नेपाल–भारत सम्बन्ध सधैँ किन सङ्कटमा ?

परापूर्वकालदेखि नै नेपाल–भारत सम्बन्ध नेपाली राजनीतिको एउटा अङ्ग बन्दै आएको छ । भारत विरोधलाई राष्ट्रवादको एउटा महत्वपूर्ण अङ्ग मान्नेहरू र आफ्नो निजी राजनीतिक आकाङ्क्षा पूरा गर्न भारतलाई उपयोग गर्न खोज्नेहरू दुवैथरीले ‘भारत’लाई नेपालमा राजनीतिक एजेण्डा बनाउँदै आएका छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने क्रममा पनि ब्रिटिस भारतप्रति सचेत रहँदै आफ्नो अभियान अघि बढाएका हुन् । ब्रिटिस साम्राज्यका विरुद्ध सीधा युद्ध गर्दा नेपाल र स्वयम् भीमसेन थापाले समेत ठूलो क्षति व्यहोर्नुपरेको सन्दर्भबाट पाठ सिकेर जङ्गबहादुर राणाले आफ्नो विदेशनीति परिमार्जन गरेका थिए । ब्रिटिस भारतसँग भिडेर नभई मिलेर राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दै देशहितको मार्ग प्रशस्त गर्ने नीति जङ्गबहादुरले लिएका थिए । उनले लिएको नीतिको परिणामगत असर दीर्घकालिक राष्ट्रिय दृष्टिकोणले सकारात्मक रहेको पनि हो ।

काठमाडौंको सत्ता–राजनीतिमा दक्षिणतर्फको भूमिका मल्ल राजाका पालादेखि हालसम्म यथावत् रहेको छ । भीमसेन थापाले त्यसको विकल्प खोजेका थिएर उनले त्यसको परिणाम पनि भोगे । राजाहरू महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले उत्तर–दक्षिण दुवैसँग सन्तुलित सम्बन्ध बनाउने नाममा उत्तरतर्फ ज्यादा भरोसा र झुकाव राख्न खोज्दा अन्ततः त्यसको परिणाम पनि राजसंस्था स्वयम्का लागि सकारात्मक ठहर हुन सकेन । दक्षिणसँग सचेत हुँदै चलाइएको एकीकरण अभियानबाट बनेको लाम्चो आकारको नेपालले सरकार चलाउँदा, राष्ट्रिय नीति तर्जुमा गर्दा र अन्य शासकीय व्यवहार प्रस्तुत गर्दा कतै सानै त्रुटि या कमजोरी भयो भने त्यसप्रति दक्षिण सम्वेदनशील रहने इतिहासदेखिकै क्रम हो । नेपालभित्र हुने हरेक गतिविधिलाई भारतले आफ्नो सुरक्षासँग जोडेर हेर्ने गर्दछ भने भारतको नेपाल–नीति र व्यवहारप्रति नेपालभित्र सधैँ संसय राखिन्छ भनियो भने गलत हुनेछैन । नेपालीहरू राष्ट्रियताप्रति त्यति सचेत त छैनन्, तर संवेदनशीलचाहिँ अवश्य छन् । दुई मुलुकबीच अविश्वास र संसय रहनु र शताब्दी–शताब्दीसम्म कायम रहनु कदापि उचित होइन, यही अनुचित नियति हामीले भोग्दै आएका छौँ ।

