“अधुरो यात्रा” -शर्माशान्ति

त्यतिबेला ताराको उमेर करिब पन्ध्र वर्षको हुँदो हो । जेठी छोरी ऊ मुनि पनि दुई भाइ र दुई बहिनी गरी चार जना भाइबहिनी थिए । सानिमा (उसकी आमा) ले आफ्नो काम छिन्नका लागि त्यति कलिलो उमेरमा बिहे गरिदिने निर्णय गर्नुभएछ । हाम्रा हजुरबुबाले सानिमालाई पनि छिट्टै बिहे गरिदिनु भएको थियो रे ! सायद छोरीले आफ्नो बिहे गरेका जति उमेर नाघिसकिछन् क्यारे, सानिमालाई पनि छटपटी भएछ अनि राम्रो शीलस्वभाव भएको एउटा वर खोजेर ताराको बिहे गरिदिनु भएछ । भारतको असाम क्षेत्रमा बसोबास गर्दै आउनुभएकी मेरी सानिमाले छोरीको बिहे उतै गरिदिनु भएछ । पछि उनीहरु बसाइँ सरेर नेपाल आइपुगेछन् । एक दिन म घुम्दै जाने क्रममा पहिलो पटक ताराको घरमा पुगेँ । त्यतिबेला तारा र मेरो बीचमा लामो कुराकानी भएको थियो ।

 

कैलाशनगर (कविडाँडा)को नजिकै बसोबास गर्दै आएका तारा र उनका दुई सन्तानसँगको पहिलो भेट मेरा लागि नौलो बनेको थियो । उमेरले मभन्दा दुई वर्ष कान्छी ताराको रुपरङ्ग अनि पहिरन हेर्दा मभित्र वेदनाको पहिरो गयो । हातको चुरा, गलाको पोते अनि सिउँदोको सिंदूरले कति चाँडै बिदा लिएर गएछन्, बिचरी ! बल्ल लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा उकालो चढ्दै गरेकी । मेरो मनको पाखामा पहिरो जाँदै गर्‍यो । म निकै विक्षुब्ध बन्न पुगेँ, बरू उनी त्यति साह्रै चिन्तित देखिँदैनथिन् । सायद घाउ पुरिइसकेको पनि हुन सक्छ । आँसु सुकेर उनको वक्षस्थल खडेरीले धाँजा फाटेको खेत जस्तै हुन सक्छ तर मेरो मन भने आगाको नजिक रहेको नौनी घिउझैँ बन्न पुग्यो । सकेसम्म आँसु लुकाएर बोल्ने जमर्को गरेँ, गला अवरूद्ध हुन पुग्यो ।
कुराकानीको क्रममा उनले भन्न थालिन्– ‘दिदी, सपनाजस्तै लाग्छ बिहे भएको पनि । कहिलेकाहीँ बिर्सन्छु, कसरी बिहे भयो भन्ने पनि । अब त उनको अनुहारको पनि त्यति सम्झना छैन । सपनानै भनूँ भने पनि यथार्थता (दुई सन्तान) आफ्नै आँखावरिपरि घुमिरहेछन् । दैवले यो उमेरमा एक्लै बाँच्न बाध्य बनायो । यति लामो यात्रा कसरी पार लगाउने ? दुःखसुख बाडूँ भने पनि कोही पनि छैनन् । यी अवोध दुई सन्तानको मुख हेरेर बाँच्नुसिवाय केही उपाय छैन । उनले मलाई एक्लै छाडेर त गए, अझ उसैमाथि पनि मेरो खुसी, रङ, चाहना सबै–सबै आफ्नो साथमा लिएर गए । मसँग त उनले छाडेको अन्ध–परम्पराको साङ्लोभन्दा बाहेक केही छैन, जसले मलाई हरपल जकेडिरहेको छ । साँच्चै भनूँ भने अब त मैले खुलेर हाँस्न पनि पाउँदिनँ । परपुरूषसँग आँखा जुधाएर बोल्नु त के कुरा, नजर पर्‍यो भने पनि यो अन्धविश्वास बोकेको पहरेदाररुपी समाजले मलाई घृणा गर्न थाल्छ ।
