शिक्षितहरू नै सास्तीका स्रोत !

करिब साढे दुई दशकअघि स्थानीय निकायको निर्वाचनका क्रममा आफ्नो आस्थाको राजनीतिक दलसम्बद्ध उम्मेदवारका लागि मत माग्न गाउँ–गाउँमा पुग्दा जनस्तरबाट प्रकट मागले हामीलाई प्राप्त हुने गरेको औपचारिक शिक्षा र शिक्षित मानिसका सन्दर्भमा सोच्न बाध्य तुल्यायो । अशिक्षितहरूको तुलनामा शिक्षितहरू असल, इमानदार, सभ्य, चेतनशील, विवेकी, सक्षम र समाजसेवी मनोभावनाका हुन्छन् भन्ने आमविश्वास छ र मेरो पनि थियो ।

मतका लागि अनुरोध गर्दै जाने क्रममा एकथरी मानिसले आफ्नो मतका निम्ति विद्यालयको प्वाल परेको छाना बदल्न सहयोग गर्नुपर्ने सर्त राखे । तीमध्ये कतिपयले गाउँमा पिउने पानी र सिँचाइ सुविधाको माग गरे भने केहीले चाहिँ मत चाहिने भए गाउँमा आउने मोटरबाटो निर्माणको प्रतिबद्धता जाहेर हुनुपर्छ भन्न पनि भ्याए । यीबाहेक अर्का एकथरी मानिस पनि भेटिए, जसले मतका निम्ति आफूलाई जागिरको ग्यारेन्टी हुनुपर्ने सर्त तेस्र्याए । कतिपय जागिरदारले आफूलाई सुगम र कमाइ हुने ठाउँमा सरुवा या बढुवा गराउन सहयोग पुर्‍याउने सर्तमा मतदान गर्ने वाचा गरे । जो–जसले सार्वजनिक हितसँग सम्बन्धित (सिँचाइ, सडक, पिउने पानी र विद्यालयको छाना बदल्नेजस्ता) माग राखे, ती सबै औपचारिक शिक्षा प्राप्त गर्नबाट वञ्चित अर्थात् अशिक्षित भनिनुपर्ने कोटिका मानिस थिए । जसले मतदानका निम्ति आफ्नो निजी हितकेन्द्रित माग प्रस्तुत गरे ती सबै शिक्षितका रूपमा गणना हुन्थे । जसले शिक्षा पाएका छन्, तिनले आफ्नो हितका कुरा गर्ने र जो औपचारिक शिक्षा प्राप्त गर्नबाट वञ्चित छन् तिनले चाहिँ सामाजिक हितसँग आफूलाई जोड्छन् भने वास्तवमा योग्य शिक्षित मानिस हुन् या अशिक्षित भन्ने प्रश्न मेरो मानसपटलमा घुमिरह्यो, अझै घुम्दै छ ।

समृद्ध मुलुकमा अशिक्षितभन्दा शिक्षित मानिस अनेक दृष्टिले योग्य छन्, त्यस्ता मुलुकमा अशिक्षित मानिसप्रति संवेदनशील हुनुपर्ने कुनै कारण र अवस्था देखिएको छैन । तर, नेपाल र यस्तै विपन्न मुलुकमा भने शिक्षितभन्दा अशिक्षित भनिएकाहरूको भूमिका प्रिय लाग्ने अनेक दृष्टान्त उपलब्ध छन् । आधुनिक नेपालको इतिहासमा अशिक्षित जङ्गबहादुर राणाले देखाएबराबर योग्यता आधुनिक र शिक्षित राजनीतिकर्मीहरूमा देख्न पाइएको छैन । जङ्गबहादुरले छुटेको नेपाल जोडे, गुमेको भूभाग बिनारक्तपात फिर्ता ल्याए, नेपाललाई अन्तर्राष्ट्रिय ‘एक्स्पोजर’ दिलाउने काम गरे, सेनाको आधुनिकीकरण गरे, दरबारमै भए पनि व्यवस्थित शिक्षा दिने क्रमारम्भ गरे, पहिलोपटक छापाखाना भित्र्याए र युरोपियन बान्कीका अत्याधुनिक भवन निर्माणको प्रविधि पनि प्रयोगमा ल्याए । देशको सीमारेखा छुट्याएर सीमास्तम्भ राख्ने काम पनि ‘अशिक्षित’ जङ्गबहादुरले नै गरेका हुन् । यसको ठीक विपरीत शिक्षित प्रचण्ड र अतिशिक्षित बाबुराम भट्टराईले उच्च पदप्राप्तिका निम्ति हजारौँ निर्दोष जनता मर्ने–मार्ने युद्धको रचना गरे । बनिबनाउ राष्ट्रिय एकतालाई भताभुङ्ग तुल्याउँदै जातीय र क्षेत्रीय सद्भाव बिथोल्ने काम गरे । राज्यको खर्बौं रुपैयाँबराबरको भौतिक संरचनाहरू ध्वस्त पारे, समानताको नारा लगाउँदै मानिस–मानिसबीच असमानताको खाडल गहिरो र चिरस्थायी तुल्याए, राजनीतिलाई आपराधीकरण र अपराधलाई राजनीतीकरण गर्दै मुलुकमा कसैले कुनै साध्य प्राप्त गर्नु छ भने हिंसा र अराजकताको सहारा लिनुपर्छ भन्ने सन्देश दिए ।

