राष्ट्र असफल होला तर ज्ञानेन्द्र फर्कन सक्दैनन् ः प्रचण्ड

एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाश दाहाल (साकार) असाध्यै सोझो मानिस भएको बताउनुभएको छ । छोराले घर छाडेर हिंड्दा कस्तो लागेको छ भन्ने जिज्ञाशाको जवाफ दिंदै उहांले भन्नुभएको छ, ‘मानवीय मन भएका सबैलाई पीडा त भइहाल्छ । मेरा निम्ति यो धेरै अनौठो विषय होइन । छोराछोरी भनेजस्तै हुनुपर्छ भन्ने कुरा हुंदैन । त्यसभित्र धेरै फ्याक्टरले काम गरिरहेको हुन्छ । तर, मैले बुझेको कुरा के हो भने ऊ धेरै सोझो मान्छे हो, असाध्यै सोझो हो तर परिस्थिति त्यस्तै–त्यस्तै हुंदै जांदा यस्तो भयो । हामीले पनि परिवारका तर्फबाट छोराछोरीलाई राम्रो पढाउने, राम्रो गर्ने भन्ने पनि हुन सकेन । ध्यान दिने फुर्सद भएन । युद्धको बेलामा बन्दुक बोकेर हिंडेकै हो ऊ । ऊप्रति अहिले पनि मेरो घृणा छैन । उसले गल्ती ग¥यो तर अब महसुस गर्नुपर्छ ।’ तपाईंसंग त सम्पर्कमै होला नि होइन भन्ने प्रश्नको जवाफमा प्रचण्डको भनाइ छ, ‘ऊसंग अहिले मेरो कुनै सम्पर्क छैन । उसले अरू–अरूलाई मेसेज पठाइरहेको जानकारी मलाई छ । मिडियामा पनि त्यो कुरा आइरहेकै छ । म र मेरी श्रीमतीको कुनै खालको सम्पर्क छैन ऊसंग ।’

० छोरासंग जे–जस्तो भए पनि नाति त छंदै छन् नि होइन ?

– हो छन्, म उसलाई एकदमै माया गर्छु । अहिले पनि टेन्सन भएपछि बिहान–बेलुका नातिसंग खेल्छु र टेन्सनमुक्त भएको महसुस गर्छु ।

० लाजिम्पाटको घरमा बसेपछि पार्टी पनि फुट्यो, छोराले पनि घर छोडेर हिंडे, यो के भएको होला ?

– यो घरको कारणले भएको होइन ।

० जे भए पनि अब यो घर छोड्ने भनेको होइन ?

– हो, सरकारले घर हेर्ने भनेको छ । अस्ति फेरि एकजना मन्त्रीले राणाको दरबार हेर्नुभएछ । यो त बढी भयो भनेर छाड्ने निर्णयमा पुगेको छु । म राणाको दरबारमा जान्नं । सुरक्षा हुने, विदेशी आउंदा गाडी बाटोमा राख्नु नपर्ने एउटा सामान्य घर दिए म जहां पनि जान्छु ।

० जनयुद्धबाट शान्तिप्रक्रियामा आएपछि तपाईंलाई भोगी–विलासी या सुविधाभोगी नेताको आरोप पनि लाग्दै आएको छ नि ?

– ममाथि भोगविलासी भन्ने शब्द अन्यायपूर्ण हुन्छ । म अहिलेभन्दा जनयुद्धकालमा बढी सुविधामा थिएं । म रोल्पा बस्दा मेरो खाने, लाउने र सुरक्षा धेरै माथि थियो । अहिले केको विलासी ? यता आएपछि त झन् टेन्सनमा छु ।

० तपाईंको पार्टीमा आर्थिक पारदर्शिता भएन भन्छन् नि आफ्नै कार्यकर्ता ?

