संविधानसभा पुनस्र्थापना भए सबै समस्या समाधान हुन्छ शोभाकर पराजुली, (पूर्वसंविधानसभा सदस्य एवम् नेपाली काङ्गे्रसका युवा नेता)

० दुई वर्ष म्याद थपेर पनि परिणाम दिन नसकेको संविधानसभाको पुनस्र्थापनाका लागि तपाईं किन सक्रिय हुनुभएको ?

– विधिलाई प्राथमिकताको पहिलो स्थानमा राखौं भन्ने मूल उद्देश्य हो । यतिबेला विभिन्न विकल्पको खोजी भइरहेको अवस्था छ, तर जे–जति विकल्प देखिएका छन्– संविधानतः संविधानसभाको पुनस्र्थापना नै सबैभन्दा उपयुक्त विकल्प प्रतीत हुन्छ । संविधानसभाले आफ्नो अवधिमा जे–जति उपलब्धिमूलक काम गरेको छ त्यसको रक्षार्थ पनि यो आवश्यक छ । किनकि एउटा संवैधानिक समितिले मात्र हो काम गर्न नसकेको, संविधानसभाका बांकी उपसमितिहरूले त आफ्नो जिम्मेवारी पूरा गरिसकेकै थिए । यसैले, बांकी रहेका विवादास्पद विषयमा सहमति गरेर काम पूरा गर्नका लागि संविधान संशोधनको आवश्यकता पर्ने र त्यसरी संशोधन गर्न व्यवस्थापिका संसद्को जरुरत पर्ने हुनाले यसको परिपूर्तिका लागि संविधानसभा पुनस्र्थापन गर्न हामी लागिपरेका छौं ।
० संविधानसभालाई ब्युंताउने कुनै संवैधानिक या कानुनी उपाय या आधार छ त ?
– प्रशस्त छ । एक त, संविधानसभाको अवधि पूरा नहुंदै यसको हत्या गरियो, जसलाई मैले राजीतिक ‘कू’ भनेको छु । सभामुखले समेत त्यस दिन (जेठ १४) पांच सय ७० जना सभासद्लाई बंधुवा मजदुर बनाएर राखे भन्ने गरेको छु मैले । किनकि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर ‘यस्तो भयो है’ भन्न सक्ने परिस्थिति थियो र पनि त्यसो गरेनन् उनले । मैले भन्न खोजेको संविधानसभाको जबर्जस्ती हत्या गर्नुअघि जति समय बांकी थियो त्यसको सदुपयोग गर्न सकिन्छ । उक्त समयमा बैठक सुरु गर्ने र बैठक सञ्चालन गरिसकेपछि विवादित विषयलाई नटुङ्याउंदासम्म बैठक जारी राख्न सकिन्छ, जो कि पूरै संवैधानिक बाटो हो । हाम्रो देशमा त यसको नजिर पनि छ ।
० तपाईंले संविधानसभाको समय बांकी थियो त भन्नुभयो, कति बांकी थियो त ?
– २७ मिनेट बांकी थियो ।
० अनि चार वर्षसम्म गर्न नसकेको काम २७ मिनेटमा सकिन्थ्यो होला त ?
– चार वर्षसम्म काम नगरेको भनेको संवैधानिक समिति र प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरूले हो । सभासद्हरूले त काम गरेकै हुन् । सभासद्हरूले काम गरेबापत ९५ प्रतिशत काम सम्पन्न भइसकेको पनि छ । त्यसैले अब बांकी समयमा बैठक सुरु गरेर विवादित विषयमा छलफल गरी टुङ्ग्याउन सकिन्छ भन्ने हाम्रो स्पष्ट मान्यता र आग्रह पनि हो ।
० तपाईंको आग्रह अब संविधानसभालाई २७ मिनेटका लागि ब्युंताइनुपर्छ भन्ने हो ?
– साङ्केतिक रूपमा २७ मिनेट बांकी अवधिलाई सदुपयोग गरौं भनेको भए पनि राष्ट्रिय समस्या नसुल्टिएसम्म त संविधानसभा जारी नै रहन्छ नि । यतिबेला माओवादीले सत्ता कब्जा गरेको अवस्था छ, योलगायत सबै समस्याको समाधान खोज्नुपर्ने हुन्छ संविधानसभाबाट ।
० तपाईंले अघिल्लो संसद्को पुनस्र्थापनासंग जोड्न खोज्नुभयो संविधानसभाको पुनस्र्थापनालाई । तर, त्यतिबेला शक्तिको स्रोत राजसंस्था थियो जसले संसद्लाई पुनः स्थापना गरिदिन सक्थ्यो, पांचवर्षे अवधि समाप्त नहुंदै विघटन गरिएकोले बांकी अवधि पूरा गर्नका लागि भन्न सकिने अवस्था पनि थियो, तर संविधानसभाको हकमा त ठीक उल्टो छ । अझ यो नरहंदा जातीय द्वन्द्वको सम्भावना, दिनदिनैको बन्द र हड्ताल पनि तत्कालका लागि टरेको छ । अब पुनः संविधानसभा ब्युंताइंदा त्यस्ता विकृति–विसङ्गति पनि संगसंगै ब्युंतन सक्छन्् भन्ने ठान्नुभएको छैन तपाईंले ?
