फिल्मको कहानी जस्तै लाग्ने कमलाको जीवन।

पोखरा । कमला पाण्डे । आफुलाई एकल महिला भन्न रुचाउँछिन् । उनका जीवनका धेरै यस्ता कथाहरु छन्, जुन कथालाई उनले किताबमा उतार्न चाहे राम्रो किताब नै प्रकाशित हुन सक्थ्यो, अहिलेका पुस्ता उनको दुख तथा पीडा सुन्दा एकादेशको कथा जस्तो लाग्न सक्छ । तर यो उनको लागि कुनै एकादेशको कथा नभएर आफुले देखेको तथा भोगेको पीडा तथा दुखका कथा हुन् ।

दाइजो कै कारणले गर्दा बिहे पछि घरबाट घृणा हुन थालेपछि उनी मृत्युको मुखमा पुगेर पनि बाँचेकी थिइन् । आज जुन हिसाबले खुसीका साथ आफ्नै खुट्टामा उभ्भिएर जिन्दगीसंग रमाइरहेकी छिन्, त्यो कल्पनाभन्दा बाहिरको कुरा थियो उनकोे लागि ।

त्यो समयमा माइतीले सके जति त्यो समयमा दाइजो पनि दिएकै थिए उनको घरकालाई । तर पनि घरतर्फको मन बुझेन र कमलालाई त्यही निहुँमा दुख दिन थाले । ‘‘अझै पनि धेरै दाइजो ल्याओस् भन्ने मनसाय रहेछ उनीहरुको, तर जति मेरा आमा बाबाले सक्नुहुन्थ्यो, त्यति दिनुभयो, तर पनि सायद उहाँहरुको लोभको भाँडो भरिएन छ ।’’ उनी ती दिन तथा पीडालाई सम्झिदै भन्छिन् ।

पाल्पाको अग्रेलीमा जन्मिइन् उनी र सुखैमा हुर्किइन् । आमाबाबा, दिदीबहिनी तथा दाजुभाईको मायामा नै हुर्किएकी उनी । कल्पनासम्म पनि गरेकी थिइनन् उनले, कुनै दिन दाइजोको कारणले जिन्दगीमा धेरै पीडा भोग्नुपर्छ भनेर । तर जीवन मानिसले सोचेजस्तो त कहाँ हुन्छ र ? उनको जीवनमा पनि बिहेपछि दाइजो नल्याएको भन्दै मृत्युको मुखसम्म पनि पुगिन् । तर सायद उनलाई आजसम्म बाँच्न लेखेको थियो कि ? त्यही भएर नै उनी आज स्वतन्त्र रुपमा एकल महिला भएर खुसी साथ बाँचिरहेकी छिन् ।

उनको दुखका दिन तब सुरु हुन्छ, जब विवाह भएर श्रीमान्को घरमा पुग्छिन् । १८ वर्षको उमेरमा कक्षा १० मा पढ्दै गर्दा उनको बिहे भयो, तर जब बिहे पछि दुर्गन फर्काउने दिनदेखि नै उनको दुखका दिनहरु सुरु भए । उनको जीवनमा कालो बादल छाउन थाल्यो ।

अहिले पनि नेपाली समाजमा दाइजोकै निहुँमा कयौँ युवतीहरुले ज्यान गुमाउनुपरेका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन् भने त्यो बेलाको समयमा त झन् यो समस्या कति विकराल थियो होला, सोचाई भन्दा पनि टाढाको कुरा हो । बिहे भएको ३ दिन अर्थात दुर्गन फर्किएको भोलिपल्ट नै उनको श्रीमानलाई उनीबाट टाढा बनाइयो । घरबाट उनको श्रीमानलाई कामको बाहानामा भारत पठाइएको थियो । त्यसपछि श्रीमान् करीब साढे एक वर्षपछि मात्र घर फर्किए । त्यसपछि पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन, राम्रोसंग एक छाक खाना खान पनि दिएनन् घरकाले । बिहान उठेबाट घरभित्र तथा बाहिरको सबै कामहरु गर्नुपथ्र्यो उनले । बिहान उठेर घरको काम सिध्याउँथिन् र फेरी घाँस काट्न जान्थिन् । घाँस पनि एकपटक होइन, कहिले काँही त दिनको ३÷४ पटकसम्म पनि काट्नुपथ्र्यो, त्यो पनि घरको सबै कामहरु भ्याएर ।