नेपालमा वीरशमशेर राज्यको कार्यकारी प्रमुख रहँदा काउन्सिल अफ ब्रिटिस इन्डियाको एउटा बैठकमा काठमाडौंस्थित ब्रिटिस रेजिडेन्ट गडलेस्टोनले नेपाललाई भारतमा गाभ्नुपर्ने प्रस्ताव राखेका थिए । भाइसराय लर्ड डफरिनसमक्ष राखिएको प्रस्तावमा असहमति जनाउँदै विदेशसचिव एचएम डुराण्ड र प्रधानसेनापति लर्ड रबर्टलगायतले नेपाल घनिष्ट मित्र मुलुक भएको बताउँदै गडलेस्टोनको प्रस्तावमा असहमति जनाएका थिए । कुनै माध्यमबाट कोलकातामा सम्पन्न उक्त गुप्त बैठकको सूचना वीरशमशेरसम्म आइपुग्यो । त्यसपछि नेपालप्रति सकारात्मक धारणा राख्ने विदेशसचिव डुराण्ड र प्रधानसेनापति रबर्टलाई नेपालको भ्रमण गराउने योजना वीरशमशेरले बनाए । डुराण्ड कोलकाताबाट सरुवा भइसकेकाले उनलाई निमन्त्रणा नगरिए पनि सेनापति रबर्टलाई नेपाल भ्रमणको निम्ति आमन्त्रण गरियो र काठमाडौंमा उनको यसरी स्वागत भयो कि सायद त्यति भव्य स्वागत–सत्कार त्यसअघि र पछि कहिल्यै कसैको भएको मानिँदैन ।

रबर्टको स्वागत–सत्कार ‘सुनेर’ प्रभावित भएका भाइसराय डफरिनले पनि नेपाल भ्रमण गर्ने इच्छा एक पत्रमार्फत वीरशमशेरसमक्ष प्रकट गरेका थिए, तर उनले कूटनीतिक कौशल प्रयोग गरेर डफरिनको नेपाल भ्रमण गर्ने इच्छाको भु्रणहत्या गरिदिएका थिए । त्यसबेला भारतमा नेपालप्रति सकारात्मक र सम्मानजनक दृष्टिकोण राख्नेहरूको पहिचान गर्ने र तिनको खातिरदारी गर्ने काम काठमाडौंले गर्ने गथ्र्यो । तर, हाम्रा वर्तमान नेताहरूमा नेपालका खास हितैषीहरूको पहिचान गर्ने क्षमताको अभाव महसुस गरिएको छ । करिब डेढ वर्षअघि सार्क सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रामजानकी मन्दिर (जनकपुर) हुँदै काठमाडौं आउन चाहन्थे, उनले आफू लुम्बिनी, मुक्तिनाथ र जनकपुरको धार्मिक यात्रा गर्न इच्छुक रहेको जानकारी त्यसअघि नेपाली संसद् (संविधानसभा) भवनमा मन्तव्य दिने क्रममा नै प्रकट गरेका हुन्, नेपाली जनता मोदीजीलाई फेरि एकपटक भव्य स्वागत गर्न र सुन्न हतारिएका पनि हुन् । तर, ‘अग्रगामी छलाङ’वालाहरूले अनेक कपट रचेर मोदीको धार्मिक यात्रामा अड्चन पैदा गरे । यही बिन्दुबाट मोदीजीलाई ‘चिसो बनाउने’ काम भएको स्वीकार भारतीय जनता पार्टीका नेता अजितकुमारले पनि हालै एक लेख (नयाँ पत्रिका, भदौ १०) मार्फत गरेका छन् । नेपाली जनता र मोदीबीच पलाउन सुरु गरेको पे्रमको मुना निमोठ्ने उक्त घटनाले प्रारम्भिक योगदान पु¥याएको तथ्यलाई अजितकुमारजीले लेखमार्फत स्पष्ट गरेका छन् । उनले लेखमा ‘विभाजित दृष्टिले नेपाललाई हेर्नुहुँदैन’ भन्ने पक्षमा आफू रहेको स्पष्ट गर्दै भनेका छन्, ‘देशभित्रका सामाजिक विविधता, पछौटेपन तथा भौगोलिक, भाषिक र जातीय समस्याको समाधान हुनुपर्छ, तर अर्को मुलुकले यी विषयमा अलग–अलग डिल गर्नुहुँदैन ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको हितमा कुन हदसम्मको योगदान हुनसक्छ भनी ‘नेपाली’ नेताहरूले बुझ्न सकेका भए गत वर्ष हामीले भोग्नुपरेका उल्झनहरू प्रकट नहुन सक्थ्यो । मोदीजी नेपालका सच्चा हितैषी थिए र ‘बडी ल्याङ्ग्वेज’ले उनी अहिले पनि नेपालीप्रति त्यत्तिकै सद्भाव, पे्रम र सम्मान गर्छन् भन्ने दर्शाउँछ । यसो भन्दा राजनीतिलाई गहिराइसम्म नबुझ्नेहरू तथा पूर्वाग्रहीहरूलाई पाच्य नहुन पनि सक्छ । तथापि तथ्यहरूले भारतमा प्रधानमन्त्री मोदीलगायत अनेकौँ प्रभावशाली व्यक्तित्व नेपालप्रति पे्रम र सम्मानभाव राख्दछन् भन्ने देखाएको छ । नरेन्द्र मोदीजीले भारतप्रति काठमाडौंमा दशकौँदेखि जमेको आशङ्का र त्रास करिब डेढ घन्टाको एउटै मन्तव्यबाट ‘छुमन्तर’ गरेझैँ गरी हटाइदिएका थिए । किनभने उनको मन्तव्यमा समग्र नेपालप्रतिको चिन्ता र चासो छचल्किएको नेपालीहरूले महसुस गरेका थिए । हिमाल, पहाड र तराई नै नेपाल भएको बताई मात्र दिँदा पनि आमनेपाली नरेन्द्र मोदी र भारतका प्रति एकसाथ नतमस्तक बन्न पुगेको थिए ।

