गणतन्त्रले समान व्यवहार र अवसर देओस्

हिमांशु चौधरी, जनकपुरधाम, १४ जेठ ।
चन्दा मामा आ रे आ…..
चानीके बाटीमे दूध – भात लेने आ
बौआके मुँहमे घुटुक …

(मामा चन्द्रमा, छिट्टै आऊ, चाँदीको कचौरामे दूध–भात लिएर आऊ, बाबुको मुखमा घुटुक्क)

गणतान्त्रिक यात्राको सन्दर्भमा प्रदेश नं २ को स्थिति, सफलता, उपलब्धिको विश्लेषण गर्दा माथि उल्लेख गरिएको मैथिली गीत झैँ कारुणिक रहेको अनूभूति आम नागरिकको पाइन्छ । गीतको पृष्ठभूमि र भावको प्रसङ्ग एउटी स्तन सुकेकी आमासँग सम्बन्धित छ । आमाको स्तन सुकेका कारण बच्चालाई स्तनपान गराउन पाइरहेकी छैन, बच्चा रोइरहेको छ, आमालाई बच्चाको रोदन असह्य हुन्छ अनि चन्द्रमासँग गुहार गर्छिन्–ए चन्दा तिमी आऊ, चाँदीको बट्टामा दूध–भात लिएर आऊ, तिमीले ल्याएको दूध भातले बच्चाको भोक पूरा गर्नेछु भनी आशा, वेदना, आतुरता, आकाङ्क्षा रहेको छ । स्तन सुकेकी आमाको काखमा रहेको बच्चा आमाको यही गीत सुन्दासुन्दै निदाउँछ तर आमालाई बच्चा ब्युँझेपछि के होला भनी चिन्ता सताइरहेको हुन्छ ।

यो गीत कुनै नयाँ गीत होइनन्, वर्षौंदेखि सुनिँदै आएको गीत हो, गीतमा विपन्नता, अभाव, वस्तुस्थिति, जीवनस्तर, समाजिक संरचना, परिवेश, क्रन्दन, पीडा, पछौटेपन र जीवनचक्रको यथार्थ छ । प्रदेश नं २ को सन्दर्भमा गणन्त्र यस भूखण्डवासीका लागि सकार रूप भए पनि आर्थिक, सामाजिक, पूर्वाधार विकास, मानव विकासको अवस्थामा सङ्घीय गणतान्त्रिक अनुरूपको चरित्र, संविधान, व्यवहार, अवसर, उपलब्धतामा व्यापक असन्तुष्टि देखिन्छ । प्रदेशवासीको जीवनले खोजेजस्तै नयाँपन र न्यायिकता छैन, केन्द्रीकृत परम्परागत साँघुरो पहिचानको वर्चश्व कायम नै रहेको छ ।

विसं २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनको समाप्ति पछिका संक्रमणकालीन दिनमा राज्यमा देखा परिरहेका अलमल, अस्पष्टता र शक्तिकेन्द्रहरू बीचका तानातान अन्तरिम संविधानको संशोधनमा गणतन्त्र र संघीयताको प्रत्याभूति भएपछि क्रमिक रूपले प्रदेशसम्मको यात्रामा प्रदेशवासीले उठाएका समन्याय र सम विकासको मागको सम्बोधन कसरी हुने र कहिले पूरा हुने हो ? भविष्यकै गर्भमै लुकेको अनुभूति भइरहेका कारण वर्ग, समूह र लिङ्गको सकारात्मक रूपान्तरणको प्रवाह मन्द देखिएको छ । त्यसले गणतान्त्रिक यात्रा, संघीयताको भविष्यप्रति अविश्वासको बीज भर्ने काम भइरहेको छ ।

