एनआरएनएका तीन तह : एक निर्मम अपरेसन

कुनै पनि सङ्घ–सङ्गठनको नीति निर्माणमा दूरदर्शिता एउटा अपरिहार्य सर्त हो । त्यस्तै, अर्को सर्त हो– त्यसको कार्यान्वयन पक्ष । जतिसुकै दूरदर्शी निर्णय भए पनि कार्यान्वयन पक्ष फितलो छ भने त्यसले समाज वा सम्बन्धित प्रभाव क्षेत्रभित्र सकारात्मक प्रभाव पार्न सक्दैन । त्यसैले राज्यका माताहतका निकाय हुन् वा डायस्पोराका सामाजिक निकायका नीति निर्माण गर्ने सम्मेलनहरू हुन्, त्यसले राज्य वा समाजमा पार्ने सकारात्मक प्रभावको आवधिक असर र प्रभावकारिताबारे अग्रिम बहस हुनु आवश्यक मानिन्छ । त्यसपछि त्यसलाई सुनिश्चिततापूर्वक कार्यान्वयनमा लैजाने विधि र पात्रबारे बहस गरिन्छ ।

अहिले मुख्य रूपमा लाखौँ नेपालीले वैदेशिक रोजगारीको माध्यमबाट आफ्नो र परिवारको भरणपोषण गर्न बाध्य छन् । उनीहरू आफ्नो रहरले मात्र बिदेसिएका हुन् भन्ने बहसले हामीलाई नागरिक अधिकारबाट अलग्याइदिन्छ । नेपालीहरू प्रवासिनुको पीडा बाध्यकारी हो र त्यसमा जीविकोपार्जनको बाध्यकारी कारण लुकेको छ भन्ने तहको बहस नै तथ्यगत हुन आउँछ । राज्यको नागरिकप्रति गरिने प्रशासनिक नीति, सुरक्षा नीति, शिक्षा नीति र रोजगारी नीतिको अव्यवस्थाले नै मानिसलाई थातथलोबाट पलायन गराउने हो । उसले आफ्नो थोरै भएको सम्पत्ति, घर र पारिवारिक तथा सामाजिक मोह त्यत्तिकै छाड्न सक्दैन भन्ने बहसले नै हाम्रा निर्णयहरूको जराहरू समात्न सहजता प्रदान गर्छ । तलका हरफहरूमा एनआरएनए विगतको विभिन्न तहमा भएका केन्द्रीय तथा क्षेत्रीय बहसमा आएका सकारात्मक कुरा, बहसमा नआएका र बहसमा ल्याउन नचाहेका कारणबारे निर्मम अप्रेसन गर्न खोजिएको छ ।

सकारात्मक सङ्केत:

एनआरएनएको रोम बहसले केही एनआरएन नीति निर्माण र कार्यक्रमिक मुद्दाहरूबारे पार्ने प्रयत्न गरेको छ, जसलाई स्वागतयोग्य मान्नुपर्छ । जसमा पर्यटन विकासलगायत नेपालमा सीप र प्रविधिसहित लगानीलाई प्रोत्साहन गर्ने कुराहरूसमेत पर्दछन् ।

अर्को मुख्य कुरा, पुरानो पुस्तालाई आफू बसोबास गरेको देशको भाषा, संस्कृति, राजनीतिक र ऐतिहासिक तथा भौगोलिक ज्ञानको जति आवश्यकता रहन्छ त्यस्तै प्रवासमा रहेका नेपाली नयाँ पुस्तालाई नेपालको भाषा, संस्कृति, राजनीतिक र ऐतिहासिक तथा भौगोलिक ज्ञानको त्यत्तिकै आवश्यकता रहन्छ । त्यसको लागि नेपालीले कहीँ संस्थागत र कहीँ व्यक्तिगत रूपमा स्कुलहरू सञ्चालन गर्दै आएका छन् । भोलि बर्माको जस्तै समस्या आएर नेपाली भाग्नु वा खेदिनुपर्ने भयो भने त्यसबेलासम्म नेपाली हो वा होइन भनेर पहिचान खुलाउने पहिलो हतियार भाषागत ज्ञान नै हुने छ । ती व्यक्ति वा संस्थाका अभियानकर्ताहरूलाई प्रोत्साहन गर्ने कार्यलाई एनआरएनए क्षेत्रीय सम्मेलनले सम्बोधन गरेको भन्ने सुनियो । रोमको सम्मेलनमा सञ्चालन गरिएका विभिन्न सेसनका बुँदाहरू हेर्दा लगानीद्वारा प्रवास र नेपाल जोड्ने, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने, पहिचान बचाउने कार्यक्रमलाई प्रोत्साहन गर्ने, नागरिकतासम्बन्धी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै कानुनमा स्पष्ट व्यवस्था र गैरआवासीय नेपालीलाई थप अधिकारका लागि पहल जारी राख्ने, गैरआवासीय नेपाली र विदेशी लगानी आकर्षित गर्न पहल गर्ने, गैरआवासीय अभियानमा समेत महिलाको सहभागिता बढाउने, भूपूगोर्खाहरूले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जाहेर गर्नेलगायतका मुद्दाहरू निर्णयमा पुऱ्याइयो । जुन स्वागतयोग्य कुराहरू हुन् ।

