तारुकाको गोरु जुधाइः पुड्केको जुक्ति यस्तो

रासस, नुवाकोट, २ माघ । अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किनेको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल गर्‍यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए ।

लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पुर्‍याउन नसकेर बेचेपनि पुड्केलाई पुनः घर फर्काए । “एक त ज्ञानी, अर्को माघे सङ्क्रान्तिको प्रतिस्पर्धामा अब्बल, नल्याई भो”, मुस्कुराउँदै उनले भने । कुमारले अरु बेला खनजोतमा प्रयोग गरे पनि तीन महिनादेखि पुड्केको पालनपोषणमै समय खर्चिए ।

छ वर्षको पुड्के हेर्दा सानो गाँठीको भए पनि कसिलो जुरो र मोटो सिङ छ । पहेँलोको जोडी बालखैदेखि चामल, घ्यू, नौनी, अण्डा खान्थ्यो । खेती कमाइ नियमित दिँदै आएको छ । बाबुसँगै छोरा श्यामसुन्दर उसकै स्याहारसुसारमा लाग्थे । अन्ततः उनीहरुको प्रयास खेर गएन ।

यसपालि बुधबार नुवाकोटको तारुकामा भएको प्रतिस्पर्धामा हक्वाँ।। हक्वाँ गर्दै पुडके आयो । एक छिन खुट्टाले जमिन खोस्रयो, जमिनमै सिंगौरी खेल्यो । रातमाटे धुलोमा रुमल्लियो । लगत्तै आयो लाले । विकास भण्डारीको लालेसँग ऊ सात मिनेट भिड्यो । भिडन्त अवधिभर घमासान भयो । लाले जब्बर थियो । पुष्ट, मोटो अनि सर्लक्क परेको जीउ देख्दा लालेले हार्छ भन्ने दर्शकले सोचेकै थिएनन् । बेलाबेलामा पुड्केले काँध दिन्थ्यो । दर्शक अब पुड्केले हार्न लाग्यो भन्थे । हुटिङ आउँथ्यो । पुड्केका मालिक कुमार हरेस नखाई मैदानमै थिए । उसको जुक्ति र दाउ उनलाई प्रष्ट थाहा थियो ।

अधिकारीले भने, “थर्काउन उसले काँध (आड) दिन्छ, जित्न कला चाहिन्छ, बल भएर हुँदैन, सिङले भेटेन भने थुतुनाले उधिनेर पाखा लगाउँछ, घुमीघुमी सबै उपाए अपनाउँछ, पुड्केमा यही विशेषता छ ।” उनले गोरुको हारजित सामान्य भए पनि पुड्के हार्ने गोरु नभएको प्रतिक्रिया दिए ।

“ज्यान सानो छ तर ‘पावरदारी’ छ, अर्कोको बल धेरै थियो तर बुद्धि र शैली पुगेन, पुड्केको बुद्धि भनेको दाउ हेरेर ठाउँ हेरेर कोख्याउन सक्ने हो ।” अधिकारीले जितपछि भने । उनकाअनुसार पुड्केले खाउञ्जेल घाँस दिने गरिएको छ । दिनमा पाथीभन्दा बढी अनाज खान्छ । गोरु जुधाउन श्यामसुन्दर पनि आएका थिए । परिवारको सदस्यझैँ पालिएको पुड्केले जितेपछि खुशी भएका उनले गोरुलाई अँगालो हालेर खुशी साटे ।

बेचेको पनि फर्काएर ल्याएँ

पुड्के छ वर्ष अघि गाउँकै शेरबहादुर तामाङको गोठमा जन्मियोे । चार वर्षको हुँदा कुमारले किनेर ल्याए । पोहोर यही गोरु शिव ढकाल ‘झट्टे’ले खरिद गरी चन्द्रमान श्रेष्ठको रातेसँग भिडाएका थिए । उसका सामु राते निरिह बन्यो । लगत्तै पुड्केलाई फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । “पहिले घरमा खान्की दिन नसकेर पठाएँ, मनमा लहड चल्यो, दुई पटक बिक्री भएको गोरु फेरि फर्काएँ”, अधिकारीले थपे ।

छोरा १७ वर्षका श्यामसुन्दरको नामबाट यसपालि बुधबार पुड्के मैदानमा गएको थियो । उनले भने, “पुड्केले भनेको मान्छ, कसैलाई हान्दैन, गुनी छ, जुध्न भने पछिपर्दैन, त्यसैले यो मेरो साथी हो ।” उनी पुड्केका हली पनि हुन् । सानै उमेरमा जोत्ने, साउने काम आफैँ गर्छन् ।

