झुक्किने पालो भारतको

विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारत कम्युनिस्टहरूलाई बुझ्ने सामथ्र्य राख्दैन भनियो भने भारतीय राजनीतिकर्मी र त्यहाँका बुद्धिजीवीहरू माझ यो हाँसोको विषय बन्न सक्छ । चारु मजुमदारदेखि ज्योति बसु टाइपका कम्युनिस्टहरूलाई सजिलै पचाउन सक्ने भारत केही वर्षयता माओवादी हिंशाको सामना गर्दै छ । विभिन्न आकार, प्रकार र हैसियतका कम्युनिस्टहरूलाई ‘डिल’ गर्न सक्ने, तह लगाउन र सिस्टमभित्र समाहित गराउन सक्ने भारतले नेपालका वामपन्थी कम्युनिस्टहरूलाई सही ढङ्गले बुझ्न र व्यवहार गर्न किन सकेन भन्ने प्रश्नले आमबुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरूलाई चकित पारेको छ ।

नेपालको प्रधानमन्त्री पद प्राप्त गर्नुअघिसम्म प्रचण्ड भारतका विश्वासप्राप्त मित्र थिए, पछि त्यस्तै रहेनन् । खड्गप्रसाद ओली दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिँदासम्म भारतका मित्र थिए, अब उनी पनि मित्र रहेनन् । भारत र नेपाल दुवै मुलुकमा जनवादी गणतन्त्र स्थापनाका लागि भन्दै माओवादीको हिंसात्मक सङ्घर्ष शुरु भएको थियो । नेपाल र भारत दुवै मुलुकका माओवादी कम्युनिस्टहरूको दर्शन, विचार, शिद्धान्त, व्यवहार, लक्ष्य, नीति, कार्यक्रम र गन्तव्य एउटै थियो, तर भारतको तात्कालिक संस्थापनले दुवै देशका माओवादीप्रति समान नीति अवलम्बन गरेन । भारतमा माओवादीविरुद्ध बल प्रयोगको नीति कार्यान्वयन भइरहँदा नेपालका माओवादीहरूलाई बाह्रबुँदे सम्झौता (नयाँदिल्ली) हुँदै सिंहदरबारसम्मको सुखद यात्रा तय गराउन तात्कालिक भारतीय संस्थापनले महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको हो । यिनै माओवादी र खड्गप्रसाद ओली सत्तामा रहँदा नेपालभित्र भारतविरुद्ध र अर्को छिमेकी मुलुक चीनका पक्षमा ‘रोमाञ्चकारी’ माहौल बनाउन सक्रिय भइरहेका छन्, किन ?

नेपालका कम्युनिस्टहरू जतिसुकै घटकमा विभाजित भए पनि यिनीहरूको स्कुलिङ चीनप्रति सकारात्मक र भारतप्रति नकारात्मक भावबाट प्रारम्भ भएको हुन्छ । जसरी एउटा बालक आफ्नी आमाप्रति आश्वस्त–विश्वस्त हुँदै हुर्कन्छ र जीवनपर्यन्त आमाप्रति ढुक्क रहन्छ, नेपालका कम्युनिस्ट पनि चीनप्रति त्यस्तै भाव राख्छन् । नारायणमानदेखि सीपी मैनाली, खड्गप्रसाददेखि प्रचण्ड र मोहनविक्रमदेखि मोहन वैद्यसम्मका जति पनि घटक छन् यी सबैले चीनलाई ‘मक्का’ ठान्छन् भन्ने तथ्य भुल्नुहुँदैन । शायद भारत यहीँनेर चुकेको हुनुपर्छ । भारत भूमिमा आश्रय लिएको, कहीँ–कतैबाट आवश्यक सहयोग उपलब्ध गराइएको र आफ्नै सहयोगमा सत्ताको मालिकसम्म बनाइएकोले हुनसक्छ भारतीय पक्ष नेपालका वामपन्थी कम्युनिस्टहरूप्रति विश्वस्त रहेको ।

