‘मलाई त ‘पूर्वराजा’ बनाइहाल्नुभयो, तर मेरो अनुरोध ‘पूर्वनेपाली’ नभन्नुहोस् !’

यो ७५ सालको चैत महिनामा यो स्मरण लेख्दै गर्दा दमकको चियाबगानमा कुना लगाइएका राजासँगको मेरो साक्षात्कारको वर्ष दिन पुग्दै छ । करिब २० मिनेटको त्यो अवसरमा १० मिनेटभन्दा कम नै बोल्ने अवसर पाइयो बाँकी सुन्ने सुअवसर । आफूले बोलेको त्यो १० मिनेटभन्दा कमको समय पर्याप्तभन्दा पनि ज्यादा थियो, किनभने मसँग थप बोल्ने कुरा नै थिएनन् । जे–जे भन्छु, सोध्छु भन्ने सोचेको थिएँ त्यो भन्न पाइयो । सोध्छु भनेको कुरामा धेरैको उत्तर नसोधी नै पाइयो । त्यो दिन भेट पाउने अरूले भने आफ्नो गोप्य भेट भएको र त्यसमा फलाना–फलाना कुरा भएको भन्ने अन्तर्वार्ता दिन भ्याए । आफूले त्यो भेट गुप्त पनि राखिएन र प्रचार पनि गरिएन । किनभने त्यसमा आफूले मनन गर्नुपर्ने कुराहरू धेरै थिए ।

त्यो साक्षात्कारभन्दा पहिला कैयौँपटक भेट पाएकाहरूको अनुभव र प्रतिक्रिया मेरा निमित्त उत्साहबर्धक थिएनन् । आफूले भनेको कुरा ध्यानले सुन्ने र ‘बुझेँ–बुझेँ’ भन्नेबाहेक खासै प्रतिक्रिया त्यहाँबाट आउन्न भन्ने सुनिएको थियो । त्यसैले आफूले भन्न खोजेको कुरा लगातार भट्याउने अनि केही कुरा सोध्ने मनस्थिति बनाइएको थियो । तर, त्यो साक्षात्कारमा एक जिम्मेवार नागरिक, बुद्धिमत्ता र धैर्यताले परिपूर्ण पाका मान्छे, कुरा नचबाई भन्नुपर्दा आफ्नो जिम्मेवारी र क्षमता बुझेको अभिभावकसँग बसेको अनुभूति भयो । मैले बुझ्न नसकेको कुरा के भने त्यस्ता फरासिला राजासँग अरूको भेट किन टाउको हल्लाउने र बुझेँ–बुझेँमा सीमित भयो । जब कि त्यसमध्ये कोही कोही त घन्टौँको भेट पाउने छन् ।

दोहोरो बोल्न शुरु हुनेबित्तिकै जस्तो एक मार्मिक अभिव्यक्ति आयो, ‘मलाई त ‘पूर्वराजा’ बनाइहाल्नुभयो, तर मेरो अनुरोध ‘पूर्वनेपाली’ नबन्नुस् ।’ आधुनिक नेपाल निर्माण भएको पौने तीन शताब्दीपछि राजा कुना लगाएर राज गर्नेहरूले पालैसँग मुलुकको अस्तित्वमा सङ्कट भएको कुरा गर्दछन् । राजा कुना लगाउनुभन्दा पहिला यो सङ्कटको कल्पना पनि थिएन नेपालीलाई । तर, यो सङ्कट छ भनेर भन्ने अहिलेका नेपालको हालीमुहाली गर्नेहरूमा गम्भीरता देखिएको छैन । सङ्कट रोक्नुपर्ने र सक्ने अवस्थामा पनि त्यो रोक्न छोडेर यो सङ्कटलाई पनि कुर्सी प्राप्त गर्ने हतियारको रूपमा प्रयोग गर्नेहरूले औंल्याएको भन्दा ज्यादा मार्मिक थियो त्यो अभिव्यक्ति । जनतालाई राष्ट्रसँग अभिन्न मान्ने र आधुनिक नेपाल निर्माणको नेतृत्व गर्नेको सन्तानको पीडा थियो ।

