प्रतिपक्ष कमजोर देखिए निरंकुशताको खतरा

२०१५ सालको आमनिर्वाचनमा १०९ सिटमध्ये नेपाली कांग्रेसले ७४ सिट हासिल गर्यो । दोस्रो पार्टी गोर्खा परिषद्ले १९ सिट पायो । सरकार गठन भएपछि गोर्खा परिषद्का बाग्लुङबाट निर्वाचित हरिदत्त उपाध्याय चालिसे आफ्नो पार्टीका सातजना सांसदलाई लिएर कांग्रेस सभापति एवं प्रधानमन्त्री बीपी कोइरालालाई भेट्न गए । बीपीले उक्त टोलीलाई आफ्नै ढंगले स्वागत सत्कार गरे । भेटको कारणबारे सांसद हरिदत्तले बीपीलाई भने– ‘हामी प्रजातन्त्रबादी नै हौं, चुनावका क्रममा गोर्खा परिषद्को टिकट लिन पुगिएछ, अब हामी नेपाली कांग्रेसमा प्रवेश गरेर प्रजातन्त्रलाई बलियो बनाउन चाहन्छौं ।’ तर बीपीपले भने– ‘हिजो पनि गोर्खा परिषद्का संसदहरूको चार–पाँचजनाको टोली यस्तै प्रस्ताव लिएर मकहाँ आएको थियो, यो प्रस्तावलाई मैले स्वीकार गरिदिने हो भने गोर्खा परिषद् रित्तिन्छ, संसद्मा प्रतिपक्षी पार्टी नै रहँदैन ।’ कोइरालाले आग्रह गरे– ‘मुलुकका लागि बलियो कांग्रेसभन्दा पनि बलियो प्रजातन्त्र चाहिएको हो, एउटा पार्टी मात्रै बलियो र अरु पार्टी कमजोर भए भने प्रजातान्त्र अघि बढ्न सक्दैन, तपाईहरू गोर्खा परिषद्मै रहेर काम गर्नोस् ।’ यो प्रसंग बीपी कोइरालाले आफ्नो आत्मवृतान्तमा पनि उल्लेख गरेका छन् ।
बहुदलीय प्रजातन्त्र फस्टाउन मुख्य सर्त भनेको दलहरूको सामथ्र्य नै हो भन्ने कुरा स्वयंसिद्ध तथ्य हो । यदि २०१५ सालमा नेपाली कांग्रेसकै हाराहारीमा अर्को पार्टी पनि बलियो र संस्थागत भएको भए तत्कालीन राजा महेन्द्रलाई कु गर्न त्यति सहज हुने थिएन । तर त्यतिबेला कांग्रेसबाहेक अरु पार्टी कमजोर भए । एक्लो कांग्रेसले बहुदलीय प्रजातन्त्रको संरक्षणका लागि लड्न सकेन । एउटा मात्रै पार्टी, त्यो पार्टीभित्र पनि सत्ता संघर्ष भएको मौका पारेर राजा महेन्द्रले चौका हाने । एक्लो कांग्रेसले २०१७ सालको कु फिर्ता गर्न सकेन । ३० वर्षको निरंकुश पञ्चायती व्यवस्थाको अभ्यासकै क्रममा मुलुकमा कम्युनिस्ट पार्टीहरू पनि फस्टाए । कांग्रेस र कम्युनिस्ट पार्टी मिलेरै २०४६ सालमा पञ्चायती व्यवस्था ढालेका हुन् । २०१७ सालको कु फिर्ता हुन ३० वर्ष लागेको थियो, तर २०६१ सालको कु दुई वर्षमै फिर्ता भयो । किनकि २०६१ सालसम्म आइपुग्दा दलहरू निकै बलिया र संस्थागत भइसकेका थिए ।
कम्युनिस्ट आन्दोलनलाई बहुदलीय लोकतान्त्रिक मार्गचित्रमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर जेठ ३ गते बिहीबार एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको छ । जसरी मलुकमा एउटा मात्रै बलियो नेपाली कांग्रेस पार्टी छ, त्यसरी नै अब मुलुकमा एक मात्रै बलियो कम्युनिस्ट पार्टी अस्तित्वमा आएको छ । जडसूत्रवादी कम्युनिस्ट गतिविधि नियन्त्रण गर्न एकीकृत कम्युनिस्ट पार्टी सफल भयो भने लोकतन्त्रको संस्थागत विकासका लागि कहीँकतैबाट अवरोध उत्पन्न हुने सम्भावना अब रहेन । तर शंका भने जीवितै छ । हिंसाबाट आएको माओवादीमाथि लाग्दै आएका आरोपहरूको जिम्मेवारी अब एमालेको भागमा पनि परेको छ ।
