‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ । वर्तमान सत्तासिन दलहरु र हिजो राजा हटाउन लाग्ने राजनीतिक दलहरुको परीक्षा लिईसकेका नागरिकहरु ‘राजा नै आईदिए हुन्थ्यो’ भन्ने मानसिकतामा पुगेको पछिल्ला घटनाक्रमले देखाउँछ । संघियता कार्यान्वयनको पहिलो पचरण अर्थात् स्थानीय तहको निर्वाचन पश्चात गाउँ गाउँमा जनप्रतिनिधिका नाममा नागरिकलाई सास्ती दिने काम भएपछि नागरिकहरु आजित बनेका छन् । राजाप्रति नागरिकहरु सकारात्मक हुनु र राप्रपाको एकिकरणको मिति जुर्नु यो कस्तो संयोग हो त ? राप्रपाका पूर्व सहायक मन्त्री तथा युवा नेता राजाराम बर्तौलासँग गरिएको भलाकुसारीको पूर्ण अंशः

तपाई त बिद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष हुदै पार्टीको पनि प्रभावशाली नेताको रुपमा आइपुग्नु भयो, साँच्चै राजनितीमा आउन सङ्घर्ष चाहि कतिको गर्नुपर्ने रहेछ ?

पछिल्लो समय राजनिती धेरै फोहरी भएको छ । सिद्धान्त ,निष्ठा, इमानदारीता र मेहनतभन्दा अरु नै बिषय प्रबल र निर्णायक हुन थालेपछी राजनितीप्रति नयाँ पुस्ताको आकर्षण निकै घटेर गएको छ । जुन जोगि आय पनि कानै चिरेको भनेजस्तो अबस्था छ । यसका बाबजुद हामिले राजनितीलाई सेवा भावको रुपमा लिने र सोही बमोजिम व्यबहारमा उतार्नुपर्छ ।

सेवा गर्नु सजिलो बिषय होइन, यहाँ सम्मको यात्रा पार गर्न अबश्य पनि त्यति सजिलो थिएन । धेरै इच्छा, चाहनालाई दबाएर लोभ, मोहलाई परित्याग गरेर , ब्यबहारिक उल्झनहरुसङ्ग लड्दै सिद्धान्त र निष्ठालाई केन्द्रमा राखेर यहाँ आइपुगेको हुँ । ईमानदारिता र मेहनतको जगमा उभिन गाह्रो हुन्छ नै, मैले गाह्रो मार्ग आफैले रोजेको हुँदा यसलाई सहजताका साथ लिएको छु । ठुलो महत्वाकांक्षा भन्दा इमानदार बनिरहन सकौ भन्ने चाहाना छ । राजनीतिलाई सेवाको रुपमा लिनेले संघर्ष त गर्न परि नै हाल्छ नि !

एउटा पार्टीको युवा नेता भइरहँदा, अन्य पार्टीका पनि युवा नेतासँग संवाद गरेर अहिलेको यो राजनैतिक प्रथा नै बदलेर नया आयम ल्याउ जस्तो लाग्दैन तपाईलाई ?

अत्यन्तै मनको कुरा सोध्नु भयो । बास्तबमा अहिलेको प्रणाली र पद्धतिले हामीलाई सहि ठाउँमा पुर्याउदैन । अहिलेको ब्यबस्थाले युबा पुस्तालाई भ्रष्टिकरण तर्फ लगिरहेको छ । राजनीतिक, सामाजिक, सांस्कीतिक, आर्थिक सबै पक्ष डामाडोल छ । हामी कमजोर बन्दै गैरहेका छौ, हाम्रो धर्म, संस्कृति, मूल्य मान्यता, पहिचान सबै धर्मराएको छ । अब बिना पुर्बाग्रह दल र बिचारभन्दा माथी उठेर सबै स्वार्थलाई भुलेर सुदुर भबिष्य सोचेर चिन्तन गर्दै निर्णय गर्नुपर्ने अबस्था आएको छ । हामी कता जादैछौ भनेर सोच्नु पर्ने बेला भएको छ । त्रुटिपूर्ण र गलत मार्गचित्र सच्याउने दृढता र साहस नयाँ पुस्ताले राख्नुपर्नेछ । स्याल हुईयामा कुदेर मात्र हामिले गौरबशाली इतिहास जोगाउन र समृद्धिको सपना पूरा गर्न सक्दैनौ । अब बहस गर्न ढिला गर्नु हुदैन ।