दिदी, मलाई रातो रङ असाध्यै मन पर्छ । आमाले सानो छँदा मलाई खाली रातो जामा र राता चुरामात्र ल्याइदिनुहुन्थ्यो तर अहिले त शरीरमा कतै राता छिटा मात्रै पर्‍यो भने पनि भित्रैदेखि डर लागेर आउँछ । दिदी, अरुका छोराछोरीले बाबुसँग बसेको, खेलेको, पिरोलेको देख्दा पनि मलाई भित्रैबाट ईष्र्या लागेर आउँछ । कामना गर्छु, त्यो सुन्दर दृश्य मेरा सन्तानको आँखामा नपरोस् । उनीहरुले बाबाका बारेमा सोध्दा मेरो मन काँक्रोको चिराझैँ चरक्क चिरिएर आउँछ । उनी त एक पटक मरेर गए तर म त पटकपटक मरिरहेकी छु ।’
उनी आफ्नो कथा पोख्दै गइन्, म भने शिवजीले गङ्गालाई आफ्नो जटामा थामेझैँ थाम्दै गएँ । कतिबेला त्यो भारी वर्षा मेरो आँखाबाट अविरल बर्सन्छ कि झैँ भयो ।
‘साँच्चै दिदी, आजभोलि त मलाई चाडबाड पनि बोझिलो लाग्दैछन् । पहिले–पहिले दसैँमा टीका लगाइदिँदा आमाबुबा, सासुससूरा आदि मान्यजनले मलाई सौभाग्यवती भएस् भन्दै आशीर्वादका शब्द ममाथि बर्साउँथे तर आजभोलि त्यो शब्द उनीहरुले नै फिर्ता लिइसकेका छन् । सबैले मलाई दीर्घायु भएस् भन्छन् तर मलाई बाँचिरहेको आयु नै बढी भइसकेको छ, यो ‘दीर्घायु’ शब्द किन भने होलान् जस्तो लाग्छ ।’
मैले कुरा भन्दै गएँ– ‘त्यसो नभन बैनी, तिमी त धर्तीजस्तै सहनशील हुनुपर्छ । तिमीले सृजिएका यी दुई बिरूवालाई हुर्काउनु छ, बढाउनु छ अनि सुन्दर भविष्यको निर्माण गरिदिनु छ । तिमी त हिमालझैँ अटल बनेर रहनू बैनी । संसार यस्तै छ नाट्यशालाजस्तो । अघि वा पछि सबैले आफ्नो देह फेर्नैपर्छ, पुराना कपडा फेरेझैँ । बाँचुन्जेल कर्म गर्नैपर्छ । मरेकाको सम्झनामा तड्पिएर मात्रै कहाँ पुग्छ र ! बाँचेकाको निम्ति भए पनि ओठमा हाँसो र अनुहारमा खुसीको रङ पोख्नैपर्छ । हामीभन्दा अघि पनि कति थिए, ती सबै आ–आफ्नो बाटो लागे । हामीले पनि एक न एक दिन यो संसार त्याग्नैपर्छ ।’
म उनलाई सकेसम्म सम्झाउने प्रयत्न गर्दै थिएँ तर उनी भने मैले लगाएका लुगा, गहना अनि अनुहारको श्रृंगारलाई त्यसरी नै एकोहोरो रुपमा घोरिएर हेर्दै थिइन्, जसरी एउटा तिर्खाएको मानिसले पानीको घैलामा आँखा गाड्ने गर्छ ।
उनले भनिन्– ‘दिदी, कति राम्रा गहना लगाउनु भएको हजुरले ! शरीरमा साह्रै मिलेका कपडा निकै सुहाएको छ । आफ्नो त लाउने र खाने रहर पनि मरिसक्यो ।’
