कोरोना महामारी, त्यसले मानसिक स्वास्थ्यमा पारेको असर र तेस्रो विश्वको मनोरोग

आनुवांशिक संरचनामा आरएनए भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस नामाकरण गरेका थिए । त्यस्तै संरचना र गुणसँग मिल्ने भाइरस सन् २०१९को डिसेम्बरमा चिनको वुहानको एक पशुपन्छी व्यापारिक हुने क्षेत्रमा देखा पर्यो । जसलाई प्रारम्भमा सार्स २ नाम दिइयो र त्यसको संक्रमणबाट हुने रोगलाई कोभिड १९ भनियो । भाइरसको रुप किरिट अर्थात् श्रीपेच जस्तो भएकोले अङ्ग्रेजीमा कोरोना भाइरस नाम दिइयो । यस भाइरसले अहिले चिनबाट सुरु भई स्पेन इटाली हँदै बाँकी विश्वलाई नै निर्दयी बनेर धावा बोलिरहेको छ अर्थात् कोरोना महामारीले विकराल रुप धारण गरेको छ । हालसम्म ८० लाखभन्दा बढी मानिसहरू संक्रमित छन् । तीन लाख चौरासी हजारभन्दा बढी पूर्ण रुपमा निको भई घर फर्केका छन् भने चार लाख छत्तीस हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको सङ्ख्या दिनानुदिन उकालो लाग्दै जानु, अहिलेसम्म पनि खोप तथा औषधी पत्ता लगाउन नसक्नु आदि तथ्यलाई आधार मान्दा यस भाइरसको प्रकोपले विश्वलाई अझै केही वर्षसम्म त्रशित बनाईरहनेछ ।

ज्वरो आउनु, सुख्खा खोकी लाग्नु कोरोना भाइरसको मुख्य लक्षण भनिए तापनि यसको आनुवांशिक संरचनामा परिवर्तन हुँदै गएको वैज्ञानिकहरू बताउँछन् । यस भाइरसको सङ्क्रमण हुँदा कतिपय मानिसहरूमा रुघाखोकीसँगै घाँटी दुख्ने, टाउको दुख्ने, घ्राणशक्तिमा शिथिलता आउने जस्ता लक्षण देखिएका छन् भने कतिपयमा त्यस्ता कुनै पनि लक्षण नै नदेखिने गरेको पनि पाइएको छ । झण्डै असी प्रतिशतमा सामान्य लक्षण मात्र देखिएको पाइएको छ ।

कोरोना भाइरस सङ्क्रमित व्यक्तिको संसर्गमा आउने व्यक्तिमा श्वास प्रश्वासका अन्य रोगहरूमा जस्तै सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा उसको नाक र मुखबाट निस्केका छिटाहरूबाट सर्ने गर्दछ । थुक र सिँगानका छिटामा रहेको भाइरस वरपरका सतह एवं हावामै पनि रहने गर्दछन् । ती भाइरस अन्य संसर्गमा आउने व्यक्तिका हात, अनुहार हुँदै नाक वा मुखको माध्यमबाट प्रवेश गर्दछ । भाइरस यसरी प्रवेश गरिसकेपछि घाँटी, श्वास नली र फोक्सोका कोषहरूलाई आक्रमण गर्दै ती अङ्गहरू नियन्त्रणमा लिई आप्mनो सङ्ख्य तीब्र रुपमा बृद्धि गरी ती अङ्गहरूमा गम्भीर असर पुर्याउछ जसको कारण सङ्क्रमित व्यक्तिको मृत्यु पनि हुन पुग्दछ । जनस्वास्थ्यविद् तथा विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्मित व्यक्तिले खोकेको वरपर जाँदा श्वासको माध्यमबाट र सङ्क्रमित व्यक्तिको संसर्गमा रहेका विविध वस्तु एवं सतहमा छोएर अनुहारमा छुदाँ यो भाइरस सर्ने गर्दछ । कोरोना भाइरस एक पटक लागेर पूर्णरुपमा निको भएकाहरूलाई पुनः सङ्क्रमण भएको पनि देखिएको छ । त्यस्तै कोरोना भाइरस पूर्णरुपमा समाप्त भैसकेको घोषणा गरिएका चिन लगायतका देशमा पुनः सङ्क्रमण देखिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि कुनैपनि खोप वा औषधी पत्ता लागि नसकेको परिप्रेक्ष्यमा मानिसहरू लक डाउन अथवा सामाजिक दुरी कायम गरी बस्नुको अर्को विकल्प छैन । कोरोना सङ्क्रमित हुनेको संख्या उकालो लाग्ने क्रम निरन्तर बढ्दो छ । कोरोनाले सम्पूर्ण विश्वलाई नै यसरी गाँजेको छ कि जसको प्रत्यक्ष अप्रत्यक्ष असरबाट कुनैपनि क्षेत्र अछुतो छैन । सायदै यस्तो कुनै क्षेत्र छ जुन यस महामारीबाट प्रभावित भएको नहोस् । आर्थिक मन्दीको अवस्था सिर्जना भइसकेको छ । आफ्नो निश्चित दैनिकीमा अभ्यस्त मानिस घरभित्र थुनिएर बस्नु परेको छ । लकडाउन आंशिक रुपमा खुलेको भए तापनि पहिले जस्तो सुरक्षित वातावरण र दैनिकीमा भने फर्कन सकिएको अवस्था र्छैन । विश्व अर्थतन्त्र नै एक किसिमले धराशायी बन्दै गएको देखिन्छ । जसले गर्दा दैनिक जीवनमा अत्यधिक प्रभाव परेको छ । जागिर, व्यापार व्यवसायमा अन्यौलता सिर्जना भएको छ । कयौँको रोजीरोटी गुमेको छ । अत्यावश्यकीय सेवा सुविधाको उपयोगमा कठिनाइ उत्पन्न भएको छ । दैनिक मजदुरी गरेर गुजारा गर्नु पर्ने आम मानिसका लागि अझै यसले थप आर्थिक बोझ थपेको छ । भविष्यको चिन्ताले मानसिक रुपमा भयावह स्थिति सिर्जना गरेको छ ।