तारुकामा २१ हल जुधे

पुड्के र लालेसहित यसपालि नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीको कटरफेदमा २१ हल प्रतियोगी गोरु जुधे । एक हल अप्रतियोगी थियो । रेवती बखरेलले छ वर्षको मालेलाई पहिलोपटक सहभागी गराए । सिउरेनीका राजकुमार श्रेष्ठको रातेसँग माले दुई मिनेट पनि टिकेन ।

अर्जुन भण्डारीको मृगे र नवराज ढकालको काले २४ मिनेट भिडे । अन्ततः मृगेको सामु काले निरिह बन्यो । सुरुमा घमासान लडेको विष्णु श्रेष्ठको फुर्के हीरालाल श्रेष्ठको बाबुसँग नौमिनेट भिडेर भाग्यो । केही गोरु रगताम्मे हुँदा पनि लडे । केही गोरु मैदानमा जुध्दै नजुधी फर्किए । केही गोरु मैदानमा साथी बनेर फर्किएको रोमाञ्चक क्षण देखिएको थियो ।

यहाँ देखिएको फरकफरक दृश्य हेरेर उपस्थित दर्शकले मनोरञ्जलन लिएका थिए । युवापुस्ता सेल्फी लिँदै सामाजिक सञ्जालमा ‘लाइभ’ र ‘पोष्ट’ गर्दै थिए भने बूढापाकाले वास्तवमै मनोरञ्जन लिएका थिए । मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मदनकुमार श्रेष्ठले नेपालको गौरव र तारुकाको पौरखको रुपमा रहेको गोरु जुधाउने मेला यहाँको संस्कृति नै भएको बताए ।

ठूलो पाटोमा जुधाइन्छ गोरु

चन्दनीस्थित झमबहादुर प्रधानको कटरको फेदको बारीको पाटोमा हरेक वर्ष गोरु जुधाइन्छ । दर्शक कान्ला र माथिल्लो पाटोको डाँडाभरि भरिन्छन् । स्थानीय रामजी ढुङ्गाना आफूले जान्ने भएदेखि गोरु जुधेको हेर्न कहिल्यै नछुटाएको बताउँछन् । यो गाउँको ठूलो चाड भएको उनको बुझाइ छ । टाढा गएका पनि गोरु जुधाई मेला हेर्न यही बेला फर्कने गरेको स्थानीयको भनाइ छ ।

गोरु जुधाउने पाटोसहितको जग्गा सात रोपनीको छ । बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंह व्रतबन्ध गर्न यहाँको कोट दरबारमा आउँदा गोरु जुधाएको हेर्न मन लागेकाले त्यो बेलादेखि यहाँ गोरु जुधाई मेला थालिएको ८४ वर्षीय प्रधानले सुनाए । उनले आफ्नो बारीको पाटोलाई रङ्गशाला बनाउने सोच भए पनि पैसा अभाव भएको गुनासो गरे ।

यहाँ २०६३ सालपछि व्यवस्थितरुपमा गोरु जुधाउने परम्पराको थालनी गरिएको हो । बारीको पाटोलाई अझै व्यवस्थित बनाउने स्थानीयको सोच छ । यो मेलालाई सरकारले सहयोग गरेको छ । पशु अधिकारकर्मीबाट विरोध भइरहेको छ भन्ने जिज्ञासामा प्रधानले विरोधले केही नहुने दाबी गरे ।

मिति यकिन नभए पनि एक शताब्दी अघिदेखि चली आएको गोरु जुधाउने पर्वको पशु अधिकारकर्मीले सामाजिक सञ्जालबाट विरोध गरिरहेका छन् । साहित्यकार एलवी क्षेत्रीले सामाजिक सञ्जालबाट प्रश्न गरे, “यी ‘बुल’हरू कस्को मनोरञ्जनका लागि लड्छन् रु आफ्नो वा दर्शकको रु” पशु अधिकारकर्मी विना पन्तले गोरु जुधाइलाई नराम्रो संस्कृतिको संज्ञा दिइन् । तारुकाको चन्दनीमा विरोधको कुनै गुञ्जायस थिएन । गाउँगाउँबाट हजारौँ मानिस पर्व हेर्न ओइरिएका थिए । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला पनि सो प्रतियोगिता अवलोकन गर्न पुगेका थिए ।

२ माघ २०७६, बिहीबार १४:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा दिलाईदिने..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..