स्थायी ‘अस्थिर सरकार’, संविधानको देन

उखानै छ, ‘हतपतको काम लतपत’ । यही उखान चरितार्थ भयो साल उल्लेख नगरिएको ‘नेपालको संविधान’ २०७२ साल असोज ३ गते जारी गर्न । यसको मस्यौदामा अनगिन्ती यस्ता प्रावधानहरू छन् जो एक–आपसमा बाझिएका छन्, त्यसैले हतार नगरौँ भन्नेहरू धेरै थिए । त्यो धेरैमा सबै किसिमका व्यक्तिहरू थिए, तर शीर्ष नेताहरूले कसैको कुरा सुन्न आवश्यक नै ठानेनन् । अन्तरिम संविधानमा पेलेर ठेलेर मनलाग्दी संशोधन गरेको झझल्कोले जसैतसै एक थान संविधान त लागू गरिहालौँ, पछि संशोधन गर्दै जाउँला भन्ने सोचले काम गर्यो ।

यो हतारको कारण थियो वैशाखको महाभुइँचालो, यो कुरा नेताहरूले लुकाएनन् पनि । तर, धूर्ततापूर्वक पेस गरे यो भुइँचालोले आफूहरूलाई जिम्मेवार बनाएको भनेर । यो कुरा कत्तिको खोक्रो रहेछ भन्ने कुराको योभन्दा ठूलो प्रमाण अरू के होला कि संविधान लागू गर्ने प्रक्रिया सुरु भइसकेपछि भुइँचालोपीडित अहिलेसम्म उपेक्षित नै छन् । यदि भुइँचालोपीडित पुनस्र्थापनाको निमित्त संविधानसभामार्फत् गठन भएको सरकारलाई विदेशीहरूले मान्यता दिएको भए यो हतारो हुने नै थिएन । नेताहरू तोकिएको समयमा संविधान बन्न नसके आकाश नखस्ने अभिव्यक्ति दिन थालिसकेका थिए । सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए सम्भवतः आजका मितिसम्म संशोधन गर्दै म्याद बढाउँदै गरिएको हुने थियो । नत्र दोस्रो निर्वाचन त भयो तेस्रो किन हुन नसक्ने भन्ने तर्क यसबेला बलवान् भएको हुने थियो ।

संशोधन गर्दै जाने मनस्थिति जारी भएको लगत्तै संशोधन हुनुले नै बताएको छ । तर, यो संविधान संशोधन गर्ने विषयहरूमा लचक भए पनि प्रक्रियाको कारणले संशोधन असम्भवप्रायः छ । यो कुरा पहिलो संशोधनको निमित्त चपाउनुपरेको फलामको चिउराले देखाइसकेको छ । तैपनि कसै गरेर दुईतिहाइ पु¥याउने आशा यो निर्वाचनले तुहाइदिएको छ । सम्भव–असम्भव सबै किसिमका तरिका प्रयोग गरेर आँधीबेहरी नै ल्याएको यो निर्वाचनमा पनि कुनै एक दलले सामान्य बहुमतसमेत पु¥याउन सकेको छैन । मिलिजुली सरकार चलाउनुपर्ने अवस्था छ । यो आँधीबेहरी अर्कोपल्ट आउन सम्भव भए वा नभए पनि मिलिजुली, भागबण्डा अनि राजनीतिक सहमति नेपालको प्रारब्ध भएको छ ।

त्यसमाथि सङ्क्रमणकालमै सरकार बदल्ने प्रावधान नै छैन भनेर अध्यादेशको घोडा चढ्नुपरेको थियो । यो निर्वाचनमा त राष्ट्रिय सभा निर्वाचन नै धरापमा परेको कुरा गरिँदै छ । यसको कुनै वैधानिक बाटो नेताहरूले भेटेका छैनन्, त्यसैले राजनीतिक सहमतिले विधान नाघ्ने जमर्को गरिन लागेका समाचार आइरहेका छन् । दुईतिहाइ आकाशको फल भएको छ, संविधान संशोधन चित्रको स्याउ भएको छ जसलाई देख्न त सकिन्छ, तर खान सकिन्न । यसरी यो संविधानले सङ्क्रमणकालबाट बाहिर निक्लन पनि आफ्नै जन्मदाताहरूबाट बलत्कारमा पर्नुपर्ने अवस्था आएको छ ।