तर, हरेक प्राणी आफ्ना जन्मजात गुणअनुरूप बाँच्ने गर्छन् । एक टुक्रा हड्डी कुनै दिन आफूतर्फ फालिदिएका कारण एउटा बिरालो या कुकुरको भक्ति वर्षौंसम्म कायम रहन सक्छ, तर वर्षौंसम्म दूध खुवाएर पालिएको भए पनि सर्प प्राणघातक नै रहन्छ । स्कुलिङका कारण कम्युनिस्टलाई साधारण मानिसभन्दा बेग्लै बनाइएको हुन्छ । फरक विचार–पक्षमाथि घृणा, समूहगत स्वार्थ, वैचारिक पक्षपोषणका निम्ति जस्तोसुकै कर्म या कुकर्म पनि ग्राह्य र पार्टी तथा क्रान्तिका निम्ति गरिने अपराध र धोखाधडीपूर्ण व्यवहारलाई सहजै अपनाउन सक्ने ‘क्षमता’ एउटा कम्युनिस्टमा हुनैपर्छ र हुन्छ पनि । कम्युनिस्टका विचारमा कम्युनिस्टका समर्थकबाहेक सबै पक्ष गलत हुन्, कुनै कसुर नभए पनि भिन्न विचारबाहकहरू अवसर प्राप्त नगर्न र दण्ड या दु:ख पाउन तिनका दृष्टिमा योग्य छन् । मुसलमानहरूको दृष्टिमा काफिरजस्तै हुन् कम्युनिस्टका दृष्टिमा गैरकम्युनिस्टहरू । त्यसैले कम्युनिस्टमाथि विश्वास र भरोसा राख्ने सबैले उनीहरूबाट धोखाबाहेक अरू केही पाएको एउटा दृष्टान्त संसारको इतिहासमा आजसम्म भेटिएको छैन ।

सन् १९४९ मा च्याङ काई सेकले चीनबाट भागेर ताइवान पुगेपछि भनेका थिए, ‘मेरो सबैभन्दा ठूलो भूल माओ त्से तुङसँग संवाद र सम्झौता गर्नु नै हो । यदि मैले उनीहरूसँग सम्झौता नगरेको भए यति सजिलै चीनको सत्ता उनीहरूलाई प्राप्त हुने स्थिति नबन्न सक्थ्यो ।’ वि.सं. २०५८ सालमा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादीले संवाद र सहमतिका निम्ति भन्दै युद्धविराम घोषणा गर्‍यो । चार महिनासम्म संवादको नाटक गर्दै शक्ति सञ्चय गरिसकेपछि सैन्य ब्यारेक (दाङ) मा हमला गरी ठूलो क्षति पुर्‍याएको घटना पनि स्मरणीय छ । इण्डोनेसिया, मलेसिया, कोरिया, कम्बोडिया, पेरू, थाइल्याण्ड, फिलिपिन्स र इथियोपियादेखि एल साल्भाडोर, क्युवा र निकारागुआसम्मको इतिहासले बताउँछ कम्युनिस्टहरूको चरित्र र चिन्तन ।

नेपालका कम्युनिस्टहरूले शेरबहादुर देउवालाई मात्र धोखा दिएका होइनन्, राजा र गिरिजाप्रसाद कोइरालालाई पनि अविष्मरणीय धोखा दिएका हुन् । नेपालको राजदरबार कम्युनिस्टका प्रति सकारात्मक थियो र माओवादी हिंसात्मक सङ्घर्षको सुरुवाती चरणमा राजा वीरेन्द्रको साथ, सहयोग या सहानुभूति उनीहरूप्रति छँदै थिएन भन्ने होइन । राजा वीरेन्द्रसँग विभिन्न च्यानलमार्फत सम्पर्क र संवादमा रहेको खुलासा वीरेन्द्रको निधनपश्चात् स्वयम् प्रचण्ड र बाबुरामलगायतका नेताहरूले गरेका हुन् । तर, यिनै प्रचण्ड–बाबुराम राजतन्त्र अन्त्य र गणतन्त्र घोषणाका ‘निमित्त नायक’ बन्न पुगे ।

नेपालको इतिहासमा शिद्धान्तहीन र आत्मकेन्द्रित नेताका रूपमा चिनिएका गिरिजाप्रसाद कोइराला आफूलाई राष्ट्रपति बनाउन कम्युनिस्टहरूबाट प्राप्त वचनबद्धताको जालमा परेर बीपी विचारको प्रतिकूल गणतन्त्र घोषणा गर्न तयार भए । गणतन्त्र घोषणा भइसकेपछि राष्ट्रपति चयनको सन्दर्भमा मात्र आफूमाथि धोखा भएको महसुस उनले गरेका हुन् । त्यस्तै, २०६५ साल (वि.सं.) मा प्रधानमन्त्री बन्नुअघिसम्म प्रचण्ड तात्कालिक भारतीय संस्थापन सम्बद्ध संयन्त्रलाई जानकारी नगराई या उनीहरूसँग परामर्श नगरी कुनै पनि निर्णय लिने गर्दैनथे । प्रचण्ड–बाबुरामले सन् २००२ मा भारतीय प्रधानमन्त्रीसमक्ष भारतका विरुद्ध कहिल्यै कुनै प्रकारको गतिविधि गरिनेछैन भनी प्रतिज्ञापत्र चढाइसकेको पृष्ठभूमिमा प्रचण्ड–बाबुरामलाई भारतले आज्ञापालक ठानेकोले विश्वास गर्नु नपर्ने कारण पनि देखिएन होला । तर, कालान्तरमा भारतविरुद्ध देशव्यापी अभियान चलाउने र सार्वजनिक रूपमा भारतलाई ललकार्ने पनि यिनै प्रचण्ड भए ।