त्यस्तै बसाइँसराइका मुद्दा, मेघा प्रोजेक्ट, पर्यटन प्रवद्र्धन, नेपालमा लगानीका अवसर र चुनौती, सीप तथा प्रविधिको आयात, युवा वा नयाँ पुस्तालाई गैरआवासीय नेपाली सङ्घप्रति आकर्षण र उत्तरदायित्वबोध, सबैका लागि शिक्षा अभियानमा सघाउ, विधान सभाको परिमार्जन, नागरिकताको विषय (सम्पूर्ण अधिकारसहितको नागरिकताका लागि पहल) र महिलाका आन्तरिक तथा बाह्य गतिविधि, चासो र मुद्दाहरूबारे राजदूतहरूको सहभागिता र सक्रियतामा एआरएममा छलफल गरेको देखियो । ती सबै शीर्षकका छलफल सान्दर्भिक भए पनि निर्णयको व्यवहारमा उतार्ने तत्परताले त्यसको अर्थ राख्नेछ ।

बेथितिबारे बहस :

डायस्पोरामा पत्रकारिताको महत्व, डायास्पोरिक साहित्यिक गतिविधि वा प्रकाशनको अभिलेखीकरण, प्रोत्साहन र सम्मान, गैरआवासीय खेलकुद परिषद्को निर्माण र सम्बन्धित गतिविधि, डायस्पोरामा भएका नेपाली व्यवसायीहरूबाट मानव तस्करीको विभिन्न आरोपहरूबारे एनआरएनका अभिमत र सङ्घको अवबधारणा आदिबारे पनि खुला बहस हुनु अनिवार्य थियो । त्यसले डायस्पोराको सबै क्षेत्रलाई समेट्न सक्थ्यो । सङ्गठनलाई हिजोका गल्तीहरूबाट सच्चिने अवसर मात्र नभई सङ्गठनको छायामा हुने र गरिने अवैधानिक चलखेललाई समेत निरुत्साहित पार्दथ्यो ।

त्यस्तै, खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’(आईसीआईजे)ले सन् २०१७ मा गरेको ‘पनामा लिक्स’मा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सातजना नेपालीले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो (https://cijnepal=org=np/nepa-leaks-04/)। त्यसमा एनआरएनएका नेतृत्व वर्गले देशमा लगानी गर्ने बहानामा ट्याक्स छल्ने र राज्यलाई कालोधनको मारबाट थला पार्ने गरिरहेका त छैनन् ? यसबारे समेत बहस हुनु र सम्बन्धित पक्षसँग जानकारी मागिनु सर्वथा जायज हुने थियो ।

यस्ता तीता तथ्यबारे पत्रकारहरू राखेर बहस गर्ने सवालमा एनआरएनएका अभियन्ताहरू डराउनु हुँदैनथ्यो । पत्रकारहरूको अभिप्राय संस्थागत सुधारका पक्षमा हो भन्ने कुरा केही कुटिल अभियन्ताहरूले पचाउन सकिरहेका छैनन् । त्यसैकारण उनीहरूले सञ्चारक्षेत्रमा लगानी गरिरहेका हुन्छन् र आफ्नो तलबबाट पालिएका पत्रकारहरू मात्र बोलाउँछन् । यस काइदाका संस्कारहरूले एनआरएनएलाई बचाउनेभन्दा डुबाउने सम्भाबना बढी हुन्छ ।

किन एनआरएनएका टाठाबाठा अभियन्ताहरू विदेशमा समेत गैरकानुनी बाटोबाट धन कमाउन तल्लीन छन् ? एनआरएनएको नेतृत्व तहमा रहेका क्षेत्रकुमार श्रेष्ठलगायत केही नेपाली गैरकानुनी धन्दाका कारण जेलमा पुग्दासमेत उनीहरूलाई सम्बन्धित संस्थाले सार्वजनिक रूपमा कारबाही गरिएको छैन ? अन्य सुन वा मानव तस्करका आरोपीहरूलाई समेत अहिलेसम्म परिषद्को अनुशासन समितिले स्पष्टीकरणसम्म लिने जाँगर गर्दैन ? त्यो के हो ? यी विषयमा समेत डायस्पोराका नेपालीले क्रमशः चासो राख्न थालेको देखिन्छ । जसलाई अन्यथा मानेर एनआरएनए पन्छिन मिल्दैन ।