– तपाईंको प्रश्न अत्यन्त सामयिक छ । तर, मेरो आसय संविधानसभासंगै त्यस्ता विकृति–विसङ्गति पनि ब्युंतिउन् भन्ने होइन । तपार्इंले भनेजस्तै त्यस्तो सम्भावना तत्कालका मात्र लागि टरेको हो, अझ म त भन्छु कि टरेको होइन सरेको मात्र हो । तसर्थ, ती सबै विषयमा पहिले सहमतिमा पुगेपछि मात्र संविधानसभा पुनस्र्थापना गर्ने हो, सहमतिबिना त यतिखेरको अवस्थामा कुनै पनि कार्य सम्भव छैन । अर्थात् यसरी पहिले नै विवादित विषयमा समाधान खोजेर मात्र संविधानसभामा जाने भएकाले उल्लिखित विकृति अन्त्यको सवालमा पनि संविधानसभाको पुनस्र्थापना फलदायी सावित हुनेछ । जहांसम्म त्यतिखेर राजसंस्थामा त्यो शक्ति थियो तर अहिले कसले पुनर्जीवन दिने भन्ने सवाल छ, यसका लागि सार्वभौम जनताका प्रतिनिधिका रूपमा रहेका राष्ट्रपतिले नै पनि घोषणा गर्न सक्छन्, यति मात्र हो कि विधिमा टेकेर सहमति गरीकन मात्रै राष्ट्रपतिसमक्ष गएर आग्रह गर्नुपर्ने हुन्छ ।
० तपाईंहरूको पुनस्र्थापना अभियानचाहिं कहां पुगेको छ त ?
– मेरो बुझाइमा त धेरै अगाडि पुगेको छ । हामीले हाम्रो पार्टीको केन्द्रमा पनि यो आवाज पु¥याएका छौं । पार्टी सभापतिले यो प्रस्ताव बैठकमा राख्ने आश्वासन दिनुभएको छ भने वरिष्ठ नेता देउवाले त पुनस्र्थापनाको पक्षमा वकालत नै गरिरहनुभएको छ । संसदीय दलका तत्कालीन नेता रामचन्द्र पौडेल पनि यसैको पक्षमा हुनुका साथै अब राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पनि क्रमशः पुनस्र्थापनाबाटै निकासको पक्षमा खुलेरै आउन थालेका छन् । यसलाई अभियानको सफलता त मँन्नुप¥यो नि । मेरो विचारमा यो अभियान लक्ष्यको नजिक पुगिसकेको छ, केवल दलीय सहमतिको प्रतीक्षा मात्र बांकी छ ।
० यो अभियानमा अप्रत्यक्ष तवरले युरोपियन युनियनलगायतका अन्तर्राष्ट्रिय शक्तिहरू पनि संलग्न छन्, उनीहरूले मलजल गरिरहेका छन् भन्ने आरोप छ, तपाईंले यस्तो महसुस गर्नुभएको छ ?
– घर कमजोर भएपछि अनेक लाञ्छना लाग्छन्, अरूले हेप्छन् भन्ने मान्यता यहां पनि लागू भएको छ । मलाई त त्यस्तो अनुभूति भएको छैन । संविधानसभा जानुपूर्व नै समाधानको बाटो पहिल्याएर जाने भएको हुंदा संविधानसभा ब्युंतिनुले त्यस्ता अन्तर्राष्ट्रिय निकायलाई कुनै लाभ पु¥याउन पनि सक्दैन यदि कुत्सित मनसाय राखेकै रहेछन्् भने पनि । हाम्रो समस्या त हामी आफैंले पहिले नै हल गर्ने हो, संविधानसभा पुनस्र्थापना गरेर अनि ‘आइदेऊ, हल गरिदेऊ’ भनेर कोही बाह्य निकायलाई डाक्ने होइन हामीले । मलाई दुःख लागेको छ कि हाम्रो अभियान हामी मिलेर नै सल्ट्याउनुपर्नेमा छिमेकीतिर गएर केही नेताले यसविरुद्ध ‘उजुरी’ हाल्न पुगेछन् ।
० संविधानसभा पुनस्र्थापनाको झमेला गरिरहनुको साटो राष्ट्रपतिबाट एउटा निकासको कदम चाल्नचाहिं मिल्दैन ?
– सौभाग्यको कुरा यो छ कि हामीले एउटा लोकतन्त्रप्रति पूर्णरूपले प्रतिबद्ध राष्ट्रवादी राष्ट्रपति पाएका छौं । विधिमा टेकेर मात्र उहांका कदमहरू अगाडि बढ्छन् भन्ने कुरा त उहांको बोली र व्यवहारले पुष्टि गरिसकेका छन् । केही व्यक्तिले उक्साएको भरमा विधि मिचेर उहांले केही गर्नुहुन्न भन्नेमा हामी विश्वस्त छौं । राष्ट्रपतिलाई सद्दाम हुसेन बनाउने र नेपालमा गुण्डाराज चलाउने कसैको दुराकाङ्क्षा हुन पनि सक्छ, तर यो सम्भावनालाई हामीले छेक्नुपर्छ । यसकै लागि हो हामीले एकोहोरो रूपमा संविधानसभा पुनस्र्थापनाको रट लगाएको पनि ।
० त्यसो भए संविधानसभा भनेको एउटा बेलुनजस्तै रहेछ– चाहेको बेला फुकेर उडाउन पनि मिल्ने नचाहे हावा फुस्काएर जमिनमा मिल्काउन पनि मिल्ने, हो ?
– बेलुनसंग दांज्न सकिन्न संविधानसभालाई । यहां कतिपयले संसद्बाट पनि संविधान बनाउन सकिन्छ भन्ने तर्क अघि सार्ने गरेको सुनिन्छ, तर त्यो सम्भव हुंदैन । राज्यको शक्तिपृथकीकरणमा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका भनेर जिम्मेवारी विभाजन गरिदिएअनुसार संसद्को आफ्नै जिम्मेवारी र भूमिका हुन्छ, तर संविधान त संविधासभाबाट मात्रै बन्न सक्छ चाहे जहिले बनोस् ।

२४ श्रावण २०६९, बुधबार ०८:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..