काँग्रेस भित्रको अन्तरविरोध, देउवाको असफलता र कोइराला समुहको भूमिका

स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनको लज्जास्पद पराजयले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको हैसियत निकै खस्कन पुग्यो । सङ्घीय संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा उसको दोस्रो स्थान रहे पनि स्थानको हिसाबले ऊ धेरै नै कमजोर भयो । सरकार बलियो रहेकोले लुरे प्रतिपक्षीको आवाज सुनिने सम्भावना अत्यन्त क्षीण रहेको महसुस गरिएकोमा सरकारका कामकारबाही जसरी अघि बढिरहेका छन् त्यसले पनि यसको पुष्टि भएकै छ ।

काङ्ग्रेसमा निर्वाचनमा अनपेक्षित पराजयको लागि दोषी को भन्ने विषय अझै जारी नै छ । एकथरी सभापति शेरबहादुर देउवालाई सम्पूर्ण दोषको जिम्मेवार ठान्दछन्, अर्काथरी पराजयका लागि सबैलाई समान दोषी ठान्दछन् । जे होस् काङ्ग्रेसको पराजय साङ्गठनिक कमजोरी तथा आन्तरिक गुटबन्दीकै परिणाम हो भन्नेमा कुनै दुईमत हुन सक्दैन ।

काङ्ग्रेसले आफूमा सुधारको आवश्यकता निकै अघिदेखि महसुस गर्नुपर्नेमा त्यसो गर्न नसकेको र सुधारका कुरा कुरैमा मात्र सीमित रहेको कारण निर्वाचनमा यस किसिमको पराजय भएकोमा पनि दुईमत हुन सक्दैन । तर, प्राप्त गरेको मतसङ्ख्यालाई हेर्दा र त्यस आधारमा काङ्ग्रेस गयो, सिद्धियो, खत्तमै भयो, भन्ने जुन ढङ्गमा, खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबाटै अभिव्यक्ति आइरहेको छ त्योचाहिँ वाहियात हो । काङ्ग्रेससँग जनाधार छ र सङ्गठनलाई सुदृढ बनाउने हो भने पुनः माथि उठ्न लामो समय लाग्दैन ।

लोकतन्त्रकै लागि पनि काङ्ग्रेसले गुमेको हैसियत प्राप्त गर्नु जरुरी छ । यो मुलुकको आवश्यकता हो । विश्व परिवेश तथा आन्तरिक परिस्थिति आदिका कारण पनि तत्काल दायाँबायाँ गर्न नसके पनि वाम शक्तिहरूले कतिखेर कुन बाटो लिने हुन् अनुमान गर्न कठिन हुने अर्थात् विश्वसनीयताको सङ्कट हुने सन्दर्भमा काङ्ग्रेसले आफूलाई सशक्त रूपमा अगाडि ल्याउन नसकेसम्म लोकतन्त्र दिगो हुनेमा आशङ्का रहन्छ । सत्ता सुखको स्वाद पटकपटक लिएका र व्यक्तिगत स्वार्थमा लुटपुटिने हाम्रा वामहरू आवरणका मात्र वाम हुन् व्यवहारमा होइनन् भन्ने प्रस्टै भएको सन्दर्भ तथा लोकतन्त्रको बुई चढेर, लोकतन्त्रलाई मागीखाने ठगीखाने भाँडो बनाएर लोकतन्त्रकै बद्नाम गर्न सक्ने सम्भावना भएकाले पनि लोकतान्त्रिक शक्तिको रूपमा काङ्ग्रेसले आफूलाई सशक्त बनाउनैपर्छ । तर, यसका लागि सर्वप्रथम काङ्ग्रेसभित्रैको भावनात्मक एकता एवम् सैद्धान्तिक तथा वैचारिक स्पष्टताको आवश्यकता छ । यसै सन्दर्भमा विधान संशोधन तथा महासमिति बैठक आदिको चर्चा चलिरहेको सन्दर्भमा आसन्न बैठकले यस्ता विषयमा ठोस निर्णय लिन सक्नुपर्छ ।

निश्चय नै हरेक कुराका लागि धेरै जिम्मेवार नेतृत्व नै हुन्छ । तर, दोष सम्पूर्ण रूपमा नेतृत्वलाई दिएर मात्र हुँदैन । तल्लो तहकाले यस्तो सोच राखे पनि माथिल्लो तहमा रहेका नेताहरूले त झन् यसो गर्नै हुँदैन । पछिल्लो समय पुरानो संस्थापन पुनः सङ्गठित हुन लागेको र वर्तमान संस्थापन पक्षलाई चुनौती दिने तयारी गरिरहेको भन्नेजस्ता समाचारहरू आइरहेका छन् । यसलाई स्वागतयोग्य मान्नुपर्छ । सहमति, सहकार्य र एकताको नारा लगाउँदै मुलुकको राजनीतिलाई वर्तमानसम्म ल्याएको काङ्ग्रेस आफैँभित्रको बेमेल, अविश्वास र आशङ्काको कारण कमजोर भएको सन्दर्भमा यो यथार्थलाई आत्मसात् गरी एकताबद्ध हुने प्रयास गरिनुपर्छ ।

