नयाँ शक्ति : हिसिला–बाबुराम कि धुर्मुस–सुन्तली ?

धुर्मुस र सुन्तलीलाई मानिसले पहिलोपटक टेलिभिजनको पर्दामा देखेका हुन्, टेलिभिजनका दर्शकलाई हँसाउँदै उनीहरू पर्दामा देखापरेका थिए । मान्छे रुवाउने काम धुर्मुस र सुन्तलीले पर्दामा र पर्दापछाडि गरेको जानकारी कम्तीमा नेपाली जनतालाई छैन । तिनै धुर्मुस–सुन्तली भूकम्पपीडितका लागि आवास व्यवस्था गरेर मानिसलाई खुसी राख्ने अभियानमा वर्ष दिनदेखि जुटिरहेका छन् । जीवनको ‘त्यो’ उमेरसम्म पुग्दा उनीहरूले जम्मा दुईवटा काम गरे–गर्दै छन्– एउटा मान्छे हँसाउने र अर्को मानिसलाई खुसी दिने ।

बाबुराम भट्टराईले कुनै विषयमा विद्यावारिधि गरेका भए पनि उनको परिचय विषयविज्ञभन्दा राजनीतिकर्मीका रूपमा बन्यो । नेकपा चौम, मशाल, मसाल, जनमोर्चा र माओवादी हुँदै जीवनको उत्तरार्धमा उनी ‘नयाँ शक्ति’ नामाकरण गरिएको एउटा समूहलाई लिएर राजनीतिमा देखापरेका छन् । माओवादमा आधारित नयाँ जनवादी क्रान्तिलाई गन्तव्य बनाएर हिंसात्मक युद्धको अगुवाइ गरिरहँदा पनि उनी प्रजातान्त्रिक प्रणालीसहितको राज्यसत्तालाई ‘पुरानो सत्ता’ भन्थे र आफूहरू (माओवादी) लाई ‘नयाँ शक्ति’ या ‘नयाँ सत्ता’ भएको दाबी गर्थे । उनीसमेतको अगुवाइमा भएको हिंसात्मक युद्धमा करिब सत्र हजार निर्दोष नेपालीले ज्यान गुमाए, झन्डै तीन लाखभन्दा बढी जनता विस्थापित भए र देशले पाँच खर्बभन्दा बढीको क्षति व्यहोर्नुपर्‍यो । बाबुरामजी माओवादीमा रहिन्जेल माओवादी नै ‘नयाँ शक्ति’ थियो । प्रचण्डले पार्टीको नेतृत्व आफूलाई हस्तान्तरण गर्ने सम्भावना नदेखिएपछि माओवादी नामको ‘नयाँ शक्ति’ परित्याग गरेर नयाँ शक्ति नामको ‘नयाँ शक्ति’ लिएर उनी बजारमा आएका छन् । अब हामी नेपालीले जवाफ खोज्नुपर्ने बेला आएको छ– हँसाउने र बनाउने धुर्मुस–सुन्तलीहरू नयाँ शक्ति हुन् कि भत्काउने र मार्ने पृष्ठभूमिका बाबुराम–हिसिलाहरू नयाँ शक्ति हुन् ? नेपाललाई चाहिएको नयाँ शक्ति धुर्मुस–सुन्तलीजस्ता हुन् या बाबुराम–हिसिलाजस्ता ?

आर्थिक विकासमा केन्द्रित हुने, राजनीतिलाई सेवामुखी बनाउने, सबै कार्यकारी पदमा कुनै पनि व्यक्ति दुई कार्यकाल मात्र रहने, केही नयाँ कार्यशैलीको अभ्यास गर्ने र एक व्यक्ति एक पदको प्रणाली स्थापित गर्नेजस्ता प्रतिबद्धतालाई बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्ति नेपालको सकारात्मक पक्षका रूपमा लिन सकिन्छ । प्रतिबद्धताअनुरूपको व्यवहार र परिणाम हेर्न पनि हामीले केही काल प्रतीक्षा गर्नैपर्ने हुन्छ । तर, कतिपय यस्ता प्रश्न छन् जसले बाबुरामहरू नयाँ शक्ति बन्न सक्ने विश्वासका आधार कमजोर बनाएको छ ।

