किन हुँदै छ आशाको अन्त्येष्टि

जनता राजनीतिक दलहरूको कब्जामा छन्, व्यापार–व्यवसाय सीमित व्यक्तिको नियन्त्रणमा छ, अवसर सत्तासीनहरूको निगाहमा मात्र उपलब्ध हुने अवस्था छ, तैपनि हामी नेपाली देश बन्ने–बनाउने र आफ्नो भविष्य सुन्दर हुने आशाबाट पूर्णरूपले विमुख भइसकेका छैनौँ । राणाशासनले एक सय चार वर्षमा पूरा गर्न नसकेको हाम्रो सपना प्रजातन्त्रले पूरा गरिदिने आशा राखियो, प्रजातन्त्रले दिन नसकेको उपलब्धि पञ्चायती व्यवस्थाबाट पूरा हुने ठानियो, पञ्चायतले दिन नसकेको सुख–सुविधा संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय प्रजातन्त्रले दिन सक्छ भन्ने विश्वास गरियो र प्रजातन्त्रले नदिएको सुख, धर्मनिरपेक्षता र सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रले उपलब्ध गराउन सक्ने ठानियो । अहिले राजनीतिक रूपमा सबभन्दा उन्नत दाबी गरिएको व्यवस्था अस्तित्वमा आउँदा हामी नेपाली सबभन्दा दयनीय जीवन गुजार्न बाध्य छौँ, किन ?

यो देशको साढे दुई शताब्दी लामो जीवनमा हामीले अनेक प्रकारका संविधान र अनेक आकृति–प्रकृतिका नेतृत्व व्यहोर्‍यौँ । सर्वाधिक उन्नत दाबी गरिएको राजनीतिक प्रणालीसम्म आइपुग्दा हामी झनै सकसपूर्ण स्थितिमा आइपुगेका छौँ भने बुझ्नुपर्‍यो–समस्यालाई बुझ्ने र समाधान खोज्ने हाम्रो दृष्टिमा खोट छ । विश्वको सबैभन्दा गरिब मुलुक कङ्गोले अवलम्बन गरेको प्रणाली पनि लोकतान्त्रिक गणतन्त्र नै हो र त्यहाँका जनताको प्रतिव्यक्ति आम्दानी ३५० अमेरिकी डलरभन्दा कम छ । छैटौँ गरिब मुलुक सेन्ट्रल अफ्रिकन गणतन्त्र प्राकृतिक स्रोतका दृष्टिले सम्पन्न मानिन्छ । जलस्रोत, युरेनियम, सुन, हिरा र पेट्रोलियम पदार्थसम्पन्न उक्त मुलुकको प्रतिव्यक्ति आम्दानी ८०० अमेरिकी डलर पनि पुग्न सकेको छैन । हिरा उत्पादनमा विश्वमै अग्र मानिएको सियरालियोन संसारको आठौँ गरिब देश हो र उसको प्रतिव्यक्ति आम्दानी करिब ८५० अमेरिकी डलर मात्र छ । प्रमुख सुन उत्पादक मुलुकको रूपमा रहेको सियरालियोनमा ब्लु डायमण्ड र अन्य खनिज पदार्थ समेत छन् ।

