पुस्तक समीक्षाः ‘ह्युमन राइट्स ह्युमन रङ्स’

तीर्थ भट्टराई, काठमाडौँ, २७ मङ्सिर । कूटनीतिज्ञ शम्भूराम सिंखडाले मानवअधिकारको क्षेत्रमा आफ्नो कूटनीतिक जीवनमा सम्हालेका कार्यभार र सँगालेका अनुभवबारे एक महत्वपूर्ण पुस्तक बजारमा ल्याउनुभएको छ । ‘ह्युमन राइट्सः ह्युमन रङ्स’ (मानवअधिकार, मानवीय दोष, मानव चेतनाको कसीमा) नाम दिइएको अङ्ग्रेजी भाषामा लेखिएको सो पुस्तक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार विमोचन गर्नुभएको हो ।

संयुक्त राष्ट्र सङ्घ र अन्य निकायहरूका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत रहिसक्नुभएका तथा १५ वर्षको कूटनीतिक जीवनको अनुभव सँगाल्नुभएका सिंखडाले सन् २०००–२००१ मा संयुक्त राष्ट्र सङ्घको मानवअधिकार आयोगको ५६औँ सत्रको अध्यक्षता गर्नुभएको थियो । उहाँ एशियाली राष्ट्रको समूहले अध्यक्षमा प्रस्ताव गरी सर्वसम्मत हुनुभएको थियो । सो बखत संसारभरिकै मानवअधिकार आयोगहरूले उहाँसमक्ष नै मानवअधिकार प्रतिवेदन पेश गर्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले अध्यक्षता गर्नुभएको मानवअधिकार आयोगको प्रथम अध्यक्ष सन् १९४६ मा अमेरिकाकी श्रीमती इलिनोर रुजवेल्ट हुनुहुन्थ्यो । उहाँ प्रथमदेखि छैटौँ सत्रसम्म लगातार अध्यक्ष बन्नुभएको थियो ।

सिंखडाले भने सो जिम्मेवारी सन् २००० मा आयरल्याण्डकी एन्नी एण्डरसनबाट प्राप्त गरी सन् २००१ मा अर्जेन्टिनाका लिएन्डो डिस्पोइलाई हस्तान्तरण गर्नुभएको थियो । नेपालजस्तो सानो मुलुकले संयुक्त राष्ट्रसङ्घको त्यति ठूलो आयोगको अध्यक्षता गर्न पाउनु ठूलो सौभाग्यको कुरा भएको उहाँ बताउनुहुन्छ । उहाँले सो बखत अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा मानवअधिकारको अवस्थाबारे विशेष छलफलको अध्यक्षता पनि गर्नुभएको थियो ।

मानवअधिकार आयोगको सत्रको अध्यक्षता निकै चुनौतीपूर्ण भएको र यसमा निष्पक्षता चाहिने उहाँ बताउनुहुन्छ । कसैको पक्ष नलिँदा सो अध्यक्षतापछि धेरै कम मात्र साथी बाँकी रहने उहाँका पूर्ववर्तीहरूले बताउनुभएको उहाँ स्मरण गर्नुहुन्छ ।

सो बखत आफूले गरेका काम र पूरा गरेका जिम्मेवारीबाट द्वन्द्वमा परेका बालबालिकाको अधिकार, महिला अधिकार तथा गरीबी र मानवअधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा भएका काममा उहाँ गौरव गर्नुहुन्छ । सो बखत आफूले निर्वाह गरेको कुशल भूमिकाबाट पछि संयुक्त राष्ट्रसङ्घको सहायक महासचिवजस्तो उच्च पदमा पुग्न सफल कुलचन्द्र गौतमले उहाँलाई भेट नभए पनि इमेल पठाउनु भई ‘म तपाईंले गरेका काम टाढैबाट नियालिरहेको छु र तपार्इंले हामी नेपालीलाई गौरव गर्ने अवसर दिनुभएको छ,’ भनेकोबाट आफ्नो भूमिकाको कसै न कसैले मूल्याङ्कन गरिरहेको र नेपालीलाई गौरव गर्न लायक काम भएकामा सन्तोष व्यक्त गर्नुहुन्छ ।

उहाँले पुस्तकमा मानवअधिकारको ऐतिहासिक परिप्रेक्ष्य र वर्तमान विकासक्रम, संरासं मानवअधिकार आयोगको ५६औँ सत्र, आयोगको पाँचौँ विशेष सत्र, विश्वव्यापी मानवअधिकार एजेण्डामा उठिरहेको मुद्दा आदिबारे सविस्तार व्याख्या गर्नुभएको छ ।