बाबुरामजी माओवादीमा रहिन्जेल माओवादी नै ‘नयाँ शक्ति’ थियो । प्रचण्डले पार्टीको नेतृत्व आफूलाई हस्तान्तरण गर्ने सम्भावना नदेखिएपछि माओवादी नामको ‘नयाँ शक्ति’ परित्याग गरेर नयाँ शक्ति नामको ‘नयाँ शक्ति’ लिएर उनी बजारमा आएका छन् । अब हामी नेपालीले जवाफ खोज्नुपर्ने बेला आएको छ– हँसाउने र बनाउने धुर्मुस–सुन्तलीहरू नयाँ शक्ति हुन् कि भत्काउने र मार्ने पृष्ठभूमिका बाबुराम–हिसिलाहरू नयाँ शक्ति हुन् ?

राजा वीरेन्द्रको कार्यकालमा तर्जुमा गरिएको गुरुयोजनामुताबिक राजधानीका केही सडक फराकिलो बनाउन कथित जनयुद्ध र त्यसको नाममा हजारौँ नागरिकको हत्या गरिरहन आवश्यक थिएन । हिंसात्मक युद्ध नरचीकन पनि गुजरातमा नरेन्द्र मोदीले र बिहारमा नीतीस कुमारले सडक विस्तार गरेकै हुन् । तथापि बाबुराम प्रधानमन्त्री पदमा रहँदा राजधानीका केही सडक फराकिलो हुनुको जस (यस) राजा वीरेन्द्र, तात्कालिक मन्त्री हृदयेश त्रिपाठी र कर्मचारी भाइकाजी तिवारीसँगै उनलाई पनि दिनैपर्ने हुन्छ । वि.संं. २०६३ को प्रायोजित परिवर्तनपश्चात् विकासको मुख देख्नै नपाएका नेपाली जनताले आफ्नो राजधानीको केही सडक फराकिलो देख्न पाउँदा बाबुरामलाई धन्यवाद अवश्य दिइएको हो ।