तथापि त्यहाँका सत्तरी प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् । साम्यवादी शासन प्रणाली अवलम्बन गर्ने लाओस्, क्युवा र उत्तर कोरियाजस्ता मुलुक पनि गरिब रहनु र ‘उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गरिरहेका कङ्गो, मध्यअफ्रिकी गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र सियरालियोनलगायतका मुलुक पनि गरिबको गरिब रहनुले संविधान या राजनीतिक प्रणालीले मात्र देशलाई समृद्ध तुल्याउन सक्दोरहेनछ भन्ने सिद्ध गरेको छ ।
दूरदर्शी, इमानदार, देशभक्त, दृढनिश्चयी र क्षमतावान नेतृत्व कुनै पनि मुलुक निर्माणका लागि अपरिहार्य हुन्छन् भन्ने पनि तथ्यहरूले देखाएको छ । पार्क चुङ ही, ली क्वान यू, महाथीर मोहम्मद, देङ सियाओ पिङ र नरेन्द्र मोदीदेखि नीतीशकुमारसम्मले प्रमाणित गरेको तथ्य पनि यही नै हो । तर, हाम्रा राजनीतिकर्मीहरूको व्यवहारले मानिसमा निराशा बढाएको मात्र छैन, राजनीति र राजनीतिकर्मीप्रतिको सम्मान, भरोसा र विश्वासमा समेत अपूरणीय क्षति पुर्‍याएको छ । राजनीतिलाई समाजसेवाको नभई कमाइको प्रभावकारी साधनको रूपमा नेपालीले बुझ्न थालेका छन्, त्यसैले राजनीतिकर्मीहरूप्रतिको नेपाली दृष्टिकोणमा पनि भारी परिवर्तन आएको छ । नेपाली राजनीतिमा सान छ, तर त्यसप्रति जनताको सम्मानभाव विलोप हुँदै गएको छ ।

प्राकृतिक स्रोत न्यून रहेका दक्षिण कोरिया र न्युजिल्यान्डजस्ता मुलुकले पनि समृद्धिको शिखर चुमेका छन् । दक्षिण कोरियाले औद्योगिक उत्पादनलाई आफ्नो समृद्धिको आधार बनाएको छ भने न्युजिल्यान्ड पशुपालन र दुग्ध उत्पादनबाट समृद्ध बनेको छ । उत्पादनका लागि वातावरण बनाउन र गुणस्तरीय उत्पादन गर्न सकियो भने समृद्धि टाढा हुँदैन भन्ने दृष्टान्त कोरिया र न्युजिल्यान्डजस्ता मुलुक बनेका छन् ।

तर, हामी राजनीतिक कार्यकर्ताको उत्पादन बढाएर, धेरैभन्दा धेरै मानिसलाई राजनीतिक क्रियाकलापमा सहभागी गराएर र पछाडि परेका सबै समुदायलाई सत्तामा पुर्‍याएर देश समृद्ध बन्न सक्छ भन्ने ‘अलौकिक’ अभ्यास गर्दै छौँ । योग्यता, क्षमता र दक्षता मात्र भएर अवसर प्राप्त गर्न नसकिने भएपछि कलाकारदेखि चिकित्सकसम्म कुनै न कुनै राजनीतिक समूहसँग जोडिन विवश छन् । सुदूर गाउँ–गाउँसम्म राजनीतीकरणलाई यसरी व्यापक तुल्याइएको छ कि अचेल गाउँमा मान्छे भेटिँदैनन्, काङ्ग्रेस भेटिन्छन्, एमाले, माओवादी, राप्रपा र फोरम आदि भेटिन्छन्, तर एउटा शुद्ध मानिस भेटिँदैनन् । कुनै रामप्रसादले पालेको गाईले श्यामप्रसादले लगाएको बाली खायो भने काङ्ग्रेसको गाईले एमालेले लगाएको बाली खाएको मानिन्छ र त्यहीँ द्वन्द्व सुरु गरिन्छ । मतदाता आफैँमा कार्यकर्ता होइनन्, तर त्यहाँ हरेक मतदातालाई पार्टीको कार्यकर्तासरह मानिँदै छ र परिचालन गरिँदै छ । जसका कारण यो या त्यो पार्टीको कब्जामा पर्न पुगेका छन् । तिनलाई उत्पादनमूलक कामका निम्ति प्रशिक्षण दिइँदैन, परिचालन गरिँदैन । केवल अर्को पक्ष अर्थात् विपक्षसँग मुकाबिला गर्न या लडभिड गर्न मात्र दीक्षित र प्रेरित गरिन्छ ।

