बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

निरा गौतम, रुपन्देही, १५ भदौ । गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।”
सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सद्धर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने काम भयो । यो सङ्ग्रह नै त्रिपिटक हो । बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म नेपाल, भारत, अफगानिस्तानसहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गर्नुभएको थियो । त्रिपिटकको शाब्दिक अर्थ तीन वटा डाला हुन् अर्थात् सुत्त, विनय र अभिधम्मको छुट्टाछुट्टै सङ्ग्रह ।
बुद्धको परिनिर्वाण पछि आएको सुभद्रको भनाइले सङ्घमा विखण्डन ल्याउने देखेर बुद्धका शिष्य महाकाश्यप महास्थविरले बुद्ध धर्मको रक्षा र बुद्ध वचन संरक्षणका लागि पहिलोपटक भिक्षुहरुको भेला डाके । राजगृहको सप्तपर्णि गुफामा भएको ५०० भिक्षुको भेलाबाट बुद्धवचन र नियमहरुको सङ्ग्रह गरियो । यसलाई ‘प्रथम संगायना’ भनिन्छ । यसको १०० वर्षपछि वैशालीमा राजा कालाशोकको संरक्षकत्वमा भिक्षु रेवत महास्थविरको अगुवाइमा दोस्रो संगायना भयो । सम्राट अशोकको समयमा अर्थात् इसापूर्व २४८ मा भिक्षु मौगल्लीपुत्ततिस्स महास्थविरको नेतृृत्वमा एक हजार भिक्षुको सहकार्यमा तेस्रो संगायना तथा बुद्ध महापरिनिर्वाणको ४५४ वर्षमा लंकाद्विपका राजा बट्टगामिनीको शासनकालमा चौथो संगायना भयो । यसअघि बौद्ध ग्रन्थ त्रिपिटक लिपिबद्ध गरिएको थिएन । गुरुशिष्य परम्पराअुनसार त्रिपिटक कण्ठस्थ पारी रक्षा गर्ने चलन थियो । आचार्य भिक्षु अमृतानन्द महास्थविरले पहिलोपटक त्रिपिटकलाई पालि भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । त्रिपिटकमा ८४ हजार धर्मस्कन्धहरु सङ्ग्रहित छन् ।

त्रिपिटक बुद्ध धर्मको आधिकारिक ग्रन्थ हो जसलाई सबै बौद्ध सम्प्रदायले (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) मान्छन् । यो ग्रन्थ शुरुमा पालि भाषामा लेखिएको हो र पछि विभिन्न भाषाहरुमा अनुवाद गरिए । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बोधिज्ञान प्राप्तिपछि महापरिनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचनहरु सङ्ग्रह गरिएको भिक्षु मैत्री महास्थविर बताउनुहुन्छ । उहाँले ४५ वर्षसम्म गाउँ गाउँ जनपद जनपद घुमेर धर्मोपदेश गर्नुभएको थियो । त्रिपिटकमा बुद्धकालीन समयको राजनीति, अर्थनीति, सामाजिक व्यवस्था, शिल्पकला, सङ्गीत, वेशभूषा, रीतिरिवाज, व्यापारलगायतका विषयमा बुद्धले गर्नुभएका व्याख्या विश्लेषण समावेश छ ।
सुत्तपिटकअन्तर्गत दीघ निकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय छन् । विनय पिटकमा भिक्षु÷भिक्षुणीका नियम सङ्ग्रहित छन् जसमा सुत्तविभंग, खन्धक, परिवार, पातिमोक्ख छन् । अभिधम्म पिटकमा चित्त र चेतसिकको गहन विश्लेषण गरिएको छ र यसअन्तर्गत धम्मसंगणि, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञति, कथावत्थु, यमक र पट्ठान छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा बसेर लामो समयदेखि बुद्ध धर्मको प्रचारप्रसार र प्रर्वद्धन गर्दै आउनुभएका भिक्षु सागर धम्मका अनुसार विनय पिटकमा भिक्षु÷भिक्षुणी तथा गृहस्थहरुको आचार, व्यवहार तथा अनुशासनसम्बन्धी नियमहरुको विस्तृत वर्णन छ । सुत्त पिटकमा बुद्धले उदाहरणसहित दिनुभएका उपदेश तथा सूत्रहरु छन् जसमा कोशलको राजा प्रसेनजित र मगधको राजा अजातशत्रुको युद्धको वर्णन, १६ जनपद, भिक्षु भिक्षुणीहरुको जीवनचर्याबारे चर्चा गरिएको छ ।
अभिधम्म पिटकमा बुद्ध धर्ममा मान्य पदार्थ र तिनका भेद÷प्रभेदहरुको वैज्ञानिक ढङ्गले वर्णन विस्तार गरिएको छ । यस गहन ग्रन्थको रचना सम्राट अशोकको समयमा मोगल्लीपुत्त तिस्सले गर्नुभएको मानिन्छ ।
“त्रिपिटक बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ हो । यसमा आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक जीवनका पक्षहरुलाई कसरी सफल बनाउने भन्ने उल्लेख छ । त्रिपिटक विना बुद्ध धर्म र शिक्षाको परिकल्पना गर्न सकिँदैन,” भिक्षु धम्म भन्नुहुन्छ ।
बुद्ध शिक्षा र दर्शनको मूलाधार त्रिपिटक भएकाले यसको महत्व धेरै छ । नेपालमा भने यो फैलिन सकेको छैन । गत वर्षदेखि नेपाली भिक्षुहरुको पहलमा पहिलो पटक बुद्ध शिक्षाको प्रचार गर्ने उद्देश्यले लुम्बिनीमा त्रिपिटक वाचन कार्यक्रम शुरु गरिएको छ ।
“त्रिपिटक बुद्ध वाणी हुन्, आजको समाजका लागि बुद्धका वाणीहरु उत्तिकै सान्दर्भिक छन्,” लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रमुख फणिन्द्र न्यौपाने भन्नुहुन्छ – “बुद्धका वाणीहरुलाई घरघरमा पु¥याउनु आवश्यक छ ।”
बुद्ध जन्मस्थल भएर पनि यहाँका अधिकाँश नागरिकमा बुद्धका उपदेशबारे कुनै जानकारी नहुनु विडम्बनापूर्ण भएको र विद्यालय स्तरबाटै बुद्ध शिक्षाको विषयमा जानकारी गराउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “बुद्ध शिक्षालाई मूल प्रवाहीकरण गर्न जरुरी छ, प्रदेश ५ मा अनिवार्य शिक्षाको रुपमा बुद्ध शिक्षाको विस्तार गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ – “बुद्धको जीवनसँग जोडिएका स्थलहरुको प्रचार गर्ने, संरक्षण गर्ने, इतिहाससँग बुद्ध दर्शनलाई जोड्ने काम हुनुपर्छ ।” रासस

१६ भाद्र २०७६, सोमबार ००:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..