लकडाउनमा बढ्दो बलात्कार

घटना नं १ : लकडाउनकै अवधिमा गत जेठ १६ मा सुनसरीको धरानमा ३८ वर्षीय बाबुद्वारा आफ्नै छोरी बलात्कृत भइन् । बिहान सात बजेको समयमा बाबुले आफ्नै १४ वर्षीया छोरीलाई सुतिरहेको ठाउँमा ललाइफकाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लकडाउनको अवधीमा मानसिक विचलनका कारण ती पुरुषले छोरीलाई बलात्कार गरेका थिए ।

घटना नं २
कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी २० वर्षीया युवतीलाई काठमाडौँ पुर्याइदिने भन्दै धादिङबाट ना.६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेको अवस्थामा जबर्जस्तीकरणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतार थानकोटबाट पक्राउ परे । प्रहरीको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको समयमा पनि नेपालमा बलात्कारको ग्राफ बढ्दो छ ।

घटना नं ३
सुनसरीको सिमलपानीमा १७ वर्षकी किशोरी माथि सामुहिक बलात्कार भएको छ। बैशाख १४ गते राती ५–७ जनाको समुहले किशोरी माथि सामुहिक बलात्कार गरेको र घटनामा संलग्न दुई जनालाई प्रक्राउ गरिएको र बाँकीको खोजी कार्य भइरहेको छ।

घटना नं ४
१० वैशाखमा मोरङमा १७ वर्षीया एक किशोरी सामूहिक बलात्कारको शिकार भइन् । प्रेमीकै कारणबाट गत १५ माघमा पहिलो पटक प्रेमीसहित ५ जनाबाट सामूहिक बलात्कृत भएकी उनी लकडाउन जारी रहेकै बेला दोस्रो पटक सोही समूहबाट बलात्कृत भएकी थिइन् । मोरङका डिएसपी मानबहादुर राईका अनुसार किशोरीमाथि बलात्कार गरेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै, प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गर्यो भने एक जना फरार छन् ।

घटना नं ५
झन्डै दुई महिनाअघि गौरीफन्टा नाका हुँदै जेठ २० गते लम्की पुगेकी एक महिला नाबालक छोराछोरी र नजिकै रहेका माइती भेट्ने रहर हुँदाहुँदै पनि उनी स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसिन्।सरकारले पहरा दिने भनिएको क्वारेन्टाइनमा शनिबार राति सामूहिक बलात्कारको सिकार भइन् उनी । सुरक्षा, स्वास्थ्यकर्मी, खानपान, नियमित रेखदेख । तर, लम्की चुहा–१ ले व्यवस्थापन गर्दै आएको सहिद स्मृति माविमा उनी तीनै सुरक्षाकर्मी स्वास्थ्यकर्मीबाटै उनी बलात्कारमा परिन् । किशोर स्थानीय स्वाथ्यकर्मी हुन् भने २० वर्षीय लक्ष्मण र १८ वर्षीय सर्जन वडाले खटाएका स्वंयमसेवक हुन् ।

घटना नं ६
रुपन्देहीको सैनामैनामा एक १५ वर्षीया किशोरी बलात्कारको शिकार भएकी छन्। बालिकालाई ललाई फकाई बलात्कार गर्ने सैनामैना–१ का ३२ वर्षीय मानबहादुर छहारीलाई प्रहरीले पकाउ गरेको छ ।

यी त भए प्रतिनिधी घटना । लकडारउनका अवधीमा धेरै बलात्कारका घटना भए । चैत ११ देखि जेठ १० गतेसम्ममा बलात्कारका २ सय १४ वटा मुद्धा दर्ता भएका छन् । प्रष्ट भन्नु पर्दा लकडाउनको अवधीमा पनि बलात्कारको घटना घटेको देखिदैन । दिनानुदिन झनै बलात्कारको घटना बढ्दै गइरहेको नेपाल प्रहरीको तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

