अश्लीलता, विकृति र इन्टरनेट सेवा

मौसम ठण्डी थियो । शायद पुस महिना होला । बाउले लिभिङ रुममा बसेर टेलिभिजन हेर्दै थिए । ३–४ कक्षामा पढ्ने छोरा आफ्नो गृहकार्य सकेपछि ‘कार्टुन’ हेर्न दौडँदै बुबा भएको ठाउँमा गयो । बाउले फेसन टीभी हेरिरहेका रहेछन् । ‘बिकिनी’को प्रचार–प्रसारका हेतु नौजवान तरुनीहरू ‘क्याटवाक’ गरिरहेका थिए । छोराले कोठा प्रवेशसँगै ‘कार्टुन’ हेर्ने रहर पोख्यो । तिनै क्याटवाकका दृश्यहरूमा लट्ठिएका बाउले टीभी स्क्रिनबाट आँखा नहटाई ‘छोरा ! मान्छे कति गरिब रहेछन् हेर त ! यस्तो जाडोमा पनि त्यस्ता कपडा लगाएका !.. यो हेरिसकेपछि बाबुले कार्टुन हेर्ने है ! अहिले छोरो गएर पढ ल !’ भनेछन् । अनुशासित छोरा पनि आँखा टीभीतिर राख्दै कोठाबाट बाहिरिएछ । ढोकानेर पुगेपछि बुबालाई ‘बुबा यीभन्दा गरिब मान्छे आए भने मलाई पनि डाक्नु होला है ! म पनि हेरुँला’ भनेछ रे !

हुन पनि बालकदेखि वृद्धसम्म, अमिवादेखि ह्वेलसम्म, विद्वान्देखि बहुलाहासम्म भनौँ हरेक जीवजन्तुदेखि वनस्पतिसम्म सन्तानोत्पादनको कर्म प्रकृत हिसाबले सुसञ्चालित छ । शायद फरक–फरक उमेरमा होला– यौनचेत विकास भएपछि मृत्युपर्यन्त सबैमा फरक हैसियतमा सन्तानोत्पादन कर्मलिप्सा विद्यमान रहेको पाइन्छ । त्यही भएर नै त होला– उल्लिखित प्रसङ्गमा छोराले कपडा नै लगाउन नसक्ने गरिब आए भने मलाई पनि डाक्नुहोला भनेको ! फेरि यही विषय हो– हाम्रो संस्कारमा खुलेर लोग्ने–स्वास्नीबीच पनि कुरा नहुने विषय । व्यहोरा जति गोप्य राख्यो, उति महत्वपूर्ण एवम् कुतूहलको विषय बन्दछ । साबिकमा आमाहरूले गोलीगाँठाहरू नदेखाउने गरी धोती लगाउने हुँदा पिँडौला, घुँडासम्म दृष्टिपात हुँदा पनि पौरुषीय आवेग स्त्रीआलिङ्गनको मनीषासँग जुर्मुराउँथ्यो भने अचेल छोरी–बहिनीहरूले नै साँप्रा देखिने गरी मिनी स्कर्ट लगाउन थालेपछि सनातनी यौनावेग मस्तरिएको पाइन्छ । यस्तै व्यहोरा स्त्रीसुलभ हिसाबले पनि केही प्रतिक्रियाहरू होलान्, सोधेर लेख्ने काम नगर्नु र आफूमा उल्लिखित पुरुषसुलभ प्रतिक्रिया मात्र लेख्न सकिनुलाई कसैले अनर्थ नलगाइदिनुहुन प्रथमतः अनुरोध गर्नु कर्तव्य ठहऱ्याउँछु ।

यो सन्दर्भको अहिलेको अवस्था अझ अघि बढेको प्रतीत हुन्छ । प्रायः नवयुवाहरूसँग अचेल ‘स्मार्ट फोन’ हुने गरेको पाइन्छ । खानामा ‘जङ्क फुड’ नखाने हो भने पाखे र ‘सामाजिक सञ्जाल’मा अनुबन्धित नहुने हो भने कोर्कालीको संज्ञासँगै ‘हाँसको हुलमा बकुल्लो’ बनिने अवस्था विद्यमान छ । परिणाम अभिभावकहरूलाई चित्त बुझाएर होस् वा घुर्की लडाएर होस्, अचेलका केटाकेटीहरूले पकेट खर्च लिएकै हुन्छन् । यसमा अभिभावकहरूको अव्यक्त प्रतिस्पर्धा हुने गरेको पाइन्छ । उसकी छोरीले यति लग्छे भने हाम्रो छोरालाई यति किन नदिने ? अब त्यही खर्चले फुर्सद भयो कि मोबाइल सेट निकाल्ने, फेसबुक, इन्स्टाग्राम, ट्विटर, भाइवर, म्यासेञ्जर आदि–आदिमा प्रवेश गर्ने गरेर नेपाल टेलिकमको व्यापारमा सहयोग पुऱ्याएको छ । नभए नाइट प्याकबाट फिलिम डाउनलोड गऱ्यो, अनि अरूले जेसुकै गरून्, आफूले फिलिम हेऱ्यो । प्रायः घरमा अति भएपछि पोखिने सनकी परिवेशबाहेक मुर्दा शान्ति छाउन थालेको छ ।