– मसंग एक पैसाको सम्पत्ति पनि छैन । मेरो भन्ने केही छैन । म गाडी चढेको र मेरो सुरक्षा–प्रबन्ध देखेर भनेका होलान् । माओवादी बलियो भयो भन्नेहरूले कमजोर बनाउन चलाएको हल्ला मात्र हो । आर्थिक पारदर्शिता नभए पनि हुंदै जान्छ ।

० प्रशंग बदलौं, नेपालको राजनीतिक गतिरोधको निकासको सूत्र तपाईंसंग छ भनिन्छ नि, हो ?

– बुझाइ अलि अतिरञ्जित भयो कि भन्ने लाग्छ मलाई । मेरै हातमा निकास भए त भइसक्थ्यो नि, किन रोकिराख्थें र ? त्यो मेरो हातमा मात्रै छैन ।

० क–कसको हातमा छ त ?

– राजनीतिक गतिरोधको निकास नेपालका प्रमुख दलका प्रमुख नेताहरूको हातमा सामूहिक रूपले नै रहेको छ । हिजोको संविधानसभाको ठूलो दलको नाताले र शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता हुनुको नाताले मेरो जिम्मेवारी बढी छ भन्ने म मान्छु तर मैले गर्नेबित्तिकै भइहाल्ने भन्ने कुराचाहिं होइन । सहमतिका लागि मैले आफ्नो ठाउंबाट लगातार प्रयत्न गरेको छु र पछिल्लो समयमा म आशावादी नै छु ।

० केमा आशावादी हुनुहुन्छ ?

– प्रमुख राजनीतिक दलका नेताहरूबीचको संवादको प्रक्रिया जसरी अगाडि बढेको छ, त्यो संवादको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको देखेको छु मैले । आशावादी हुनुको पहिलो कारण यही हो । दोस्रो, अब के गर्ने भन्नेमा हामी पछिल्लो बैठकमा हप्ता दिनभित्र सहमति भए सहमति गर्ने यदि संविधानका विवादित विषयमा तत्कालै सहमति नभए पनि निर्वाचनको विषयमा सहमति गर्ने भन्ने कुरो भएको छ ।

० काङ्ग्रेस र एमालेले यो सरकारले गर्ने निर्वाचनमा भागै नलिने भनेका छन्, निर्वाचनमा कसरी सहमति हुन्छ ?

– उहांहरूले घोषणा गरेका कुरा र सरकारले आफ्नै नेतृत्वमा निर्वाचन गराउने भन्ने कुरा पोलिटिकल प्रोपोगाण्डाका कुरा मात्रै हुन् । देशको यथार्थ के हो भने सबै मिलेर मात्रै चुनाव हुन सक्छ । सरकार एक्लैले मात्रै गरेर चुनाव हुनसक्ने अवस्था छैन । फेरि काङ्ग्रेस र एमालेले पनि सरकारको नेतृत्व गर्ने पार्टीहरूसंग सहमति नगरीकन उहांहरूले पनि केही गर्न सक्ने अवस्था छैन । कसैलाई मन परोस् वा नपरोस्, आजको कटुयथार्थ यो हो कि मिल्नुको विकल्प छैन ।

० सहमतिको सूत्रधार तपाईं भए पनि काङ्ग्रेस र एमालेलाई चाहिं किन सहमतिमा अगाडि बढाउन सक्नुभएन ?

– मलाई के लाग्छ भने, हिजो गिरिजाप्रसाद कोइराला नेतृत्वमा हुंदा नेपाली काङ्ग्रेससंग सहमति गर्न जति सजिलो थियो, आज त्यस्तो अवस्था छैन । गिरिजाप्रसाद कोइरालाको स्ट्रोङ पर्सनालिटी भएको कारण उहांले भनेपछि पार्टीले मान्ने अवस्था थियो तर अहिले यस्तो स्थिति काङ्ग्रेसभित्र छैन । यो कुराले सहमतिमा अप्ठ्यारो परेको छ । मेरो भूमिकाले अप्ठ्यारो परेजस्तो मलाई लाग्दैन, म त अझै बढी लचिलो भइरहेको छु ।

० प्रचण्ड कुरा गर्नुहुन्छ, काम गर्नुहुन्न भन्ने काङ्ग्रेस–एमालेको आरोप छ नि ?

