नगरून ‘बुचर’ समक्ष खसी–बोकाले बिन्ती !

देशको नाम र झण्डासमेत बदल्न प्रयास गर्नेहरू यतिबेला नेपाल मेट्ने हजार दाउ गर्दै छन् । आफ्नो तुच्छ महत्वकाङ्क्षा परिपूर्ति गर्न देशलाई नै दाउमा राख्नेहरूसँग यो मुलुकको स्थापना या एकता दिवस मनाउन माग गर्नु भनेको बुचरका अगाडि उभिएर खसी–बोकाले ज्यान बचाइदिन बिन्तीभाउ गर्नुजस्तै हो ।

फूलमाथिको अधिकार बिरुवा रोप्ने, हुर्काउने, संरक्षण गर्ने र फुलाउनेको हुन्छ कि फूल टिप्नेको ? रूखमाथिको अधिकार वन संरक्षण गर्नेलाई हुन्छ कि ढालेर बिक्री गर्न खोज्नेलाई ? गोली लागेर घाइते हरिणमाथिको अधिकार सिकारीको हुन्छ या उपचार गरी बचाउनेको ? यस्ता अनेकौँ प्रश्नको जवाफ एकैप्रकारको नहुन सक्छ । मानिस कुन प्रवृत्तिको छ भन्ने आधारमा व्यक्तिको जवाफ तय हुन्छ । नास गर्नेहरूको भन्दा संरक्षण गर्नेहरूकै अधिकार वस्तुमाथि रहन्छ भन्ने जवाफ विवेकशीलहरूबाट मात्र आउन सक्छ । अराजकतावादीहरूले कानुन दिवस मनाउने, अपराधीहरूले सुरक्षा दिवस, ब्वाँसाहरूले अहिंसा दिवस र बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भन्ने मान्यता राख्नेहरूले शान्ति दिवस मनाउन थाले भने देख्ने–सुन्नेहरूलाई कस्तो महसुस होला ? देशको सार्वभौमिकता नियोजित ढङ्गले खण्डित गर्नेहरूले राष्ट्रिय एकताको समेत गफ दिन थालेपछि कतै यिनले राष्ट्रिय एकता दिवससमेत मनाएर राष्ट्रियता र एकताकै खिल्ली उडाउने हुन् कि भन्ने ‘आशङ्का’ पैदा भएको छ । जनयुद्धका नाममा जनता मार्ने र राष्ट्रिय एकता तथा सामाजिक सद्भावको वकालत गर्दै एकता र सद्भाव बिथोल्नेहरूले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती (पुस २७ गते) लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरे भने उक्त निर्णय गलत हुनेछैन तर ‘एकता’, ‘सद्भाव’ र ‘राष्ट्रियता’ शब्दको मान रहला भन्नचाहिँ सकिँदैन ।

वि.सं. ०६३ मा आधुनिक नेपालका निर्माता एवम् एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको शालिक ढालेर कथित लोकतन्त्र सुदृढीकरण अभियान सुरु गर्नेहरूले बितेका दश वर्षभित्र नेपाल र नेपाली चिनाउने मौलिक धर्म, परम्परा, संस्कृति, मूल्य, मान्यता एवम् राष्ट्रिय सम्पदा नास गर्ने र भाँडभैलो मच्चाउने निरन्तर प्रयास गरिआएका छन् । नेपाली राष्ट्रियताको जग तोडफोड गर्ने क्रममा उनीहरू हिमाल, पहाड र तराईबीचको एकता र सद्भाव बिथोल्न करिब सफल भइसकेका छन् । जातिवादी र क्षेत्रीयतावादलाई प्रोत्साहित गरी राष्ट्रिय राजनीतिक दल तथा नेपालको पहिचान झल्काउने नेपाली भाषालाई कमजोर बनाउने नियोजित अध्याय पनि उनीहरूबाट सुरु भइसकेको छ ।