क्षेत्रीय बैठकहरूमा एनआरएनएको लोगो र नेपाली झन्डा प्रयोग गरेर गरिने मानव तस्करी, आर्थिक अपचलन, शोषण तथा अन्य खराब प्रवृत्तिबाट सहज निकास निकाल्ने बाटोबारे खुला बहस हुनुपथ्र्यो । सङ्गठनभित्र भएको व्यापक बेथितिबारे पर्याप्त छलफल हुनुपथ्र्यो चाहे त्यो शाखाहरूलाई समावेश गर्ने सवालमा होस् वा कार्यक्रम तय गर्ने सवालमा होस् । ती बेथितिहरूबारे सम्मेलनहरूमा बहस हुन सकेका छैनन् । युरोपका पत्रकारहरूले जुनसुकै विषयमा पनि छलफल गर्ने र आफ्नै मञ्चबाट कार्यक्रम लन्च गर्ने हैसियत राख्छन् । तर, उनीहरूसँग बसेर कार्यक्रम बनाउनु त के कुरा ! उस्तै परे कार्यक्रमबारे थाहा नै दिइँदैन । एआरएममा कार्यक्रमसहित सहभागिताबारेको विषयबारे एनआरएनएका नेतृत्वहरूसँग धेरै बहस गर्नुको खासै औचित्य रहेनछ भन्ने कुरा विगतले समेत प्रस्ट्याइसकेको छ ।

कमाउ धन्दामा एनआरएनए लागेको आरोपबारे :

एनआरएनएको कुनै पनि निकायमा आर्थिक पारदर्शिताको लागि अनुगमन, परीक्षण र कारबाहीको परिपाटी छैन । त्यो खालि विधानमा मात्र सीमित छ भनिन्छ । एनआरएनएका केही नेतृत्व तहका व्यक्तिले देशभित्र र बाहिर आफू वा आफन्तको नाममा विभिन्न नामका ट्राभल्स एजेन्सी, म्यानपावर कम्पनी खोलेका छन् । उनीहरूले अबवैधानिक रूपमा मानव तस्कारी र कलाकारहरूको ठेक्कापट्टामार्फत सोझासाझा नेपालीलाई झुक्याएर अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । तर, डायस्पोराका नेपाली सङ्घ सङ्गठनहरू त्यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने कुरा त पर जाओस् उनीहरूको सम्पत्ति सम्बन्धित निकायमा छानबिन होस् भनेर माग राख्नसमेत सक्दैनन् ।

केही समय अगाडि, यस विषयमा मिडियाकर्मीले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसँग गम्भीर चासो राखेका थिए । उनले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले म्यानपावर व्यवसायमा रहेका विकृति हटाउने गरी सम्पत्ति शुद्धीकरण विभागसँग समझदारी भइसकेको बताए । नेपाल सरकारले समेत यस विषयमा गम्भीर चासो दिएको कारण अब केही हुन्छ कि भन्ने आशा पलाएको छ ।

त्यस्तै, एक अर्को खबरअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेटिङ मिलाई नेपालीलाई भिजिट भिसामा पठाउने कार्यमा संलग्न रहँदै आएको, भिजिट भिसामा विदेश जाने नेपालीलाई एनआरएन तथा बिचौलियासँग मिलेर अध्यागमन अनुमति दिने र त्यसको अभिलेखसमेत नष्ट गर्ने कार्यमा संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

यसअघि अख्तियारले विमानस्थल अध्यागमनमा रहेर बाहिरी–भित्री सेटिङमा अकुत सम्पत्ति कमाउने अधिकृत रमाकान्त अर्याललाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर, यस्ता गम्भीर विषयमा एनआरएनए केही बोल्दैन र मौन बस्दछ । बेल्जियममा समेत कहिले नेपालबाट कलाकार बोलाउने, उनीहरूलाई ठेक्कामा युरोपभरि कार्यक्रम गराउने, उठेको पैसालाई पारदर्शितापूर्वक सार्वजनिक नगर्ने काम एनआरएनका माथिल्लो तहबाट नै गरिएको छ । कलाकारको आडमा गरिने मानव तस्करीबाट मोटाएका एनआरएन मानवतस्कर आरोपीहरूबारे अहिलेसम्म प्रतिनिधि संस्थाले छानबिन गर्न त के स्पष्टीकरण सोध्न पनि सक्दैन । यी घटना त केवल प्रतिनिधि घटना मात्र हुन् । नेपालबाट एनआरएन बिचौलियाको संलग्नतामा ल्याइएका सयौँ नेपाली माल्टादेखि इटाली, पोर्चुगलसम्म टन्न छन् भने मध्यपूर्व र ओसियानामा यिनीहरूको नै बिगबिगी छ । जसबारे कहीँ कतै एनआरएनएले बहस गर्ने हिम्मत नै गर्दैन । जसको कारण कसैलाई सोधिरहनु आवश्यक छैन सबैलाई ज्ञात छ ।

