असोज १८ को शाही कदम — विवेककुमार शाह पूर्व सैनिक सचिव, रथी

हस्ताक्षर भएलगत्तै महाराजाधिराजबाट ‘प्रधानमन्त्रीको सिफारिस बमोजिम’ प्रतिनिधिसभा भंग गरिबक्सी मध्यावधि निर्वाचनको मिति घोषणा गरिबक्स्यो। यसको पूर्व संकेत मैले धेरै पहिले नै पाइसकेको थिएँ। किनभने, म यसमा विशेष कार्य टोली बनाएर सरकारको निर्देशन बमोजिम काम गरिरहेको थिएँ। तर, राजदरबारका अन्य सचिवलाई भने यसबारे प्रतिनिधिसभा विघटन हुने दिन मात्र जानकारी दिइएको थियो। प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको मितिबारे तत्काल समाचार प्रवाह गर्नुपर्ने थियो जसका लागि राष्ट्रिय समाचार समितिलाई राति निकै बेरसम्म ‘स्ट्यान्डबाई’ राखिएको थियो। मध्यरातमा सबै काम फत्तै भएपछि समाचार प्रवाह गरिएको थियो।
अप्रत्याशित रूपमा प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री देउवालाई कांग्रेसले साधारण सदस्यबाट हटाउनेसम्मको कारवाही गर्‍यो। यसरी उहाँ विनादलको हुनुभयो। अब उहाँले दल खोल्नुपर्ने भयो। त्यसमा पनि सरकारले ‘म मद्दत गरुँला’ भन्ने आश्वासन दिइबक्सेको थियो। यसरी कांग्रेस विभाजन हुन पुग्यो। कांग्रेसको चुनाव चिन्ह रूखका लागि निर्वाचन आयोगमा मुद्दा पर्‍यो। उक्त चुनाव चिन्ह सके देउवा सभापति रहेको कांग्रेसलाई दिलाइदिने, नसके कसैलाई नदिएर ‘फ्रिज’ गर्न निर्वाचन आयोगलाई निर्देशन दिने महाराजाधिराज र प्रधानमन्त्रीबीच सहमति भएको रहेछ। तर, पछि प्रधानमन्त्री देउवाले नेतृत्व गरेको पार्टीले रूख चिन्ह पाएन, न त त्यो चुनाव चिन्ह फ्रिज नै हुन सक्यो। त्यही बेला प्रधानमन्त्री देउवाले के भन्नुभएको रहेछ भने, ‘राजाले मलाई चुनाव चिन्ह रूख दिलाइदिन्छु भन्ने आश्वास दिए। कम्तीमा रूख चिन्ह नपाए पनि त्यो फ्रिज गरिदिएको भए हुन्थ्यो। राजाबाट धोका पाइयो। अझै कित धोका पाइने हो।’
असोज १८ को शाही कदम
समयको प्रवाहसँगै मुलुक २०५९ असोज १८ गतेसम्म आइपुग्दा संवैधानिक संकटमा फस्न पुग्यो। त्यसभन्दा नै राजनीतिक अन्योल, दिशाहिनता र अराजकताले गर्दा असोज १८ को पृष्ठभूमि बन्दै गइरहेको थियो। यसमा कुनै द्विविधा छैन न कसैको दुईमत रहन्छ होला। २०५८ जेठ २२ गते राज्यारोहण गरिबक्सेपछि सरकार एक वर्ष निर्मल निवासमै राज भयो। मौसुफबाट त्यहीँ विभिन्न राजनीतिक नेताहरू, बुद्धिजीवीहरू, पत्रकारहरू, विदेशी कूटनीतिज्ञहरूलगायत असंख्य उच्च व्यक्तिहरूसँग जटिल बन्दै गएको मुलुकको राजनीति तथा सुरक्षालगायत विविध विषयमा परामर्श गरिबक्स्यो। यस क्रममा जो–जसले सरकारको दर्शनभेट पाए, ती कसैले पनि मुलुकको तत्कालीन राजनीतिक अवस्थाप्रति सकारात्मक टिप्पणी गरेनन्। सबैले राजनीति दिशाहीन, अन्योलगस्त बन्दै गएको र माओवादी हत्या, हिंसा र आतंकका कारण जनता आक्रान्त र देश भविष्यहीन बनेको जस्ता टिप्पणी गर्दथे। राजनीतिक नेताहरूको कुरा चाहिँ दुईजिब्रे हुन्थ्यो। उनीहरू दर्शनभेटमा सरकारसँग के कुरा गर्दथे र बाहिर गएर के प्रतिक्रिया दिन्थे भन्ने सन्दर्भलाई मात्रै समेट्ने हो भने पनि एउटा छुट्टै किताब बन्दछ।
