बिकासे बजेटः वर्षे भेल

सानु शाही ठकुरी ।

बजेट भाषण जेठ १५ मा प्रस्तुत हुन्छ अनि आर्थिक वर्ष साउनमा सुरु हुन्छ । भाषण सुन्दा कुन शीर्षकमा कति विनियोजन गरियो भनेर टेलिभिजनबाट एक मिनेट पनि आँखा झिमिक्क नपारी सुनिन्छ । अनि कलम र कापी लिएर टिपोट गरिरहदा त्यो छुट्याइएको बजेट मेरै गाउँमा विनियोजन गरेको हो जस्तो लाग्छ खुसीले मन पुतली झै फुरुङ्ग भएर उडेको अनुभुति हुन्छ । अनि भोलिपल्ट जहाँ जसरी जोसँग भेट भयो कि सबैको मुखमा त्यही बजेटको चर्चा हुन्छ ।

चोक, गल्ली, चिया पसल, पान पसल, जिम खाना, भट्टि पसल, अफिस, भान्सा, मेलापात, दाउरा घाँस जताततै यसकै चर्चा सुनिन्छ । लाग्छ गाउँ गाउँमा बिकासको बजेट हैन भेल बाढी नै आएको छ । अब घुम्न सिङ्गापुर हैन सिङ्गापुरका मान्छे मेरै गाउँमा घुम्न आउनेछन । अब मेरो गाउँमा स्वर्ग झर्छ । मानिस मरेर स्वर्ग हैन जिउदै स्वर्गमा अवतरण गर्नेछन् । अब कसैले पनि श्रम गर्न विदेश जानु पर्दैन बिदेश नै मेरो देशमा आउँछ । अरु हो र सिङ्गापुर, अमेरिका, जापान, कोरिया, अनि खै के के नाम हो धनी देशको त्यो त मलाई जम्मै नाम त मलाई थाहा भएन सबै मेरै देशमा आउँछ जस्तो लाग्छ । हामी पनि कति इमानदार ? जसले जे भने पनि तुरुन्त पत्याइ हाल्ने । गौरव गरौँ की, आफैलाई लोप्पा खुवाउदै बसौ कुनै उत्तर भेट्न् सकिँदैन ।

त्यसपछि एक दिन दुई दिन गर्दै विस्तार विस्तार यी सबै चुरीफुरी हराउदै जान्छ । हुन त यसमा विचरा हामी सोझा नेपालीको पनि के दोष ? हाम्रो पनि त आफ्नै संसार छ । छोराछोरी, बुवा आमा पाल्नु पर्छ । आफ्नै पेट पनि पाल्नुपर्छ। कसरी भ्याउनु त त्यसको पछि लाग्दै हिड्न ? त्यो बिकासे बजेटको कुरा गर्दै केश्रा केलाउदै हिड्ने फुर्सद कहाँ छ र ? सबै आफ्नै आफ्नै काममा व्यस्त हुन्छन् । असार लाग्छ मानो खाएर मुठी उब्जाउने अभियान अर्थात धान रोपाइँ अनि साउन लाग्छ कोदो रोप्ने र धान गोड्न भ्याइ नभ्याइ । भदौ लाग्छ कोदो गोड्ने यसमै व्यस्त । त्यसपछि असोज आउँछ दशै मान्ने,आ फ्ना नातागोता जम्मा हुने दुख सुख साटासाट गर्ने, कार्तिक लाग्छ तिहार, छठ मनाउने एवं रुपले ६ सात महिना बित्छ ।

एवं रुपले महिना दिन बित्दै जान्छ । जनताहरु आफ्नै पेट र परिवारका लागि दौडिरहन्छन् । विकास निर्माणका ठेक्केदारहरु कागजमा योजना बनाउछन् ।कागजमै काम पूरा गर्न दैनिक सरकारी ढुकुटीको सत्यानाश बनाउँदै भत्ता पचाउछन् । अनेक विकसित मुलुकको विकास निर्माण हेर्छु भन्दै भ्रमण योजना बनाउछन् ।