संस्कार :

एनआरएनएमा महसुस गर्ने गरी एकखालको मालिक र दास प्रवृत्ति छ । हिजोका महत्वाकाङ्क्षी पेटी बुर्जुवाहरू, आर्थिक महत्वाकाङ्क्षी नेपाली धन आर्जन गरेकै भरमा नेतृत्वको लागि होडबाजीमा उत्रन्छन् । नेतृत्वमा रहेका तिनै व्यवसायीहरू नै इमानदार मजदुरहरूलाई प्रवासमा समेत शोषण गर्ने औजारको रूपमा प्रयोग गर्न पछि पर्दैनन् । श्रमशोषण र लुटको उपायबारे सोचिरहन्छन् । यो सङ्गठन उनीहरूकै कब्जामा छ भन्दा फरक पर्दैन । पैसा नहुने क्षमतावान्हरूको यो सङ्गठन होइन भन्ने हेर्न अन्त जानुपर्दैन आदरणीय संस्थापक रामप्रताप थापा दाइलगायतका आदरणीय जनहरूलाई हेरे पुग्छ ।

पद्धतिमा पनि त्यस्तै बेथिति व्याप्त छ । नेपालबाट अतिथि, पत्रकार वा व्यवसायी ल्याउने–नल्याउने सवालमा क्षेत्रीय परिषद्ले स्वायत्त निर्णय गर्न पाउनुपर्ने हो । तर, यो सङ्गठनको जुनसुकै इकाइ पनि माथिल्लो शक्तिको हस्तक्षेपबाट कुल्चिएको छ । राजनीतिक पूर्वाग्रहबाट निमोठिएको छ । नेपालबाट अतिथि बोलाउने कुरामा समेत केही रिटायर अभियन्ताहरूको रुचिकर चलखेल रहँदै आएको गुनासो सर्वत्र सुनिन्छ । जसलाई एआरएमले सहज रूपमा अस्वीकार गर्दा सङ्गठनको गरिमा उचो हुने थियो । माथिकै आशीर्वाद लिएर भातभान्सामा पुग्ने लोभले गर्दा अहिलेसम्म त्यो हिम्मत कसैबाट नदेखिएकै हो ।

काठमाडौंको बसपार्कमा टावर निर्माण गर्ने भनेर सिङ्गापुरका एनआरएनएहरूबाट करोडौँ कुम्ल्याएको आरोप लाग्ने गरेको ‘आइडिया नेपाल’सँगको सहकार्यबारेमा हामी किन बोल्दैनौँ ? यस्ता केही विवादित संस्थासँग आर्थिक लाभसहित सहकार्य गर्ने गरेको विगतले देखाउँछ । एनआरएनएका नेतृत्वकै अध्यक्षतामा २०१२ मा एनआरएन लगानी कम्पनीले १०० मेगावाटको हाइड्रो प्रोजेक्ट शुरु ग¥यो । जसमा सात सयजनाको लगानी रहेको बुझिन्छ । त्यो कम्पनीअन्तर्गत लम्जुङको दर्दी खोलाको २७.५ मेगावाटको तीनवर्षे योजना २०१२ बाट शुरु गरियो, तर त्यो अहिलेसम्म सकिएको छैन । त्यसका लागि जम्मा भएको बजेटको अहिलेसम्म सावाँ–ब्याज कता गयो ? जानकारी छैन । हेटौँडाको सुरुङमार्ग बनाउने बहानामा एफएनसीसीआईका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतले नेपाल पूर्वाधार कम्पनीको नाममा उठाएको करोडौँ रुपैयाँबारे एनआरएनए किन चुप छ ? त्यो प्रोजेक्टको हविगत कस्तो छ, लगानी गरिसकेका आफ्ना सदस्यलाई जानकारी दिनुपर्दैन ? के आफ्ना सदस्यहरू लुटिँदा एनआरएनएजस्तो विशाल सङ्गठनको नेतृत्व चुप लाग्न मिल्छ ? कानुनी उपचारको लागि लगानीकर्तालाई वातावरण बनाइदिन मिल्दैन ?

