‘श्री ५’ लाई हटाउनेहरू ‘श्री’सँग आतङ्कित किन?

वामपन्थी काङ्ग्रेस र वामपन्थी कम्युनिस्ट नेताहरूको निरन्तर दाबी छ, ‘राजतन्त्र समाप्त गरियो र तात्कालिक राजालाई नागरिकमा रूपान्तरित हुन बाध्य तुल्याइयो ।’ संवैधानिक र कानुनी दृष्टिले दुवै प्रकारका वाम समूहहरूले गरेको दाबीलाई जायज मान्नुपर्ने हुन्छ । हामीसँग हाल उपलब्ध संविधानले राजा र राजसंस्था चिन्दैन, न कानुनको कुनै धाराले मुलुकमा राजसंस्था रहेको सङ्केत गर्दछ । त्यसो त अहिलेको संविधानले देशमा रहेका बहुसङ्ख्यक सनातनी वैदिक हिन्दू धर्मावलम्बीलाई पनि चिन्दैन र बौद्ध, किरात, बोन, जैन तथा शिख धर्मावलम्बीहरूको संस्कृति एवम् पारम्परिक मूल्य–मान्यतासँग पनि सरोकार राख्दैन ।

विद्यमान संविधान निर्माताहरूका निम्ति त्रियान्नब्बे प्रतिशत ओमकार परिवार सम्बद्ध समुदायभन्दा मुठ्ठीभर आयातीत धार्मिक एवम् सांस्कृतिक सम्प्रदायको महत्व उच्च छ । आफूहरू दिग्विजयी भएको ठान्ने दुवै प्रकारका वामपन्थीहरू, जसले संसद्को पक्ष र विपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी र हैसियत प्राप्त गरेका छन्, यिनलाई अवरोध पैदा गर्न सक्ने कुनै शक्ति अहिले नेपालमा पैदा भइसकेको छैन र, यिनीहरू कसैको अदब या त्रासमा रहनुपर्ने स्थिति पनि होइन । तथापि बेलाबेलामा दुवै खेमाका वामपन्थी नेताहरूबाट राजालाई तर्साउने र चुनौती दिने अभिव्यक्ति प्रकट भइरहेको हुन्छ ।

हिजो राजासँग सेना थियो, प्रहरी प्रशासक र अन्तर्राष्ट्रिय समुदायको साथ पनि राजालाई नै थियो । त्यस्ता शक्तिशाली राजालाई ‘हटाउन सक्नेहरू’ नागरिक राजासँग आतङ्कित हुनु आश्चर्यको विषय हो । राजसंस्था र राजालाई पूरै परास्त गराइसकिएको हो भने पराजित र शक्तिहीन राजासँग डराउनुपर्ने किन ? यदि राजा अझै पनि एउटा शक्ति हो भने समझदारी बनाएर अघि नबढ्ने किन ? धनुषातिर केही मान्छे सडकमा उत्रिएर सडक अवरुद्ध गरेपछि तिनका हरेक माग सम्बोधन गरिने, नेपाली धर्म र संस्कृति नामेट तुल्याउन विदेशी प्रायोजनमा खटिएका मुठ्ठीभर प्राणीहरूप्रति पनि शतप्रतिशत संवेदनशीलता दर्शाउने, तर देशैभरि एकस्तरको प्रभाव रहेको ‘राजा’लाई चाहिँ देवी–देवताको पूजाआजामा जाँदा पनि खबरदारी गर्नुपर्ने हो र ? के तात्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र यसो टहलिनका लागि घरबाहिर निस्कँदैमा ढल्ने सङ्घीय गणतान्त्रिक धर्मनिरपेक्ष प्रणाली स्थापना गर्नुलाई नै महान् उपलब्धि भनिएको हो ? के ‘राजा’ले मन्दिर चहार्दा गल्र्यामगुर्लुम ढल्ने व्यवस्था र अवस्था हो यो ? होइन भने गणतन्त्र घोषणा भएको दशक नाघिसक्दा पनि श्रीपेचबिनाका राजाबाट डराइरहनुपर्ने किन ? धम्क्याइरहनुपर्ने किन ?

