खड्गप्रसादको शासन : हाँस्दाहाँस्दै मृत्युको निमन्त्रण !

मिर्गौलाका रोगीहरूले लामो समयसम्म ‘स्टेरोइड’ लिइरहँदा त्यसको साइडइफेक्टका रूपमा ‘मेगालोमानिया’ देखापर्न सक्छ भन्ने चिकित्सकहरूको भनाइ छ । ‘मेगालोमानिया’ एकप्रकारको मनोरोग भएको र यस्ता रोग भएका व्यक्तिहरूमा ‘आफू सबभन्दा बलियो र सबैभन्दा राम्रो’ भन्ने भ्रम पैदा हुन्छ । चिकित्सकहरूका अनुसार ठूलाठूला कल्पना गर्ने र आफूले चाहेका जुनसुकै काम पनि गर्न सक्छु भन्ने मनस्थिति त्यस्ता मानिसहरूमा हुने गर्दछ । ‘म नै ठीक हुँ र म जे पनि गर्न सक्छु’ भन्ने मनोरोग भएका सामान्य मानिसले त समाजमा समस्या पैदा गर्न सक्छन् भने कदाचित त्यस्ता मानिसले देशकै कार्यकारी प्रमुखको हैसियत प्राप्त गरे भने कस्तो अवस्था आउला ? यो प्रश्नको जवाफ खड्गप्रसाद ओलीले आफ्नो व्यवहारबाट दिँदै आएका छन् ।

आफू पद प्राप्तिका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगर्ने घोषणा गर्दै आएका ओलीले प्रचण्ड र उनको माओवादी पार्टीसमक्ष आत्मसमर्पण गरेर प्रधानमन्त्री पद पड्काएको जानकारी सबैमा छ र ‘मलाई पदमा टाँसिइरहनु छैन’ भनी बारम्बार सार्वजनिक अभिव्यक्ति दिने ओलीले पदीय हैसियत रक्षाकै निम्ति माओवादीसँग यस्तो सम्झौता गरेका छन्, जुन कानुनीराज र प्रजातान्त्रिक मूल्य–मान्यताप्रति अत्यन्त न्यून मात्राको संवेदनशीलता हुने मानिसले कहिल्यै गर्न सक्दैन । एक समय माओवादीविरुद्ध जिब्रो फड्कारेर ‘हिरो’ बनेका खड्गप्रसाद वास्तवमा सिद्धान्त र निष्ठाविहीन अस्थिपञ्जर मात्र भएको पुष्टि उनको आफ्नै व्यवहारले गरिरहेको छ । ओलीको ‘मेगालोमानियाक’ समस्या उत्कर्षतर्फ पुग्दै गर्दा छिमेकी मित्रराष्ट्र भारतसँग युद्ध नै छेड्ने हुन् कि भन्ने खतराका सङ्केतहरू देखिएका छन् ।

oliभारतले सम्मानका साथ राष्ट्रपति विद्या भण्डारीलाई दिएको भ्रमणको निमन्त्रणा अस्वीकार गर्नु, नयाँदिल्लीस्थित नेपाली राजदूतलाई बिना ठोस कारण फिर्ता बोलाउनु र भारतसँगको सौहार्दतापूर्ण सम्बन्धलाई कम महत्त्व दिनुले खड्गप्रसादमा औषधिको असर बढेको सङ्केत गर्दछ । अब कुनै पनि दिन यिनले नेपाल–भारत सिमानामा सेना तैनाथ गर्ने कुरा गर्न थाले भने आश्चर्य मान्नुपर्दैन । भारतीय संस्थापन र उच्चाधिकारीहरूले विगत दश वर्षदेखि खड्गप्रसाद ओलीले ‘स्टेरोइड’ लिइराखेको र त्यसको असरबारे जानकारी प्राप्त गरेका भए ओलीको काम–कारबाहीलाई लिएर कुनै ठोस प्रतिक्रिया नजनाउन सक्छन् । तर, ‘छिमेकीको घरमा पालेको कुकुर बहुलाउँदा पनि आफूलाई खतरा हुन सक्छ भन्ने ठानियो र सोहीअनुरूप प्रतिक्रिया जनाइयो भने नेपालका निम्ति आउँदा दिनहरू थप असामान्य हुन सक्छन् ।

