प्रचण्डको डेष्टिनेसन: -देव प्रकाश त्रिपाठी

विक्रमसम्वत् २०६५ को भदौ महिनामा प्रधानमन्त्री भएर देशको कार्यकारी प्रमुखका रुपमा सिंहदरवार प्रवेश गर्दा प्रचण्डले सायद आगामी केही दशकको निम्ति सिंहदरवार आफ्नै बनेको महसूस गरेका थिए । कैयनलाई थाहा नहुन सक्छ– प्रचण्ड आफूबराबर योग्य र क्षमतावान कसैलाई देख्दैनन्, त्यसैले मुलुकको सर्वाधिकारसम्पन्न सर्वोच्च पदको वास्तविक हकदार पनि आफैं भएको उनको ठम्याई छ । पार्टीको सातौं विस्तारित बैठकमा कार्यकर्ताहरूबाट तीव्र असन्तुष्टि प्रकट भएपछि उनले वैद्यजीहरूबाट देवत्वकरण गरिएकोले आफूमा केही भ्रमहरू विकास भएको अभिव्यक्ति दिए, तर यसप्रकारका विरोध या अवरोधसँग डराउने खालका मानिस यी प्रचण्ड होइनन् । बरु भविष्यमा विरोध र अवरोधहरूलाई सदाका निम्ति कसरी पाखा लगाउन सकिन्छ भन्नेतर्फ अब उनको ध्यान केन्द्रित रहने छ । बिरोध या अवरोधलाई आफू सच्चिने अवसरका रुपमा प्रयोग गर्ने स्वभाव–चरित्रका मािनस प्रचण्ड होइनन् । आफ्नो विरुद्धमा रहेकाहरूलाई सिध्याउने उचित मौकाको प्रतीक्षामा रहने उनको स्वभाव हो । सातौं विस्तारित बैठकका क्रममा भृकुटीमण्डपमा प्रचण्डले जे–जस्ता चुनौतिहरूको सामना गर्नुपर्‍यो, त्यसले उनलाई निश्चय नै क्रुद्ध, क्षुब्ध र बदलाको भावनाले ग्रस्त तुल्याएको छ । यस प्रकरणबाट पार्टीलाई पारदर्शी एवम् प्रजातान्त्रिक ढाँचाबाट संचालन गर्ने पे्ररणा लिनुपर्नेमा प्रचण्डले आफूलाई ‘सर्वशक्तिमान कमाण्डर’ बनाउने तत्परता लिएबाट पनि उनको नियतबारे स्पष्ट हुन सकिन्छ ।
कुनै समय वैद्यजीहरूबाट देवत्वकरण गरिएका कारण आफूमा भ्रम उत्पन्न भएको बताएर प्रचण्डले आफूलाई मानिसका रुपमा कायम राख्ने होइन फेरि पनि देवत्वकरण नै गर्ने नयाँ पक्रियाको थालनी गरेका छन् । विस्तारित बैठकबाट आफूमा उपलब्ध सर्वाधिकारलाई प्रचण्डले केवल आफ्नै हितमा मात्र प्रयोग गर्नेछन् भन्ने कुरा प्रमाणित हुन थप छ महिना प्रतीक्षा गर्नुपर्ने छैन ।
राजनीतिमा अनेकथरी मानिस हुन्छन्, तीमध्ये दुईथरि प्रमुख मानिन्छन्– एकथरी मानिसको गन्तव्य नै शक्ति, सत्ता अर्थात् पद हुने गर्दछ भने अर्काथरिको चाहिँ राष्ट्रिय हित गन्तव्य हुन्छ र उक्त गन्तव्य हासिल गर्ने साधनका रुपमा पदलाई ग्रहण गर्ने सोच उनीहरूमा हुन्छ । नेपालमा हालसम्म कार्यकारी प्रमुखको हैसियतमा रहेकाहरूमध्ये पृथ्वीनारायण शाह, बहादुर शाह, जङ्गबहादुर राणा, देवशमशेर राणा, बीपी कोइराला र राजा महेन्द्रले मात्र राष्ट्र र जनताको हितमा आफ्नो सार्वजनिक पदीय हैसियतलाई उपयोग गरेको देखिन्छ । नेपालको इतिहासका पैंतिस प्रधानमन्त्रीमध्ये जङ्गबहादुर, देवशमशेर र बीपी कोइरालाले मात्र आफू राष्ट्रहितको निम्ति सत्तासीन भएको पुष्टि गरेका छन् । अरूहरूमध्ये