इतिहासमा विभिन्न गणराज्यको अनुभूति गरेका यस भूखण्डका बासिन्दा गोरखा राज्यको विस्तारसँगै गोरखा राज्यको अंशका रूपमा रहन बाध्य भयो । सुगौली सन्धि यता यो भूखण्ड प्यारो तर यहाँका वासीलाई विरानो ठान्ने सामन्ती राज्यसत्ताको संस्कृतिको दुव्र्यवहारको शिकार बन्नु परेकाले यो भूखण्ड सम्पन्न भएर पनि यहाँका रैथानेवासी समुदाय पराया, गरिब र रैति जस्ता भए ।

यसै पृष्ठभ्ुमिमा रैतिबाट मुक्त हुँदै स्वतन्त्र जीवन जिउने ध्येयमा यस क्षेत्रका बासिन्दाले केन्द्रीकृत र सामन्ती राज्यसत्ताको विरोधमा आफूलाई लामबद्ध गरेका इतिहासहरू छन् । राणाशासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाइ गर्ने श्रेय पनि यस भूखण्डवासीको छ ।

प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाले भूखण्डवासीको गरिबी, अधिकारविहीनता, तानाशाही कदम विरुद्धमा राजा महेन्द्रमाथि जानकी मन्दिरमा परिसरमा बम प्रहार, गणतान्त्रिक नेता रामराजाप्रसाद सिंह, मधेश मुद्दाका उन्नायक गजेन्द्रनारायण सिंह, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका अगुवाको पे्ररणा र नेतृत्वमा मुक्तिको आन्दोलनको परिणाम अधिकारणको जागरण अभियान अन्तर्गतमा सङ्घर्षमा बलिदानीको इतिहास नमनकारी रहेको छ ।

यद्यपि कतिपय अगुवामा सत्तामा बस्ने मोहले नमनकारी भूमिका द्विविधामा परेको उदाहरण पनि छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको गरेको व्यवस्थाअनुसार यस प्रदेशका १३६ वटा स्तानीय तहमा यस भूखण्डवासीको अधिकारको आवाज र माग सम्बोधनका लागि सङ्घर्ष गरेका अनुहार नेतृत्वको अभिभारा जनस्तरबाट पाएका पनि छन् ।

नेपालका प्रदेशमध्ये भौगोलिक रूपमा सबैभन्दा सानो भए पनि जनसंख्याको हिसाबले दोस्रो ठूलो प्रदेशका रूपमा रहेको छ । समथर उर्वर भूमि पर्याप्त रहेको, सांस्कृतिक विविधताले सम्पन्न र भौगिलिक रूपले सुगम तथा अन्तर्राष्ट्रिय व्यापारका हिसाबले सहज हुँदाहुँदै गणतान्त्रिक मूल्यमान्यता अनुहारको केन्द्रीय आचरण नभएका कारण प्रदेश हाल पनि अधिकारविहीनको अवस्थामा देखिन्छ ।

विश्लेषक चन्द्रकिशोर गणतान्त्रिक गारेटो सही भए पनि मन्द गति र गन्तव्यमा अस्पष्टताका कारण प्रदेशको अन्योलमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार संरचना हाल पनि पुरातन छ, केन्द्रीकृत मनोविज्ञानका कारण गणतन्त्र अन्यमनस्कको अवस्थामा रहेको छ ।

गणतान्त्रिक यात्राका क्रममा सङ्घीयताको खोज र स्थापना मुक्तिको खोज मानिन्छ तर न्यायोचित वितरण, नीतिगत, कानूनी, संस्थागत एवं व्यवस्थापकीय प्रबन्ध केन्द्रीयताको चपेटामा परेका कारण यस प्रदेशका सन्दर्भमा गणतान्त्रिक यात्रा एउटी स्तन सुकेकी आमाको क्रन्दन झैँ भएको देखिन्छ ।