अहिले एनआरएन अभियन्ता र सुदखोरबीच फरक छुट्याउन मुस्किल पर्ने अवस्थाको सिर्जना हुँदै गइरहेको आरोप छ । सुदखोरले जहिले पनि अरूकै लगानीबाट फाइदा लिने गर्दछ । उसले जनजनबाट सेयर उठाउँछ, आफूलगायत आफन्तलाई तलबी कामदार बनाएर ठूलो रकम लगानी किस्ताको रूपमा भुक्तानी लिन्छ, तोकिएको समयमा काम नगरी उठेको रकम परिवारका अन्य सदस्यको नाममा अन्यत्र व्यवसायमा लगानी गर्छ र आफू व्यावसायिक वा उद्योगपतिको रूपमा स्थापित भएपछि मात्र सार्वजनिक कम्पनीको थालनी गर्छ । उसले लगानीकर्ताको व्याजको त के कुरा लगानीको मुख्य रकमसमेत धरापमा पारिदिन्छ । कसैले त्यसो हुनुको कारण सोध्यो भने ‘मुआब्जाको व्यवधान, मानव दक्षता वा प्राकृतिक प्रकोपजस्ता कारण दिएर जिम्मेवारीबाट पन्छिन खोज्छ । अहिले एनआरएन अभियन्ताहरू सार्वजनिक लगानीमार्फत व्यवसायीमा रूपान्तरण हुँदै गइरहेका छन् । हरेक एनआरएनएका बैठक, फोरम, सभा र सम्मेलनहरूमा विभिन्न रूपका व्यावसायिक विज्ञापनहरू देख्न सकिन्छ । विज्ञापनदाता अभियन्ता हो वा सुदखोर सामान्य व्यवसायी सर्वसाधारणले छुट्याउन मुस्किल पर्दै गइरहेको अवस्था डायस्पोराको नेपाली समाजमा देखिँदै गइरहेको छ । यसको एउटै कारण हो हामीले एनआरएन होइन केवल आफू मात्र मालिक हुने योजना बोकेर हिँडेका छौँ । नत्र लगानीकर्ता र लगानी उठाउने दुवैको विश्वासनीयताका लागि प्रतिबद्धतापत्रमा दुवै पक्षको हस्ताक्षर खोइ ? कदाचित योजना फेल भयो भने के आधारमा पैसा वापस लिने कानुनी आधार खोइ ! कि त्यो आवश्यक छैन ?

त्यसैले लगानी गर्दा लगानीको ढाँचा, योजनाको प्रारूप, लागत पुँजी, कम्पनीको वैधानिकता, कम्पनी दर्ताको प्रारूप र व्यवस्थापकको विगत तथा आगतको नियत आदि नबुझी लगानीका लागि होमिनु मूर्खता हो । अझ कुनै पनि गैरआर्थिक संस्थाको पदीय जिम्मेवारीमा भएको व्यक्तिले लगानीको लागि नेतृत्वदायी मिसन लिएर हिँडेको छ भने त्यो ज्यादै सोचनीय कुरा हो । अहिले एनआरएनएका मिसनरीहरूमार्फत यो धन्दा फस्टाउँदो रूपमा झाङ्गिन थालेको छ । ‘एनआरएनको नेतृत्वमा आउनुको मुख्य कारण बृहत् जनसम्पर्कको आधारमा टेकेर आर्थिक लाभ लुट्नु पनि हो’ भन्ने आरोपको खण्डन गर्ने आधार छैन ।

अर्को कुरा, नेपालमा वैधानिकता गुमिसकेको नेपाली नागरिकतामार्फत गरिएको लगानी तलमाथि भए तपाईंले अदालतमा मुद्दा हाल्न पाउनुहुन्छ ? तपाईंको लगानी यदि सरकारले दिने एनआरएन कार्डमार्फत गर्नुभयो भने त्यो सम्भावना रहन्छ अन्यथा परिस्थिति जटिल हुन सक्छ । अन्य विषय जस्तै यो पनि लगानीकर्ता एनआरएनहरूले आफ्नो लगानी सुरक्षित गर्दा ख्याल गर्नुपर्ने अर्को कुरा हो ।

यो संस्थामाथि पारदर्शिताको आरोप लागिरहँदा नेपालबाट आउने अतिथिहरूको अभिलेख राख्ने र खर्चलगायतका अभिलेख सार्वजनिक गर्ने परिपाटी अघिल्लालगायत यस सम्मेलनमा पनि देखिएनन् । जसलाई आयोजकहरूको त्रुटि मात्र भन्दा पत्याउने अवस्था रहन्न । सबै एनआरएनहरूले आशा गरेका थिए कि यसपटक यस्ता त्रुटिहरू आयोजकले रहन दिने छैनन् । ‘तर अवस्था गुणात्मक रूपमा उस्तै रह्यो । सबैले खाए, पिए, नाचे, ताली बजाए र अब आउने केन्द्रीय चुनावको गणित मिलाएर फर्किए,’ भनेर कहिले आरोप लगाएका छन् ।

नेतृत्व र कार्यकर्ताहरूको सोच नै गलत :