प्रदेश ५ मा सबैभन्दा बढी बलात्कारको मुद्दा दर्ता भएको पाईएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश–५ मा सबैभन्दा धेरै ४६ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी बलात्कार उद्योगको ७ वटा मुद्दा दर्ता भएको छ ।यस्तै प्रदेश १ मा ३७ वटा बलात्कार र १४ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश २ मा ३४ वटा बलात्कार र ७ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यसैगरी प्रदेश तीनमा २८ वटा बलात्कार र १२ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश चारमा १७ वटा बलात्कार र ६ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ ।त्यस्तै प्रदेश ६ मा १९ वटा बलात्कार र चार वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश सातमा १९ वटा बलात्कार र ५ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ ।लकडाउन सुरु भएपछि मात्रै काठमाडौँ उपत्यकामा एक दर्जनभन्दा बढी बलात्कारको घटना भएको छ । ११ चैतदेखि लकडाउन शुरु भएपछि उपत्यकामा बलात्कारको संख्या झनै बढेको हो ।लकडाउनमा हालसम्म १४ वटा बलात्कार र २ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उपत्यकामा पनि बलात्कार पुरानै ग्राफमा देखिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्कले जिल्लामा बलात्कारको घटना लकडाउनमा घटेको देखिएन।प्रहरी उपरीक्षक गङ्गा पन्तले चैत ११ गतेदेखि शुरू भएको लकडाउन अवधि अढाई महीनाभित्र ६ वटा बलात्कारका घटना दर्ता भएको पाईयो। जबरजस्ती करणीका ४, अप्राकृतिक मैथुन १ र बाल यौन दुव्र्यवहारका १ गरी ६ वटा घटना दर्ता भएको जानकारीमा आएको छ।

बलात्कार परिवारभित्र र चिनेजानेकाबाट बढी हुने हुनाले परिवार सचेत हुनुपर्ने देखिन्छ। ‘काम छैन, मानिसहरु टोल,छिमेकमा केन्द्रीत छन्,त्यसैले निकटता बढेपछि बलात्कार बढ्ने हो,अहिले भएको त्यहि हो।

लकडाउन अवधिमा बलात्कारका घटना बढ्नुमा बालिकाहरूलाई सजिलै फकाउन सकिने, गरीबी, विकृत मानसिकताका मानिस, स्वनियन्त्रणको कमी, असहमतिमा यौन सम्बन्ध राख्नु तथा कानून नजानेर पनि बलात्कारका घटनाले निरन्तरता पाइरहेको पाईएको छ।
बलात्कारका घटनामा गरीब परिवारका बालबालिकाहरू अत्यधिक पीडित हुने गरेको एक अनुसन्धानबाट देखिएको छ ।बलात्कारका घटना पीडितहरूले लोकलाजको कारण लुकाउँदा बलात्कारीहरूको मनोबल बढेको र घटना दर्ता नहुँदा अभियुक्तहरूको मनोबल बढेर घटनाले निरन्तरता पाइरहेको पनि देखिएको छ। पहिला बाटो ढुकेर, ग्याँङ रेप वा चीनजान बेगरका व्यक्तिबाट बलात्कारका घटना हुँदै आएकोमा अहिले चीनेजानेकै (घर परिवार, आफन्त, नातागोता, शिक्षक, सहपाठी) बाट बलात्कारका घटनाहरु भईरहेका छन्।’बलात्कार घटनामा पछिल्ला दिनमा रूप फेरिएको देखिन्छ।‘घटनालाई संवेदनशील ढंगले हेरिए पनि यसमा विकृति देखिन थालेको छ। ‘सहमतिमै शारीरिक सम्पर्क राख्ने र पछि कुरा नमिलेपछि बलात्कार भयो भनेर उजुरी दिने प्रवृत्ति बढेको देखिन्छ पछिल्लो समय, यो डरलाग्दो विषय हो।’

मनोविद्हरुका अनुसार चार प्रकारका चरित्र भएका व्यक्तिबाट बलात्कार हुने बताउँछन्। यौन लत (सेक्स एडिक्सन) लागेका, मेनिया, मदिरा वा लागूऔषधको लत र पेडोफेलिया भएका व्यक्तिले बलात्कारसँगै यौन हिंसाका घटना निम्त्याउने संभावना बढी हुने जानकारी ढकालले दिए। उनले भने, ‘मानसिक रूपमा अस्वस्थ भएका व्यक्तिले क्षणिक आवेगलाई नियन्त्रण गर्न सकदैनन्, जसले समाजमा अरूलाई सम्मान गर्दैन। सम्मान लिन पनि खोज्दैन। मदिरा र लागुऔषधको लत जस्तै यौन लत पनि बलात्कारको प्रमुख कारण हो।’ मेनिया रोगका बिरामीमा बढी यौन चाहना हुन्छ। कोही आफैं यौन दुव्र्यवहारमा परेको, परिवार भित्रको विचलन र तनावमा परेका पुरुषले आफ्ना कुण्ठालाई दबाउन पनि बलात्कार जस्तो घटना गराउन उद्दत भएका देखिन्छ। सामाजिक मूल्य र मान्यताका बारेमा जानकारी नभएको र यौन शिक्षाबारे चेतना नभएका व्यक्ति पनि यौन दुव्र्यवहार गर्न उद्दत हुने पाईएको छ।