प्रशासनिक र राजनीतिक राजधानी नयाँदिल्ली भए पनि भारत बहुकेन्द्र आत्मसात् गर्ने मुलुक हो । त्यहाँका जनता सबै सधैँ दिल्लीलाई मात्र ‘फलो’ गर्दैनन् । मुम्बई, बेंग्लोर, मद्रास, कोलकाता, लखनउ र अहमदाबादजस्ता केन्द्रलाई पछ्याउने भारतीयहरूको सङ्ख्या पनि सानो छैन । तर, नेपालमा काठमाडौंलाई मात्र पछ्याइन्छ र काठमाडौंमा बन्ने धारणालाई राष्ट्रिय धारणाका रूपमा स्वीकार गरिन्छ । हरेक राजनीतिक परिवर्तनमा काठमाडौंको भूमिका या योगदान प्रकट रूपले निर्णायक हुने गरेको छ । माओवादीले रोल्पा–रुकुमलाई केन्द्र बनाएर बीभत्स हिंसात्मक युद्ध सुरु गरी राज्यलाई हायलकायल पारेका बेलामा पनि परिणाम हासिल हुन अन्ततः काठमाडौंलाई नै हल्लाउनुपरेको थियो । काठमाडौंमा घर भत्काउने र सडक बढाउने अभियान सुरु भएपछि देशका विभिन्न सहरहरूमा पनि सोहीअनुरूप घर भत्कन र सडकको आकार बढ्न थाल्यो । कुनै गोविन्द केसी नामक चिकित्सकले केही ‘अन्टसन्ट’ माग राखेर आमरण अनशन बस्दा त्यस्तो अनशनलाई समेत मोफसलले ‘फलो’ गर्न थालेको थियो ।