सैद्धान्तिक दृष्टिकोणबाट हेर्ने हो भने कुनै पनि देशले छिमेकीहरूसँग निहुँ खोजी–खोजी तनाव बढाउने काम गर्नुलाई कदापि उचित मान्न सकिँदैन । मित्र बदलिनसक्छ, तर छिमेकी कहिल्यै बदलिन सक्दैन भन्ने अकाट्य वास्तविकतालाई स्वीकार गर्नैपर्ने हुन्छ, यो वास्तविकता स्वीकार गर्न नसक्नुलाई एकप्रकारको पागलपन भन्न सकिन्छ । छिमेकी बदल्न नसकिने भएकोले कुनै पनि अवस्थामा उत्पन्न तनाव र विवादलाई कूटनीतिक तवरबाट शिथिल तुल्याउनुपर्ने हुन्छ, त्यसैले योग्य र क्षमतावान् राजनीतिकर्मीहरू छिमेकीको मामिलामा संवेदनशील हुन्छन् र परिपक्व व्यवहार गर्छन् । एउटा सक्षम राजनीतिक नेतृत्वले छिमेकीहरूसँग मधुर एवम् सन्तुलनकारी सम्बन्ध विकास गर्दै राष्ट्रहितमा त्यसको भरपूर उपयोग गर्ने सामथ्र्य राख्दछ । एउटै बिछ्यौनामा सुत्नेहरूको घुँडा ठोक्किन पनि सक्छ भनेझैँ बेलाबखत अनपेक्षित किसिमले विवाद र तनाव पैदा हुने पनि छिमेकीसँग नै हो । यसरी समस्या पैदा हुँदा बाँदरले झैँ घाउ कोट्याएरभन्दा शालीनतापूर्वक कूटनीतिक विधि र प्रक्रियाद्वारा भाँचिएको मन जोड्ने प्रयास गर्नुलाई नेतृत्वको दूरदर्शितापूर्ण क्षमता मानिन्छ । तर, खड्गप्रसाद ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता उनले एकापट्टिको छिमेकीको साथ लिएर अर्को छिमेकीलाई होच्याउने–भड्काउने–चिढ्याउने–बिच्क्याउने, जिस्क्याउने र आफ्नै देशको आन्तरिक वातावरण सकसपूर्ण एवम् तनावमय बनाउने ‘धुन्धुकारी भूमिका’ निर्वाह गर्दै आएका छन् ।

जनताको जिउधनको रक्षा गर्नु, नागरिकको जीवनस्तर सुविधासम्पन्न तुल्याउँदै सुरक्षित एवम् समृद्ध समाज निर्माण गर्न सक्नु र जनताको आत्मसम्मान उँचो राख्नु नै सही अर्थमा राष्ट्रवाद हो । छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्ध विश्वास र परस्पर सम्मानमा आधारित तुल्याउँदै राष्ट्रिय स्वार्थ रक्षामा मित्रराष्ट्रहरूको सद्भाव र सहयोग जुटाउन सक्दा मात्रै राष्ट्रवाद सबल एवम् सार्थक हुने हो । तर, खड्गप्रसाद ओली प्रधानमन्त्री भएयता राष्ट्रवादको नाममा जे–जस्ता व्यवहार प्रस्तुत भएका छन् यसले राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र समृद्धि प्राप्तिको मात्रालाई जोखिमपूर्ण बनाएको छ । राष्ट्रवादको नाममा जनताको जीवन कष्टकर एवम् सकसपूर्ण बनाउन ओलीले न्वारानदेखिएको बल लगाएको अनुभूति हुँदै छ र यसैलाई उनले राष्ट्रवादको नाम दिएका छन् । संसारमा कति मुलुक यस्ता छन् जसका छिमेकी मात्र दर्जनभन्दा बढी छन् । उत्तरतर्फको छिमेकी मुलुक चीनको सवादर्जनभन्दा बढी मुलुकसँग सीमाना जोडिएको छ । आधा दर्जनभन्दा बढी छिमेकी मित्रराष्ट्र भारतले पनि पाएको छ ।