नाम नभनौँ अहिले । कुनै भाषणमा एक एनआरएनए नेताले भनेका थिए, ‘देशका नेपालीहरूका लागि हामीले के गर्न सक्छौँ ? अनि नेपाललाई के दिन सक्छौँ सोचेर योजना बनाउनुस्, हेरौँला ।’ उनले त्यसरी भन्नुहुन्थेन । एनआरएन नेता सबैभन्दा माथिल्ला हुन् भन्ने सन्देश जान्छ । त्यो आशीर्वादजस्तो शब्द हामीले खोजेको होइन । त्यस्तो नेता डायस्पोराले खिजेको पनि छैन । नेपालको लागि होइन, हामीहरूले र नेपाल राज्यसँग मिलेर के गर्न सकिन्छ ? तपाईं–हामी मिलेर के गर्न सकिन्छ ? अभियन्ताहरूले त्यो भन्न सिक्नु र सक्नुपर्छ । आफूलाई पनि अभियानको प्रवाहमा समेटेर बोल्न जान्नुपर्दछ । दाताले झैँ बोल्दा वर्ग छुट्टिन्छ । कसैको लागि गरिदिने होइन सबै मिलेर सबैको लागि गर्ने सोच आवश्यक छ ।

नेतृत्वले पनि बुझ्नुपर्ने कुरा हो यो । ‘खराब तत्वले निजी फाइदाका लागि तपाईंको समर्थन गरेको छ भने समर्थन चाहिँदैन भनिदिनुस् । तपाईंका वरिपरिका घेरा फोहोर छन् र तिनीहरूको नियत र निर्देशन गलत लाग्छ भने त्यो त्यागिदिनुहोस् । त्यसको समर्थन र विरोधले हार्ने–जित्ने कुरा तपाईंको भ्रम हो महोदय ! त्यो जमात त्याग्न सक्नुभयो भने तपाईं डायस्पोरामा अत्यन्त लोकप्रिय हुनुहुनेछ । अन्त्यसम्म तपाईंको कीर्तिलाई कसैले रोक्न सक्नेछैन । अब पुरानो पोलिसीको समीक्षा गर्नुपर्ने बेला आएको छ । यसको साथै पुरानो सम्बन्ध, सोच र कार्यशैली चेन्ज गर्नुपर्ने बेला आएको छ । त्यस्तै विवेकशील नेतृत्व चाहिएको हो आधुनिक एनआरएनमा ।

सम्झनुस् त, यिनै एनआरएनएका संस्थापकहरू, अभियन्ताहरू र कार्यकर्ता कुनै समय प्रवासीका लागि आस्थाका धरोहरजस्ता थिए । आज प्रवासी नेपाली यिनीहरूसँग वाक्कदिक्क भएको छ । आफ्ना नेताहरूको बाटोमा अनुहार हेर्नसम्म रुचाउँदैन प्रवासी नेपालीले । भिन्नै वर्गको रूपमा कथित अभियन्ताहरूलाई हेर्न थालिएको छ अहिले । के कारणले यो अवस्था आयो कहिल्यै बहस भएको छ एनआरएनएमा ?

हामीकहाँ परम्परागत संस्कृति र संस्कारले नै यस्तो भएको हो । माथिल्लो आर्थिक हैसियतलाई केन्द्र मान्ने र जसरी पनि अनुग्रह प्राप्तिका लागि उनीहरूकै वरिपरि घुम्ने चाकरीबाज राजनीतिक संस्कार र संस्कृतिले यो अवस्था आएको हो । हामीकहाँ अभियन्ताहरूको जीवनस्तरको मोडेलचाहिँ माथिल्लाको अनुकरण नै भइदियो । माथि पुगेपछि शीर्षस्थ पनि बन्नुपर्ने, विधानभन्दा माथि विराजमान पनि बन्नुपर्ने, सम्माननीय बन्नुपर्ने, आफ्नो निश्चित भाग चाहिने, रैतीजस्ता कार्यकर्ता चाहिने, गुट बनाएर विशेष नायकत्वको मजा लिनुपर्ने, आफ्नो गुटको रक्षक, भारदार माफिया, बिचौलिया आदिका साथै परिआउँदा विरोधीमाथि आक्रमण गराउन गुण्डा एवम् डनहरूको एउटा टुकडी पनि आफ्नै हुनुपर्ने, कारबाही गर्न नसक्ने किसिमले डिजाइन गरिनुपर्ने, योजनाबद्ध रूपमा नीतिगत भ्रष्टाचरलाई संस्थागत गर्नैपर्ने, कानुन मिचेर वा छलेर अकुत सम्पत्ति आर्जन गर्नैपर्ने । आफ्नो मान, सम्मान दिगो राख्नका लागि बेलाबेला देश पुगेर पनि महासामन्तहरूको दर्शन गर्नैपर्ने, उपहार टक्र्याउनैपर्ने, आशीर्वाद थाप्नैपर्ने, महिमा गान लेखाउनैपर्ने । जसरी पनि नेतृत्वको लगाम समात्न मन लाग्ने र समातेपछि छोड्न मनै नलाग्ने । यो संस्कृति निक्खरा सामन्ती संस्कृति होइन र ?