व्यवस्था जस्तोसुकै भए पनि जनताको जीवनस्तर र जीवनशैलीमा सकारात्मक परिवर्तन आउन थाल्यो भने त्यसको प्रभाव पनि सकारात्मक नै रहन्छ । जनसाधारणले आफ्नो भान्सामा, छानामा, बिछ्यौनामा, आङमा, सडकमा, प्रशासनमा, अस्पतालमा, बजारमा र शिक्षालयमा परिवर्तन खोजेका हुन्छन् । सरकार, संसद् र संविधानका अक्षरमा मात्र हुने/गरिने परिवर्तनको रक्षा गर्न जनता बाध्य हुँदैनन् । चीनमा माओ त्से तुङले धेरै ठूलो क्रान्ति सम्पन्न गरेका हुन्, सत्ता, सरकार र संविधानमा उनले ल्याएको परिवर्तनका विरुद्ध बाह्र वर्ष पुग्दानपुग्दै जनआक्रोश बढ्न थालिसकेको थियो । कथित क्रान्तिको अगुवाइ गर्नेहरू र तिनका नातेदार तथा सेवकहरूको जीवनमा मात्र परिवर्तन देखिन थालेपछि जनता विद्रोहको तयारीमा जुटिसकेका थिए । माओले जनताको जीवनस्तर परिवर्तनका कार्यक्रम अघि सारेर भन्दा बल प्रयोग गरेर, तर्साएर, थर्काएर, धम्क्याएर र त्राहिमाम बनाएर व्यवस्था टिकाउने कार्यनीति बनाए । सांस्कृतिक क्रान्तिका नाममा माओले अवलम्बन गरेकै नीतिलाई सन् १९७६ पछिका शासकहरूले पनि निरन्तरता दिइरहेका भए सम्भवतः चीनमा आज कम्युनिस्ट नामको बिउ पनि फेला पर्न मुस्किल हुन सक्थ्यो । देङ सियाओ पिङले अवलम्बन गरेको खुला आर्थिक नीतिको परिणामस्वरूप आज चिनियाँ जनताको कायापलट भएको छ, त्यहाँ कम्युनिस्ट पार्टी जोगिएको मात्र छैन, जनजनको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा सानका साथ कम्युनिस्ट पार्टी उभिएको छ ।

संसारभरिका वामपन्थी र कम्युनिस्टहरू कुराको खेतीमा अब्बल मानिन्छन् । केवल कुराकै खेतिपातीमा सीमित रहेकोले सोभियत सङ्घ र रुमेनियादेखि संसारका अधिकांश मुलुकबाट कम्युनिस्ट शासन विस्थापित हुनु, तर चीनमा भने कम्युनिस्ट पार्टी बलियो, प्रभावकारी र जनप्रिय रहनुको मुख्य कारण ‘डेलिभरी’ हो । चीनका नौ करोड कम्युनिस्ट पार्टीका सदस्य मार्क्सवाद पढेर या लेनिन र माओका जीवनगाथाबाट प्रभावित भएर कम्युनिस्ट बनेका होइनन् । चिनियाँ जनताको स्वाभिमान, एकीकृत सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको सेवा र सुविधाप्रति संवेदनशील रहँदै कार्य व्यवहार गर्ने गरेकाले चीनका जनता प्रजातन्त्रप्रति निर्मोही र कम्युनिस्ट पार्टीप्रति मोहित भइरहेका हुन् । त्यस्तै दक्षिण कोरियालाई आजको जस्तो विकसित र समृद्ध मुलुकमा पुऱ्याउने पार्क चुङ ही पनि कुनै प्रजातन्त्रवादी या कम्युनिस्ट थिएनन् । नेपालमा प्रजातन्त्र र समाजवादको नाममा राजनीति गर्नेहरूले आत्मसात् गर्नैपर्ने तथ्य के हो भने प्रजातन्त्र र समाजवादको नामै नलिईकन पनि संसारमा देशप्रेमीहरूले देश बनाएका छन् । त्यसको उदाहरण पार्क चुङ ही र सिङ्गापुरका ली क्वान यु हुन् ।