राजाले फर्कन चलखेल गर्दै छन् भन्ने र राजा आऊ देश बचाऊ भन्ने भनाइ धेरै वर्षदेखि चर्चाका विषय भएका छन् । नेपालको अस्तित्वमा राजसंस्था अपरिहार्य छ भन्ने सोचेको भए पनि फर्कन गरिनेमध्ये कुनै गतिविधि देख्न सकेको छैन । त्यसैले सोधेँ, ‘मलाई एक कुराको शङ्का छ’ प्रश्न पूरा हुन पाएन, उत्तर आयो, ‘म फर्कन चाहन्न भन्ने कुरा ?’ हो भनेर भनेपछि आएको जवाफ नै नेपालको अवस्थाको सम्पूर्ण प्रतिबिम्ब थियो । उत्तर थियो- ‘राजसंस्था महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण कुरा राष्ट्र हो । राष्ट्रको मोलमा राजसंस्था भन्ने कुरा हुँदैन किनभने हामी राजावादी होइनौँ राष्ट्रवादी हौँ ।’ यो कुरा एक राजसंस्थाको सदस्यको मुखबाट नै सुन्दा कुन अनुभूति होला ? अनायास नै मेरो मुखबाट फुत्कियो, ‘म पनि राजावादी होइन, राष्ट्रवादी हुँ ।’ त्यसबेलाको राजाको हलुका हाँसो, अतिरञ्जित गरेको आरोप लागे पनि लागोस् अलौकिक आनन्दको अनुभव भयो ।

त्यो साक्षात्कारको सारांश थियो– जनताको बल नै राजाको बल हुन्छ र राष्ट्रको हित नै राजाको कर्तव्य हुन्छ । सत्ताको निमित्त किचलो हुँदा राष्ट्रको अस्तित्व नै समाप्त हुन सक्छ । जनताको सम्मति र हित नै पुर्खादेखिको आराधना हो, तपस्या हो । शब्द यी थिएनन्, अलि भिन्न थिए, तर मैले अर्थ यसरी लगाएँ । साथसाथै यो पनि सोच्न बाध्य भएँ कि जसरी राजाको बल जनता हो त्यसै गरेर नेपालको परिप्रेक्ष्यमा जनताको बल पनि राजा रहेछ । राष्ट्र प्रफुल्ल पार्न सङ्कट टार्न सड्कमा होइन, आसन र भाषणमा होइन सर्वसाधारण जनताको आँगनमा सर्वसाधारण नै भएर जानुपर्छ भन्ने भन्न खोजेको बुझेको छु । यस्तो अवस्थामा राजावादीहरूको सडकमा आऊ सङ्घर्ष गरेर राजालाई पुनस्र्थापना गरौँ भन्ने आन्दोलनमा कसरी सामेल हुन सक्छु ।

मेरा वरिपरि भएका गणतन्त्र पक्षधर मित्रहरूले यसलाई मैले राजाको व्यक्तित्व पखाल्न खोजेको भन्न पनि सक्छन् । भेट भएको वर्ष दिनपछि कल्पना गरेको कथा पनि भन्न सक्नेछन् । त्यसै गरेर केही जम्मा भएर आसन ग्रहण र भाषण प्रदान गर्ने अनि आफूबाहेक सबैलाई ह्याउ नभएका भन्ने राजावादीहरू, सडकमा जनसागर ल्याएर दुई दिनमै सत्ता परिवर्तन गर्ने हुँकार गर्ने तर १० जना पनि नजुट्ने राजावादीले मलाई बनावटी कुरो गरेको भनेर गाली पनी गर्न सक्लान् । तर, त्यो साक्षात्कार यो वर्ष दिनभित्र सयौँ कुराकानी र कैयौँ लेखको विषयवस्तु बनिसकेको छ । यसले यति मन छोएको छ कि भविष्यमा पनि विषयवस्तु बनी नै रहनेछ । अब यो मैले बुझेको सही हो वा होइन भन्ने कुरा राजाबाट आउनेछैन । किनभने राजा भनेका नेता होइनन्, जोकसैकोे कुराको प्रतिक्रिया भाषणबाट र कार्यकर्ता परिचालनबाट दिऊन् । पूरा गर्न नसक्ने आश्वासनको थुप्रो लगाउन् ।


(लेखक स्वयम्भूनाथ कार्की संबैधानिक राजसंस्था मार्फत नेपालको समृद्धि हुन्छ भन्ने बुद्धिजीवी हुनुहुन्छ)

८ बैशाख २०७६, आईतवार ००:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..

नेपाल बन्यो एभिसी च्याम्पियन, महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक

ढाका, २८ कार्तिक । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले उचालेको छ । नेपाली..

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द..