एकातिर मुलुकको अवस्था दिन–प्रतिदिन बिग्रँदै गएको थियो भने अर्कातिर महाराजाधिराजमा ‘केही न केही गर्ने’ महत्वाकांक्षा बढ्दै गएको मैले नजिकबाट महसुस गरिरहेको थिएँ। राजा भएको सुरुका दिनमा अवश्य पनि सरकारमा आत्मविश्वासको कमी थियो। हुन त सरकार मुलुकबारे पहिलेदेखि नै पर्याप्त जानकार होइबक्सन्थ्यो। तर, महाराजाधिराजका रूपमा धेरै कुरा बुझ्नु पनि थियो। विस्तारै सरकारलाई मुलुकको धेरै विषयमा ज्ञान प्राप्त भयो। राज्य कसरी चलिरहेको छ र पार्टीहरूको वास्तविक अवस्था के छ भनेर नाडी छाम्ने अवसर पाइबक्स्यो। नयाँ राजामा आत्मविश्वास बढ्दै गयो। राज्यारोहणको केही महिनापछि विभिन्न संचार माध्यममा सरकारका अन्तर्वार्ताहरू पनि आउन थाले। सरकारबाट बारम्बार हुकुम हुन थाल्यो, ‘म दाइ जस्तो नेपालको अवस्थालाई टुलुटुलु हेरेर बस्न सक्दिनँ। म कन्स्ट्रक्टिभ किङको भूमिका निर्वाह गर्छु।’ यस्ता भनाईबाट पनि मौसुफको मनस्थिति र भित्री इच्छा प्रकट हुँदै आएको हो।
देशको अवस्था ज्यादै बिग्रेर जाँदा पनि राजा वीरेन्द्रबाट कुनै प्रभावकारी भूमिका निर्वाह गरिबक्सेन भनेर दरबारमा एउटा ग्रुपले सधैँ भन्दै आएको थियो। त्यसको प्रभाव राजा ज्ञानेन्द्रमा पहिलेदेखि नै थियो। मौसुफबाट राज्यारोहण गरिबक्सेको केही समयपछिदेखि नै उक्त समूहले ‘अब पनि राजाले किन केही नगर्ने?’ भनेर दबाब दिइरहेको थियो। यस्ता दबाब र तत्कालीन परिस्थितिको पृष्ठभूमिमा ‘मैले मुलुकमा प्रभावकारी र बलियो नेतृत्व दिनुपर्छ’ भन्ने हिसाबले सरकारमा सोच विकास हुँदै गएको म मसहजै बुझिरहेको थिएँ। तर, सरकारलाई मेरो सुझाव थियो, ‘सरकार, अवश्य पनि मुलुकको अवस्था दिन–प्रतिदिन बिग्रँदै गइरहेको छ। अनि राजसंस्थाको स्थिति पनि राम्रो हुन सकिरहेको छैन। यस्तो बेला सरकारबाट आफ्ना हरेक काम, कर्तव्य र अधिकार संवैधानिक सीमामा बसेर प्रयोग गरिबक्सनुपर्छ।’ तर, म सरकारको सैनिक सचिव मात्र थिएँ। त्यसो भएकाले मेरा सुझाव सरकारबाट मान्नुपर्ने बाध्यता थिएन। मैले भने राजाले हुकुम बक्से बमोजिमका सबै कामहरू सरासर र इमान्दारीपूर्वक गर्नैपर्ने हुन्थ्यो।
मैले जे सुझाव दिए पनि सरकारमा संविधानले दिएभन्दा पनि ज्यादा अधिकार प्रयोग गर्ने चाहना र इच्छाशक्ति विकास हुँदै गएको थियो। तर, यसै गर्ने भन्ने कुनै योजना बनेको थिएन। राजदरबारमा महाराजाधिराजको एकदमै नजिकको भनेका हामी केही सचिव मात्र थियौं। हामी बाहेक राजाको कुनै गोप्य सल्लाहकार टिम भएको मलाई थाहा छैन। तर, शरदचन्द्र शाह, प्रभाकरशमशेर जबरा, प्रभुशमशेर जबरा, वीरेन्द्रबहादुर शाह (लव राजा), सच्चितशमशेर जबरा, भरतकेशर सिंहलगायतका केही व्यक्ति पुराना भारदाराका हिसाबले सरकाराके नियमित सम्पर्कमा थिए। त्यो नै राजाको सबैभन्दा ‘भाइटल र नजिकको टिम’ थियो कि भन्ने पनि लाग्छ।

२४ असार २०६९, आईतवार ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..