यसरी नेपालको कम्युनिस्टहरूबाट सबभन्दा पहिले शेरबहादुर देउवा झुक्किए, त्यसपछि राजदरबार झुक्कियो, अनि गिरिजाप्रसाद कोइराला झुक्किएका हुन् र अहिले झुक्किने पालो भारतको आएको हो । झुक्याउनु या धोखाधडी गर्नुलाई सभ्य संसारमा आपराधिक चरित्र मानिए पनि कम्युनिस्टहरूको संसारमा विशिष्ट क्षमता अर्थात् खुवीका रूपमा लिइन्छ । आफू मोटाउन भारतको सहयोग लिएर भारतलाई नै ‘ललकार्ने’ अवस्थामा पुग्न सक्नुलाई कम्युनिस्टहरूले आफ्नो अति विशिष्ट क्षमताका रूपमा आत्मतुष्टि लिइरहेका छन् । तर, यसबाट मुलुकलाई पर्न सक्ने क्षतिप्रति उनीहरू सम्भवत: बेखबर र बेसरोकार छन् ।

विगतमा नारायणहिटी राजदरबारप्रति छिमेकी मित्रराष्ट्र भारतको स्थायी ‘रिजर्भेसन’ रहनुको एउटा कारण चीनसँग नेपालका राजाहरूको आत्मीय सम्बन्ध हो भन्ने निष्कर्ष निकालियो भने त्यो गलत हुनेछैन । त्रिभुवनपछिका राजाहरू महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले चीनसँगको सम्बन्धलाई विशेष महत्त्व अवश्य दिएका हुन् । सन् १८१५ मा ब्रिटिस भारतसँगको नौबुँदे सन्धि (सुगौली) भएयताका कुनै पनि शासकले ‘चीनतिर फर्कने’ हिम्मत गरेका थिएनन् । राजेन्द्र शाहको कार्यकालमा तात्कालिक श्री ३ महाराजाधिराज एवम् प्रधानमन्त्री जङ्गबहादुर राणाले तिब्बत (चीन)सँग युद्ध नै गरेका थिए भने त्यसपछिको पूरै एक शताब्दी नेपालले उत्तरतर्फ फर्किएर हेरेन । यद्यपि चीनलाई बिझाउने या चिढ्याउने प्रकारको व्यवहार पनि नेपालबाट भएन । राजा त्रिभुवनको देहावसानपश्चात् राजा महेन्द्रले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिए र अतिक्रान्तिकारी माओ त्से तुङसँग अति दक्षिणपन्थी विचारका मानिने उनले निकै कसिलो एवम् मित्रवत् सम्बन्ध बनाएका थिए ।

राजा महेन्द्रले चीनसँग कति बलियो सम्बन्ध स्थापित गरेका थिए भन्ने दृष्टान्त कोदारी राजमार्ग, पृथ्वी राजमार्ग र चक्रपथलगायतका आयोजना निर्माण मात्र बनेको छैन, नेपाल कम्युनिस्ट पार्टीको समर्थन आफ्नो पक्षमा जुटाउन सक्नुले पनि यो तथ्यको पुष्टि गर्छ । वि.सं. २०१७ सालमा राजा महेन्द्रबाट बीपी कोइरालाको सरकार अपदस्थ गरी सम्पूर्ण शासनाभार आफूमा निहित गर्ने कदम चाल्दा कम्युनिस्ट पार्टीको महासचिव डा. केशरजङ्ग रायमाझी थिए र उनले माओ त्से तुङको सल्लाहबमोजिम राजा महेन्द्रको कदमलाई स्वागत गर्ने निर्णय लिइएको खुलासा (च्यानल नेपालको अराजनीति नामक संवाद कार्यक्रममा) गरेका थिए । त्यसो त तात्कालिक सोभियत सङ्घका राष्ट्रपति खु्रस्चेवले पनि रायमाझीलाई राजा महेन्द्रको कदमको समर्थन गर्न सुझाएको उनले बताएका थिए । यसबाट चीन नेपालको आर्थिक विकासमा मात्र नभई पहिलेदेखि नै राजनीतिक विषयमा समेत सरोकार राख्दथ्यो भन्ने स्पष्ट हुन्छ ।