हालै विजय गच्छदारलाई पार्टीको उपसभापति बनाइएपछि असन्तुष्ट पक्षबाट सभापति देउवाको तीव्र विरोध भएको छ । यसैपछि पुरानो संस्थापन भनिनेहरू एकै ठाउँमा पुगेका छन् । यो एउटा राम्रो सङ्केत हो । तर, यो जुटाई कसैका विरुद्ध वा कसैको व्यक्तिगत स्वार्थलक्षित होइन, नेपाली काङ्ग्रेसको समग्र सङ्गठनको सशक्तीकरण र सुधारका लागि हुनुपर्छ । काङ्ग्रेसलाई पुनर्जीवन दिलाउने जिम्मेवारी साझा भएकाले यसतर्फ सबैको ध्यान पुग्नुपर्छ ।

यो आन्तरिक विवादलाई लिएर सडकमा उफ्रने वा रडाको मच्चाउने र तमासा देखाउने समय होइन । तमासा भइसकेको काङ्ग्रेसले अब धेरै तमासा देखाउनुको औचित्य र आवश्यकता छैन । यो त गम्भीर भई कमीकमजोरीका केस्राकेस्रा कोट्याउने र सङ्गठनलाई तलैदेखि सुधार गर्दै अगाडि बढ्ने समय हो । असन्तुष्ट सबैलाई सहमतिमा ल्याउनु अहिलेको आवश्यकता हो । काङ्ग्रेसले यसतर्फ सोच्नुपर्छ । देउवा, पौडेल, सिटौला वा कोइराला बन्धुहरू र अरू कसैका बारेमा र विषयमा वा कसैका पक्ष र विपक्षमा छलफल गर्ने होइन, काङ्ग्रेसलाई एकढिक्का बनाउन सक्ने सक्षम नेतृत्वको खोजी गर्ने समय हो । यसैले अबका भेला यिनै उद्देश्यका लागि हुनुपर्छ । रणनीतिक तथा साङ्गठनिक विषयमा छलफल गरेर ठोस निर्णय लिई अघि बढ्नुपर्नेमा काङ्ग्रेस आफैँमा आन्तरिक किचलोमा बल्झिइरहनु विडम्बनाको विषय हो । यस्ता अलमलबाट मुक्त हुनुपर्छ ।

जहाँसम्म सरकारको कुरा हो, बलियो भएर पनि सरकार निरीह देखिएको छ । जनजीविकासँग सम्बन्धित विषयमा आवश्यक कार्यहरू गर्न नसक्दा जनतामा चरम निराशा छाएको छ । सरकारको पक्षमा रहेकाहरू नै क्रमशः विपक्षमा देखिन थालेका छन् । मतदाता निराश हुन थालेका छन् । एकता भनिएपछि वास्तविक एकता हुनै बाँकी रहेको पछिल्ला घटनाक्रमले देखाएका छन् । यी सबै कुरालाई हेर्दा काङ्ग्रेसले सत्ता पक्षको विरोध गर्न थुप्रै सामग्री पाएको छ । यस्तो अवस्थामा काङ्ग्रेस हतारिनु, छटपटिनुहुँदैन । परिस्थिति हेरी ठोस निर्णय लिन र ठोस कदम चाल्न चुक्नुहुँदैन । काङ्ग्रेस यति वास्तविक लोकतान्त्रिक शक्ति हो भने उसले आफूलाई लोकतान्त्रिक प्रक्रियाबाटै अघि बढाउनुपर्छ । अन्यथा काङ्ग्रेस झन् कमजोर हुने, छिन्नभिन्न हुने र यसले लोकतन्त्रविरोधी शक्तिहरूलाई अझ प्रोत्साहित गराउनेछ ।

काङ्ग्रेसमा छटपटी अवश्य छ, पटकपटक सत्तामा पुगेको र लामो समय सत्तामा बसेकाले पनि यसका नेताहरूलाई सत्ताबाहिर रहनुपर्दा असहज महसुस भएको हुन सक्छ, तर यो आन्तरिक सुधारको लागि अवसर हो भन्ने बुझी सोहीअनुसार गर्न सके फेरि पनि सत्तामा पुग्ने सम्भावना जीवितै छ । यो कुरा काङ्ग्रेसजनले बुझ्नु जरुरी छ । छटपटी सत्ताका लागि होइन, आन्तरिक सुधारका लागि हुनुपर्छ । सङ्गठन सुदृढीकरणका लागि हुनुपर्छ ।

(लेखक विनोद नेपाल काँग्रेस निकट राजनीतिक चिन्तक हुनुहुन्छ)

२८ कार्तिक २०७५, बुधबार २२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..