कम्युनिस्टका नाममा देखापरेका फिडेल क्यास्त्रो, रोबर्ट मुगावे, किम जोङ उन र प्रचण्ड तथा प्रजातन्त्रका नाममा अगाडि आएका गिरिजाप्रसाद, शेरबहादुर र सोनियाहरूभन्दा गैरप्रजातन्त्रवादी एवम् गैरकम्युनिस्ट पार्क र ली क्वान यू हजार गुणा सही र स्मरणीय बनेका छन् । जनतालाई ‘डेलिभरी’ (सेवा र सुविधा) दिन नसक्ने व्यवस्था र नेता चर्चित हुन सक्ला, तर ग्राह्य, लोकप्रिय र स्थायी हुन सक्दैनन् । त्यसैले नेपालका दुवैथरी वामपन्थी समूह अग्राह्य र अवाञ्छित तत्वमा रूपान्तरित हुँदै गएका छन् ।

वामपन्थी काङ्ग्रेस र वामपन्थी कम्युनिस्टहरूले विगत तेह्र वर्षदेखि पालैपालो शासन चलाइआएका छन् । यस अवधिमा जनसाधारणको जीवन र देशको स्वरूपमा सकारात्मक परिवर्तन आएको भए जनताले राजा सम्झिइरहने थिएनन् । मुलुकमा राजसंस्था रहँदा देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता सबल थियो । शान्ति, अनुशासन, परस्पर सम्मान, मर्यादा र आशा जीवन्त थियो । आफ्नो मौलिक धर्म, परम्परा र संस्कृति संरक्षित एवम् सुरक्षित महसुस गरिन्थ्यो । भ्रष्टाचार निरुत्साहित थियो, भ्रष्टाचारमा संलग्न व्यक्तिमा आफूबाट अपराध भइरहेको छ भन्ने आत्मबोध हुन्थ्यो । तर, अहिले भ्रष्टाचार सर्वमान्य संस्कृति बनेको छ, संस्थागत र व्यापक भएको छ । हिजो राजाको समयमा अभिव्यक्ति स्वतन्त्रताको अभाव महसुस गरिन्थ्यो, अहिले स्वतन्त्रताचाहिँ छ विगतका बाँकी सबै सकारात्मक अवयवहरू गायव छन् । राष्ट्रियता, राष्ट्रिय एकता, धार्मिक सांस्कृतिक मौलिकता र अनुशासित एवम् मर्यादित सामाजिक व्यवहारको विकल्प स्वतन्त्रता होइन । तर, यहाँ अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रसँग बाँकी सबै अपरिहार्य तत्व साटेझैँ भएको छ । राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानबिनाको स्वतन्त्रताले देशलाई कहाँ पुऱ्याउँदोरहेछ भन्ने भोग्दै छ वर्तमान नेपाली पुस्ता ।

देङ सियाओ पिङ र सी जिनपिङसम्मले माओको सांस्कृतिक क्रान्तिकालीन अन्धकारलाई मात्र बिर्साएका होइनन्, चियाङ काई सेक र हान, छिन, मिङलगायतका डाइनेस्टीलाई पनि पूरै बिर्साइदिएका छन् । भारतमा नरेन्द्र मोदी नेहरू र इन्दिरा गान्धीहरूलाई बिर्साउँदै छन् । रसियामा पुटिनले गोर्भाचेव र बेरिस यल्तसीनहरूलाई पूरै बिर्साइदिएका छन् । नेपालका कथित परिवर्तनकारीहरूले पनि आफ्नो कार्यव्यवहार र कार्यपरिणामद्वारा विगतका शासक प्रशासकहरूलाई बिर्साउन सक्नुपथ्र्यो । पहिलेको भन्दा राम्रो र सकारात्मक अवस्था बनाउन नयाँहरूले नसकेपछि सम्झाउने भनेकै पुरानो व्यवस्था, अवस्था र पात्रलाई हो ।

