‘होमस्टे होटलको विकल्प होईन’

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको छैन। ‘पर्यटनका लागि संगसंगैु भन्ने नारासहित ‘नेपाल पर्यटन वर्ष–२०११’ पश्चात नै होमस्टेले गति लिएको हो ।

त्यसो त कोहि पाहुनाको स्वागत सत्कार गर्नु नेपालीको संस्कार नै हो तर यहि संस्कारलाई व्यवसायमा रुपान्तरण गरि आयको स्रोत बन्न थालेको यहि ८ बर्ष पुगेको छ। त्यसैले पनि बिज्ञहरुले होमस्टेलाई पर्यटन बर्ष २०११ कै देनको संज्ञा दिने गर्छन।

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ। यो क्रममा बर्ष भ्रमण २०२० को लागि नेपालमा भर्खरै व्यवसायीकरण हुने क्रममा रहेको होमस्टेको भूमिका के हुन्छ भन्नेबारे होमस्टे एशोशियसन नेपालका पूर्वअध्यक्ष भिमबहादुर केसीसँगको कुराकानीः

अहिले होमस्टे बिदेशी मात्र नभई स्वदेशी पर्यटकको लागि समेत चाँसोको बिषय बनेको छ, नेपालमा होमस्टेको इतिहाँस कति लामो छ ?

नेपालमा होमस्टेको संगठनात्मक आन्दोलन र अभियान त्यति लामो छैन। २०५४ मा सिरुबारीबाट स्वर्गीय रुद्रमान गुरुङ र २०५५ मा घलेगाउँबाट सुरु गरिएको होमस्टे आन्दोलन २०६७ मा घोषणा भएको पर्यटन वर्ष र सोही वर्ष सरकारले होमस्टे सञ्चालन कार्यविधि ल्याएपछि संस्थागत भएको हो।

अहिले नेपालमा पर्यटन कार्यालयमा दर्ता भएका सामुदायिक होमस्टे १२५ छन्, निजी होमस्टे ११९ छन् । अहिले गण्डकी प्रदेश सरकारले नयाँ कार्यविधि समेत ल्याईसकेको छ । अहिले दर्ता हुने क्रम बढ्दो छ ।

होमस्टे भनेका ग्रामिण पर्यटनका अगुवा बनेका छन् । गाउँमा गएपछि संस्कृति र प्रकृति दूवै देख्न पाइने हुनाले ग्रामिण क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् । होमस्टे पर्यटकलाई सेवा दिने, रमाउने वाताबरण बनाईदिने काममा लागेका छन् ।

संघीय प्रणाली अनुसार होमस्टेको दर्ता प्रक्रिया कस्तो छ ?

२०६७ को कार्यविधिले दर्ताको लागी केन्द्रमा पर्यटन विभाग र तल्लो निकायमा रुपमा पर्यटन विभाग मातहतका ७ वटा पर्यटन कार्यलयमा दर्ता गर्ने व्यबस्था गरेको थियो। अहिले संघियता कार्यान्वयनको चरणपछि ती कार्यालयहरु खारेज भएका छन। त्यसैले अहिले तत्काल दर्ताको लागी अन्यौलता छ ।

पर्यटन विभागले पनि दर्ता र नविकरण गरेका छैनन् । विभाग मातहतका कार्यालयहरु विघठित भएका छन् । नगर र गाउँपालिकालाई यसको अख्तियारी दिईएको छैन। तर गण्डकी प्रदेशले कार्यविधि बनाएर दर्ता गर्ने अधिकार स्थानीय तहलाई र महानगरभित्रको वडालाई दिएको छ।

होमस्टेको दर्ता, अनुगमन, नविकरण गर्ने जिम्मा स्थानीय तहलाई नै दिनुपर्छ। हिजो सरकारका ७ वटा पर्यटन कार्यालय धेरै टाढा थिए। एउटा सामुदायिक होमस्टे दर्ता गर्न २ दिन ३ दिन लगाएर जानुपर्ने बाध्यता थियो। त्यतिबेलैदेखी हामीले यो झञ्झटिलो र असजिलो छ भनेका थियौ । अहिले पनि होसानले होमस्टे दर्ता गर्ने र नविकरण गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्छ भनेर हामीले माग अघि सारेका छौँ ।

होमस्टे सञ्चालन गर्न उपयुक्त ठाउँ हो कि होईन भन्ने जानकारी पनि स्थानीय तहलाई हुन्छ र सञ्चालन पश्चात ठिक ढङ्गले चलाएका छन कि छैनन् भन्ने अनुगमन गर्न पनि उनीहरुलाई सजिलो हुन्छ ।

कार्यविधि आएको ८ वर्ष भयो तर संख्यात्मक फड्को मार्न किन सकिएन ?

सामुदायिक होमस्टेको संख्या १२५ छ भन्नु यो सानो संख्या होईन । एउटा सामुदायीक होमस्टे दर्ता गर्न ५ हजार लाग्छ । अहिले नेपालमा दर्ता भएका सामुदायिक होमस्टेमा न्युनतम ५ घरदेखी ४२÷४३ घरसम्म छन् । त्यसैले संख्या सानो, थोरै भन्ने छैन, यो आफैँमा ठूलो छ ।

यसका मापदण्ड चाँही के के छन् ?