‘‘एकैदिन त्यति धेरै पटक घाँस दाउरा काट्दा कम्ती भोक लाग्थेन, तर जब घरमा आएर खाने कुराका लागि भान्साकोठामा पुग्थेँ, अनि कहिले खाना नै हुन्नथ्यो, कहिलेकाही भएपनि सामान्य मानिसले खान पनि नसक्ने खानाहरु राखिएको हुन्थ्यो मेरो लागि, कति पटक त मलाई कुटपटि पनि गरेका छन् ।’’ उनी त्यी दुखका दिनहरु सम्झिदै भन्छिन् – ‘‘धेरै रात तथा दिनहरु भोकै बिताएको छु, कति आँसुका धारा बगाएर, श्रीमानका घरकाले त मलाई हरेक पटक किन नमरेको अहिलेसम्म, जा मर्न भनेर हरेक दिन भन्ने गर्थे, कतै लडेर मरिहाल्छु कि भनेर काम गर्न समेत कोही जान नसक्ने भीर र वनमा पठाउथे, तर म आज जिउँदै छु, खुसी छु ।’’

जसोतसो जति दुख तथा पीडा भएपनि आँसुलाई साहारा बनाउँदै बाँचिरहेकी थिइन्, तर फेरी अर्को बज्रपात उनको जीवनमा प¥यो, श्रीमान्ले अर्को विवाह गरिदिए । त्यो पछि त उनले पनि हरेस खाइन् । मृत्युको बाटो रोज्ने कोसिस नगरेकी पनि हाइनन्, तर बाँचिन् । त्यसपनि उनको बाबाले भन्ने गर्थे – ‘‘छोरी आत्महत्या गर्ने होइन, त्यस्तालाई कायर भनिन्छ र कायर भएर मर्नुभन्दा समस्यासंग लडेर बाच्नुपर्छ ।’’ उनलाई आफ्नो बाबाको यही कुराले प्रभावित पा¥यो र मृत्युको बाटो राज्ने कोसिस पनि छोडिन् । सुरुमा त सौताले समेत राम्रै व्यवहार गरेकी हुन् । तर पछि सबैको कुरा सुनेपछि उनको कमलाप्रतिको व्यवहारमा समेत परिवर्तन आउन थाल्यो । अरुले जस्तै घृणा गर्न थालिन् ।

श्रीमान्का घरकाले जति नै पीडा दिएपनि माइती तर्फबाट भने उनलाई पुरा साथ थियो । माइतीबाट त्यसरी कमलाले दुख पाएको देख्दा सबैको मन रुन्थ्यो, माइतीमा नै बस्न नबोलाएका पनि होइनन्, तर उनी गइनन् । नेपाली समाजमा एउटा पुरानो उखान छ – ‘छोरीको डोली उठिसकेपछि अर्थी श्रीमान्को घरबाट नै उठ्छ ।’ उनलाई पनि त्यही लाग्थ्यो । त्यो बेलाको समयमा मलाई घरकाले हेला गरे भनेर चटक्क घर छोडेर हिड्नु कहाँ सजिलो थियो र ? त्यो समय भनेको त छोरी मान्छेले जस्तै भएपनि घर गरेर खानुपर्छ, माइती फर्किनु हुन्न भन्ने भावना समाजमा थियो, त्यसैले पनि अनेकौँ हन्डर खाएर भएपनि घरमा नै बसिन् कमला ।

ससुराले त उनलाई खानामा विष मिसाएर दिन्छु, अनि म¥यो भन्दिन्छुसम्म पनि भनेका थिए रे उनलाई । कोही छिमेकी कमलाको पक्षमा बोलिहाले पनि विभिन्न धम्की दिन्थे उनका ससुरा । त्यसैले समाजबाट पनि उनलाई केही सहयोग भएन, तर गुनासो छैन उनलाई । कहिलेकाही त सासुले कुटपिट पनि गर्थिन् । त्यो बेलामा साथ दिने पनि कोही हुन्नथ्यो उनलाई । देवरले अलिअलि साथ दिन्थे, तर कुटेको समयमा भने ‘‘भाउजुलाई साथ दिए आमाले नराम्रो मान्नुहुन्छ, आमालाई साथ दिने ठाउँ नै छै, त्यसैले म केही बोल्दिन ।’ भनेर भन्ने गर्थे रे । कमला भन्छिन् – ‘‘देवरसंग त अहिले पनि राम्रो सम्बन्ध छ, कहिलेकाही फोनमा कुरा पनि हुन्छ ।’’