सबैजसोले प्रधानमन्त्री बन्ने रहर मात्र पूरा गरेका हुन् । प्रचण्डले हिंसात्मक युद्धको अगुवाइ गरिरहँदा यिनी साँच्चै देश र जनताप्रति समर्पित व्यक्ति हुन् कि भन्ने भ्रम धेरै नेपालीमा परेको थियो । खुला राजनीतिमा आएपछि प्रचण्ड धेरै राम्ररी ‘एक्स्पोज’ भएका छन् । पद प्राप्तिसम्म पुग्न बुद्धि, चातुर्य र क्षमता भएको तर देश निर्माणको क्षमता ठ्याम्मै नभएको नेताको छवि प्रचण्डले बनाएका छन् । बरु अहिलेसम्म सुखद परिणामका सङ्केतहरू नदेखिएका भए पनि देश बनाउने क्षमताचाहिँ बाबुराम भट्टराईमा भएको ठानिँदैछ । भट्टराईको साधारण जीवनशैलीले पनि जनसाधारणलाई आकृष्ट गरेको हो । तर प्रचण्डले खुला राजनीतिमा आउनेवित्तिकै सर्वहाराको नभई राजा–महाराजाको जीवनशैली रोजे । प्रचण्डको बसाइ, हिँडाइ र खुवाइको समष्टि राजा–महाराजकोभन्दा कुनै पनि अर्थमा कम देखिएन । हुन त कुनै पनि मुलुकमा विद्रोहका नाइकेहरूले देश निर्माणमा योगदान पुर्‍याउन सकेको देखिन्न । लेनिन, स्टालीन, किम इल सुङ, माओ त्से तुङ, फिडेल क्यास्त्रो, रोवर्ट मुगावे, होचि मिन्हजस्ता विद्रोही नेताहरू कसैले पनि ली क्वान यू, मोहम्मद महाथीर र देङ्ग सियाओ पिङ्गको जस्तो क्षमता देखाउन सकेनन् । प्रचण्डमा पनि विद्रोह र विध्वंश गर्नसक्ने क्षमता पर्याप्त रहेको पुष्टि भइसकेको छ, तर सिर्जना र निर्माणको मामिलामा भने उनी शुन्यबराबर देखिए । नेकपा एमालेले २०५१ सालमा एकमना सरकार बनाउन पाउँदा उसले नौ महिनामा ‘केही’ गरेर देखाएको हो, जसको ब्याज एमाले आजसम्म खाँदैछ । प्रचण्डले पनि नौ महिना सरकार सञ्चालनको मौका पाएका हुन्, उनको कार्यकालमा के–के भयो भनेर खोजी गर्दा कुनै रचनात्मक र सकारात्मक कार्य भएको प्रमाण भेटिन्न । तत्कालिक प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बलजफ्ती अवकाश दिन खोजेको र ‘बुमर्‍याङ’ भएर आफैं पद छोडेर भाग्नुपरेको घटनाबाहेक प्रचण्डकालको स्मरणयोग्य अर्को कुनै सन्दर्भ रहेको ठानिँदैन । प्रचण्डका सोच, स्वभाव, कार्यशैली र व्यवहारको अध्ययन गर्दा उनमा आत्मकेन्द्रित र अधिनायकवादी चिन्तन सर्वाधिक देखिन्छ । विगत तेइस वर्षदेखि पार्टीमा जसरी उनले ‘सर्वसत्तावाद’को प्रयोग गर्दै आएका छन्, मौका मिल्यो भने देशको अधिनायकत्व पनि सोही रुपमा प्रयोग गर्ने नियत प्रचण्डमा देखिएको छ । प्रचण्डको ‘डेस्टिनेसन’ भनेकै सत्ताको सर्वेसर्वा बन्नु हो, जुन अब उनका निम्ति दुरुह बन्दै गएको छ । अति महत्वाकाङ्क्षी मानिसहरू कहिल्यै स्थिर रहन सक्दैनन् । सबभन्दा अगाडि पुग्ने उग्र चाहनाले तिनलाई कहिल्यै स्थिर रहन दिँदैन । त्यस्ता मानिसहरूमा धैर्यको कमी हुन्छ, उनीहरू आफ्नै जीवनकालमा सबै प्रकारका उपलब्धि हासिल गर्न चाहन्छन् । जसका कारण तिनले कुनै नियम, कानुन, मूल्य–मान्यता र मर्यादाको हेक्का राख्दैनन् र तिनमा धैर्यको पनि कमी हुन्छ । यसर्थ प्रचण्डमा देखिने चञ्चलता उनमा निहित महत्वकाङ्क्षाकै कारणले हो भन्न सकिन्छ ।