दर्ता शुल्क ५ हजार अनिवार्य हो। त्यसबाहेक सरकारले बनाएको कार्यविधिलाई पछ्याउनु पर्छ ।

होटलको विकल्प होमस्टे हो कि होईन ?

होमस्टेमा बस्ने पर्यटक र होटलमा बस्ने पर्यटक भिन्दाभिन्दै हुन् । उनीहरुको चाहाना नै फरक हुन्छ । होमस्टेमा बस्न आएकाहरु होटलमा जाँदैनन र होटलमा आएकाहरु होमस्टेमा आउँदैनन् । त्यसैले होमस्टे होटलको विकल्प होईन । होमस्टे बढेकाले होटलमा बस्ने पर्यटक घटे भन्नु पनि सत्य होईन ।

र अर्को कुरा के हो भने, पहिलोपटक होमस्टेको कार्यविधि आउँदा नेपालमा पर्यटन वर्ष मनाईराखिएको थियो । पर्यटकलाई गाउँगाउँमा लैजाने भन्ने नारा पूरा भएन । फेरि हामी भिजिट २०२० को अभियानमा छौँ । हिजो जस्तो अन्यौलता, लडाई झगडा, हड्ताल छैन । त्यसैले यसपालीको भ्रमण वर्ष हुन्छ । र आउने पर्यटकको संख्या बढ्दा होमस्टेमा बस्न आउने पनि पक्कै बढ्छन् ।

होटलको विकल्प होईन भने होमस्टेके हो चाँही के त ?

होमस्टे भनेको एउटा परिवार हो । जुन घरमा हामी बास माग्दै जान्छौ, बस्छौ, खान्छौ, रमाउँछौ त्यही हो होमस्टे । एउटा परिवारमा पाहुना आएपछि गरिने स्वागत सत्कार र सामान्य व्यवसायकि कारोबार मात्रै हो । यसमा कुनै मजदुर हुँदैन, बाहिरका मान्छेले काम गदैनन् ।

घरमा आउने पाहुनाले जे पाक्छ त्यही खान्छ । कहिलेकाही पाहुनाको ईच्छा अनुसार पनि पकाईन्छ, नत्र भने जे पाक्छ त्यही खान्छ । हामीले घरमा जे गर्छौ पर्यटकले त्यही देख्छ । होटलमा त पर्यटक आउँछ, ईन्ट्रि गर्छ, कोठामा जान्छ, ढोका लगाएर बस्छ, खाना खान निस्किन्छ । खाना खुवाउने मान्छे बाहेक त उसले केही देख्न पाउँदैन । संस्कार के हो, संस्कृति के हो केही थाहा पाउँदैन ।

तर होमस्टेमा उसले हाम्रा बा डोको बुनिरहेको, आमाले साग टिपिरहेको, हजुरआमाले नातिनी खेलाईरहेको, नाती पढिरहेको सबै देख्छ । कुखुरा चरिरहेको, बाख्रा बाधिरहेको यी यावत क्रियाकलाप देख्छ । त्यसैले होमस्टे समाज, संस्कृति र संस्कार अध्ययन गर्ने थलो पनि हो ।

होमस्टेमा बस्ने पर्यटकले संस्कार र सस्कृति त देख्ने भयो, पर्यटकलाई भुलाउने संरचना बन्नु पर्छ कि पर्दैन ?

पर्छ। तर संचरना हेर्न मात्रै पर्यटक आउने होईन । हिजो आफ्ना परम्परागत बाजा बज्न छोडेका थिए । अहिले गाउँमा पर्यटक आउने भएपछि ती बाजाहरुको आवाज सुन्न थालिएको छ । हिजोआफ्ना परम्परागत भेषभूषा लगाउन छोडिएको थियो, आज पर्यटक आउने भएपछि लगाउन थालिएको छ ।

आज गुरुङहरु मारुनी नाच नाच्छन्, चौधरीहरु थारु नच नाच्छन् । सबै समुदाय आफ्नो संस्कृति अनुसार रमाइलो गर्ने पद्धतिको विकास भएको छ । यी परम्परा हिजो लोप हुने अवस्थामा थिए । तर गाउँगाउँमा होमस्टे सञ्चालन हुन थालेपछि हाम्रा संस्कार संस्कृतिले पुनर्जीवन पाएका छन् । यो हेर्न पनि पर्यटक आउँछन् ।

अहिले ५ नम्बर प्रदेश सरकारले बाँकेको गावरभ्यालीको आसपासमा मानसरोवरको प्रतिमा सहितको पार्क बनाउँदै छ । यसको लागी ३ करोड बजेट छुट्याएको छ । यो बनिसकेपछि मानसारोेवर पुग्न नसक्ने त त्यहाँ जाने भए नि ।

हिजो हेटौडाको सामान्य डाडोमा एउटा ढुङ्गो कुदिएर ५ जना शहिदको सालिक राखिएको थियो । आज यति राम्रो पार्क बनेको छ, नेपाल भरीमै त्यत्तिको पार्क छैन होला । मैले भन्न खाजेको सुरु गरेपछि बन्दो रहेछ नि त । पहिला टिकापूर भन्थ्यौ, अहिले हेटौडा भन्छौ । भोली गावरभ्यालीमा बनेको मानसरोवर पार्क भन्न सकिन्छ ।

अहिले सरकारले होमस्टेलाई कसरी हेरेको पाउनुहुन्छ ?