कुनै पनि देशको नक्सा मेट्नुअघि त्यस देशको राष्ट्रियता र राष्ट्रिय एकताका आधारको पहिचान गर्नुपर्ने हुन्छ । त्यसपछि देशको मौलिकता झल्काउने ‘ती आधार’ जगैदेखि भत्काइदिनुपर्छ । राष्ट्र निर्माण, राष्ट्रको एकता र विकासमा योगदान पु¥याउने कोही राष्ट्रिय विभूति छन् भने तिनको उपेक्षा र अपमान गर्नुपर्छ, अनि अवशेषहरू ‘डिलिट’ गरिदिनुपर्छ । हो, देश मेट्न जे–जे गर्नुपर्ने हुन्छ त्यही गरिरहेछन् कथित परिवर्तनका बाहकहरू । तथापि मौका पर्दा राष्ट्रियता र राष्ट्रिय एकताको डिङ हाँक्न छोड्दैनन् यिनीहरू । देशमा शान्ति, सद्भाव एकता र समृद्धिको कामकुरा गर्न लुक्नुपर्ने तर जाति, भाषा, धर्म र क्षेत्रका नामका विभाजन, फुट र वैमनष्य फैलाउने अभिव्यक्ति सिंहदरबारकै मझेरीमा उभिएरसमेत दिन पाइने जुन अवस्थाको उत्पत्ति गराइएको छ, यसो गर्नेहरूलाई राष्ट्रियता र राष्ट्रिय एकताबारे बोल्ने अधिकार हुन्छ कि हुँदैन ? एकता दिवस मनाउने या त्यस दिन सार्वजनिक बिदा दिने उनीहरूको हैसियतलाई स्वीकार गर्न मिल्छ कि मिल्दैन ?

पृथ्वीमा देश निर्माण गर्नेहरू, देशको एकता र आपसी सद्भाव सुदृढ बनाउने विशिष्ट योगदान पु¥याउनेहरू जहाँ जो पनि सम्मानित हुन्छन् । संयुक्त राज्य अमेरिका स्थापनाको अगुवाइ गर्ने जर्ज वासिङ्टनलाई अमेरिकीहरू अगाध श्रद्धा र स्मरण गर्छन् । अमेरिका पत्ता लगाउने कोलम्बसको नाम सम्झन नसक्नेहरू पनि वासिङ्गटनको नाम भुल्न सक्दैनन् । सम्मानस्वरूप उनकै सम्झना र सम्मानमा राजधानीको नाम राखिएको छ । जापानका संस्थापक वादशाह जिम्मु, फ्रान्सका नेपोलियन र जर्मनीका बिस्मार्कदेखि मङ्गोलियाका चङ्गेज खाँलगायतको नाम विश्व इतिहासमा सानमानका साथ उल्लेख हुनुको कारण उनीहरूले ‘प्रधानमन्त्री बन्नका लागि देशलाई दाउमा राखेका कारण’ले होइन । बडामहाराजाधिराज पृथ्वीनारायण शाह जो एकीकरण अभियानका क्रममा मैदानमै दिवङ्गत भए, उनले पनि केवल हिमाल, पहाड र तराई मिलाएर एउटा बेग्लै देश निर्माण गरेकोले हामीले स्मरण गर्नुपरेको हो ।
देशको एकीकरण अभियान काठमाडौंका राजा जयप्रकाश मल्लले सुरु गरेको भए पनि हुने थियो । मकवानपुर, पाल्पा, भिरकोट, बझाङ्गी, लमजुङ्गे वा विजयपुरे राजाले नै एकीकरणको अगुवाइ गरेका भए तिनलाई देश स्थापनाको सम्पूर्ण जस (यश) दिनुपथ्र्यो र तिनैलाई महानायक मान्न कसैले कञ्जुस्याइँ गर्ने पनि थिएनन् । गोर्खाकै राजाहरूमध्ये पनि अरू कसैले देश एकीकरण निमित्तको अगुवाइ गरेनन् । पृथ्वीनारायण शाह पनि युद्धमैदानमा नखटी दरबारको सुखशयलमै रमेका भए उनलाई देश एकीकरण नगरेको भन्दै कसैले दण्डित गर्ने पनि थिएनन् । कसै न कसैले नेपाल एकीकरणको अभियान सुरु गर्नैपथ्र्यो, इतिहासको माग पूरा गर्न पृथ्वीनारायण नै अग्रसर भए, यही महान् कामका निम्ति नेपालीजतिले उनको स्मरण गर्नैपर्ने हुन्छ, गरिएको पनि छ । तर, कथित परिवर्तनकारीहरू नेपाल एकीकरण गरेर पृथ्वीनारायण शाहले ठूलो गल्ती गरे भन्ने सन्देश जाने गरी उनको सत्तोसरोप गर्दै छन् ।