वि.सं. २०४६ को राजनीतिक परिवर्तनभन्दा धेरैअघि नै चर्को वामपन्थी खेमामा आबद्ध रहेका बाबुराम भट्टराईले परिवर्तनलगत्तै देशभक्त र प्रजातन्त्रवादी शक्तिहरूलाई समेटेर वाम चरित्रको ‘नयाँ शक्ति’ निर्माण गर्ने योजना बनाएका थिए । त्यसनिम्ति उनले काङ्ग्रेस–कम्युनिष्टमा आबद्ध रहेका र नरहेका राजनीतिक तथा व्यावसायिक व्यक्तिहरूसँग परामर्श पनि गरेका हुन् । त्यसबेला बाबुरामको उदारवादी विचार सुन्दा यिनै बाबुराम भविष्यमा अनिष्टकारी हिंसात्मक सङ्घर्षको अगुवाइ गर्न तयार होलान् भन्ने अनुमानसम्म गर्न सकिँदैनथ्यो । जस्तो आजका बाबुराम छन्, विचार धारणाका दृष्टिले त्यसबेला पनि उनी त्यस्तै थिए । तर, प्रधानमन्त्री बन्ने महत्त्वाकाङ्क्षाले बाबुरामलाई हिजो हिंसात्मक सङ्घर्षको मैदानमा पुर्‍यायो, भोलि कहाँ पुर्‍याउने हो त्यसको अनुमान गर्न अहिले पनि सकिँदैन । ‘अबको निकास आर्थिक विकास’ नारा आफैँमा सुन्दर छ । यदि विकास र समृद्धितर्फको पाइला उनले इमानदारीका साथ चाल्न खोजेका थिए या हुन् भने जेठ ३० गते नयाँ पार्टी घोषणा गर्ने क्रममा बाबुरामले विगतको महाभूलका निम्ति नेपाली जनतासँग माफी माग्नुपर्ने थियो । घोषित नयाँ पार्टीको आन्तरिक संरचनाको आधार उनले जातियता र क्षेत्रीयतावादलाई बनाएका छन् । जाति र क्षेत्रीयतावादीलाई वैशाखी बनाएर नयाँ तरिकाले शक्तिशाली बन्ने योजना बनाएका कारण उनको पार्टीलाई नयाँ शक्ति भन्नुपर्ने हो भने यो बेग्लै पक्ष हो, होइन भने कुनै बेला सूर्यबहादुर थापाले बनाएको जनशक्ति पार्टीमा जनताको सहभागिता नरहेजस्तै बाबुरामले बनाएको नयाँ शक्तिमा नयाँपन ठ्याम्मै नदेखिने प्रबल सम्भावना छ । नयाँपन नदेखिने पहिलो आधार त्यस पार्टीको नेतृत्वमा देखिएका सबैजसो व्यक्तिहरू पुराना हुनु पनि हो । बाबुराम स्वयम् ‘सौ चुहा खा के बिल्ली हजको चली’ भनेझैँ विवादास्पद वैचारिक आधार पृष्ठभूमिका पुराना नेता हुन् । उनले आफ्नोपछि लगाएका केही युवाबाहेक मुख्य भूमिकामा रहेकामध्ये कोही अर्थ मन्त्रालयमा तीन दशकसम्म कर्मचारीका रूपमा राष्ट्रसेवा गरी देशको ‘अर्थतन्त्र सुदृढ तुल्याउन विशिष्ट योगदान पुर्‍याएका’, माओवादी आन्दोलनमा इमानदारी या बेइमानीपूर्वक सहभागी भएका, अन्य प्रमुख राजनीतिक दलहरूमा ठाउँ नपाएर विरक्तिएका, कुनै काम नपाएर बरालिएका, निजी समृद्धि प्राप्तिको निम्ति तड्पिएका, विदेशीहरूबाट कुनै न कुनै रूपले लाभ प्राप्त गरिरहेका, अमौलिक धर्मको पक्षमा काम गर्ने कसम खाएका र चाँडै उच्च पदमा पुग्ने महत्त्वाकाङ्क्षा पालेर बसेकाहरूलाई समेटेर बनेको पार्टी ‘नयाँ शक्ति’ वास्तवमा बन्न सक्छ या सक्दैन अहिले नै अनुमान या विश्वास गर्नु हतार हुनसक्छ ।

बाबुरामले राष्ट्रिय समस्याको निकास आर्थिक विकासलाई बनाएका छन्, तर बाबुराम भट्टराईसमेतको सक्रिय सहभागितामा बनेको वर्तमान संविधान लगानी अमैत्री छ । ट्रेड युनियनलाई सामूहिक बार्गेनिङको अधिकार (त्यो पनि मौलिक) दिने, व्यवस्थापनमा मजदुरको प्रतिनिधिमूलक सहभागिता गराउने, स्थानीयलाई अग्राधिकार दिने र समाजवादउन्मुख आर्थिक प्रणाली अपनाउने विषय जतिसुकै कर्णप्रिय भए पनि यी अवधारणालाई लगानीमैत्री मान्न किमार्थ सकिँदैन । बाबुरामले दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, भियतनाम र चीनको आर्थिक विकासका कारणहरूको अध्ययन गर्दा अलिक गहिराइसम्म पुगेका भए उनले ‘सामूहिक बार्गेनिङ’ लाई मौलिक अधिकारको रूपमा सम्भवत: संविधानमा अङ्कित गर्ने कुरामा सहमति जनाउने थिएनन् । अमेरिका, ब्रिटेन र दक्षिण कोरियादेखि चीन र भियतनामसम्मको आर्थिक विकासको सूक्ष्म अध्ययन गर्नेले न ट्रेड युनियनहरूलाई ‘छाडा साँढे’ बनाउनेबारेमा सोच्न सक्छ, न मजदुर प्रतिनिधिलाई व्यवस्थापनमा सहभागी गराउन प्रोत्साहन गर्ने र स्थानीयलाई अग्राधिकार दिने भनेर संविधानमै लेख्न सक्छ । यस्ता प्रावधानलाई स्वीकार गर्नेहरूले लगानी निरुत्साहित गर्न मुख्य योगदान पुर्‍याएका छन्, लगानी निरुत्साहित गराउनेहरू ‘नयाँ शक्ति’ बन्न कसरी सक्छन् ?