काठमाडौंले खराब ठहर गरेको व्यक्तिलाई सत्जन मान्नसमेत देश तयार हुँदैन । काठमाडौंले असल ठानेका व्यक्ति ती पद्मरत्नजस्ता साम्प्रदायिक, जातिवादी र राष्ट्रद्रोही नै किन नहुन् त्यस्तालाई समेत खराब भन्न मोफसल डराउँछ । यी केही दृष्टान्त मात्र हुन् । काठमाडौं मात्र नेपाल त हुँदै होइन, तर काठमाडौंलाई मात्र समग्र नेपालले ‘फलो’ गर्ने गर्छ भन्ने तथ्य स्वीकार गर्न सकिएन भने नेपाल बुझ्न मुस्किल पर्छ । भारतसँगको सम्बन्धका सवालमा पनि काठमाडौंले तर्जुमा गरेको दृष्टिकोणलाई नै सिङ्गै मुलुकले पछ्याउने गर्दै आएको छ । र, भारतले नेपालको खास भूगोलप्रति बेग्लै चासो प्रकट गर्ने गरेकोप्रति काठमाडौं सधैँ सशङ्कित रहने गरेको यथार्थ बुझ्न सक्नुपर्दछ । समग्र नेपाललाई एकै ठाउँमा एकै प्रकारले र एकै स्तरमा ‘डिल’ गर्ने गरियो भने भारतप्रतिको नेपाली दृष्टिकोणमा चामत्कारिक परिवर्तन आउँछ भन्ने तथ्यको पुष्टि नेपालको संसद्मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको मन्तव्यले पनि गरेको छ । उनले प्रकट गरेको ‘हिमाल, पहाड र तराई नै नेपाल हो र नेपालको पहिचान नै यही हो’ भन्ने एउटै वाक्यांशले भारतप्रतिको नेपाली दृष्टिकोणमा चामत्कारिक ढङ्गले परिवर्तन ल्याएको हो । यस प्रकरणले नेपाल–भारत सम्बन्धमा यदाकदा उत्पन्न हुने चिसोपनका कारण भौतिकभन्दा ज्यादा मनोवैज्ञानिक भएको स्पष्ट गर्दछ ।

करिब पचास लाख नेपाली भारतमा रोजगारी गर्दछन्, सबैभन्दा बढी रेमिट्यान्स उपलब्ध गराउने मुलुक पनि भारत नै हो, खर्बौं रुपैयाँबराबरको भौतिक तथा आर्थिक सहयोगसमेत भारतबाट हुँदै आएको छ । सेवामूलक कार्यमा निरन्तर सहयोग पु¥याउने मुलुक पनि भारत हो जसले वर्षेनी दर्जनौँ एम्बुलेन्स, दमकल र स्कुल बस तथा अस्पताल, कलेज, विद्यालय र सामुदायिक भवन निर्माणका निम्ति करोडौँ रुपैयाँ सहयोग गर्दै आएको छ । सडक र खानेपानी आयोजनाहरूमा पनि भारतीय सहयोग उल्लेखनीय छ । हामीबीचको धार्मिक, सांस्कृतिक र सामाजिक सान्निध्य जुन स्तरको छ, त्यसको तुलना संसारका कुनै अर्को मुलुकसँग हुन सक्दैन । मानवीय सहयोगको पाटो केलाउँदा पनि भारतले नेपालमा अविष्मरणीय योगदान पु¥याएको देखिन्छ । महाभूकम्प (वि.सं. २०७२) को समयमा भारतबाट प्रकट संवेदना र सहयोगले नेपालीको सङ्कटमा भारत सधैँ सहयोगी छ भन्ने पुष्टि गरेकै हो । यसरी सहयोग गर्दागर्दै पनि नेपालबाट भारतले यस (जश) प्राप्त गर्न सकिरहेको छैन भने त्यसको कारण पत्ता लगाउने प्रयास अलिक गम्भीर रूपमै हुनुपर्दछ ।

नेपालमा भारतप्रति नकारात्मक दृष्टिकोणको उत्पादन तथा विस्तार र विकासका लागि भारतीय सहयोग हुँदै आएको अवश्य होइन । कुनै खास भूगोलप्रति भारतको चासो विशेष रूपमा प्रकट हुने परम्पराको अन्त्य हुन सक्यो भने नेपालजति भरपर्दो छिमेकी भारतका निम्ति सम्भवतः अर्को हुनेछैन । केही भूभाग या केही जातीय समुदायलाई मात्र केन्द्र मानेर राजनीति गर्न खोज्नेहरूको भुलभुलैयामा भारतजस्तो पुरानो सभ्यता र परिपक्व प्रजातान्त्रिक संस्कारसम्पन्न मुलुक परिराख्नुपर्दैन भन्ने नेपाली बौद्धिक समुदायको धारणाप्रति भारत संवेदनशील हुनसक्यो भने फेरि पनि नेपालमा भारतप्रति सम्मान, पे्रम र मित्रभाव जाग्न सम्भव छ । नेपालमा हिन्दी सङ्गीत ग्राह्य मात्र नभई प्रिय र सर्वस्वीकार्य छ । भारतीय कलाकारहरू नेपालीको ‘धुकधुकी’ बनिरहेकै छन् । भारतीय उत्पादनलाई नेपालीले आफ्नो रोजाइमा पारेकै छन् भने भारतीय शासक र प्रशासकप्रति मात्र नेपालमा नकारात्मक दृष्टिकोण बनिरहनुपर्छ भन्ने होइन ।