तल्लो तहका कर्मचारीहरू राजनीतिक दलको नाममा खुलेका युनियनमा आबद्ध भई सरकारी कार्यक्षेत्रमा राजनीति गर्छन् । माथिल्लो तहका कर्मचारी अवकाशपछिको जीवन सुन्दर बनाउन कुनै न कुनै दलसँग लहस्सिन्छन् । संवैधानिक निकायका पदाधिकारी, राजदूत र न्यायाधीशलगायतका उच्च पद प्राप्त गर्न कुनै न कुनै दलविशेषको कोटामा पर्नुपर्ने भएकोले उच्चपदस्थ कर्मचारीहरूसमेत राजनीतिक दलको भरियाजस्तै बनेका छन् । संवैधानिक र कूटनीतिक सेवाका पद अवकाशप्राप्त कर्मचारीहरूको बिर्ताजस्तै भएको छ । नियुक्तिका निम्ति राखिएका सर्त या तोकिएका योग्यता यसरी निर्धारण गरिएका छन् कि ‘त्यो’ प्रेmमभित्र तिनै अवकाशप्राप्त कर्मचारी मात्र छिर्न सक्छन्, कुनै नयाँ र गतिशील व्यक्तिले त्यसमा प्रवेश पाउन निकै मुस्किल छ । ६५ वर्षसम्म सरकारी सेवामा रहेर भोग्न सकिने जति भोगिसकेपछि बेलैमा बन्दोबस्तीका साथ युरोप–अमेरिका पठाइएका आफ्ना सन्तानका साथ सन्तोषको जिन्दगी बिताउन जाने पनि अधिकांश यिनै कर्मचारीहरू हुन्छन् । निजामती सेवामा रहँदा जनताले तिरेको करबाट पारिश्रमिक बुझेर जनतालाई नै सताउने काम गर्दै आएका अधिकांश कर्मचारीको जीवनस्तर नेपाली जनताको भन्दा नितान्त भिन्न देखिनुले कर्मचारी प्रशासनको क्षेत्र कति विकृत छ भन्ने पुष्टि गर्दछ ।

व्यापार व्यवसायको क्षेत्रमा विकसित ‘सिन्डिकेट र कार्टेलिङ’ प्रवृत्तिले नेपालमा इटालीको भन्दा खतरनाक माफियाको जन्म गराउँदै छ । कसैले चाहेर कुनै व्यवसाय सुरु गर्न पाउने या सक्ने स्थिति छैन । बस या ट्रक व्यवसायमा सिन्डिकेट छ, सीमित व्यक्तिहरूले सडक कब्जामा राखेका छन् । इन्धनको व्यापारमा माफियाको अर्को विकराल रूप देखिन्छ । कसैको वितरक (डिलर) का लागि सरकारबाट अनुमति लिनुपर्‍यो भने उसले डिलरवाला (एसोसिएसन) को सिफारिस अनिवार्य रूपमा लिनुपर्ने हुन्छ, जुन उनीहरू कसैलाई पनि दिन चाहँदैनन्, दिनै परे पनि अनधिकृत रूपमा निकै मोटो रकम लिएर मात्र दिन्छन् । पेट्रोलियम पदार्थको ढुवानीमा पनि वितरणमा झैँ माफियाले आफ्नो नियन्त्रण कायम राखेका छन् । कुनै नेपालीले पेट्रोलियम ढुवानीका निम्ति एउटा ट्याङ्कर खरिद गरेर व्यवसाय गर्न चाह्यो भने आजको दिनमा त्यो सम्भव छैन । सीमित केही व्यक्तिले मात्र ट्याङ्कर सञ्चालन गरेका छन्, कुनै नयाँ व्यक्तिलाई यो व्यवसायमा प्रवेश हुन निषेध गरिन्छ र यस्तो माफियातन्त्रलाई सरकारी यन्त्रले समेत कुनै न कुनै रूपमा सहयोग पुर्‍याइरहेको छ । तरकारी, फलफूल र अन्न उत्पादनको कार्य निकै कष्टपूर्ण छ, त्यसैले यी वस्तुको उत्पादनमा माफियागिरी देखिँदैन । तर, तरकारी र फलफूलको बिक्री–वितरणमा माफियाले नियन्त्रण गर्ने गरेको छ । ढुङ्गा, गिटी, बालुवाजस्ता निर्माण सामग्रीको उत्पादन र व्यापार गुण्डा र माफियाहरूको कब्जामा छ । न्यून लगानीका र बिक्री या बजारको सुनिश्चितता भएका कुनै पनि व्यवसाय यतिबेला माफियाहरूको पूर्ण नियन्त्रणमा छ । नाफा निश्चित भएका हरेक व्यापार–व्यवसायसम्बद्ध सीमित व्यक्तिहरू मिली सङ्घ खडा गर्ने र बाँकी जनतालाई ‘उक्त’ व्यवसायमा प्रवेश नै गर्न नदिने काम सर्वत्र भइरहँदा पनि यसको नियन्त्रण या अन्त्यका निम्ति राज्यका तर्फबाट कुनै प्रकारको पहल भइरहेको छैन । यसर्थ कार्टेलिङ र माफियागिरीलाई संस्थागत गर्न राज्य संयन्त्रबाट नै सहयोग पुगिरहेको छ भन्न सकिन्छ ।