अनि समुन्द्रको किनारमा गै नाङ्गा नाछे मैदान भनेझै अर्धनग्न युवतीसँग् मसाज गराउदै हुस्की र वाइनको नशामा आफ्नो देशको मुहार फेरिएको सपना देख्छन् ।सपना पनि कति महङ्गो विदेश गएर देख्नु पर्ने अनि अरबौ रुपैयाँ सक्नुपर्ने । हिउद भरी घुमफिर अनि चैत तिर फुत्त निस्कन्छन् चैते बादर जसरी अनि भयङ्कर राम्रा योजना कागजमा कोर्छन पाँचतारे होटेलमा बसेर हुइस्की, वाइन कुखुराको साप्रा र खसिको सेकुवा, पकुवा, तास खै के के परिकार हो नाम पनि जानी साध्य छैन । त्यसको साथमा गज्जबको योजना बन्छ । छुट्याइएको लगभ ७० प्रतिशत बजेट विदेश भ्रमण, योजना निर्माण, बैठक, भोज भतेर आदिमा स्वाहा हुन्छ । अनि गाउमा आउँछ लगभग ३० प्रतिशत बजेट । त्यो पनि स्थानीय नेता, गुण्डा, कर्मचारी आदि विभिन्न आसेपासेलाई भाग लगाउनुपर्छ अनि मूल्यांकन गरौ त विकास निर्माणमा कति प्रतिशत खर्छ भयो ? ल जति भयो त्यो पनि सहि समयमा, सहि ठाउमा सदुपयोग भएको भए त चित्त बुझाउने थोरै ठाँउ हुन्थ्यो । त्यो पनि कहाँ हुन्छ ठेक्का दिन र लिन पनि आफ्नो अनुकूलको मान्छे हुनुपर्छ । ठेकदार पनि उहीँ समाजका त हुन नि उसले पनि कमाउनै पर्यो । कमसल निर्माण सामग्री र गुणस्तरहीन काम । जेठमा ठेक्का जान्छ असारमा काम सुरु हुन्छ । त्यो काम सकिन नपाउदै साउने भेल आउँछ र सबै बगाउछ । अनि समाचर सुन्नु पर्छ यति प्रतिशत बजेट फ्रीज भयो । सुन्दा पनि कान थुनौ थुनौ लाग्छ । गएर सब भताभुतुङ्ग पारौ जस्तो लाग्छ तर असम्भव ।

अनि बजेट भाषणको बेला देखिएको चुरिफुरी, खुसी अनि स्वीटजरल्याण्ड, जापान, अमेरिका लगायतका धनी देशको दाजोमा पुगेको देख्ने सपना पनि त्यही साउने बाढीले बगाइदिन्छ । योजना पनि कस्तो कस्तो खोला नै नभएको ठाँउमा पुल बनाउने अनि फेरि त्यसलाई भत्काउने, मर्मत गर्ने, बाटो नै नभएको ठाउँमा पिच गर्ने, पोखरी खन्ने अनि फ़ेरि बिरोध भयो गाउँलेबाट भनेर फेरि पुर्ने, वृक्षारोपण रोपण गर्ने, खोलामा बाध बाध्ने आदि आदि । फ़ेरि अर्को आर्थिक वर्ष सुरु हुन्छ त्यसैको मर्मत सम्भार आदिको योजना बनाउने ।

मैले बाल्यकालमा खै कता हो सुनेको थिए ‘डल्ले खोलाका १० चोटि पुल बन्यो रे तर सधैं साउने भेलले बगायो रे’ अनि त्यहाँका जनता सधैं खोलाले बगाएको बगाइ छ रे । म त कथा होला एकादेशको भन्ने बुझ्थे तर यो त वास्तविक जीवन भोगाइ पो रहेछ । अहिले मैले बुझ्ने रे थाहा पाउने भएपछि यस्तो विकासे बाढीले कति चोटि त म र म लगायतका निमुखा र निरीह जनताको खुसी र सम्वृद्द बन्ने सपना बगेर कहाँ गए गए ?

यस्ता कागजे र बकम्फुसे विकासको बजेट आउनुभन्दा बरु नआएकै जाती बेक्कारमा सपना देख्ने समय त खेर जादैन थ्यो होला । अब सधै यसरी साउने भेलसङ्गै बग्ने विकासे भेलको अन्त्य हुनुपर्छ । जहाँ जहाँ विनियोजित बजेट हो त्यही खर्च हुनुपर्छ । दश महिना कुम्भकर्ण सुते झै सुतेर बस्ने अनि दुई महिनामा विकासे भेल बगाइ जनताको आखामा छारो हाल्ने प्रवृतिको अन्त्य हुनुपर्छ । यसको लागि माथिदेखि तलसम्ममा मोटेदेखि छोटे महाराज महारानीहरुको खोपडीको लादिमा सद्बुद्दिले प्रवेश पाउनुपर्छ अनि मात्रै जनताले देखेको सपना विपनामा परिणत हुन्छ नत्र सपना सपनामै सिमित हुन्छ ब्यूझदा उहीँ ओछ्यान मात्रै हुन्छ । त्यस्तै जनता पनि सचेत हुनुपर्छ । नेताको बकम्फुसे भाषणको पछि नलागी हाम्रालाई हैन राम्रालाई चिन्ने सद्बुद्दी जनताको खोपडीमा भरिनुपर्छ नत्र उहीँ सपना देख्ने भन्दा सिवाय अरु कुनै उपलब्धि हुने छैन । यति भएन भने विकासे भेल र साउने भेलको मेलमा जनता सधै बगिरहने छन् । हिजो खाली खुट्टा सिंहदरवार छिरेको मान्छे सिंह बनेर निस्कन्छ अनि गाउँ गाउँमा सिंह दरवार हैन सिंहको मात्रै प्रवेश हुनेछ र जनताको सत्यानाश हुनेछ । सबैमा चेतना भया ।

३२ जेष्ठ २०७७, आईतवार १९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..