बलात्कारका घटना संवेदनशील भएपनि राज्य संवेदनशील बन्न नसकेको विभिन्न घटनाहरुबाट पुष्ठी भईरहेकै छ। कानुन बलियो बनाए पनि न्यूनिकरण र नियन्त्रणका प्रयास नहुँदा घटना दोहोरिरहने गरेको आम जनमासको बुझाइ छ। घटना हुन नदिन पहिला आफ्नै बच्चाको निगरानी राख्नुपर्ने देखिन्छ। बलात्कारपछि हत्या गर्ने घटनामा प्राय पीडकले प्रमाण लुकाउने उद्देश्यले गर्दै आएको देखिन्छ। ‘अहिले अपराधमा पनि अलि क्रुरता देखिँदै आएको छ। बालिकाहरू नै बढी बलात्कृत हुँदै आएका छन्। चिनेजानेकाबाटै हुने यस्ता घटना झन् बढी खतरनाक हुन्छन्’, ‘अहिले स्थानीय तह बलियो भइरहेका बेला स्थानीयस्तरमा पनि चेतनामूलक कार्यक्रम आउन सकेका छैनन्।’ बलात्कारका घटनाहरू यसरी बढ्नुका पछाडि स्वयं समाज दोषी छ। समाज भन्नाले सामाजिक संरचना जस्तो राज्यको चरित्र, त्यहाँको उत्पादन प्रणाली, अर्थ राजनीति, धर्म, संस्कृति, वर्ग, जातजाति, लैङ्गिकता, परम्परा, मूल्य, मान्यतालाई जनाउँछ।

शहर भन्दा ग्रामीण क्षेत्रमा बढी बलात्कारका घटना भएका छन्।बलात्कारको घटनामा महिलालाई डराएको, त्रास, चिच्याएको, कमजोर बनाएर चित्रित गरिन्छ भने पुरुषलाई बलियो बनाएर देखाइन्छ। बलात्कार लैङ्गिक असमानताको एउटा परिणाम हो। जुन सदियौदेखि कायम छ। महिलाको शिक्षा, रोजगारी, पेशा, पहुँच र कानुनी हैसियत जस्ता कुरा सिधै बलात्कारसँग सम्बन्धित हुन्छ। महिलाको सामाजिक आर्थिक हैसियतले पनि बलात्कारका घटनामा प्रभाव राख्दछ। बलात्कारी मानसिकता निर्माण हुनुमा लैङ्गिकतामा आधारित कामको विभाजन र सामाजिकीकरण मुख्य कारण हुन्। बलात्कार प्राय विकासशील देशहरूको मात्रै समस्या होइन। बलात्कृत हुने शीर्ष देशमा विकसित र शिक्षित देश पनि रहेका छन्। यो सत्य हो कि विकसित र शिक्षित देशहरूमा पनि गरिबी, अशिक्षा, अज्ञानता अझै कायम नै छ। त्यसैले त्यस्ता ठाउँमा बलात्कारका घटना हुने गर्दछ। तर अहिले बलात्कार जस्तो संवेदनशील विषयमाथि धेरै खेलबाड भइरहेको छ। बलात्कारका विषयमा हुने डिबेट, डिसकसन आदि सतहमा मात्र केन्द्रित छन्। बलात्कारको मूल जरा के हो, बलात्कार किन हुन्छ र यसलाई घटाउन के कस्ता कदम उठाउन सकिन्छ भन्ने विषयमा कम छलफल भइरहेको पाइन्छ। त्यसैले अब बलात्कार पछिका कदममा मात्र नभएर बलात्कार नै किन हुन्छ र यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल चलाउन आवश्यक छ ।


(लेखक बिनिता गुरुङ यस समाचार सेवाको सम्पादक एवं कानुन ब्यावसायी हुनुहुन्छ)

२ असार २०७७, मंगलवार २३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..