कर्मचारीहरूले पूर्णत: विमति जनाउन सक्ने सम्भावना रहँदारहँदै पनि स्वीकार गर्नुपर्ने एउटा यथार्थ के हो भने नेपालको सर्वाधिक ठूलो समस्यामध्ये कर्मचारीको सोच, व्यवहार र चरित्र पनि हो । भ्रष्टाचारको केन्द्रस्थल बनेको कर्मचारीतन्त्रले सेवाग्राहीलाई सताउने काममा झन्झट र अड्चन पैदा मात्र गर्दैन नीति र कानुन निर्माणमा चलाखीपूर्ण हस्तक्षेप गरेर आफ्नो स्वार्थ सिद्धि गर्ने काम पनि गर्दै आएको छ । नेपालको समृद्धिमा अड्चन बनेको ब्युरोक्रेसी र त्यसको व्यवहारलाई आमूल परिवर्तन नगरीकन नेपालीको सपना पूरा हुन सम्भव छैन । शाखा अधिकृतभन्दा माथिका पदमा स्थायी नहुने र करार सम्झौतामार्फत सरकारले निश्चित अवधिका उपसचिवदेखि सहसचिव, सचिव र मुख्यसचिवसम्मको सेवा लिने पद्धतिको विकास गर्न सक्दा मात्रै ब्युरोक्रेसीको व्यवधानबाट जनता र राज्यले मुक्ति पाउन सम्भव छ । नयाँ शक्ति बन्नेले प्रशासनिक क्षेत्रमा पनि नयाँ पन दिने र प्रशासनलाई सेवामुखी बनाउने अवधारणा ल्याउन सक्नुपर्छ । बाबुरामले ब्युरोक्रेटिक अड्चनबाट मुक्तिको कुनै प्रभावी उपाय प्रस्तुत गर्न सकेका छैनन् ।

पार्टी स्थापना घोषणा गर्नेजस्तो एउटा मामुली कार्यक्रमलाई तडकभडकपूर्ण बनाउँदै हजारौँ मानिसलाई सहभागी गराउने जुन काम अरूहरूले झैँ बाबुरामले पनि गरे, यसले उनको सोच ‘नयाँ शक्ति’ होइन ‘ठूलो शक्ति’ बन्ने निम्न कोटिको नियत र उद्देश्यबाट प्रेरित छ भन्ने दर्शाउँछ ।

देशमा जनतासिर्जित समस्या कम, राजनीतिकर्मीसिर्जित समस्या चाङका चाङ छन् । बग्रेल्ती समस्यामध्ये एउटा राज्यका हरेक क्षेत्रको राजनीतीकरण पनि हो । राजनीतिक दलहरूबाट शिक्षा, स्वास्थ्य, निजामती सेवा, न्यायालय, प्रशासन, विकास, सुरक्षा र सेवामूलक क्षेत्रलाई समेत राजनीतीकरण गर्ने कार्य भइरहेको छ । राजनीतीकरणले राज्यको हरेक क्षेत्रलाई गाँजेका कारण राज्यको कार्य परिणाम निष्पक्ष, भ्रष्टाचारमुक्त, प्रभावी र सेवामुखी हुन सकिरहेको छैन । जसले यसप्रकारको समस्या समाधान गर्ने सामथ्र्य राख्दैन, तिनले आर्थिक विकासको गफ दिन सक्छन्, परिणाम हासिल गर्न सक्दैनन् । आर्थिक विकासको अवरोध हटाउन नसक्नेहरूलाई ‘नयाँ शक्ति’का रूपमा बुझ्नु उपयुक्त नहुन सक्छ ।