संविधान निर्माणका क्रममा सबै तहका संसद्मा ४० प्रतिशत प्रतिनिधित्व समानुपातिक निर्वाचन पद्धतिमार्फत राखिएका कारण एउटै पार्टीले बहुमत प्राप्त गर्ने सम्भावना क्षीण हुने विश्लेषण गरिएको थियो । संसद्मा एउटै पार्टीको बहुमत नभएको अवस्थामा गठबन्धन सरकार निर्माणका क्रममा मुलुकले निकै ठूलो यातना बेहोरेको विगत हामीसँग साक्षी छ । हंग पार्लियामेन्टका कारण सरकार गठन र विघटनबाहेक मुलुकमा राजनीतिक गतिविधि हुन पाएन । २०४७ सालको संविधान धरापमा पर्नुको मुख्य कारण हंग पार्लियामेन्ट र अस्थिर सरकार नै हो । समानुपातिक प्रतिनिधित्वको प्रावधान नभएको अवस्थामा त त्यतिबेला हंग पार्लियामेन्ट बन्ने गथ्र्यो भने यतिबेलाको संविधानमा त ४० प्रतिशत समानुपातिकको प्रावधान राखिएको छ । यस्तो प्रावधानका बाबजुद संसद्मा कुनै एक पार्टीको बहुमत हुने अवस्था एमाले–माओवादी एकीकरणले सिर्जना गरेको छ भने अब मुलुकमा राजनीतिक ध्रुवीकरण पनि सँगसँगै हुने छ । मुलुकले कम्तीमा पाँच वर्षका लागि स्थायी सरकार पाउने सम्भावना बढेको छ । सत्तारुढ पार्टी र प्रतिपक्षी पार्टी दुवै प्रभावशाली भएको अवस्थामा लोकतन्त्र बलियो हुन्छ भन्ने बीपी कोइरालाको मान्यताले साकार रूप लिँदै गएको छ ।

२०४८ सालको आमनिर्वाचनका बेला नेपाली कांग्रेसभित्र बहस हुने गथ्र्यो–‘प्रमुख प्रतिपक्ष एमाले बन्ला कि राप्रपा बन्ला ? प्रजातन्त्रको स्थायित्वका लागि कम्युनिस्टहरू प्रतिपक्षमा भएको राम्रो कि ? पूर्वपञ्चहरू प्रतिपक्षमा भएको राम्रो ?’ त्यतिबेला गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाबीचको मतभेद सतहमा आइसकेको थिएन । तर गणेशमान सिंहले कम्युनिस्टहरू मुख्य प्रतिपक्षी बनुन् भन्ने चाहेको र गिरिजाप्रसादले पूर्वपञ्चहरू प्रमुख प्रतिपक्षी बनुन् भन्ने चाहेका कारण कांग्रेसभित्र विवाद बढ्ने कुरा मिडियाहरूमा आउने गर्दथ्यो । चुनावमा एमालेले नसोचेको सफलता पायो, राप्रपा नसोचेको कमजोर भयो । प्रमुख प्रतिपक्षी दलको रूपमा एमालेको सट्टा राप्रपाको उदय भएको भए आफूलाई काम गर्न सजिलो हुने तर्क ततकालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राख्थे । एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टीका रूपमा उदाउनुमा गणेशमान सिंहको मुख्य दोष भएको आरोप कोइराला पक्षधरहरूले लगाउने गर्दथे । २०४६ सालको जनआन्दोलनको तयारीका क्रममा गणेशमान सिंहकै सल्लाहमा कम्युनिस्ट पार्टीहरूले संयुक्त वाममोर्चा र संयुक्त जनआन्दोलन संयोजन समिति गठन गरेका थिए । जडसूत्रवादी कम्युनिस्ट पार्टीहरू मिलेर संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए, जसले पछि माओवादीका नाममा निरन्तरता पायो । प्रजातन्त्रबादी कम्युनिस्ट पार्टीहरू मिलेर संयुक्त वाममोर्चा गठन गरेका थिए, जसले पछि एमालेका नाममा निरन्तरता पायो । माओवादी हत्याहिंसाको प्रयोगद्वारा सत्ता प्राप्तिको अभियानमा होमियो भने एमाले नेपाली कांग्रेस जस्तै बहुदलीय प्रजातान्त्रिक बाटोमा लाग्यो । नेपालको कम्युनिस्ट आन्दोलनका यी दुई धारहरू भर्खरै एक ठाउँमा आएका छन् । अहिले सर्सती हेर्दा बहुदलीय लोकतन्त्रको पहरेदार बन्ने एमालेको नीतिलाई माओवादी केन्द्रले स्वीकार गरेपछि पार्टी एकीकरण सम्भव भएको हो । तर व्यवहार हेर्न बाँकी नै छ ।