यो त सुरुवाती सङ्कट मात्र हो यो संविधानलाई । यस्ता अनगिन्ती सङ्कटको सामना गर्नु नै पर्ने अवस्था छ । जारी गर्दा नै यो संविधानमा लगातार संशोधन गरिनपर्नेछ भनिएको थियो । संविधानलाई देशको मूल कानुन होइन, सम्झौतापत्र सम्झिने ‘अपराध’ गरिएको थियो । तत्कालीन राजनीतिक शक्तिहरूबीचका शक्ति सन्तुलनको सम्झौतापत्र परिभाषित गरिएको थियो । यी राजनीतिक शक्तिहरूको क्षमता, बल आदि आवधिक हुन्छ त्यसैले संविधानलाई सम्झौतापत्र मान्ने हो भने त्यो अस्थायी हुन्छ । यसै कारणले सम्झौतापत्र सम्झिने कामलाई अपराध भनिएको हो । जो आफैं अस्थायी प्रकृतिको छ त्यसले कसरी स्थिर सरकार दिन सक्छ ? संविधानको हरेक संशोधनले मूलभूत कुराहरू पनि परिवर्तन गर्न सक्छन् । मूलभूत कुराहरू भनेको घरको जगजस्तो हो । जुन घरको जग कतिखेर भत्काउँदै परिवर्तन गरिने गरिन्छ त्यो घर त त्यसै पनि कमजोर हुन्छ । होइन कायम नै राख्ने हो भने रेखाङ्कन गर्दै बदल्ने सोच राखिएको जग त्यसै पनि छन्द न बन्दको हुन्छ । अर्थात् यो संविधानले हमेशा अस्थिर सरकार दिन्छ ।

समानुपातिक निर्वाचनमा थ्रेसहोल्ड राखेर समानुपातिकको मर्ममै प्रहार गर्दा पनि कुनै एक दलले बहुमत पु¥याउन नसकेकै हो । तसर्थ यो संविधानको मूलभूत ढाँचामा परिवर्तन नभएसम्म नेपालमा अस्थिर सरकार नै रहन्छ । मूलभूत ढाँचामा परिवर्तन गरेको संशोधन असम्भव नै छ । दुईतिहाइ पुर्याउन जस–जसको सहयोग आवश्यक छ तिनीहरू यो समानुपातिक हटाएर केवल प्रत्यक्ष निर्वाचन प्रणाली राख्न तयार होलान् भनेर सोच्न सकिन्न । यसको नतिजा निक्लन्छ कि एक बलियो मियो नभएको अवस्थामा मुलुक नै असफल राष्ट्र हुने अवस्था आउँछ । कसैलाई मन परे पनि नपरे पनि सबै शक्तिलाई प्रभाव पार्ने मियो हुने ल्याकत हाललाई केवल गद्दी खोसिएका राजामा मात्र देखिन्छ । अहिले देखिएका नेताहरू चाहे प्रचण्ड हुन् वा केपी, शेरबहादुर हुन् वा विप्लव कसैमा त्यो ओज छैन जसले विरोधी र समर्थक दुवैमा तरङ्ग पैदा गर्न सकोस् । तर, निर्मलनिवासको अपारदर्शी पर्खालभित्र बसेर आफ्ना पुर्खाको गौरव, शाहवंशको परम्परा उनले स्मरण गर्दै छन् कि छैनन् जान्ने कुनै उपाय छैन । या पछिल्ला दुईपटकजस्तै उनलाई कसैले उचालेर गद्दी चढाउला भन्ने प्रतीक्षा पो छ कि ? यदि त्यसो हो भने भन्नैपर्ने हुन्छ ‘वीर भोग्या बसुन्धरा’ । नत्र दुवैपटक गद्दीमा सजिलै राखिएजस्तै सजिलै उतारिँदैन थियो होला ।

(लेखक स्वयम्भूनाथ कार्की राजनीतिज्ञ एवं विश्लेषक हुनहुन्छ)

५ पुष २०७४, बुधबार २३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..