मानव जीवनमा आशाको महत्त्व र प्रभाव सर्वोपरि रहन्छ । सुन्दर भविष्यप्रतिको आशा र विश्वासले मात्र मानिसलाई निरन्तर क्रियाशीलताको निम्ति उत्प्रेरित गरिरहने हो । आशाको विसर्जनपछि मानिस एक निर्जीव कायामा रूपान्तरित हुन्छ र त्यस्ता व्यक्तिले न समाज र परिवारलाई केही दिन सक्छन्, न आफ्नै जीवनको रूपान्तरण गर्न सक्छन् । नेपाली जनता विश्वकै कष्टप्रद जीवन बाँचिरहँदा पनि यिनले सम्पूर्ण आशा मारिसकेका छैनन् । स्वदेशमा आफ्नो सपना पूरा गर्न नसक्दा पराया भूमिमा श्रम गरेर भए पनि जीवनमा आशा जगाउन प्रयत्नशील छन् । तर, देशभित्र आफ्नो सपना पूरा हुनेमा भने जनताको विश्वास उल्लिखित अनेकौँ कारणले क्रमश: ह्रास हुँदै गएका छन् । सम्पूर्ण व्यापार–व्यवसाय माफियाको कब्जामा, राजनीतिकर्मी माफियाको नियन्त्रणमा, जनता राजनीतिकर्मीको कब्जामा र कानुन कर्मचारीको खल्ती–खल्तीमा भएपछि नयाँ पुस्ताका युवा र प्रतिभावान् एवम् क्षमतावान् कुनै पनि व्यक्तिले यो देशमा भविष्य नदेख्नु या भविष्यप्रतिको आशा डगमगाउनु स्वाभाविक छ । जोस, जाँगर र लगनशीलतासम्पन्न युवा तथा योग्य व्यक्तिहरू निराश तथा पलायन हुनुपर्ने अवस्था उत्पादन हुनुको मूल कारण यहाँ ‘होप’ अर्थात् आशाको अन्त्येष्टि भएकोले हो । यिनै राजनीतिकर्मी, यिनै कर्मचारी, यो समयकै शिक्षक–प्राध्यापक र बुद्धिजीवीहरूले आममानिसमा ‘होप’ जगाउन सक्ने सम्भावना देखिएको छैन । आशाको अन्त्येष्टि भएको मुलुकले समृद्धितर्फको पाइला चाल्ने सम्भावना पनि रहँदैन । त्यसैले नेपालमा एउटा पार्क चुङ ही या लिक्वान यू जस्तै आशाको जागरण गराउन सक्ने नेताको अभाव खट्किएको छ, देशप्रति इमानदार र दूरदर्शि छन् भने बरु ती तानाशाह नै भए पनि स्वीकार्य हुन सक्दछन् ।

२९ असार २०७३, बुधबार १८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..