– कुरा गर्ने काम नगर्ने उहांहरू हो म होइन । मलाई यो भन्न पर्याप्त आधार छ । सेना समायोजन, शान्तिप्रक्रिया र संविधान निर्माणमा म लचिलो भएकै छु । बरु मेरै आरोप छ कि उहांहरूले जे भन्नुभो त्यो गर्नुभएन । तर, म यतिबेला आरोप लगाउने पक्षमा छैन । पछिल्लो समयमा नेपाली काङ्ग्रेससंग समझदारी विकास हुंदै गएको मैले महसुस गरेको छु ।

० सुशील कोइरालाले त सहमतिका लागि प्रचण्डले नै भूमिका खेल्नुपर्छ भन्दै आउनुभएको छ नि ?

– सुशीलजीले त तपार्इंकै हातमा चाबी छ भनेर भन्नुहुन्छ, तर ताला लिएर उहांहरू बस्नुभएको छ, चाबी मैले राखेर के हुन्छ र ? खैर, जे भए पनि अहिले हामीबीचको समझदारीको मात्रा बढ्दै गएको देख्छु, घटेको छैन ।

० कहिलेसम्म सहमति बन्छ त ?

– हाम्रो कोसिस एक साताभित्रै सहमति होस् भन्नेमा छ । या त संविधानको विवादित विषयमा सहमति गर्छौं वा सहमतिमै निर्वाचनमा जाने विषयमा हामी सहमतिमा पुग्छौं ।

० प्रधानमन्त्रीले सहमतिभन्दा पनि अध्यादेशलाई किन अगाडि बढाइरहनुभएको हो ?

– प्रधानमन्त्रीको हकमा मैले बुझेको कुरा बाध्यात्मक हो । प्रधानमन्त्रीजी पनि अध्यादेशले मात्रै हुंदैन भन्नेमा कन्भिन्स हुनुहुन्छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा काङ्ग्रेस र एमाले नजाने भएकोले पार्टीले पहल गरेको हो । तर, प्रधानमन्त्री पनि सहमतिकै पक्षमा हुनुहुन्छ ।

० डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेसम्म सहमति बन्दैन भन्ने काङ्ग्रेस र एमालेको अडान छ नि ?

– यसरी सोच्नु एकाङ्की हुन्छ, गलत हुन्छ । यसै कामचलाउले के छाड्ने ? अर्को भएपछि पो छाड्ने हो ।

० अबको सरकार काङ्ग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा बनाउने सहमति भएकै हो ?

– नेपाली काङ्ग्रेसको कुन नेताको नेतृत्वमा सहमतिको सरकार बन्ने भन्ने कुरा हामीले भन्ने कुरा होइन, नेपाली काङ्ग्रेसले नै निधो गर्ने कुरा हो यो । अस्ति बल्खुमा मैले प्रस्टै भनें नेपाली काङ्ग्रेसले हाम्रो क्यान्डिडेट को हो भनेर प्रस्टसंग अगाडि ल्याएपछि सहमति गर्न सजिलो हुन्छ भनेर । सुशील, रामचन्द्र, शेरबहादुजी जसलाई बनाए पनि हामीलाई मतलब छैन । को भन्ने कुरा मैले कोठामा भन्ने कुरा हो, बाहिर भनेर म विवाद बढाउन चाहन्न ।

० प्रधानमन्त्रीले असंवैधानिक काम गर्दै जानुभयो भने राष्ट्रपतिले हटाउन सक्नुहोला ?

– सक्नुहुन्न, अहिले प्रधानमन्त्रीलाई हटाउन संविधानले कहीं–कतै अधिकार दिएको छैन । मेरो विचारमा राष्ट्रपतिले जे गर्न सक्नुहुन्थ्यो र जे गर्नुपर्दथ्यो त्यही–त्यही नै गर्नुभएको छ । राष्ट्रपतिले यो सरकार कामचलाउ हो भन्नुभयो, त्यो भनाइ सन्तुलित र ठीक छ ।

० अब निर्वाचन केको, संविधानसभाको कि संसद्को या जनमतसङ्ग्रह गर्ने ?