देशको शान्ति, स्थायित्व र विकासलाई दशकौँ पछि धकेलिसकेपछि कृषिमा स्नातक प्रचण्ड पूर्वविचारबाट स्खलित भएका छन् भने आर्किटेक्ट (इन्जिनियर) बाबुरामचाहिँ घोषणा गरेरै माओवादी आन्दोलनबाट बाहिरिएका छन् । माओवादी हिंसात्मक आन्दोलनको बलमा प्रधानमन्त्री पद पड्काइसकेपछि बाबुराम अब कुन स्वार्थका निम्ति मधेसलाई फकाउँदै छन्, यसको रहस्य समयाक्रममा खुल्ने नै छ । माओवादीका नाममा पहाडको सद्भाव भत्काइसकेपछि बाबुराम मधेसमा सलबलाउनुको रहस्य खुलेका दिन सिङ्गै नेपाल नरहने सम्भावनालाई इन्कार गर्न सकिँदैन । प्रचण्ड र बाबुरामले मात्र होइन, शिक्षितहरू अपराधको दुनियाँमा प्रवेश गरे भने कतिसम्म घातक हुनसक्छन् भन्ने दृष्टान्त चाल्र्स शोभराजले स्थापित गरेका छन् । विश्व आतङ्कको पर्याय बनेका बिन लादेन र भारतमा जन्मेर दक्षिण एसियामै ठगीको पर्याय बनेका नटवरलाल पनि शिक्षित व्यक्ति भएको स्मरण हुन आवश्यक छ ।
हाम्रोजस्तो विपन्न मुलुकमा शिक्षितहरू ज्यादा घातक भएको थप पुष्टि अर्का ‘पीएचडीहोल्डर’ सीके राउत नामक पात्रले पनि गरिरहेका छन् । छिमेकी मित्रराष्ट्र भारतमा भइदिएका भए सीके राउतजस्ता मानिस पृथकतावादी ठहर भएर फाँसीमा झुन्ड्याइन पनि सक्थे । राजनीतिक नेतृत्व ‘परायापत्नी’ भूमिकामा रहेका कारण सार्वभौमिकता दुर्बल भएको मौका पारेर सीके राउतहरू छचल्किएका छन् । देश विभाजन गर्ने नारा बोकेर हिँडिरहँदा पनि बाबुरामहरूका निम्ति राउत र राउतहरूका निम्ति बाबुराम प्रिय बनेका छन्, लोकतन्त्र र मानवाधिकारका नाममा यिनले देश विभाजनको नारा लगाउने छुट पाइरहेका छन् । पढेलेखेका यी पात्रभन्दा देशका निम्ति अनपढ राउटेहरूले धेरै माथिल्लो कोटिको भूमिका निर्वाह गर्दै छन् भन्न सकिन्छ । राउटे मनबहादुर शाहीले आफ्नो समूहको हितमा कुरा गरिरहँदा उनी र उनीजस्तो कुनै पनि राउटेले देश, देशको एकता र सामाजिक सद्भाव बिथोल्ने कार्य गरेका छैनन् । न कुनै चेपाङ, कुसुण्डा या अन्य कुनै अपठित समुदायका मानिसले नै ‘शिक्षित’ बाबुराम, प्रचण्ड र सीके राउतले झैँ देशविरुद्ध कुनै षड्यन्त्र रचेका छन् ।

हरेक शिक्षित मानिस खराब हुँदैनन्, तर शिक्षित मानिसले जति यो संसारलाई सास्ती कसैले दिएका छैनन् । चङ्गेज खाँ र मध्ययुगीन बार्बरिक पात्रहरूलाई छोडेर आधुनिक संसारमा मानिसका कारण तनाव बढेको छ भने त्यो शिक्षित भनिएकाहरूबाट नै छ । विश्वमा आज भ्रष्टाचार एउटा प्रमुख समस्या बनेको छ, संसारभरिका भ्रष्टाचारीहरू केवल शिक्षित र अतिशिक्षितहरू मात्र छन् । संसारभरिका जनता प्रशासनिक झमेलाबाट प्रताडित र आजित बनेका छन्, प्रशासनिक क्षेत्रमा बसेर जनतालाई सास्ती दिने पनि शिक्षितहरू मात्र छन् । माओवादी बनेर आतङ्क मच्चाउनेदेखि मधेसी पहिरनमा देश विभाजनको नारा लगाउनेसम्मको भूमिकामा शिक्षित मानिस उभिँदा आमदेशप्रेमीहरूको मन कुँडिएको छ ।