भर्खर मात्रै बजेट भाषण भएको छ, यसमा सन्तुष्ट र असन्तुष्ट दुबै आवाज सुनिरहेका छौ हामी, तपाईको के विश्लेषण छ यो बजेटमा ?

नयाँ बोतलको पुरानो रक्सी भनेजस्तै हो यसपालिको बजेट । आहा भन्ने खालको केही कुरा देखिदैन, तुलनात्मक रुपमा इमान्दार जस्तो देखिनुहुने अर्थमन्त्रीको इमानदारीतामाथी गम्भीर प्रश्न उठेको छ । बिद्युतीय गाडिमा लगाउनु भएको करको जति निन्दा गरे पनि कम नै हुन्छ । गुलियो चकलेटको तितो कुरा बाहिर आईसकेको छ । कालोबजारी ब्यापारी, माफिया र तस्करको चङ्गुलमा अर्थमन्त्री फसेको प्रष्ट बुझ्न सकिन्छ ।

स्वास्थ्य, कृषीलाई प्राथमिकता तथा दुध, मासु, तरकारीमा आत्मनिर्भर बन्ने कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ ।

अहिलेको चुनौतीलाई पार लगाउन सक्ने बिशिष्ट खालको बजेट आएको छैन । पुरानै ढर्राको सामान्य बजेटको रुपमा यसपालिको बजेटलाई लिन सकिन्छ, बजेट कर्मकाण्डि देखिन्छ ।

पछिल्लो समय सरकारले असन्तुष्टहरु आवाज बोल्नेहरुलाई धरपकड गरेको देख्नु भएको छ । यस विषयमा राप्रपाको धारणा के हो ?

एक्काईसौ शताब्दी प्रजातन्त्रको युग हो, स्वतन्त्रताको युग हो । कुनै पनि सर्बसत्ताबादी चिन्तन र व्यबहार अहिलेको समाजले स्वीकार गर्दैन । स्वतन्त्रताको नाममा स्वच्छन्दता पनि राम्रो होईन । कर्तब्य र दायित्वबोध गर्न सक्नुपर्छ । जहाँसम्म अहिले सरकार वाक स्वतन्त्रताको घाँटी निमोठ्न उद्धत भएको देखिन्छ, त्यो अत्यन्तै आपत्तिजनक बिषय हो । आफ्ना कमिकमजोरी र भ्रष्ट चरीत्रसङ्ग तर्सेको शासकले लिने बाटो भनेको दमन नै हो । जो सभ्य समाजको निमित्त सुहाउने बिषय होइन ।

अहिले कोभिड–१९ का कारण लाखौ युवाहरु बिदेशबाट घर फर्कने तरखरमा छन्, तपाई एउटा युवा नेता भएको हैसियतले ती युवाहरुको भबिष्य सुनौलो बनाउन सरकारले के गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ ?

युबाहरुको बिषयमा सरकार संबेदनशील छैन । लाखौ युवाहरुको रगत पसिना बिदेशी भुमिमा बगाउने अहिलेको नीति गलत छ । सरकारसँग स्पष्ट नीति र योजनाको सर्बथा अभाब छ । युवाहरु आक्रोशित छन् । समृद्धिको सपना पूरा गर्न सक्ने पुस्तालाई चरम निराशामा राखेर मुलुकले फड्को मार्न सक्दैन । बिदेशमा भएका युबालाई स्वदेश ल्याउने तथा आत्मनिर्भर र स्वावलम्बी बनाउनेतर्फ सरकारले तत्काल ध्यान दिनुपर्दछ । सो बमोजिमको कार्यक्रम ल्याउनुपर्छ । कार्यकर्ता पोस्ने र भ्रष्टाचारमा डुब्ने सरकारले कुनै राम्रो नीति ल्याईहाल्छ भन्ने मलाई बिश्वास छैन ।

