुको स्वअध्यन गर्न लगाईएको थियो । कलिलो उमेरमानै संस्कृत भाषामा राम्रो दख्खल बनाएका भानुभक्तले १८ वर्षको उमेरमा नै साहित्य श्रृजनाको यात्रा आरम्भ गरेका थिए । यूवाकवि मोतीराम भट्टको जीवनी लेखहरुमा उल्लेख भएअनुसार वि.स.१८९१ मा भानुभक्त एकदिन मावलबाट फर्कदै गरेको क्रममा तनहुँको घाँसीकुवामा स्थानीय एक घाँसीबाट पाएको प्रेरणाबाट प्रेरित भई उनले साहित्यमा कलम चलाएका भानुले अर्काको घरमा गोठालो बसेको एक गरिव व्यक्तिले आफ्नो कमाईबाट लोकहितका लागि कुवा खनाएको भन्ने भनाईबाट भानुभक्तको मनमा उत्साहको बाँध फुटेको थियो । र तत्कालै उनले घाँसीबाट प्रेरित भई एउटा कविता पनि रचना गरेका थिए।

भरजन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भै कन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन्
जे र चीज धनहरु छन् घरभित्र नै छन् ।।
तेस घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार होस् मकन बस्नु नराखी कीर्ति ।।

घाँसीबाट प्रेरणा पाएका भानुभक्तले काव्य रचनाबाटै लोकहित गर्ने र कीर्ति राख्ने निर्णय गरि संस्कृत भाषामा लेखिएको वाल्मीकी रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरे । जुन रचनाले प्रत्येक नेपालीको मन छोयो र घरघरमा रामायणका श्लोकहरु घन्किन थाल्यो । भानुभक्तले रामायणका साथै भक्तमाला, अमरकोष, प्रश्नोत्तरी, बधुशिक्षा, रामगीता लगायतका अमर कृतिहरु र कैयौं फुटकर रचनाहरु नेपाली साहियात्काशमा भण्डारण गरे।

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।

आदिकवि भानुभक्त आचार्य नेपाली भाषा साहित्यको क्षेत्रमा एक सहज र सरल कविका रुपमा पनि चिनिन्छ। भानुभक्तले अनेक सुन्दर मौलिक रचनाहरुको सृजनाद्वारा नेपाली समाजको भाषिक, साहित्यिक,सांस्कृतिक र सामाजिक एकीकरण स्वरूपमा राष्ट्र र समाजलाई एउटै मालामा गाँसेर नेपाली भाषीहरुलाई एकीकरण गर्ने कार्य भानुभक्त आचार्यले गरे । प्राचीन संस्कृत वाङ्मय साहित्यको ऐतिहासिक मोडमा उभिँदा संस्कृत साहित्यमा वाल्मिकीको स्थान भए झैं नेपाली भाषा, साहित्य र साँस्कृतिक उर्वरताभित्र भानुभक्तको त्यही गौरवशाली भएका कारण भानुभक्तलाई नेपालीहरुले राष्ट्रिय विभूति र एकताका महानायक मान्ने गरेका छन्। उनिद्वारा रचित वधुशिक्षा नेपाली समाजको राम्रो पारिवारिक चित्रण मानिन्छ ।

एक् थोक् भन्छु न मान्नु दुःख हे मित्र तारापति ।
तिम्रा ई जति छन् जहानहरू ता जुझन्या रह्या छन् अति ।।
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्याको जसै ।
भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।
धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।
साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ।।२।।