तर, नेपालका केवल दुई छिमेकी छन् र यी दुई छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनकारी, विश्वासपूर्ण र सुमधुर तुल्याउन सक्दा मात्रै हामी स्थिर, शान्त र समृद्ध बन्नसक्ने सम्भावना रहने हो । नेपालका संस्थापक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दुई छिमेकीसँगको सम्बन्धले हाम्रो अस्तित्व, स्थिरता, शान्ति र विकासमा निर्णायक प्रभाव पार्न सक्ने ठानेर नै हुनुपर्छ– मुलुकलाई ‘दुई ढुङ्गाबीचको तरुल’ मानेको । उनको यो अवधारणाले हाम्रो अवस्थिति संवेदनशील अवस्थामा रहेको आत्मसात् गराउँदछ । तर, खड्गप्रसाद ओलीको नेतृत्वमा देशभरका वामपन्थी कम्युनिस्टहरू एकताबद्ध भई सत्तामा रहँदा तीनतिर सीमा जोडिएको छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सुगौली सन्धिपछि सर्वाधिक नाजुक र जोखिमपूर्ण अवस्थामा पुगेको छ । छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्ध सन्तुलित एवम् सौहार्दपूर्ण बनाउन सक्नु राष्ट्रवाद हो कि दुईपक्षीय सम्बन्धलाई असन्तुलित र तनावमय बनाउनुचाहिँ राष्ट्रवाद हो भन्ने प्रश्नमा गम्भीरतापूर्वक विचारै नगरी हामी खड्गप्रसाद ओलीलाई ‘राष्ट्रवादी’ देख्ने दोषी दृष्टिकोण बनाउँदैछौँ ।

राजनीतिक नेतृत्वको क्षमता उसको दूरदर्शिता, रचनात्मकता र व्यवस्थापकीय कौशलका आधारमा मापन गर्न सकिन्छ । खड्गप्रसाद ओली नेतृत्वमा सम्पूर्ण वामपन्थीहरू सम्मिलित सरकार गठन भएपछि नेपालको आर्थिक विकासदर इतिहासकै सर्वाधिक दुर्बल बनेको अर्थात् केवल ०.७७ मा झरेको छ । विकास आयोजनाहरू ठप्प छन्, जनसाधारणको जीवनशैली कष्टप्रद र निराशाजनक बनेको छ । प्रतिव्यक्ति आम्दानी ह्रास भएर विश्वका अति विपन्न बीस मुलुकमध्ये उन्नाइसौं स्थानबाट खसेर दश अति गरिब मुलुकको कोटिमा नेपाल परेको छ । शासनाभार लिएको ६ महिनामै देशको अर्थतन्त्र यसरी धराशयी बनाउन सक्ने ‘क्षमता’ यसअघिका कुनै पनि प्रधानमन्त्रीले दर्शाउन सकेका थिएनन्, खड्गप्रसाद ओलीले शासनाभार लिएको ६ महिनाभित्रै संसारका दश अति विपन्न मुलुकको कोटिमा नेपाललाई पुर्‍याएका छन् ।