बाह्रबुँदे सम्झौतादेखि कटवाल प्रकरणसम्म आइपुग्दा प्रचण्डमा पूर्ण आत्मविश्वास थियो । २०६६ वैशाखमा प्रधानमन्त्री पदबाट बाध्यतावस राजिनामा दिँदा पनि उनमा आत्मविश्वासको कमी थिएन । ‘मलाई बाहिर राखेर सरकार चलाउने हिम्मत कसले गर्दोरहेछ हेरौँ’ भन्ने तातो मनोभाव प्रचण्डमा थियो । त्यति मात्र होइन पद त्यागेको पन्ध्र–बीस दिनमै पुनः प्रधानमन्त्री बन्ने विश्वास उनलाई थियो । निकटवर्तीहरूसँगको अनौपचारिक भेटघाटहरूमा प्रचण्ड प्रन्ध दिनभित्रै आफू प्रधानमन्त्री बन्ने विश्वासका साथ बताउने पनि गर्दथे । त्यसबेला (०६६ जेठको पहिलो साता) यस पङ्क्तिकारसँगको भेटमा पनि प्रचण्डले आफू पन्ध्र दिनभित्रै प्रधानमन्त्री बन्ने बताएका थिए । ‘अब तपाईं कहिल्यै पनि प्रधानमन्त्री बन्न सक्नुहुन्न’ भनी जवाफ फर्काउँदा उनको भनाइ थियो– ‘अब म राष्ट्रिय सहमतिको सरकारको नारा दिन्छु र त्यस्तो सरकारको नेतृत्व लिन्छु ।’ हामीले जवाफमा ‘तपाईंले दिने सहमतिको नारा बिक्री चाहिँ हुन्छ तर तपाईं प्रधानमन्त्री बन्न सक्नुहुन्न’ भन्दा प्रचण्डलाई विश्वास लागेको थिएन । आत्मविश्वास र महत्वकाङ्क्षाले भरिएका प्रचण्ड माधव नेपालको नेतृत्वमा सरकार बन्न नसक्ने र कदाचित बनिहाले पनि महिना दिन चल्न नसक्ने ठान्थे । तर उनको विश्वासले धोका खायो, माधव नेतृत्वको सरकार डेढ वर्ष बढि चल्यो । माधव सरकारविरुद्ध काठमाडौंमा लाखौं जनता उतार्ने र घेराबन्दी गरेर राजिनामा दिन बाध्य तुल्याउने योजना प्रचण्डले बनाएका थिए । उनको त्यो योजना असफल भयो । रामचन्द्र पौडेल र झलनाथ खनालसँगै प्रतिस्पर्धामा उत्रिएका प्रचण्डले प्रधानमन्त्रीको चुनावमा सातौं पटकसम्म प्रतिस्पर्धा गर्दा पनि सफलता प्राप्त गर्न सकेनन् । यस घटनाले पनि प्रचण्डलाई नराम्रो धक्का पुर्‍याएको थियो । अहिले माओवादी पार्टीमा विभाजन आइसकेको छ र विभाजनपछि आफ्नो हिस्सामा रहेको समूहभित्र पनि एक मन एकताको वातावरण नभएको प्रमाण सातौं विस्तारित बैठकले दिएको छ । विभाजित पार्टीको अध्यक्ष पदमा रहिरहन पनि प्रचण्डलाई मुस्किल देखिँदैछ । त्यसैले आगामी माघमा गर्ने भनिएको महाधिवेशन पनि कुनै बहानाबाजी गरी स्थगित गरियो भने आश्चर्य हुने छैन । पार्टीभित्रका पृथक विचार समूह अलग्गिएपछि प्रचण्डले आफ्नै पार्टीभित्र जुन प्रकारका चुनौतिहरूको सामना गर्नु परिरहेको छ यसले प्रचण्डको भविष्य सीपी मैनालीकोभन्दा फरक नहुने यथार्थको सङ्केत गर्दैछ । तर प्रचण्डमा सीपी मैनालीझैँ लघु समूहको प्रमुख भएर बस्न सक्ने धैर्य देखिँदैन । त्यस्तो अवस्थामा