२०५१ सालमा नेपाली कांग्रेसको सुविधाजनक बहुमत भएको संसद् विघटन गरी मध्यावधि निर्वाचनमा जाने जोखिमपूर्ण बाटो तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले किन लिए त ? भन्ने प्रश्नका उत्तरहरू करिब एक दर्जन जति छन् । त्यसमध्ये को एउटा उत्तर हो– ‘प्रमुख प्रतिपक्षी पार्टीका रूपमा कम्युनिस्टहरूलाई विस्थापित गरी पूर्वपञ्चलाई ल्याउने योजना ।’ तर कोइरालाले सोचे जस्तो परिणाम आएन । कांग्रेस दोस्रो पार्टी बन्यो भने पूर्वपञ्चहरूको पार्टी राप्रपा तेस्रो पार्टी । २०४८ सालको निर्वाचनमा तेस्रो स्थान हासिल गरेको तत्कालिन संयुक्त जनमोर्चा (जेठ ३ अघिको माओवादी)को २०५१ सालको मध्यावधि निर्वाचनमा पत्तासाफ भयो । उसको ठाउँ राप्रपाले लियो । माओवादी जंगल पस्यो, तेस्रो पार्टी राप्रपा प्रजातन्त्रविरुद्ध करौंती लिएर अघि बढ्यो ।
२०५१ सालमा संसद् विघटन र मध्यावधि निर्वाचनमार्फत डिरेल भएको मुलुकको राजनीति एमाले र माओवादीको एकीकरणपछि लिकमा फर्केको अर्थ लगाउन पनि सकिन्छ । यदि २०५१ सालमा संसद् विघटन नभएको भए पूर्वपञ्चहरूको पार्टी अर्को नियमित निर्वाचनसम्ममा समाप्त भइसक्ने थियो भने माओवादी संसदीय अभ्यासबाट निराश भएर जंगल जाने थिएन भन्न पनि सकिन्छ । तर माओवादी जंगल प्रवेश गर्नुको कारण कांग्रेस होइन, एमाले नै जिम्मेवार छ । एमालेको पेलान, सानो पार्टी हुनुको हीनताबोध र तत्कालीन महासचिव प्रचण्डको महत्वाकांक्षाले नै हिंसाको बाटो अंगाल्न पुगेको यथार्थ अहिले पुष्टि भएकै छ । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाबाट त्यो गल्ती नहुँदो हो त पूर्वपञ्चहरूले संसद्मा पुगेर बहुदलीय व्यवस्थाको चीरहरण गर्न पाउने थिएनन् । यो २५ वर्षमा मुलुकको धेरै जल खेर गयो । धेरै नेपाली जनताको रगत खेर गयो । राप्रपा समाप्त हुनु र माओवादी फेरि संसदीय अभ्यासमै फर्केर मुलुकमा एक मात्रै बलियो कम्युनिस्ट पार्टी गठन गर्ने अभियानमा लाग्नु भनेको मुलुक २०५१ सालअघिकै अवस्थामा फर्कनु हो । जसरी २०५१ सालअघि मुलकमा बलियो सरकार थियो र त्यो सरकारले मुलुकको आर्थिक उन्नतिको जग बसालेको थियो, त्यसरी नै यतिबेला मुलुकमा बलियो सरकार छ, तर यो बलियो सरकार आर्थिक समृद्धिको जग बसाल्न सक्षम हुन्छ कि हुँदैन ? शक्तिको उन्मादले निरंकुश, तानाशाही र फासिवादी चरित्र देखाउँदै लोकतन्त्र समाप्त गर्न उद्यत हुन्छ कि कम्युनिस्ट पार्टीलाई ट्रेडमार्क मात्र बनाउँछ ? उत्तर आउने बेला भइसकेको छैन । केही समय शंकाको सुविधा खड्गप्रसाद ओलीलाई दिनै पर्ने अवस्था छ ।

बीपी भन्नु हुन्थ्यो– प्रजातन्त्र बलियो भयो भने कांग्रेस आफैं बलियो हुन्छ