भानुभक्तको रचनात्मक योगदानबाट नेपाली साहित्यिक भण्डार रसिलो, स्वादिलो खँदिलो हुन पुगेको कुरालाई हामीले बिर्सनु हुदैन। भानुभक्तको दार्शनिक अध्ययन , तिखारिएको कलम र महान प्रतिभाको जगमा नेपाली भाषा र साहित्य आज यति मौलाउन सकेको कुरा नै यथेष्ट छ उनको योगदान मापनका लागि । भानुभक्तले वाल्मीकी रामायणलाई सरल नेपाली भाषामा अनुवाद नगर्दासम्म नेपाली भाषामा कुनै त्यस्तो प्रख्यात ग्रन्थ रचना नै भएको थिएन । भानुभक्तको यही योगदान र कृतिलाई कदर गर्दै नेपालमा वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको पाईन्छ ।

एकातिर हामी भानुको जन्मजयन्ती मनाईरहेका छौं।अर्कोतिर आदिकविको सम्झना र स्मृतिमा बनाइएका दर्जनौं सम्पदाहरू संरक्षणको पर्खाईमा छन् । भानुका स्मृतिमा भानु गाविस हुँदै हाल भानु नगरपालिकाको नामाकरण पनि गरिएको छ । यस क्षेत्रक विधालय, क्याम्पस देखि आमा समूह,युवा क्लव, र गैरसरकारी संस्थाहरुले पनि भानुकै नाम प्रयोग गरेर अनुचित फाईदा लिइरहेका छन् चुँदीरम्घाकै कुरा गर्ने हो भने पनि हाल त्यहाँ अहिले भानु स्मारक संग्रहालय, भानु देवकोटा प्रतिमा स्थल, भानु संस्कृत मावि, भानु संस्कृत क्याम्पस, भानु यूवा क्लव, भानु आमा समूह, भानु मार्ग, भानु जन्मस्थल विकास समिति, भानु शसस्त्र प्रहरी गण लगायतका करिव २ दर्जन बढी संघसंस्था रहेका छन् । तर पनि कुनै संघसंस्थाले भानुको जन्मस्थलमा उल्लेख्य काम गर्न सकेका छैनन् । सबै केवल भानुको नाम प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने बाहेक अन्य कार्य हुन सकेको अवस्था देखिन्न।

विस २०५४ सालमा विभिन्न संघसंस्था र स्थानीय बासिन्दाको सहयोगमा तनहुँको घासीकुवामा भानुभक्त र घाँसीको सम्झनामा निर्मित भानुघाँसी स्मारक पार्क उचित संरक्षण हुन नसक्दा दयनीय अवस्थामा छ। पार्कको संरक्षण र संवर्धन गर्ने निकाय कुन हो र कहाँ छ ,त्यसको अत्तोपत्तो छैन । प्रत्येक भानुजयन्तीको पूर्वसन्ध्यामा सो पार्कमा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, नागरिक समाज र सर्वसाधारणको सहभागिता हुने गरेको छ । कार्यक्रममा कवि, कलाकार, साहित्यकारहरुलाई भन्दा पनि विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूको जमघट हुन्छ र भानुका बिषयमा अनेकन भाषण गरिए र गरिन्छन् । तर भानुको नाम मात्र फलाकेर जन्म जयन्ती सकाईन्छ र भोलीपल्ट देखि भानु जन्मथलो पुन अर्को जन्मजयन्तीको पर्खाईमा कुरिरहन्छ तर भानु जन्मथलो घाँसीकुवा पारक लगायतको संरक्षण र सम्बर्दनको लागि त्यहाँ फर्केर हेरिदिने कुनै निकाय देखिन्न।

भानुभक्तको जन्मथलो उनका समझनामा बाईएका पार्क उनीसंग सम्बन्ध राख्ने ऐतिहासिक धरोहरहरु सम्पदाहरु र उनीद्वारा रचित रचनाहरुको उचित संरक्षण र सम्बर्दन गर्न सक्यौं भने हामीले भानुको साँच्चैको सम्मान गरेको ठहरिनेछ । नत्र केवल आयाराम गयाराममै सिमीत रहनेछ भानु जयन्ती ।

लेखक कानुन व्यवसायी,कथाकार र गजलकार समेत हुनुहुन्छ।

२९ असार २०७७, सोमबार १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..