धर्मको पक्षमा बोल्न डराउनुपर्ने, पापका पक्षमा छाती फुलाएर बोल्न पाइने, राष्ट्रिय एकताका पक्षमा बोल्न हिचकिचाउनुपर्ने, विखण्डनको पक्षमा सरकारी सञ्चारमाध्यमबाट समेत प्रचार गर्न पाइने, सामाजिक सद्भाव र जातीय एकताका पक्षमा बोल्नेहरू लुक्नुपर्ने, दुर्भाव र अनेकता पक्षधरहरूसमक्ष झुक्नुपर्ने, न्याय, कानुनी शासन र सुशासनको पक्षमा बोल्न दायाँबायाँ हेर्नुपर्ने, अराजकता र भ्रष्टाचारका पक्षमा टुँडिखेलमै माइक राखेर भाषण ठोक्न पाइने जुन परिस्थिति सिर्जना गरिएको छ, यसका सृष्टिकर्ताहरूसँग पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइयोस् भनेर माग गर्नु भनेको राष्ट्र निर्माताको त अपमान हुँदै हो, एकता, सद्भाव र मेलमिलाप शब्दको पनि अवमूल्यन हो र नेपाली भएकोमा गौरव गर्नेहरू सबैको अपमान हो ।

एकीकरण अभियान सुरु गरी हिमाल, पहाड र तराई सम्मिलित एउटा सुन्दर देश पृथ्वीको नक्सामा पैदा गर्नु नै पृथ्वीनारायणको गल्ती थियो भने त्यस्तो गल्ती अवश्य उनले गरेका हुन् । नेपालको एकीकरणमा अवरोध पैदा गर्ने नियोजित उद्देश्यका साथ काठमाडौं प्रवेश गरेका इसाई पादरीलाई नेपालबाट धपाउनु गल्ती थियो भने त्यो गल्ती पनि पृथ्वीनारायण शाहबाट भएको हो । विजयी गोर्खाको नामबाट देशको नामाकरण नगरी पराजित भनिने पक्षको सम्मानस्वरूप देशको नाम चयन गर्नु गल्ती हो भने उनीबाट यस्तो गल्ती पनि भएकै हो । एउटा प्रधानमन्त्रीजस्तो तुच्छ पद पाउनका लागि सत्र हज्जार मानिसको रगत बगाउनुपर्ने रहेछ, तर, पृथ्वीनारायणले देश स्थापना गर्न सुरु गरेको महान् अभियानमा आठ हजार मानिसले पनि ज्यान गुमाउनुपरेन । देश स्थापना गर्नेजस्तो महान् अभियानका क्रममा उनले कम मानिस मर्ने परिस्थिति सिर्जना गरेर गल्ती गरेका हुन् भने यसप्रकारको ‘भयानक’ गल्ती पनि पृथ्वीनारायणबाट भएकै हो भन्नुपर्ने हुन्छ । हाल दलित भनेर अपमान गरिने जातीय समुदायका बिसे नगर्चीको घरैमा पुगेर देश एकीकरण अभियानबारे परामर्श गर्नु उनको भूल थियो भने त्यस्तो भूल पनि उनीबाट भएकै हो । देश एकीकरणको महत्वपूर्ण उचाइ (उपत्यका विजय) प्राप्त गरिसकेपछि यहाँको धर्म, संस्कृति र परम्परामाथि व्यवधान पैदा नगर्न र सबैको संस्कृति तथा परम्परा संरक्षणको नीति लिनु पृथ्वीनारायणको त्रुटि थियो भने त्यस्तो ‘त्रुटि’ पनि उनीबाट हुन पुग्यो । नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी भएको स्मरण गराउँदै मिलेर बस्न सन्देश दिनु अनुचित थियो भने त्यस्तो ‘अनुचित’ कार्य पृथ्वीनारायणबाट भएकै हो । नेपाल दुई ढुङ्गाबीचको तरुल भएको प्रतीकात्मक दृष्टान्त पेस गर्दै यसको कूटनीतिक संवेदनशिलताप्रति सचेत गराउनु नै गल्ती हो भने यसप्रकारको गल्ती पनि पृथ्वीनारायणबाट भयो ।