नेपालको स्वतन्त्र अस्तित्वप्रति ब्रिटिस भारत सम्भवतः सचेत र सकारात्मक थियो, उनीहरूले नेपालको सत्ता–राजनीतिमा प्रवेश पाइसकेको र आफ्नो आवश्यकताअनुसार नेपालको स्रोत र साधनलाई उपयोग गर्न सकिने अवस्था रहेकोले पनि हुनसक्छ, नेपालको सार्वभौमिकता विघटन गराउने सोच भारतीय ब्रिटिस शासकहरूले राखेनन् । एक सय पन्ध्र वर्षअघि अर्थात् वि.सं. १९५८ मा तात्कालिक भाइसराय लर्ड कर्जनले श्री ३ महाराज चन्द्रशमशेरलाई लेखेको एक पत्रले पनि सोही तथ्य पुष्टि गर्दछ । देवशमशेरलाई सत्ताच्यूत गरेर चन्द्रशमशेर श्री ३ महाराजका साथै नेपालको प्रधानमन्त्री बनेपछि कर्जनले पत्र लेखी ‘आइन्दा नेपालको राज्यसत्ता प्राप्तिको निमित कसैले ‘रक्तपात’ गरे भने नेपाललाई भारतमा मिलाइनेछ’ भनेर राणाहरूलाई सचेत गराएका थिए । कर्जनको उपरोक्त आशयको पत्र प्राप्त भएपछि चन्द्रशमशेरसहित सबै राणा भाइभारदारहरूले पञ्चायनमा गई सत्ताका निम्ति कहिल्यै आपसमा नलड्ने कसम खाएका थिए । कर्जनको पत्रले एकातिर ब्रिटिसले चाहेका भए नेपालको सार्वभौमसत्ता विघटन गराउन सक्ने रहेछ भन्ने सङ्केत गर्दछ भने अर्कोतर्फ नेपालको राजनीतिक स्थायित्वप्रति तात्कालिक भारतीय शासकहरू संवेदनशील भएको पनि दर्शाउँछ ।

नेपालीसँग लड्न र नेपालले समेटेको भूगोल कब्जा गर्न सजिलो छैन भन्ने यथार्थको अनुभूति ब्रिटिसहरूले धेरै पहिले नै गरेका हुन्, तथापि शासकहरूमा एकप्रकारको डर पैदा गरेर भए पनि नेपालभित्र राजनीतिक स्थायित्व पैदा गराउन उनीहरू चाहन्थे भन्ने कर्जनको पत्रले देखाएको छ । तर, भारतको संस्थापनले गत वर्ष सबैको भावनालाई समेटेर संविधान बनाउन दिएको सुझावलाई नेपाली राजनीतिका अगुवाहरूले गम्भीर हस्तक्षेप ठाने । भारतीय प्रधानमन्त्री मोदीले हिमाल, पहाड र तराई नै नेपाल भएको स्मरण गराउँदै ऋषिमन लिएर संविधान बनाउन दिएको सुझाव ‘नेपाली’ नेताहरूलाई ग्राह्य भएन, बरु अस्थिरता, अन्योल र अराजकता नै यिनलाई प्रिय बन्यो । त्यसैले नेपाल र भारतभित्रै रहेका अदृश्य शक्तिहरू जो हामीबीच मित्रवत् सम्बन्ध विकास भएको देख्न चाहँदैनन् तिनको पहिचान गर्न दुवै मुलुकका जनतासमेतको अग्रसरता वाञ्छनीय हुन पुगेको छ ।

२३ भाद्र २०७३, बिहीबार २३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..