विदेशतिर बस, मोटर, रेल, जहाज, हवाईजहाजहरूमा कोही पनि बोल्ने, हाँस्ने केही नगरी आ–आफ्नै धुनमा व्यस्त हुन्छन् भन्थे, कुरा त यसो पो रहेछ, जुन अहिले हाम्रो घरभित्रसमेत भित्रिइसकेको छ । सहरमा त पाहुना आए पनि ‘नेटको पासवर्ड के होला ?’ भन्ने प्रश्नको उत्तर रेडिमेड राख्नुपर्ने भइसकेको छ । माथिल्ला अनुच्छेदका व्यहोरा प्रवेशको रहरले उछार नदिएको भए पनि ‘एउटा जरुरी इमेल गर्नु थियो’ भन्दै इन्टरनेट नराखिएको घरमा रहेछ भने ‘ठीकै छ नभए डाटा चलाउँला !’ भनेर साबिकका अर्ग्यानिक (?) भलाकुसारीका प्रसङ्गलाई विस्थापन गरिसकिएको छ । गाउँमा पनि अधिकांश युवा वैदेशिक रोजगारीका खातिर विदेश पलायन (?) भएकाले सामान्यतः बाउआमासँग साप्ताहिक र श्रीमती छोराछोरीसँग दैनन्दिक हिसाबले कुराकानी गर्न नेटको सुविधा जोडिएकै हुन्छ, नभए पनि डाटाको उपयोग त छँदै छ । अब त केटाकेटीलाई फुल्याउने अचुक साधन नै मोबाइल बनेको छ, भला त्यसको प्रतिकूल प्रभाव त्यो शिशुमा जेसुकै किन नपरोस् ।

यसरी हुर्केका नवयुवाले विश्वलाई पकेटमा बोकेर हिँडेका छन् । यसबाट विश्वमा घटेका पलपलका खबरहरूबारे जानकारी राख्न सक्षम भए– यो सकारात्मक पाटो । यति मात्र भए त केही थिएन । तर, सामाजिक सञ्जालप्रतिको अनुरागले प्राकृतिक ममताको अनभिज्ञता अनि मानवीय संवेदनामा अनुभविएको स्खलनले घर–घरमा किशोरमनहरू विभिन्निन (विभक्त बन्न) पुगेका छन् । यसले घरमा तथाकथित शान्ति भए पनि समाजमा हुन र गर्न नहुने भनी वर्जित गरिएका व्यवहारहरूको कार्यान्वयनले सामाजिक उद्दण्डता मच्चाइरहेको पाइन्छ । सबै समय डाटा चलाउन नसक्नेले फुर्सद भयो कि फिलिम हेर्न थाल्छ । कतिका लगानी गरेर मिल्दो पात्र छानी योग्य निर्देशकबाट निर्देशन गराई तयार पारेको फिलिम – एकपटक हेर्न सुरु गरेपछि अन्तिमसम्म हेरौँ–हेरौँ जस्तो नहुने त कुरै भएन ।

सरकारले ‘प्रोनोसाइट’ बन्द गरेको छ, जुन आफैँमा प्रशंसनीय कार्य हो । तर, यसो गर्दैमा ‘भीपीएन’बाट प्रवेश गरी भररात अनिदो बसी युवामन दिनभर सामाजिक अनहोनीतिर नलागेको होला भन्ठान्नु ‘सरकारका ओहोदाधारी’ले बुझपचाएको मात्रै ठहर्छ ।

बाउको उमेरमा त पहिलो अनुच्छेदमा उल्लेख भएबमोजिम बिकिनी सुट पहिरेकाहरू हेर्न रहर लाग्ने प्रसङ्गमा नौजवानहरूमा ‘चोलीकी पिछे क्या हे’ भन्ने प्रकृतिका फिलिमहरू नै सुरुचिपूर्ण हुने नै भए । सबैमा समान संयमता हुन्छ भन्न कहाँ सकिन्छ र ? कतिपयले फिलिमको स्टाइललाई व्यावहारीकरण गर्ने चेष्टा गर्दा घरायसी मात्र होइन सामाजिक विच्छृङ्खलता सिर्जना भएको पाइन्छ । यस्तो आवेग चौबीसै घन्टा सञ्जालमा व्यस्त रहनेहरूमा बढी हुन्छ । परिणाम समाजमा विभिन्न विकृतिका जघन्य अपराधहरू घटित हुन पुग्छन् । अधिकारप्राप्त व्यक्तिहरूका सन्तानबाट भए आफ्ना सन्तानप्रतिको स्नेहभावले त्यस्तालाई जोगाउने विविध प्रपञ्च रच्न पुग्दा समाज स्निग्ध हुन सकिरहेको पाइँदैन र हुँदैन पनि ।