सच्चिनु भनेको सुध्रनु हो, परिवर्तन हुनु हो । केन्द्र सच्चियो भने राष्ट्रिय परिषद्हरू स्वतः सच्चिन्छन्, अभियानकर्मीहरू सँच्चिन्छन्, प्रशासनका कारिन्दाहरू सबै सच्चिन्छन् । नेतृत्व रूपान्तरण भए, मुलुकको समेत आर्थिक–सामाजिक रूपान्तरणमा मद्दत पुग्छ । असुरक्षित देशमा कठिन जीवन गुजारिरहेका नेपालीको सुरक्षा चासोको सम्बोधन हुन्छ । शीर्ष भनिनेहरूबाट सामाजिक सङ्गठनकै आड लिएर आर्थिक लाभ लिन थाल्ने हो भने यो सब सकिन्छ । त्यसैले यो सङ्गठनमा खबरदारी निरन्तर आवश्यक छ र रहन्छ । सङ्गठनभित्र झाङ्गिँदै गएका यी गलत परम्पराहरूको तार्किक प्रतिकार गर्ने हिम्मत भएन भने डायस्पोराको नेपाली समाज दासहरूको जत्थामा रूपान्तरित हुनेछ । त्यसैले तथ्य बोल्ने र लेख्ने साहस गर्नैपर्छ ।

एनआरएनएको सदस्य यसरी बनाइन्छ :

सदस्यता बनाउन महाभारत छ । सदस्य बन्नेहरूले कारण खोज्छन्, सङ्गठन र सदस्यताको औचित्यबारे प्रश्न उठाइरहेका छन् । सदस्य बन्न हिच्किचाइरहेको अवस्था छ । स्वतस्फूर्त सदस्य बन्ने विकल्प सकिएपछि उम्मेदवारहरूले आफैँ पैसा हालेर सदस्य बनाउँछन्, टिकट काटेर नेपाल लैजान्छन्, खान्की, रुई फुईको व्यवस्था गर्छन् र पाकेट खर्चसमेत दिन्छन् । त्यतिले चुनाव जित्न कहाँ पुग्छ र । अर्कोतिर नेपालका बडे नेताहरूलाई खर्चको जोहो र मुख्य नेताको जी–हजुरी, नेताजीहरूको आर्थिक माग । चुनाव जित्नु भनेको त्यसपछि नेताबाट पाउने समर्थनले हो भन्ने नेतृत्वको बुझाइ छ । एनआरएनका अघिल्ला नेतृत्वहरूले नेपालका नेताहरूको बानी बिगारे । कार्यकर्तालाई खरिदको साधन बनाए । त्यसपछि जितेर पाएको पदको लागि उत्सव गर्छन्, रमाउँछन् र गर्व गर्छन् हाम्रा एनआरएनएका छोटे नेताहरू, कठै !!

नेतृत्वमा होडबाजी हुनुको रहस्य :

अधिकांशले खादा, सम्मान र समाजसेवाको भावनाले भन्दा पनि एनआरएनएको नेतृत्वमा जान मरिहत्ते गर्ने कारण राज्यको सहुलियत नीतिमा टेकेर विभिन्न बहानामा लिने आर्थिक लाभ नै हो । विगत नेतृत्वहरूका अधिकांश गतिविधिले देखाउँदै आएका तथ्यहरू हेर्दा सोझा प्रवासी नेपालीहरूबाट कम्पनीको साझेदार बनाउने नाममा अथाह पैसा उठाउने, उठाएको पैसा बैंकमा ब्याज लगाउने र ब्याज उठाएर आफँै खाने, वर्षौंसम्म विभिन्न बहानामा काम सम्पन्न नगर्ने, अन्तमा बिनालगानी आफैं कम्पनीको मालिक बन्ने प्रथा यो संस्थाभित्र मौलाउँदो छ । त्यसको विरुद्ध पनि सबै एनआरएन सचेत हुन जरुरी छ । नेपालका नेताहरूको चाकडी गर्नुको मूल अभिप्राय सङ्गठनको सहुलियतमा लिने व्यक्तिगत लाभ हो । अझ उनीहरूले आफ्नै सन्तान वा आफन्तको रोजगारी त्यही कम्पनीमा ग्यारेन्टी गरिदिन्छन् र काम सम्पन्न नहुँदैबाट अधिकतम तलबको व्यवस्थापन गरिदिन्छन् । त्यसको लागि लगानीकर्ताहरूले सूक्ष्म अनुगमन गर्नु आवश्यक मात्र नभएर अनिवार्य हुन्छ । एनआरएनएको नेतृत्वमा जान मरिहत्ते गर्नुको मूल अभिप्रायमध्ये यो पनि एक कारण हो । त्यसमा केही अभियन्ताहरू अपवाद पनि हुन सक्छन् ।