वि.सं. ०३१/३२ तिर तात्कालिक राजा वीरेन्द्रले तयार पारेको गुरुयोजनाबमोजिम राजधानीका केही सडक विस्तार गरेर ‘केही गर्ने’ व्यक्तिको छवि निर्माण गर्न सफल बाबुराम भट्टराई विवादास्पद संविधान जारी गर्न–गराउन मुख्य भूमिका निर्वाह गर्ने पात्र हुन् । यिनै बाबुराम तराई झरेर संविधानप्रति आलोचक भूमिकामा देखापरेका छन् । गत असोज ३ गते (२०७२) संविधान जारी गर्ने दिनसम्म बाबुराम कट्टर माओवादी थिए । हिंसाको जगमा उभिएको माओवादी पार्टीको नेतृत्व लिन बाबुराम निकै प्रयत्नशील देखिन्थे । तर, संविधान जारी भएपछि बाबुराम रातारात बदलिए र कथित नयाँ शक्ति निर्माणमा जुटेको सन्देश दिन थाले । माओवादी बनेर हिंसा, विध्वंस र आतङ्क मच्चाएका बाबुरामले आफ्नो गल्तीका निम्ति प्रायश्चित गरेका छैनन् र जनतासँग उनले माफी मागेका पनि छैनन् । हिजो हिंसा र आतङ्कको सहारा लिँदा राजनीतिक हैसियत दु्रत गतिमा उचालिने ठानेका उनले अबको राजनीतिमा तराई–मधेस मूल प्रवाह बन्ने विश्लेषणका आधारमा धोती–पाटा फेरेका हुन् या उनको विभाजनकारी ग्रन्थी उम्लिएर उनी मधेसी भड्काउन खटिएका हुन् त्यसको जानकारी पाउन सम्भवत: अर्को एक दशक पर्खनुपर्ने छैन । तर, शिक्षित मानिसमा पनि अलिकति इमानदारी र लज्जाभाव रहन्छ भन्नै नसकिने गरी बाबुराम र सीकेहरू प्रस्तुत भइरहँदा आफ्ना सन्तानलाई पूर्ण शिक्षित बनाउन चाहनेहरू झस्किनुपर्ने अवस्था बनेको छ । पूर्ण शिक्षित भएमा कतै मेरा सन्तान पनि आफ्नो निजी स्वार्थ प्राप्तिका निम्ति बाबुरामले झैँ हत्या–हिंसाको सहारा लिने या सीके राउतले झैँ देश विभाजनको नारा लगाउँदै हिँड्ने हुन् कि भन्ने चिन्ता नेपालप्रेमी आममातापितामा देखिन थालेको छ ।

कुनै बेला पहाडका कतिपयले आफ्ना पुत्र बाबुरामजस्ता र मधेस–तराईका कतिले सीके राउतजस्तै भएको हेर्न–देख्न पनि चाहे होलान्, तर अब मातृभूमि नेपालप्रति किञ्चित ममता हुने कुनै माता या पिता आफ्ना सन्तान सीके या बाबुराम भएको हेर्न–देख्न चाहन्नन्, आफ्नै मातृभूमि क्षत–विक्षत तुल्याउन राजनीतिका नाममा निर्लज्ज व्यवहार प्रस्तुत गर्ने उनीहरूप्रति कसैको सद्भाव र सम्मान छ भने ती पनि नेपाली भएकोमा शङ्का या प्रश्न गर्नैपर्ने हुन्छ । विश्वका हरेक मानिस शिक्षित बनिसकेपछि पनि संसारमा अपराध, अपराधी र आपराधिक क्रियाकलाप उन्मूलन हुनेछैन भन्ने विश्वास गरिन्छ । अशिक्षितभन्दा शिक्षित खराब व्यक्ति ज्यादा हानिकारक हुन्छ भन्ने पुष्टि हुँदाहुँदै पनि शिक्षालाई अस्वीकार गर्न सकिँदैन । केही अपवादबाहेक संसारलाई सकारात्मक परिवर्तनको दिशा दिन पनि शिक्षितहरूले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए र छन् । तथापि शिक्षित या अतिशिक्षित हुनुलाई नै इमानदारी र योग्यताको मुख्य आधार बनाउनु भूल हुनसक्छ भन्ने तथ्यहरूले स्पष्ट गरेको छ । नेपालमा यो समयका शिक्षित तर नकारात्मक चरित्रका प्रतिनिधि पात्रहरूबाट हामीले ग्रहण गर्नुपर्ने शिक्षा ‘शिक्षित हुँदैमा इमानदार, योग्य र देशभक्त हुन्छन् भन्ने होइन’ भन्ने नै हो । त्यसनिम्ति प्रचण्ड, बाबुराम र सीके राउतलाई धन्यवाद दिनैपर्ने हुन्छ ।

१८ बैशाख २०७३, शनिबार १२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध,..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न..