२०१५ सालको आमनिर्वाचनमा बाग्लुङबाट गोर्खा परिषद्को टिकटमा अत्यधिक बहुमतले निर्वाचित सांसद हरिदत्तका छोरा राजेन्द्र शर्माले बीपी कोइराला र गोर्खा परिषद्का सांसदहरूबीचको त्यतिबेलाको संवादको स्मरण यस पंक्तिकारलाई यसरी सुनाए– ‘त्यतिबेला धवलागिरि क्षेत्रमा कांग्रेसको राम्रै संगठन थियो, गोर्खा परिषद्को खासै थिएन । कांग्रेसले टिकट बाँडिसकेपछि गोर्खा परिषद्का नेता भारतशमशेर राणा उम्मेदवार बन्ने मान्छे खोज्दै हाम्रो घर पुगे । जसको घर सबैभन्दा ठूलो छ, जसको घरमा रेडियो छ, जसले सप्ताह पुराण राम्रो बाचन गर्न सक्छ, उसैलाई टिकट दिने मापदण्ड बनाएर उनी बाग्लुङ छिरेका रहेछन्, यो सबै मापदण्ड हरिदत्त पाध्येको पुग्छ भनेर कसैले हाम्रो घर देखाइदिएछ । त्यतिबेला म १५ वर्षको थिएँ, राजनीतिक कुरा सबै बुझ्थेँ, कांग्रेसप्रति मेरो झुकाव थियो, तर बुबा भने जाति–पाती नमानेको, छुवाछूत उन्मूलन गर्न खोजेको, बाहुनले पनि हलो जोत्न हुन्छ भनेकोलगायतका कुराबाट कांग्रेससँग अलि अप्रसन्न हुँनु हुँदो रहेछ । भारतशमशेरको टोली हाम्रो घरमा पुगेपछि ठूलै भोजभतेर भयो । बुबाले स्याङ्जा, पर्वत, म्याग्दीतिरका अगुवाहरूलाई लिन केही घोडाहरूको व्यवस्था गरी मान्छे पठाउनुभयो । त्यस क्षेत्रका उम्मेदवारको चयन भारतशमशेरले हाम्रै घरमा बसेर गरे । त्यस क्षेत्रमा गोर्खा परिषदको परिणाम राम्रै आयो । बुबाले आठ हजार ८४८ भोट ल्याउनुभयो, कांग्रेसका उम्मेदवार गोविन्दलाल श्रेष्ठले चार हजार १४४ भोट ल्याउनुभयो । चुनाव सकिएपछि हामी सपरिवार काठमाडौं आयौं । गोर्खा परिषद्का सबै सांसदहरूलाई खाने बस्ने व्यवस्था भरतशमशेरले बबरमहल दरबारमै गरिदिएका थिए । तर बबरमहलमा बस्दा मलाई निकै उकुसमुकुस हुन थाल्यो । मैले बुबालाई कांग्रेसमा प्रवेश गरौं भनेर धेरै नै कर गरेँ, मेरै करले बुबा बीपीलाई भेट्न जानु भएको थियो, उक्त भेटमा म पनि पछिपछि गएकै कारण बीपीले त्यतिबेला भनेको कुराको प्रत्यक्षदर्शी तथा श्रोता हुने मौका मिल्यो ।
बीपीले भन्नुभयो– ‘प्रजातन्त्रप्रतिको तपाईहरूको आस्था र विश्वासमा मलाई पटक्कै शंका छैन, अहिलेलाई जहाँ हुनुहुन्छ त्यहीँ बस्नोस्, प्रतिपक्षको असल भूमिका निर्वाह गरेर बस्नोस्, आवश्यक पर्दा म आफंै बोलाउँछु, तपाईहरू कांग्रेस प्रवेश गरेरभन्दा गोर्खा परिषद्मै बसेर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुभयो भने मलाई ठूलो सहयोग हुनेछ, लोकतन्त्र बलियो हुनेछ, लोकतन्त्र बलियो भयो भने कांग्रेस आफंै बलियो हुनेछ ।’ यदि बीपीले यस्तो दृष्टिकोण नराख्नु भएको भए वास्तवमा त्यतिबेला गोर्खा परिषद्बाट चुनाव जितेकामध्ये दुई–चारजना बाहेक सबै कांग्रेस प्रवेश गर्न चाहन्थे । २०१७ सालको कु पछि भरतशमशेरले सिंगो गोर्खा परिषद्लाई विना सर्त कांग्रेसमा बिलय गराए । उनी निकै चतुर नेता हुन् । उनले कांग्रेसमा विलय नगराएको भए पनि गोर्खा परिषद् रहने अवस्था थिएन, दुई–चारजना छाडेर सबै नेताहरू कांग्रेस प्रवेश गर्न तम्तयार भएर बसेका थिए ।

(लेखक विन्दुकान्त घिमिरे पत्रकार एवं विश्लेषक हुनुहुन्छ)

१३ जेष्ठ २०७५, आईतवार २३:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..