विगतमा भूखण्डवासीको पहिचान र समानताको हकअधिकारको सवाल, राज्यसत्तामा समानुपातिक सहभागिताको सवाल, पहुँचको सवाल, आफ्नो लागि आफैँबाट शासनको सवाल, नागरिकताको सवाल, जातीय तथा लैङ्गििक भेदभावको सवाल, न्यायपूर्ण भूमि व्यवस्थाको सवाल, प्राकृतिक स्रोतसाधनमाथि स्वामित्वको सवाल र अल्पसंख्यकहरूको अधिकारको सवालको सम्बोधनका लागि पहल सन्दर्भमा कतिपय गणतान्त्रिक यात्राका सारथीहरूले इमानमा प्रश्नचिह्न सिर्जना गरेका कारण गणतन्त्रको अनुभूतिका लागि समग्रवासी अहिले भोकले छटपटाइरहेको स्तन सुकेकी आमाको बच्चा झैँ छ ।

प्रदेशका नागरिकको जीवन निर्वाहको आधारका रूपमा रहेको कृषि क्षेत्र परम्परागत र गुजारासम्म नहुने अवस्थामा रहेकाले नागरिकको आर्थिक एवं सामाजिक अवस्था कमजोर छ । अपर्याप्त एवं भौतिक पूर्वाधार, सडक, सिँचाइ, अव्यवस्थित शहरीकरण, फोहरमैलाको उचित व्यवस्थापनको कमी, कमजोर जनचेतना स्तर, भएका स्रोत र सम्पदाको उचित व्यवस्थापन र प्रयोगमा कमजोरीका कारण प्रदेशको शासन सञ्चालन संकीर्णताबाट आक्रान्त छ । मुक्तिका अगुवाको वर्चश्व भए पनि कपटपूर्ण व्यवहारको पासोबाट निस्किन पाइरहेका छैन । केन्द्रमा सरकारमा सहभागी हुने मोहभंग भएको छैन भने प्रदेशमा मुख्यमन्त्री, मन्त्री संवैधानिक व्यवस्थाअनुसार बाँडफाँड गर्न आवाज उठाइरहेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत गणतन्त्र र संघीयता भनिए पनि केन्द्रीयता हाबी भएकाले यसको अनुभूति गराउने कार्य जटिल भएको भन्नुहुन्छ । प्रदेशमा श्रमजीवी किसान तथा मजदुरको बाहुल्य भए पनि आत्मनिर्भर भएको छैन, जनशक्ति विदेश पलायन भइरहेका छन्, भूमि मरूभूमि हुने हो कि ? उहाँ चिन्ता व्यक्त गर्दै गणतन्त्र र संघीय चरित्रको जीवन दर्शन, व्यवहार, ऐन, कानून, व्यवस्था, आर्थिक, समाजिक क्रियाकलाप, उत्पीडनको अन्त्यका लागि सबैमा परिवर्तनको आवश्यकता र मनोविज्ञानको विकासको अपरिहार्यता औँल्याउनुहुन्छ ।

प्राध्यापक डा महेन्दनारायण मिश्र गणतन्त्र र संघीयता भनिए पनि आचरण र व्यवहार पुरानै छ, संविधान गणतान्त्रिक भावनाअनुरूप हुन सकेको छैन, यो अवस्थामा संविधानलाई गणतान्त्रिक भावनाअनुरूप संशोधन गर्नु आवश्यक छ भन्नुभयो । विगतमा लोकतान्त्रिक प्रणाली भनिएको छ तर व्यवहार अलोकतान्त्रिक भएको इतिहास साक्षी भएकाले अब पनि त्यस्ता मनसायलाई जीवित राख्यो भने गणतन्त्रमाथि खतरा आउन सक्ने सम्भावना पनि उहाँ व्यक्त गर्नुहुन्छ ।

गणतन्त्र र संघीयता यस प्रदेशको सन्दर्भमा नयाँ युगमा प्रवेश हो, एकताको नयाँ आधार हो, एउटा हुकुमशाही ढल्दाको जनताको स्वतन्त्रताको अनुभूति पनि हो, गणतन्त्रको यात्रा यस क्षेत्रको उपलब्धिको काल हो, अंग हो तर खाँचो छ स्तन सुकेकी यस भूमिकी आमाको वेदना बुझी दिने शारथीको । सहकारिता, सहअस्तित्व र समन्वय बुझिदिने अभियन्ताको ।

१४ जेष्ठ २०७५, सोमबार २३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..