राज्यमा राजनीतीकरण एउटा समस्याको रूपमा रहेको छ भने देशमा पनि राजनीति अर्को प्रकारले समस्या बनेको छ । राजनीतिमा संलग्न व्यक्तिहरूले उद्यम, व्यवसाय, व्यापार गर्नु नपर्ने, कानुन मान्न र कर तिर्नु पनि नपर्ने, ठूला कुरा गरे हुने, काम गर्नु नपर्ने, धाक–रवाफ तिनकै बढी हुने, मोजमस्ती, कमाइ र सान–मान पनि तिनीहरूकै ज्यादा हुने भएपछि देशलाई आवश्यक पर्नेभन्दा हजारौँ गुणा बढी मानिस राजनीतिक क्रियाकलापमा सहभागी भइरहेका छन् । भूकम्पले घर भत्किएका व्यक्तिको नाम पीडितका रूपमा लेखिन र राहत पाउनसमेत दलको सदस्य बन्नुपर्ने अवस्था छ । कुनै व्यापारी, उद्यमी या व्यवसायीको भन्दा राजनीतिकर्मीको जीवन उन्नत र सुविधासम्पन्न हुने गरेकोले धेरैभन्दा धेरै मानिस राजनीतिप्रति यसरी आकर्षित भएका हुन् । राजनीतिकर्मीको भन्दा किसान, उद्यमी, व्यवसायी र मजदुरको जीवन उन्नत स्तरको हुने हो भने सेवाको भावना भएकाबाहेक अरू कोटिका मानिस राजनीतिमा किन सहभागी हुन्थे ? कमाउने काममा रमाउने र कमाउनकै लागि राजनीतिमा जोडिएकाहरूले भ्रष्टाचार नगरीकन तिनको जीवन सुविधासम्पन्न भएको छैन भन्ने सबैले बुझेको तथ्य हो । तर, बाबुरामले बुझेनछन्, त्यसैले आफ्नो नीति र कार्यक्रममा राजनीतिकर्मी उत्पादनको वातावरण नियोजन गर्ने कुरालाई उनले पनि प्राथमिकता दिएनन् । बरु पार्टी स्थापना घोषणा गर्नेजस्तो एउटा मामुली कार्यक्रमलाई तडकभडकपूर्ण बनाउँदै हजारौँ मानिसलाई सहभागी गराउने जुन काम अरूहरूले झैँ बाबुरामले पनि गरे, यसले उनको सोच ‘नयाँ शक्ति’ होइन ‘ठूलो शक्ति’ बन्ने निम्न कोटिको नियत र उद्देश्यबाट प्रेरित छ भन्ने दर्शाउँछ ।

विगतको गल्ती र अपराधका निम्ति क्षमा माग्न आवश्यक नठान्ने, देश र जनतालाई बारम्बार गुमराहमा राख्न यत्नशील हुने, देशका संवेदनशील र प्रमुख समस्या समाधानतर्फ उदासीन रहने, अपारदर्शी स्रोतहरूबाट दामी–नामी बन्ने, राजनीतीकरण र राजनीति विस्तारलाई स्वाभाविक ठान्ने बाबुराम र हिसिलाभन्दा जनताको समस्या समाधानका निम्ति आफ्नै बुताबाट निस्वार्थ ढङ्गले केही गर्न अग्रसर भएका धुर्मुस र सुन्तली नै यो देशका नयाँ शक्ति हुन् । नयाँ शक्ति देश बनाउन अग्रसर हुन्छन्, रङ्गशालामा मान्छेको भीड देखाएर मन्त्री, प्रधानमन्त्री बन्ने खेतिपातिमा लाग्दैनन् । त्यसैले नयाँ शक्ति प्रमाणित हुन हिसिला–बाबुरामले निकै ठूलो अग्निपरीक्षाको सामना गर्नुपर्ने अवस्था छ ।

३ असार २०७३, शुक्रबार २०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..