– निकास संविधानसभाको निर्वाचनबाटै खोज्नुपर्ने हुन्छ या संविधानका विवादित विषय टुङ्ग्याएर संविधान जारी गरौं र नयां निर्वाचनमा जाऊं । अहिले संसदीय निर्वाचन हुनै सक्दैन, त्यसका लागि टेक्ने कुनै आधार नै छैन । सर्वोच्च अदालतले संसद्को निर्वाचनको कल्पना पनि गरेको छैन । संसद्को निर्वाचन गर्ने घोषणा गरियो भने राष्ट्रपति रहंदैन । गणतन्त्र नै विवादमा पर्छ र सम्पूर्ण उपलब्धि सङ्कटमा पर्छ । त्यसो भएकोले निर्वाचन संविधानसभाकै गर्नुपर्छ । तर, संविधानसभाकै निर्वाचन गर्दा पहिला भएको सहमतिअनुसार तीन सय ४५ देखि ६० सम्म सभासद् बनाउन सकिन्छ । पहिलो काम संविधान निर्माण गर्ने र त्यसपछि त्यसलाई संसद्मा रूपान्तरण गर्न सकिन्छ ।

० सङ्घीयतामा विवाद छ, कसरी सहमति होला ?

– सङ्घीयतामै त विवाद छैन नि, प्रदेशको सङ्ख्या र नाममा पो विवाद देखिएको हो ।

० तपार्इंले सङ्घीयतामा सहमति गरेर धोका दिनुभयो भन्ने आरोप छ नि ?

– रामचन्द्रजी र सिटौलाजी उता झलनाथजी र माधवजीले पनि मलाई भेटेर १० प्रदेश र मिश्रित नाममा सहमति गर्नुभएकै हो । पछि नमानेर उहांहरूले मलाई पो धोका दिनुभयो । मैले त कहां धोका दिएको हुं र ?

० नेपालमा जातीय राज्य सम्भव छ ?

– जातीय राज्य यहां कसैले भनेकै छैन । यो बुझाइ नै गलत भयो । माओवादीले जातीय राज्य होइन पहिचानको कुरा गरेको हो ।

० चीनले त नेपालमा एकल जातीय राज्य हुंदैन भनेर बोल्यो, यसलाई कसरी लिनुहुन्छ ?

– चीनले किन बोल्यो त्यो चीनले नै जान्ने कुरा हो । तर, उसले नेपालमा सङ्घीयता हुनुहुंदैन भनेर बोल्यो जस्तो लाग्दैन । सङ्घीयताको विषयमा धेरै चलखेल भएको चीनलाई मनपरेको छैन । तर, चीनलाई के मन पर्छ र के मन पर्दैन त्यो मुख्य कुरा होइन । हामी नेपालीलाई के चाहिएको छ, त्यो हामीले नै निर्णय गर्ने कुरा हो ।

० तर, मोहन वैद्यलाई त प्रस्टै भनेर पठायो नि त ?

– जसले जे भनेर पठाए पनि मलाई वैद्यजी सङ्घीयताको विरुद्धमा जान सक्नुहुन्छ जस्तो लाग्दैन । हामी जुन स्कुलिङबाट आएका हौं त्यसका आधारमा म यो भन्दै छु । चीनले जुन कुरा भन्यो त्यो वैद्यजीले हामीलाई मन प¥यो भनेर भन्नुभएको पनि छैन र त्यो उहांले भन्न पनि सक्नुहुन्न । सङ्घीयता नेपालीले निधो गर्ने कुरा हो, भारत र चीनले होइन । जनयुद्धका बेला हामीले यो विषय उठायौ. तर न भारत न चीनसंग सल्लाह गरेर गरेका हौं ।

० चीनले अहिले मोहन वैद्यकै पार्टीलाई उसको आधिकारिक समर्थकको रूपमा स्थापित गर्न खोजिएको देखिएको छ नि ?