पुस्तकमा मानवअधिकारको विश्वव्यापी घोषणा पनि समावेश गरिएको छ भने संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव कोफी अन्नानले आयोगको ५५औँ सत्रमा दिनुभएको वक्तव्य पनि समावेश छ । पुस्तकमा मानवअधिकार आयोगको व्यक्तिहरूको नामसमेत उल्लेख छ ।

पुस्तकमा उहाँले जेनेभामा कार्यभार सम्हालेका बखतका राष्ट्रसङ्घका महासचिव कोफी अन्नानसँगै बैठकको अध्यक्षता गरिरहँदाका ऐतिहासिक तस्बीरहरूसमेत समाविष्ट गर्नुभएको छ ।

प्राचीन हिन्दू ग्रन्थहरूमा ‘वसुधैव कुटुम्बकम्’ उल्लेख हुनुको अर्थ सो बखत सबैलाई समान आदर गरिनुपर्ने दर्शन रहेको र हिन्दू र बौद्व धर्ममा धर्मको अर्थ सेवा र अरूलाई हानि नगर्ने हुनु पनि मानवअधिकारकै शुरुआतको अर्थमा लिनुभएको छ ।

यसैगरी सर्वप्राचीन इपू १७८० को हम्मुरावी कोडले पनि मानवअधिकारको अर्थमा बलियाले निर्धालाई हानि–नोक्सानी गर्न नहुने विचार निहित रहेको पुस्तकमा उहाँ उल्लेख गर्नुहुन्छ ।

आधुनिक युगमा सन् १२१५ को म्याग्नाकार्टा, सन् १६८९ को इङ्लिस विल अफ राइट्स, सन् १७७६ को भर्जिनिया घोषणा, सन् १७८९ को फ्रेन्च घोषणा र सोही वर्ष भएको अमेरिकी विल अफ राइट्स मानवअधिकारकै विकासक्रम रहेको पुस्तकमा उल्लेख छ ।

पछि संयुक्त राष्ट्रसङ्घले आफ्नो बडापत्रको धारा १ र ५५ मा मानवअधिकारलाई उल्लेख गरेपछि सन् १९४६ मा मानवअधिकार आयोग स्थापित भयो भने सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषणा आएको इतिहास पुस्तकमा उल्लेख छ । सोही आयोग सन् २००६ मा मानवअधिकार परिषद्मा परिणत भएको थियो ।

मानवअधिकारको अभावमा २०औँँ शताब्दीमा विभिन्न युद्व, आमहत्या, जातिहत्या र युद्घ अपराधका कारण धेरैले ज्यान गुमाउनु परेको र अझै पनि धेरैले रोग, अन्याय र अज्ञानतामा जीवन बिताइरहनु परेको पुस्तकमा उहाँ उल्लेख गर्नुहुन्छ । उहाँ शीतयुद्घ समाप्त भएर बर्लिन पर्खाल ढले पनि अन्य कैयौँ युद्घ शुरु भएका र अन्य पर्खालहरू बन्न थालेका पनि पुस्तकमा उल्लेख गर्नुहुन्छ । जे भए पनि मानवअधिकार घोषणा भने संयुक्त राष्ट्रसङ्घको मानवअधिकार आयोगले हामी मानव जातिलाई दिएको सर्वोत्तम उपहार भएको उहाँको भनाइ छ ।

समग्रमा पुस्तक मानवअधिकारको क्षेत्रमा संरासंले गरेका कामकारवाही, मानवअधिकार आयोगदेखि हाल मानवअधिकार परिषद्सम्म बन्दाका विकास तथा विश्वभर मानवअधिकार उल्लङ्घनका घटनामा कसरी त्रुटिहरू भए भन्ने बारे व्याख्या गरिएको छ । पुस्तक मानवअधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी, अन्तर्राष्ट्रिय कूटनीति तथा सम्बन्धमा जानकारी राख्न चाहने जिज्ञासुलगायत मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीलाई उपयोगी हुने देखिन्छ ।

पुस्तक केडब्ल्यु पब्लिसर्स, नयाँ दिल्लीले प्रकाशन गरेको हो भने २०३ पृष्ठको सो पुस्तकको मूल्य भा रु ६८० रहेको छ । रासस

२७ मंसिर २०७५, बिहीबार २३:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..