होइन, उल्लिखित कुनै पनि कार्य गलत थिएन भने शालिक बनेर उभिएका बडामहाराजाधिराज पृथ्वीनारायण शाहले यो दशकमा आएर ढल्नु–ढालिनुपर्ने के अपराध गरेका थिए त्यसको स्पष्टीकरण कथित परिवर्तनकारीहरूले एक न एक दिन जनतालाई दिनुपर्ने हुन्छ ।

०६३ मा पृथ्वीनारायण शाहको शालिक ढालिँदा हामीले ठानेका थियौँ– यो राजा–महाराजाप्रतिको क्षणिक आक्रोशको परिणाम हो । तर, यस्तो ठम्याइ गलत भएको प्रमाणित ‘परिवर्तनकारी’ हरूले दश वर्षभित्र गरिसकेका छन् । हिमालको काखमा एउटा देश बनाए बापतको आक्रोश, निन्दा र अपमान रहेछ त्यो र, दुःखका साथ भन्नुपर्छ, ‘एकीकरण अभियन्तालाई अपमान गर्नेहरूले नेपालकै नागरिकता र पासपोर्ट बोकेका छन् ।’ देश बुझाउने सबै अवयवहरू ध्वस्त पार्दै जानेक्रममा नियोजित ढङ्गले पृथ्वीनारायण शाहको शालिक ढालिएको रहेछ । यस अवधिमा भाषा, धर्म र राष्ट्रियता एवम् राष्ट्रिय एकताका अन्य धरोहर पनि धमाधम ढालिए÷ढालिँदै छन् । देशको नाम र झण्डासमेत बदल्न प्रयास गर्नेहरू यतिबेला नेपाल मेट्ने हजार दाउ गर्दै छन् । आफ्नो तुच्छ महत्वकाङ्क्षा परिपूर्ति गर्न देशलाई नै दाउमा राख्नेहरूसँग यो मुलुकको स्थापना या एकता दिवस मनाउन माग गर्नु भनेको बुचरका अगाडि उभिएर खसी–बोकाले ज्यान बचाइदिन बिन्तीभाउ गर्नुजस्तै हो । दानवहरूको हातबाट देश खोस्ने सामथ्र्य छैन भने हामीले आफूलाई नेपालीका रूपमा परिचय दिने इच्छा त्यागेकै उचित, तर उनीहरूसँग राष्ट्रिय एकता दिवस मनाइपाउन या एकीकरणका अभियन्ताको स्मरण गराइपाउन माग गर्नु सर्वथा अनुचित छ । धर्मको पक्षमा बोल्न डराउनुपर्ने, पापका पक्षमा छाती फुलाएर बोल्न पाइने, राष्ट्रिय एकताका पक्षमा बोल्न हिचकिचाउनुपर्ने, विखण्डनको पक्षमा सरकारी सञ्चारमाध्यमबाट समेत प्रचार गर्न पाइने, सामाजिक सद्भाव र जातीय एकताका पक्षमा बोल्नेहरू लुक्नुपर्ने, दुर्भाव र अनेकता पक्षधरहरूसमक्ष झुक्नुपर्ने, न्याय, कानुनी शासन र सुशासनको पक्षमा बोल्न दायाँबायाँ हेर्नुपर्ने, अराजकता र भ्रष्टाचारका पक्षमा टुँडिखेलमै माइक राखेर भाषण ठोक्न पाइने जुन परिस्थिति सिर्जना गरिएको छ, यसका सृष्टिकर्ताहरूसँग पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइयोस् भनेर माग गर्नु भनेको राष्ट्र निर्माताको त अपमान हुँदै हो, एकता, सद्भाव र मेलमिलाप शब्दको पनि अवमूल्यन हो र नेपाली भएकोमा गौरव गर्नेहरू सबैको अपमान हो । त्यसैले दानवहरूबाट देशका पक्षमा कुनै सकारात्मक कार्य हुने अपेक्षा नराखौँ । देशका लागि उनीहरूसँग केही माग्दै नमागौँ, सकिन्छ भने नेपालीको देश नेपालीले नै पाउनुपर्छ भनेर एउटा आँधी–बेहरी सुरु गरौँ, जय नेपाल ।

२१ पुष २०७३, बिहीबार ०२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..