प्रचण्ड कुनै न कुनै अत्तो थाप्दै पुनः हिंसात्मक सङ्घर्षमा फर्कन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । कारणवस उनी हिंसात्मक सङ्घर्षमा फर्केनन् भने उनी राजनीतिबाटै सन्यास लिइ पलायन भइजान सक्छन् । ‘यस्तो’ प्रवृत्तिका मानिसले आत्महत्या गर्ने सम्भावना ज्यादै कम मात्र हुन्छ, बरु योगी–सन्यासी बनेर आफूप्रति संसारको ध्यानाकर्षण गर्ने प्रयास यिनीबाट हुनसक्छ । त्यसबेलासम्म प्रचण्डको मानसिक सन्तुलन कायम रह्यो र राजनीतिमा दुर्वल हैसियत भयो भने यिनले समाउने बाटो सन्यासकै हो । सन्यास लिएनन् र पार्टी पनि कमजोर भयो भने उनी हिँड्ने बाटो हिंसात्मक नै हो । लडाकुलाई पुनर्संगठित गर्नु र सबै लडाकुलाई समायोजनमा नलगी रकम लिएर पुनःस्थापनामा लैजानेजस्ता सोचले प्रचण्ड कुनै पनि निहुँमा कुनै पनि दिन हिंसात्मक बाटो लाग्नुपर्छ भन्ने सोचमा रहेको स्पष्ट गर्दछ । प्रचण्डले सन्यास लिएनन् र हिंसात्मक मार्ग पनि अवलम्वन गरेनन्, तर उनको पार्टी दुर्बल भयो भने उनीमाथि सुरक्षा खतरा बढेर जाने देखिन्छ । उनका कारण हजारौँ नरनारीले ज्यान गुमाएका छन्, हज्जारौँको अङ्गभङ्ग भएको छ, लाखौं नागरिक घरबारविहीन भएका छन् । त्यस्ता मानिसमा प्रचण्डप्रति बदलाको भावना छँदैछैन भन्न सकिन्न । प्रचण्ड कमजोर र उनको पार्टी दुर्वल भएको अवस्थामा प्रचण्डसँग बदला लिन चाहनेहरूको मनोबल बढ्ने छ । प्रचण्डका कारण देशको आर्थिक–सामाजिक अवस्था चौपट्ट भएको, मुलुकको सार्वभौमिक स्वतन्त्रतामा क्षति पुगेको र जातीय एवम् क्षेत्रिय सद्भाव र एकतामा गम्भीर किसिमले आँच पुगेको निष्कर्ष निकाल्ने नेपाली समुदायको सङ्ख्या पनि सानो छैन । यसबाहेक हज्जारौं युवालाई नौलो जनवादी क्रान्तिको सपना देखाएर युद्धमा होम्ने प्रचण्डलाई तिनै लडाकुबाट पनि सधैं खतरा रहिरहने देखिन्छ । लडाकुमध्ये पनि कैयनमा बदलाको भावना उत्पन्न हुनसक्छ । त्यसैले आगामी दिनमा प्रचण्डको सुरक्षामा थप खतरा पैदा हुने सम्भवना छ । प्रचण्ड आफूले देशको सर्वशक्तिमान हुनुलाई ‘डेस्टिनेसन’ बनाएका भए पनि नियतिले उनलाई छेकबार लगाउने कार्य सुरु भइसकेको छ । उनको आत्मकेन्द्रित र सुविधाभोगी प्रवृत्तिले जनतामा उनलाई लोकप्रिय हुन दिएन । अब दरबार छोडेर या प्राडो गाडी त्यागेर प्रचण्डको लोकप्रियता पुनःस्थापित हुन सम्भव देखिँदैन । दरबार या प्राडो प्रचण्डले छोडेको नभइ छोड्न बाध्य बनाइएको भन्ने सबैले बुझेका छन् र मौका पाउँदा उनी पुनः पहिलेकै अवस्थामा फर्कने छन् भन्ने जनसाधारणले समेत ठानेका छन् । त्यसैले उनी आफ्नो डेस्टिनेसनमा नपुग्दै नियतिको ‘डेस्टिनेसन’को चपेटामा पर्ने सम्भावना बलियो भएर गएको छ ।

१० श्रावण २०६९, बुधबार ०३:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..