कोरोनाले जुन महामारीको विकराल रुप धारण गरेको छ, आगामी दिनमा कोरोना महामारीभित्रको सम्भावित महामारीको रुपमा मानसिक स्वास्थ्य समस्या सिर्जना नहोला भन्न सकिन्न । अमेरिकी साइक्रियाट्रिक एसोसिसनको सर्वेक्षणको आँकडाअनुसार कोरोना र लकडाउनका कारण एक तिहाइ अमेरिकीमा मानसिक स्वास्थ्यमा असर परेको उल्लेख पाइन्छ । कोरोना महामारीको बढ्दो तथ्याङ्कको सन्त्रास, सामाजिक सञ्जालमा फैलाइएका विविध अफवाह घरभित्र नै थुनिएर रहनु पर्दाको फुर्सदिलो समय मनमस्तिष्कमा आइरहने अनावश्यक सोचाइ र चिन्तन आदिले मानिसको मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारेको देखिन्छ । जसले घरेलु, लैङ्गिक एवं यौन हिंसामा पनि अत्यधिक वृद्धि भएको तथ्याङ्कहरूले देखाएका छन् ।

अहिलेको विषम परिस्थितिमा मानिसमा मुख्यतः सङ्क्रमित भइने डर र चिन्ता, नोकरी वा कारोवार व्यवसायसम्बन्धी चिन्ता र अन्यौेलता अनिश्चितता, निराशा देखा परेको छ । जसको कारण मानिसले आफूलाई असहाय, एक्लोपन र ऊर्जाहीन अनुभूति गर्न थालेको छ । चिकित्सकहरूका अनुसार सेरोटोनिम घट्दा धेरै मानिसमा अनावश्यक डर पैदा हुने गर्दछ । अझै क्वारेन्टाइनमा रहेका र सङ्क्रमितहरूमा त झन रोगले मरिएला भन्ने त्रास र भविष्यप्रतिको अन्यौलता र चिन्ताले शारीरिकभन्दा पनि मानसिक स्वास्थ्यमा अत्यन्त नकरात्मक असर परेको देखिएको छ ।

यसरी कोरोना महामारीले लार्खौँलाई मृत्युको मुखमा पुर्याएको अवस्थामा अर्को महामारीको रुपमा मानसिक स्वास्थ्य समस्या सिर्जना नहोस् । यसका लागि सवैले स्वयम् र समस्त विश्वको मानिसको बारेमा पनि सोच्नु पर्ने समय आएको छ । मानसिक स्वास्थ्य समस्या न्युनीकरणका लागि हरेक तह र तप्काबाट पहल गरिनु पर्दछ । त्यसको निराकरणको उपाय भनेको हरेक व्यक्ति मानसिक रुपमा मजबुत रहने, धैर्य गर्ने, फुर्सदिलो समयलाई अनावश्यक चिन्तन बिताउनुभन्दा जीवनको भौतिक चिज प्राप्तिको आपाधापिमा नै बिताइरहेको जुन दैनिकी थियो त्यसबाट अलिकति पर सांसारिक नश्वरताको चिन्तनतिर सोच्ने अर्थात् आत्मिक पाटोलाई पनि नियाल्ने प्रयत्न गर्ने, परिस्थितिलाई स्वीकार गर्ने सिर्जनात्मक कार्यमा आफूलाई व्यस्त राख्ने, नकारात्मक कुराहरूबाट सकेसम्म आफूलाई टाढा राख्ने, दैनिकीलाई व्यवस्थित बनाउने, सानासाना कुरामा पनि खुसी हुने प्रयत्न गर्ने, भविष्यको चिन्ता गरी अनावश्यक सोचाइका तरङ्गहरूसँग नबहकिई वर्तमानमा जिउने, वर्तमानमा रमाउने, खुसी हुने प्रयत्न गर्नु पर्दछ ।

त्यस्तै, सामाजिक सञ्जालहरूमा कुनै पनि सामग्री सम्प्रेषण गर्दा ज्ञानवर्द्धक मनोविद्का, स्वास्थ्य क्षेत्रहरूसँग सम्बन्धित विद्वत्वर्गको आधिकारिक सुझाव, परामर्श तथा आम मानिसका लागि हितकर सन्देश र सूचनाहरू सम्प्रेषण गर्नुपर्दछ । आपसी मेलमिलाप र सहिष्णुताको भावना सिर्जना हुने क्रियाकलापमा संलग्न हुने गर्नु पर्दछ । त्यस्तै ध्यान, योग लगायतका सम्यक अभ्यासहरूमा आफूलाई उन्मुख गराउँदा पनि मानसिक शान्ति प्राप्त गर्न सकिन्छ ।

  
(शिक्षा क्षेत्रमा लामो समय देखि संलग्न रहँदै आउनु भएकी लेखक उमा थापा यस समाचार सेवाको उपसभापति एवं अध्यात्मिक चेतनाको मार्गमा पनि क्रियाशील हुनुहुन्छ)

३ असार २०७७, बुधबार ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..