निचोडमा भन्नुपर्दा हामीसँग विगतका गलत अभीष्ट वा दृष्टान्तहरूबाट सिक्दै र सच्चिँदै अघि बढ्नुको अब विकल्प रहेन । हिजो हिँडिसकेको बाटोको धेरै व्याख्या जरुरी हुँदैन । किनकि हामीलाई त आजको बाटो हिँड्नु छ अनि भविष्यका लागि सुन्दर र सुरक्षित बाटो पहिल्याउनु छ । विगतको बारेमा धेरै सोच्दा आगामी बाटो तय गर्ने समय गुज्रिन्छ । अगाडिका गल्तीहरू अब केवल सिक्नका लागि पाठ हुन सक्छन् ।

अन्त्यमा, अब प्रवासी मजदुरहरूले तिनीहरूको मालिक–प्रवृत्तिको विरुद्ध आवाज बुलन्द पार्नैपर्छ । प्रवासीहरूलाई अनावश्यक प्रयोग गर्ने र सामाजिक संस्थालाई प्रयोग गरेर व्यक्तिगत फाइदा उठाउने तप्का चिन्न ढिलाइ गर्दा वा त्यो प्रवृत्तिलाई बेलैमा खबरदारी नगर्दा हामीलाई पछिसम्म उनीहरूको संस्थागत दास बन्ने अवस्था रहिरहन्छ । त्यसैले चुनावमा समेत मजदुर वा मजदुरको हितलाई स्थान दिने तहबाटै नेतृत्व हुनेगरी आफ्नो प्रतिनिधि चुन्ने प्रयास गरौँ । नाफाखोरहरूको व्यक्तिगत हित, सानसौकतमा सीधा साधा मजदुरलाई प्रयोग गर्न खोज्ने दलाल पेटी–बुर्जुवाहरूसँगबाट हमेसा चनाखो रहने गरौँ । यो कहिल्यै नभुलौँ कि एनआरएनएका तीन तहहरू क्रियाशील छन् । एकातर्फ नेतृत्वमा राज्य र प्रवासी नेपाली ठग्ने केही सुदखोरहरूको एउटा तह छ । त्यो तह तस्कर, दलाल, माफिया र सैतान कार्यकर्ताको बाक्लो तहले घेरिएको छ ।

त्यस्तै अर्कोतर्फ करिब ८८ प्रतिशतभन्दा बढी प्रवासका इमानदार नेपाली मजदुर छन् । त्यसैले असल व्यवसायी र कामदार वर्ग अत्यधिक बहुमतमा छौँ । हामीले आफ्नो लागि निर्णय गर्न सक्छौँ भने आफ्नो समूहको लागि किन सक्दैनौँ ? साहस गरौँ, हामी कसैको भोटबैंक नबनौँ, किनबेचको साधन पनि नबनौँ । त्यसैले अहिलेको सन्दर्भमा सुदखोरहरूद्वारा स्वार्थवश ल्याइएका मिसनहरू भङ्ग गरिदिने र प्रवासी कामदारको पक्षमा आफूलाई उभ्याउने नीति नै सही हुन सक्दछ । प्रवासमा समेत दास–मालिक प्रथालाई चुनौती दिने हैसियत नबनाएसम्म कामदार वर्ग एनआरएनएमा लाग्नुको कुनै अर्थ रहन्न । यस्तो फोहोर र बदनियत एनआरएनए हामीलाई चाहिएको पनि छैन । अबका उम्मेदवारहरूले संस्थाभित्रको यो फोहोर बढार्ने आँट गर्लान्–नगर्लान् ? भविष्यको पर्खाइमा छ ।

(‘विगत तिमीसँग छैन, भविष्य तिम्रो नियन्त्रणबाहिर छ, अनि त तिमीसँग भएको वर्तमानलाई सुन्दर बनाउन खोज’ भन्ने संस्थागत सुधारको आशयले लेखिएको यो लेख तिनै कर्मशील, असहाय र दुःखी मजदुर, इमानदार देशभक्त प्रवासी नेपाली र यस सङ्गठनमा इमान्दारीपूर्वक समर्पित आस्थावानहरूको लागि हो । एनआरएनएभित्र भइरहेको बेथितिप्रतिको यो रामधुलाई केवल संस्थागत सुधार र रूपान्तरणको आशयले गरिएको हो । यो अप्रेसनलाई पूर्वाग्रहको रूपमा कसैले बुझ्नुहुने छैन भन्ने पङ्क्तिकारको आशा छ ।)

(युरोपमा रहेर नेपाली डाएस्पोराको हितमा कलम चलाउने लेखक डिल्ली अम्माई बेला बखत एनआरएनए नेतृत्वमा देखिएको माफियागिरी प्रति तिखो कलम चलाउनु हुन्छ)

५ भाद्र २०७६, बिहीबार ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..