दुई छिमेकी देशहरू चीन र भारतबीच सामारिक युद्धसमेत भएको पृष्ठभूमिमा भर्खरै स्वाधीनता प्राप्त गरेर आफ्नै बुतामा विकसित हुँदै गरेको देश भारत नेपाल मामिलामा बेखबर नरहे पनि साठी र सत्तरीको दशकतिर अधिक चासो प्रकट गर्न सक्ने अवस्थामा सम्भवत: थिएन । चीनसँग नजोडिएको झन्डै दुई हजार किलोमिटर लामो सीमामा उत्पन्न हुनसक्ने तनाव र खर्च व्यहोर्नु नपर्ने कुराले पनि त्यसताक भारत सम्भवत: सचेततापूर्वक मौन रहनुपर्ने अवस्थामा हुँदो हो । त्यसैले भारतमा जयप्रकाश नारायणहरूभन्दा भिन्न दृष्टिकोण राख्ने राजनीतिक दल (कङ्ग्ेरस) को सत्ता हुँदा नेपालमा राजा महेन्द्रले जयप्रकाश नारायणको अवधारणाअनुरूप निर्दलीय व्यवस्था कार्यान्वयनमा ल्याए र यो जान्दाजान्दै पनि भारत यसका विरुद्ध क्रियाशील हुन खोजेन या चाहेन । निर्दलीय राजनीतिक प्रणालीसम्बन्धी जयप्रकाश नारायणको अवधारणालाई बीपी कोइरालाले उपेक्षा गरेका भए पनि डा. तुल्सी गिरीमार्फत राजा महेन्द्रले ग्रहण गरेपछि निर्दलीय पञ्चायती व्यवस्था लागू गरिएको उक्त व्यवस्थाका सूत्रधार मानिने गिरीले बताउँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल रहेको वास्तविकतालाई आत्मसात् गरेर पनि हुनसक्छ नेपालमा राजाको भूमिका चीनमैत्री रहँदा भारतले परिणाममुखी प्रतिक्रिया नजनाएको । तर, भारतले ०४५/४६ सालमा नेपालप्रतिको व्यवहार परिवर्तन गर्दा नेपालीले सास्ती पाएको र निर्दलीय पञ्चायती व्यवस्था पनि विस्थापित हुन पुगेको वास्तविकतालाई अस्वीकार गर्न सकिँदैन ।

चीनसँग मिल्ने र भारतसँग भिड्ने नीति अवलम्बन गर्नेमा यतिबेला प्रचण्ड र खड्गप्रसाद ओलीहरू परेका छन् । कुनै समय भीमसेन थापाले यस्तै नीति लिँदा सुगौली सन्धि (१८१५ सन्) मा पुगेर नेपाल खुम्चनुपरेको थियो, अब प्रचण्ड–खड्गले कहाँ पुर्‍याएर छोड्ने हुन् त्रासदीपूर्ण प्रतीक्षामा आमनेपाली जनता रहेका छन् । राष्ट्रवादी बन्न या आफ्नो राष्ट्रिय हितको पक्षमा क्रियाशील रहन कुनै देशविरुद्धको भावना बोक्न आवश्यक रहँदैन । त्यसमाथि छिमेककै एउटा शक्तिशाली मुलुकलाई चिढ्याएर अर्कोपट्टिको एउटासँग मात्र प्रीति गाँस्नु त झन् राष्ट्रहितमा हुने विश्वास गर्न सकिँदैन ।

कुनै बेला प्रजातन्त्रवादीजस्तै देखिने खड्गप्रसाद ओली पछिल्लो समयमा हुबहु माओवादीजस्ता देखिँदै गर्दा प्रचण्डचाहिँ मदन भण्डारीको प्रशंसासहित एमाले बन्ने कसरतमा छन् । तर, यी कम्युनिस्टहरू जो जे–जस्ता बने पनि राष्ट्र उन्मूलन गर्ने प्रकारको ‘राष्ट्रवादी भूमिकामा’ भने दुवैजना उन्मत्त देखिएका छन् । कम्युनिस्टहरू जे–जसलाई सिध्याउने हो त्यसैसँग मिल्ने र त्यहीँभित्र घुस्ने नीति बारम्बार अवलम्बन गर्छन् । पञ्चायती व्यवस्थालाई सिध्याउन भन्दै पञ्चायती निर्वाचनमा भाग लिएर पञ्चायत प्रवेश गर्नेहरूले यतिबेला राष्ट्रवादको नाममा जे गरिरहेका छन् अन्तत: यो उनीहरूको राष्ट्र नै विघटन गराउने कपटी चाल नहोला भनेर कसरी भन्न सकिएला ? बाहिरबाट टोक्ने उडुसभन्दा शरीरभित्र घुस्ने जुका या अन्य ब्याक्टेरिया बढी खतरनाक हुनसक्छ भन्ने तथ्य विज्ञानले पुष्टि गरिसकेको छ । राष्ट्रवादी आवरणमा देखिएर राष्ट्रलाई नै क्षति पुर्‍याउन सक्रिय रहनेहरूको वास्तविक नियतबारे हामी वीर गोर्खालीले बुझ्न कहिले सकौँला ?

५ जेष्ठ २०७३, बुधबार १८:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध,..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न..