तपाईहरु अहिले बलियो राष्टबादी शक्ति हो भनेर चिनाइरहनु हुन्छ, हिजाको दिनलाई स्मरण गर्ने हो भने फेरि पार्टी फुट्ने बेला हुन लाग्यो भन्छन् नि जनमासले ?

राप्रपा बलियो नहोस् भन्ने चाहना राख्ने समूह र शक्तिको कुनै कमि छैन नेपालमा अनि नेपाल बाहिर पनि । अब अरुको चाहना पूरा गर्दिनका लागि राप्रपा फुट्छ भन्ने कल्पना नगरे हुन्छ । राप्रपा बलियो शक्ति बन्नुपर्छ भन्ने धेरै ठुलो निष्ठावान पङ्ती पार्टी निर्माणमा जुटेको छ । हामि जस्तो युवा पुस्ता मरिमेटेर लागिरहेका छौ । पार्टी भित्र बहस हुन सक्छ, बविवाद हुन सक्छ, झोक्का झोक्की पनि होला, तर अब पार्टी फुट्दैन । पार्टी विधि, पद्धति र प्रणालीबाट अघि बढ्छ । बिगतको तितो यथार्थ, त्रुटि र कमजोरीबाट हामिले धेरै शिक्षा पाएका छौ, नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजानुहुन्छ । सुझबुझ र अनुभबी नेताहरुबाट बारम्बार गल्ती हुदैन, हामी एकताबद्ध बनाएर जाने बिषयमा सहयोगि भुमिका निर्बाह गर्छौ ।

राप्रपाले कार्यकर्ताको संरक्षणमा वास्ता गर्दैन भन्ने पनि आरोप सुनिन्छ, के यो आरोप सत्य हो ?

कार्यकर्ता संरक्षण गर्ने बिषयमा राप्रपा अलि कम नै होला, तर संरक्षण नै गर्दैन भन्ने पनि होइन। कति सम्म भन्ने महत्त्वपूर्ण कुरा हो । अरु पार्टी जस्तो भ्रष्टाचार, हत्या, बलात्कार जे जस्तो आरोप लागेपनि कार्यकर्ता हुनासाथ काधमा बोकेर राप्रपाले हिड्दैन । हामी सबै नेता कार्यकर्ता नै अनुशासन र मर्यादाको आचरण भित्र बस्न मन पराउँछौ । उदण्डतालाई प्रशय दिने हाम्रो नीति छैन । योगदान, भुमिका, इमानदारीता, निरन्तरता हेरेर पार्टीले मुल्यांकन गर्नुपर्छ । निष्ठावान कार्यकर्ताको राजनैतिक संरक्षण हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ ।

अन्त्यमा, हामिले सोध्न छुटाएको र यहाँले भन्नैपर्ने केही कुरा थिए की ?

राप्रपालाई नेपालको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा हामी लागेका छौ । हामी मन, वचन र कर्मले प्रजातन्त्रप्रति प्रतिबद्ध छौ, प्रेस स्वतन्त्रता र बिधिको शासनमा हामी बिश्वास राख्छौ । राप्रपा निरन्तरता सहितको परिबर्तनको पक्षमा छ । मुलुकलाई स्वाधिन, सबल र समुन्नत बनाउन राप्रपा बलियो हुनुपर्छ । राप्रपालाई सहयोग गर्न, माया गर्न बिनम्रता पुर्बक आग्रह गर्दछु । नेपाली जनताको बिश्वासलाई हामी कहिल्यै कुठाराघात गर्ने छैनौ भन्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

२२ जेष्ठ २०७७, बिहीबार २०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..