नेपाली राजनीतिमा वामपन्थी कम्युनिस्टहरूको प्रभाव र पहुँच बढेसँगै यहाँको राजनीतिक चरित्र बदलिएर विध्वंसक, अराजक र बाहुबलि बनेको छ । पञ्चायतकालभरि राजालाई र प्रजातन्त्रकालमा कांग्रेसलाई बेथिति र विपन्नताको कारण मान्नेहरू सम्पूर्ण सत्ताको मालिक बनेपछि आफ्नो अकर्मन्यता छोप्न कुनै एक छिमेकीलाई प्रमुख जिम्मेवार ठान्दै छन् र छिमेकसँगको सम्बन्धलाई युद्धपूर्वको अवस्थामा पुर्‍याउँदै छन् ।

छिमेकी मित्रराष्ट्रसँग मिलेर नेपालले हासिल गर्न सक्ने अनगिन्ति उपलब्धिका विषय छन् । सुरक्षा, सिँचाइ, जलविद्युत् उत्पादन तथा बिक्री–वितरण, पर्यटन, खानेपानी, जडीबुटी उत्पादनलगायत पूर्वाधार विकासका अनेकौँ क्षेत्रमा भारतसँगको सहकार्य नेपालका निम्ति उपयोगी हुनसक्छ । लामो समयदेखि तनावपूर्ण अवस्थाबाट गुज्रिएका दक्षिणकोरिया र जापानझैँ सम्बन्ध सुधार गर्दै (पार्क चुङ हि सन् १९६२ मा दक्षिण कोरियाको कार्यकारी प्रमुख बनेपछि) परस्पर हित र समृद्धिको मार्ग अवलम्बन गर्ने हो या पाकिस्तानले भारतसँग निहँु खोजेर सधैँ तनावपूर्ण स्थिति निम्त्याएझैँ हामीले पनि भारतसँगको सम्बन्धलाई तिक्ततापूर्ण बनाइरहने हो, अब समीक्षा गर्न विलम्ब गर्नु हुनेछैन । यतिबेला नेपाल र भारतबीच विश्वासको विघटन भएको छ । भारतसँग संवाद र सहमति गरी हाम्रो भाग्य र भविष्य सुदृढ बनाउन परिपक्व कूटनीतिक क्षमता प्रस्तुत गर्नुपर्ने समयमा खड्गप्रसादले जे गरिरहेका छन् यसले नेपालको मात्र होइन, दक्षिण एसियाकै शान्ति र स्थिरतामा गम्भीर क्षति पुर्‍याउने खतरा बढाउनेछ ।

हो, ठूलो शक्तिसँग निहुँ खोज्दा या ठूला शक्तिलाई चुनौती दिइरहँदा मानिसमा एकप्रकारको रोमाञ्चभाव पैदा हुन्छ र क्षणिक रूपमा यस्ता कुराले मानिसलाई आनन्दित पनि तुल्याउँछ । तर, दुई मुलुकबीचको सम्बन्ध ख्यालठट्टाको विषय होइन र यो मुसा–बिरालाको खेल पनि होइन । वामपन्थी बनेर विध्वंस, विनाश र विद्रोहका चर्का र नकारात्मक भाषणबाजी गरेजस्तो होइन नेपाली बनेर नेपालको हितमा केही गर्नु भनेको । खड्गप्रसादको अभिव्यक्ति र व्यवहार ‘आ बैल बुझे मार’ भनेजस्तै देखिएको छ । यस्तै व्यवहारको निरन्तरता खड्गप्रसादले दिइरहने हो भने या हामी नेपालीले खड्गप्रसादलाई प्रधानमन्त्रीको रूपमा निरन्तरता दिइरह्यौँ भने यी खड्गप्रसादका उखानतुक्कामा हाँस्दाहाँस्दै हाम्रो मर्ने दिन नआउला भन्न सकिएन । त्यसैले नेपालीहरू एक हुँदै र ‘उखानतुक्के’ राजनीतिको उन्मूलन गर्नु वर्तमानको अपरिहार्यता बनेको छ ।

२९ बैशाख २०७३, बुधबार १०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..