– त्यो होइन । चीन र चीनका नेताहरूसंग मेरो लगातार नै कुरा भइरहेको छ । यसलाई मान्यता दिने र अर्कोलाई नदिने भन्ने खेलमा चीन लागेको छ भन्ने मलाई लागेकै छैन । यहांका पार्टीले भारतको विरोध गरे हुन्थ्यो भन्ने नीति पनि चीनको छैन । प्रधानमन्त्रीको रूपमा चीन जांदा होस् वा प्रधानमन्त्रीबाट हटेपछिको अवस्था होस्, मैले भारतविरोधी हुनुपर्छ भन्ने चिनियां नीति नै पाइनं । मलाई त भारतसंग पनि राम्रो सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ भन्नेबाहेक चिनियां नेताले केही पनि भनेका छैनन् । किरणजीलाई भारतको विरोध गर भनेर भने होलान् भन्ने मलाई लाग्दैन ।

० तपाईंको भारतसंगको सम्बन्ध अहिले कस्तो छ ?

– भारतसंग राम्रो सम्बन्ध बनाएर जानुपर्छ भन्ने कोसिस हाम्रो बाह्रबुंदे सम्झौतादेखिकै हो । भारतसंग हाम्रा केही समस्या पनि छन् । भारतसंग विगतमा जुन अपडाउनको अवस्था थियो अहिले त्यस्तो छैन । फेरि नेपालको राष्ट्रियता र सार्वभौमसत्तामा कुरा गर्ने हाम्रो नैसर्गिक अधिकार हो । यसमा कसैले केही भन्ने कुरा आउंदैन ।

० तर पार्टीमा भारतलाई हेर्ने दृष्टिकोणमा त फरक आयो नि ?

– भारतलाई हेर्ने दृष्टिकोणमा फरक आयो भनेर त नभनौं । कतिपय विषयमा पार्टीभित्र हिजोदेखि नै मतमतान्तर थिए । जस्तो बिप्पाको विषयलाई लिएर हिजैदेखि छलफल थियो । विस्तारित बैठकमा मैले पेस गरेको प्रतिवेदनमा यो विषयलाई महाधिवेशनसम्मै छलफल गरेर टुङ्ग्याऔं भनेकै छु ।

० बिप्पा सम्झौता खारेज हुनसक्छ ?

खारेज हुनचाहिं सक्दैन । अलि बढी हामीलाई क्षति हुने हो कि, ठगिने पो हौं कि भन्ने मानिसमा जुन आशङ्का छ, नेपालको राष्ट्रिय प्राथमिकता के हो भन्ने कुरा निधो गरी घरेलु कानुनलाई बलियो बनाएर त्यसको समाधान गर्न सकिन्छ । घरेलु कानुन त नेपालले बनाउने हो नि । बिप्पा धेरै देशसंग भएको छ । त्यसमा धेरै आत्तिनुपर्दैन । हाम्रो हितमा हुने पुंजी हामी ल्याउंछौं अरू ल्याउंदैनौं, अरूले जबर्जस्ती गर्ने कुरा हो र ?

० नेपालमा राजसंस्था फर्किएला ?

– राजसंस्था त कुनै पनि हालतमा नेपालमा फर्किंदैन । कसैले त्यस्तो सोचेको छ भने त्यो दिवास्वप्न मात्रै हो ।

० दलहरूले काम गर्न सकेनन् भने नि ?

– दलहरूले काम गर्न सकेनन् भने नेपाल राष्ट्र असफल हुनेवाला छ तर राजसंस्थाचाहिं फर्किर आउनेवाला छैन । राजा आउन मात्रै खोजे भने पनि त्यो नागार्जुनसमेत नरहने अवस्था आउंछ । नेपाली जनताले राजसंस्था फर्काएर स्थिरता हुन्छ भन्ने कल्पना गर्नै सक्दैनन् । त्यो असम्भव कुरा हो । यदि राजनीतिक दलहरूले अहिले निकास दिन सकेनन् भने बरु राष्ट्र असफल हुन सक्छ तर ज्ञानेन्द्र फर्किन सक्दैनन् । उनले दुस्साहस गरे अहिलेको हैसियत पनि सकिन्छ ।

१७ श्रावण २०६९, बुधबार ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..