मैले सम्झाउने प्रयत्ने गरेँ– ‘बैनी, रातो रङ तिमीले जन्मँदैदेखि लगाएको रङ हो । चुरा तिमीले बिहेभन्दा पनि पहिले लगाउँथ्यौँ । जुन कुरा तिमीले पहिले पनि प्रयोग गथ्र्यौ, त्यो अहिले पनि गर्दा केही फरक पर्दैन । त्यो त तिम्रो जन्मसिद्ध अधिकार हो, अरुले खोसेर खोसिँदैन । तिमी–हामीजस्ता नयाँ पुस्ताले यसको विरोध गर्नुपर्छ । संसारले फड्को मारेर अगाडि बढिसकेको अवस्थामा हामी पुरातनवादी बन्दै त्यही संस्कारलाई अँगालो हालेर बस्छौँ भने परिवर्तन आउन सक्दैन । तिमीले लगाउन नहुने चीज भनेको सिन्दूर र पोते हो, जुन तिम्रा श्रीमान्ले पहिर्‍याइदिएका थिए ।’
‘बहिनी, तिमी आजैदेखि यो पुरानो संस्कारको विरोधमा लाग । हामी नारीले नै आफ्नो अधिकारको संरक्षण गर्नुपर्छ । यदि तिम्रा ठाउँमा तिम्रा श्रीमान् भइदिएका भए अवश्य पनि दोस्रो बिहे गरेर भोगविलासमा डुब्थे होलान् तर तिमी भने त्यही पुरानो संस्कार ओढेर आफूलाई वैराग्यको खाडलतिर धकेल्दै छौ ।’
‘हामीले यस्ता अन्धविश्वासका पर्खाललाई भत्काउनुपर्छ, नत्र यो परम्परा कल्पवृक्षझैँ विशाल रुपमा झ्यांगिँदै जानेछ । ल, तिमी अहिले नै मसँग बजार हिँड, म तिमीलाई मन पर्ने राता चुरा र कपडा किनिदिन्छु । भोलि बिहानको नवीन सूर्योदयसँगै तिम्रो जीवनले नयाँ रुप लिनेछ र तिमीभित्र उम्रिएको वैराग्यको भावना नासिएर जानेछ ।’
उनले मेरा कुरालाई बुझेजस्तो र त्योभन्दा पनि बढी आत्मसात् गरेजस्तो गर्दै मसँग बजार जान तत्पर भइन् । केही समयपछि हामी नारायणगढ बजार पुग्यौँ ।
‘साहूजी, रातो कुर्तासुरूवाल देखाउनुहोस् न ।’
‘हजुर, कसको लागि होला ?’
‘ऊ, बहिनीका लागि ।’
उसले बहिनीको शरीरमा शिरदेखि पुच्छरसम्म नियालेर हेर्‍यो । सायद मनमा लाग्दो होला, विधवा भएर पनि कस्तो रातो कपडा लाउन खोजेको होला !
‘के हेर्नुभएको त्यसरी, सुन्नु भएन ?’
‘होइन, सुनेँ हजुर, निकालिहाल्छु ।
उसले हलुका रातो रङको कपडा निकालेर देखायो
‘होइन, पूरै रातो निकाल्नुहोस् न ।’
कपडा पसलबाट कपडा किनिसकेपछि हामी श्रृंगार पसलतर्फ लाग्यौँ । मैले उनका लागि राता चुरा अनि श्रृंगारका चुरा किनिदिएँ । हामी घरतर्फ फर्कियौँ । बाटामा अतीतका तीतामीठा गफहरुले हामीलाई साथ दिइरहेका थिए । उनको अनुहारमा बिस्तारै खुसीको रङ पोतिँदै थियो ।
केही पर पुगेपछि हामीले आ–आफ्नो बाटो तताउने विचार गर्‍यौँ । उनले केहीबेर अडिएर टुलुटुलु मेरो मुखमा हेरिरहिन् । सायद उनका अव्यक्त भाव उनका आँखाले व्यक्त गरिरहेका थिए । ‘दिदी, मेरो अधुरो यात्रा पूरा गर्न कसले साथ दिन्छ ?’ भन्न खोज्दै थिए ती आँखाहरु अनि सल्बलाउन खोज्दै थिए ओठहरु ।
केही समयको मौन हेराइपछि हामी आ–आफ्नो घरतर्फ लाग्यौँ । म आफ्नो घर आइपुगेँ । यात्रा अगाडि बढ्दै छ तर उनी भने गन्तव्य नपुग्दै बीचबाटोमा अल्मलिएको यात्रीझैँ बन्दैछन् ।

२ श्रावण २०६९, मंगलवार ०१:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..