करीब ९ वर्षसम्म त श्रीमानको वेवास्ता तथा घरपरिवारले दिएको कष्ट सहेर बसिन् । एक दिन जब घरबाट माइत जान्छु भनेर श्रीमानलाई सोधिन्, त्यसपछि श्रीमानको जवाफले उनलाई फेरी त्यो घरमा फर्किएर जान कमलाको मनले मानेन । ‘‘मैले माइत जान्छु भनेर सोधेकी थिए, तर उसले त १५ दिनमा घर आउने भए आउनु, नत्र त्यतै बस्नु भन्ने जवाफ दिए, त्यसपछि म त्यो घरमा फर्किर गइन ।’’ उनी भन्छिन् ।

जस्तो भएपनि माइतीमा उनलाई सबैले साथ दिन्थे । घर छोडेर माइती आएपछि किन आएको भनेर आमाबाबा तथा दाजुभाई र दिदीबहिनीले उनलाई कहिले पनि सोधेनन् । कमला भन्छिन् – ‘‘मेरा माइतीले मलाई साथ दिए र अहिले पनि दिन्छन्, यसमा म कृतज्ञ छु ।’’ घर छोडेर आएपछि करीब साढे १ वर्ष माइतीमा नै बसिन् । तर पछि उनलाई आफैले केही गर्नुपर्छ भन्ने लाग्यो र भाइलाई भनेर पोखरा आइन् ।

पोखरा आइसकेपछि उनले सिलाई–कटिङ्ग तथा मानवअधिकार सम्बन्धि तालिम लिइन् उनले । त्यसपछि उनलाई अवसरका ढोकाहरु खुल्न थाल्यो, विभिन्न अवसरहरु पाउन थालिन् । तालिमहरु लिन थालेपछि उनमा आत्मविश्वास आउन थाल्यो र उनले पोखरा कै एउटा धुप बनाउने कम्पनीमा काम गर्न सुरु गरिन् । काम सुरु गरे पनि निरन्तरता भने भएन । जब राजपरिवारको हत्या भयो, त्यो बेला उनीहरुलाई बिदा दिइएन, आफैँ साथी–साथी मिलेर ५ दिन बिदा बसेर काम गर्न जाँदा काम छैन भनिदियो कम्पनीले ।

त्यसपछि उनले आम्दानी गर्ने बाटोहरु बन्द भए । भाइकोमा बसेपनि उनलाई बोझ भएर बाँच्नु थिएन । एक दिन बाटोमा हिडिरहेको समयमा तरकारी बेच्नेहरुलाई देखिन् उनले । त्यही क्रममा सबैसंग तरकारी कसरी बिक्री गर्नुहुन्छ भनेर सोधिन्, तरकारी कहाँबाट ल्याएर कसरी कुन भाउमा बिक्री गर्ने भन्ने बारेमा जानकारी लिइन् । ‘‘सुरुमा मैले तरकारी बिक्री गर्छुभन्दा कसैले पनि विश्वास गर्नु भएन, मैले २ किलो तरकारी बिक्री गरेर व्यवसाय सुरु गरेका थिए, त्यो काम ३ वर्षसम्म गरेको हुँ ।’’ उनी भन्छिन् । त्यसपछि मात्र उनले आफ्नै किराना पसल सञ्चालन गरेकी हुन् । अहिले त्यहीबाट आफ्नो गुजारा चलाउँदै आएकी छिन् उनले । जिन्दगीको हरेक पाइलामा ठेस लागेपनि माइतीको सहयोगमा उनले अहिले स्वतन्त्र भएर आत्मनिर्भर बनेकी छिन् । श्रीमानको घरतर्फबाट उनलाई केही आशा तथा सहयोग छैन ।

अंश पाउँछु भन्ने पनि थाहा छ कमलालाई, तर अशं दावी गरेकी छैनन् । दाइजो कै कारण उनले वर्षौँसम्म श्रीमान तथा परिवारबाट दुख पीडा उनले भोग्नुप¥यो । यहाँसम्म आएर आत्मनिर्भर बन्छु र आफ्नो लागि आफै केही गर्छु भन्ने कल्पना सम्म थिएन उनलाई । अहिले एक्लै छिन्, स्वतन्त्र छिन् र आत्मनिर्भर छिन्, सबैभन्दा ठुलो कुरा यसैलाई मान्छिन् कमला । कमलाको आत्मनिर्भरता र आत्मविश्वासमा सबैलाई गर्व छ अहिले । अहिले उनको सबैलाई सुझाव छ – ‘‘छोरीलाई बिहेमा दाइजो होइन शिक्षा प्रदान गरेर आत्मनिर्भर बनाउनुस् ताकि अब दाइजो कै कारण अन्य महिलाहरुले पनि मैले जस्तै पीडा भोग्न नपरोस् र ज्यान गुमाउनुपरेको समाचार फेरी सुन्न नपरोस् ।’’

३० फाल्गुन २०७५, बिहीबार २३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..