अझ खतरा त के भयो भने– बिकिनी सुट हेर्ने रहर भएका बाबुहरूले ‘प्रोनोग्राफी’ हेर्न थाले । छोराछोरीमा पनि जुनकुनै हिसाबले त्यस्तोमा दृष्टि परेपछि झन् कुतूहल सिर्जना हुने नै भयो । नेपाल टेलिकमलगायतका दूरसञ्चार माध्यमहरूले सस्तोमा ‘नाइटप्याक’को व्यापार गर्दा रातभर नसुती ‘सर्च’ गर्न थाले, पत्ता लगाए अनि हेर्न थाले, लागू गर्न थाले । गर्न त प्रोनोग्राफी साइट बन्द गरियो सरकारी हिसाबले, तर छड्के प्रवेशका ज्ञाता नयाँपुस्ताले त्यो साइटमा छिरेरै छाड्यो, अब केको पढाइ ? केको कार्यालयको काम गराइ ? केको घरायसी सरोकार र इमानदारिता ? केको नातागोता, इष्टमित्र ? सबै सम्मै भयो । मन मिले जसले जसलाई जे गरे पनि आधुनिकताको खोलले लाज छोपिदिन थाल्यो । अनि यस्तो युवाशक्तिको विकृत मनस्थितिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यभेदन गर्न सक्ला त ? निःसन्देह सक्दैन । यो हिसाबले त बहुत दुरुह र दुर्लङ्घ्य लाग्दछ – हाम्रो लक्ष्य !

त्यसो भए के गर्ने त ? दूरसञ्चार मिडियाले बढी राजस्व तिरेका छन् भन्दैमा कस्तोसम्म व्यापार गर्न इजाजत दिने भन्ने मापदण्ड तुरुन्तै बनाइनुपऱ्यो । जसमा बेलुकाको समय फुर्सदको हुँदा ज्यादै सस्तो ‘डाटाप्याक’ भनेर प्रचार त गर्नै भएन, यसलाई सनातनीले खरिद गर्नै नसक्ने गरी उच्चदर तोकिनुपऱ्यो । चाइनाले ‘फेसबुक’लाई बन्देज गरे पनि चाइनिजहरूले छड्के प्रवेश (?) गरेर प्रयोग गरेकै पाइन्छ । हामीकहाँ पनि सरकारले ‘प्रोनोसाइट’ बन्द गरेको छ, जुन आफैँमा प्रशंसनीय कार्य हो । तर, यसो गर्दैमा ‘भीपीएन’बाट प्रवेश गरी भररात अनिदो बसी युवामन दिनभर सामाजिक अनहोनीतिर नलागेको होला भन्ठान्नु ‘सरकारका ओहोदाधारी’ले बुझपचाएको मात्रै ठहर्छ । समग्र धर्ती नै वर्तमान अवस्थामा आएको सन्दर्भमा सबैलाई सबै चिजको बन्देज लगाउन सम्भव छैन नै ।

तसर्थ दूरसञ्चारका माध्यमहरूले ‘डाटाप्याक’मध्ये पनि एनटीसीको ‘नाइट डाटा अनलिमिटेड’जस्तै एनसेल, स्काईलगायतका सर्वसुलभ र सस्ता डाटाप्याकको दर अतिउच्च कायम गर्नु उपयुक्त देखिन्छ । परिणाम त्यो डाटाप्याकलाई धनाढ्य र तिनका सन्तानहरूले मात्र किन्न सकून्, जसको हिस्सा समाजमा एकहातका औँलाबराबर पनि छैन । अनि बल्ल अश्लील साइटहरूमा लगाएको बन्देज कामयावी हुनेछ । अन्यथा प्राकृतिक एवम् जैविक क्षुधा तृप्तिहेतु जो जसले जे पनि गर्न अग्रसर नहोला भन्न सकिन्न । पछि समय घर्केको भनेर पछुताउनुलाई जिम्मेवार तहको नाहाजानी, बुद्धिहीनता ठहर्नेछ । तसर्थ समयमै समाजलाई विच्छृङ्खलता एवम् विकृतिबाट जोगाउन पहल गरिहालौँ ।

१६ असार २०७६, सोमबार ०७:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..