म सरकारले पहिलो कार्यविधि बनाउँदा देखी नै यस अभियानमा जोडिँदै आएको छु । कपनमा सरकारले पहिलो राष्ट्रिय कार्यशाला गर्यो, दोस्रो कार्यशाला २०७० मा पोखरामा गर्यो । पोखरा कार्यशालापछि हामीले देशैभरका होमस्टेहरुको छाता संगठनका रुपमा होमस्टे एशोशियसनको विधिवत सुरुवात गर्यौ । ठिक ३ वर्ष अघि हामीले पहिलो महाधिवेशन गर्यौ ।

सरकारले कार्यविधि त ल्यायो । तर होमस्टेको विकास गर्न, सञ्चालित होमस्टेलाई सम्पन्न बनाउन सरकारको जुन किसिमको तत्परता हुनुपथ्र्यो त्यो दखिएको छैन । कही कतै पर्यटन बोर्डले सामान्य तालिम दिएको छ । तर ग्रामिण पर्यटनको नेतृत्व र अगुवाई गरिरहेका होमस्टेको विकासमा सरकारी स्तरबाट महत्वपूर्ण पहलकदमी भएको छैन । करमा छुट दिएको छ । हाम्रो भनाई के हो भने, निश्चित समयसम्म करमा सहुलियत दिएपछि होमस्टेलाई पनि करको दायरमा ल्याउनुपर्छ ।

केही महिना अघि पर्यटन मन्त्रालयले पर्यटन ऐन २०७५ का विषयमा छलफल गर्न बोलाएको थियो । पर्यटन ऐन सरसर्ती प्रस्तुत भयो, तर होमस्टेका कुरा कतै आएनन् । त्यसपछि मैले हात उठाएर होमस्टेलाई पनि प्राथमिकता दिएर ऐन बन्नुपर्छ भने ।

यहाँ भाषण गर्दा होमस्टे कि होमस्टे भनिन्छ । तर ऐन बन्दा, नियम बन्दा, कार्यविधि बन्दा त्यसैलाई उपेक्षा गरिन्छ । पर्यटन क्षेत्रको कान्छो संस्था हो यो एशोशियसन, तर आकर्षक छ । हामीले सरकारलाई यसै नछोड, यसलाई पनि साथसाथै लिएर हिड्नुस् भनेका छौँ ।

सरकार होमस्टेप्रति अनुदार नै देखिएको हो त ?

केन्द्र सरकारको त्यस्तो आकर्षक योजना केही छैन । गण्डकी प्रदेशले होमस्टेको विकास गर्न ३० करोड बजेट विनियोजन गरेको छ । सोही प्रदेशले कार्यविधि पनि पास गर्यो ।

अर्थतन्त्रमा होमस्टेको योगदान चाँही के त ?

गाउँमा चलेका होमस्टेले केवल पर्यटक लगेका मात्रै छैनन् । यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै गाउँका नागरिकको जीवनस्तर समेत उकास्न मद्दत गरेको छ ।

छिमेकीको करेसामा फलेको साग, काउली आफनो बारीमा फलेको मकै कोदो लगायतका अर्गानिक उत्पादन खुवाएका छन् । यसबाट स्वभावैले आर्थिक उपार्जन भएको छ । यसबाट वरीपरीको समाजले पनि लाभ लिएको छ । हाम्रा गाउँले दाजुभाई दिदी बहिनीहरु २(४ पैसा खेलाउन सक्ने भएका छन् । विस्तार जीवनस्तर उठाउन यसले भूमिका खेलेको छ । ग्रामिण पर्यटनको नेता भनेकै होमस्टे हो ।

भिजिट नेपाल २०२० मा होमस्टेको योगदान के हुन्छ ?

हामीले स्वदेशी पर्यटकलाइृ गाउँगाउँमा लगेर रमाउने वाताबरण बनाएका छौँ । गाउँमा जानेपर्यटक खुशी छन्, प्रकृति र संस्कृति दूवै देख्न पाए ।

नेपालमा आउने पर्यटकलाई शहरमा मात्रै होईन गाउँमा पनि घुम्ने ठाउँ छन्, होटलमा मात्रै होईन होमस्टेमा पनि बस्ने वाताबरण छ भन्ने विश्वास दिलाउँछौँ । जसले गर्दा गाउँमा जाने पर्यटक २र३ दिन बढी त बस्छ नै । हामी पर्यटकको संख्यासँगै बसाई अवधि पनि लम्ब्याउनु पर्छ भन्ने अभियानमा छौँ ।

६ बैशाख २०७६, शुक्रबार १६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..