बेलायतले एघार वर्ष पूरै गणतन्त्रात्मक अभ्यास गरेपछि किन राजतन्त्र सम्झियो, राजा फालेर तेत्तीस वर्षसम्म गणतन्त्र अपनाएको स्पेनले त्यसपछि किन राजतन्त्र पुनर्स्थापित गऱ्यो ? दशकभन्दा बढी गणतान्त्रिक अभ्यास गरेको थाइल्यान्डले किन राजतन्त्र बहाली गऱ्यो र, वर्षौं पोलपोटको ‘जनवादी राज्यसत्ता’ व्यहोरेका कम्बोडियाली जनताले निर्वासनमा गएका राजालाई किन फिर्ता ल्याएर पुनर्बहाली गरे ? उल्लिखित प्रश्नहरूको जवाफ नेपाली जनता र नेपालका सबैखाले वामपन्थीहरूले खोज्न जरुरी छ ।

तेह्र वर्षदेखि ‘राजा’ले देश र जनताको पक्ष या विपक्षमा कुनै पनि काम गरेका छैनन् । केही गर्न पाउने सम्पूर्ण अधिकारबाट उनी वञ्चित छन्, तैपनि यदाकदा सार्वजनिक स्थलमा हिँडडुल गर्दा हजारौँको सङ्ख्यामा उपस्थित भएर मानिसहरू ‘राजा’लाई देश बचाइदिन आग्रह गर्छन् ? वामपन्थी काङ्ग्रेस र वामपन्थी कम्युनिस्टहरूले देश बनाउने विश्वास अब जनतामा रहेन, देश बचाउने पनि भएनन् भन्ने चिन्ता जनस्तरमा व्याप्त छ । ‘नयाँ’को सक्कली अनुहार देखिएपछि मानिस ‘बरु पुरानै ठीक रहेछ’ भन्ने निष्कर्षमा पुग्न थालेका हुन् । ‘राजा’लाई तर्साएर बदनामहरूको लोकप्रियता बढ्न या औचित्य पुष्टि हुने अवस्था अब रहेन ।

शिशुपालले भगवान कृष्णलाई अपमान र गाली–बेइज्जती गरिरहँदा सम्वभतः उनले कृष्णभन्दा आफू ‘ठूलो’ होइने ठानेका थिए, अहिले प्रचण्डहरूले ‘राजा’को आलोचना या गाली गर्दा उही शिशुपालको स्मरण गराएको छ । ‘राजा’को समयमा भन्दा हरेक दृष्टिले उन्नत र उत्तम अवस्था पैदा गर्न सकेको भए न जनताले राजाको सम्झना गर्ने थिए न ‘राजा’लाई तर्साउनु–धम्क्याउनु नै पर्ने थियो । बदनामहरूबाट ‘राजा’को प्रशंसा भएको भए बरु के ठानिन्थ्यो, अहिले गाली र धम्कीले ‘राजा’कै उचाइ बढाइरहेको छ । हिजो जुन कारणले ‘राजा’लाई गाली दिइन्थ्यो, आज नेतालाई गाली गर्नुपर्ने हजार कारण थपिएको छ । अब जनताले यिनलाई ‘निकोलस चाउचेस्कु बनाउने’ दिनको मात्र प्रतीक्षा हुन थालेको छ ।

(लेखक देवप्रकाश त्रिपाठी सहयोगी घटना र विचार सापतहिकका सम्पादक एवं राजनीतिक विश्लेषक हुनुहुन्छ)

५ भाद्र २०७६, बिहीबार ०५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

पाँच जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

काठमाडौँ, २ कार्तिक । सरकारले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरको छ । शुक्रबार गृहमन्त्रालयले ५ जिल्लाका सिडिओको सरुवा..

उप निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उप निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।..

सर्वोच्चले रोकिदियो स्थानीय जनप्रतिनिधिको तलब भत्ता

काठमाडौँ, १ कार्तिक । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले पाउँदै आएको तलब भत्ता रोकिदिएको छ । स्थानीय..

सरकारका निर्णयः हाइड्रोपावरलाई बन क्षेत्र दिनेदेखी रेडियो नेपाललाई पैसा उपलब्ध गराउनेसम्म

निरोज कुमार थापा, काठमाडौँ, ३० असोज । सरकारले सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको..

कांग्रेसको प्रशिक्षण कार्तिक १ र २ गते

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आउँदो कात्तिक १ र २ गते..