वसन्त क्रान्तिको बित्यो दशक, लोकतन्त्रले दिएन हाँसो खुसी, आम नागरिक अन्यौल र निराश

विश्व समुदायलाई चकित पार्नेगरी नेपालमा शान्तिपूर्ण जनक्रान्ति भएको एक दशक पूरा भएको छ । दश वर्ष पहिले २०६२-६३ मा भएको १९ दिने दोस्रो आन्दोलनले नेपालमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो । वसन्त ऋतुको समयमा चलेकोले १९ दिने आन्दोलनलाई वसन्त क्रान्तिको रूपमा समेत चित्रित गर्ने गरिन्छ । तत्कालीन राजाको प्रतिगमन सच्चाउन र देशमा लोकतन्त्रको बहालीका लागि भएको जनआन्दोलनको बलले नेपालमा गणतन्त्रको स्थापनासँगै संविधानसभाबाट संविधान बन्न सफल भएको छ । सशस्त्र सङ्घर्ष गरिरहेको तत्कालीन विद्रोही माओवादी र प्रतिगमनविरुद्ध आन्दोलन गरिरहेका सात राजनीतिक दलले १२ बँुदे सम्झौतामार्फत जनआन्दोलनको उद्घोष गरेका थिए । जनआन्दोलनले देशमा ठूला राजनीतिक परिवर्तन ल्याए पनि तीव्राकाङ्क्षी जनताको जीवनस्तरमा भने खासै परिवर्तन ल्याउन सकेन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको प्रधानसेनापति वर्खास्ती प्रकरणपछि माओवादीले काठमाडौँमा आयोजना गरेको सिंहदरबार घेराउ र आमहडताल असफल भएपछि एक कार्यक्रममा माओवादी नेता देव गुरुङले भन्नुभएको थियो, ‘अब नेपालमा ५० वर्ष क्रान्ति हुँदैन !’ दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइराला भन्ने गर्नुहुन्थ्योे, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रका लागि आन्दोलन गर्नु नपरोस्’ तर जनआन्दोलन– २ सम्पन्न भएको दशक नपुग्दै तीनजना पात्रले जनआन्दोलनको रहर गरेका थिए । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल सरकारविरुद्ध भएको प्रदर्शनलाई तेस्रो जनआन्दोलनको संज्ञा दिनुभयो तर सिंहदरबार घेर्न आएका कार्यकर्ता नै भागेपछि त्यो आन्दोलन त्यसै तुहियो । माओवादीका उपाध्यक्ष सी.पी. गजुरेलले संविधानसभा विघटन र गोलमेच सम्मेलन नभए तेस्रो जनआन्दोलन गर्ने भनेर पटक पटक भाषण गर्नुभयो । हुँदाहँुदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समेत विराटनगरमा रथयात्रा सुरु गर्दा तेस्रो जनआन्दोलनको सुरु भएको घोषणा नै गर्नुभयोे । यद्यपि जनआन्दोलन गर्ने तीनै जनाको रहर पूरा भएन, जनआन्दोलन लहडमा हुने कुरा पनि थिएन ।

कुनै पनि आन्दोलनले ‘जनआन्दोलन’ को स्वरूप लिनका लागि निश्चित उद्देश्य र एजेण्डा आवश्यक हुन्छन् । ०४६ सालको जनआन्दोलन नेपालमा तानाशाही पञ्चायती व्यवस्था फालेर प्रजातन्त्र ल्याउने महान् उद्देश्य प्राप्तिका लागि सुरु गरिएको थियो । २०औँ शताब्दीको अन्त्यतिर नेपाली जनताले स्वतन्त्रता चाहेका थिए । फलस्वरूप अत्यन्त प्रतिकूल समय रहे पनि जनआन्दोलनमा जनताको अपार सहभागिता रह्यो । पहिलो जनआन्दोलन सारमा बन्द समाजलाई खुला समाजमा रूपान्तरण गर्नुभएको थियो । गणेशमान, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीजस्ता निस्वार्थी नेताका कारण ०४६ सालमा जनआन्दोलन सफल भयो । आन्दोलनपछिका सुरुवाती दिनमा केही सकारात्मक सुरुवात भएका थिए तर केही वर्षमै आन्दोलनका उपलब्धिमा ऐजेरू पलाउन सुरु गरे, माओवादीले हतियार उठायो, देशमा भ्रष्टाचार मौलायो र ०४६ सालको आन्दोलनका उपलब्धि गुमे ।

०४६ सालको जनआन्दोलनको १६ वर्षपछि पुनः जनआन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भयो, जसको पृष्ठभूमि बनाउन मात्र चार वर्ष लाग्यो । रत्नपार्क आसपासमा सात दलका तीनसय कार्यकर्ता भेला हुने र चना÷बदामको लयमा प्रतिगमन मुर्दावाद भनेर चार वर्ष गुज्रियो । दिल्लीमा माओवादी र संसद्वादी दलबीच १२बुँदे समझदारी भएपछिमात्र सहर र जङ्गलको आन्दोलनको फ्युजन (समायोजन) भयो, अनिमात्र सर्वसाधारण आन्दोलनमा होमिए । यतिखेर जनताको साझा चाहना थियो– शान्ति र लोकतन्त्रमार्फत समृद्धि ।

पहिलो जनआन्दोलनको बलले प्रजातन्त्र र दोस्रोले लोक (गण) तन्त्रको स्थापना भयो । दुःखको कुरा मुलुकमा गणतन्त्र स्थापना भएको एक दशकसम्म पनि जनताले आफ्नो जीवनमा त्यसको अनुभूति गर्न पाएका छैनन् । शासन सत्ताको सैद्धान्तिक लेपनभन्दा आफ्नो जीवन व्यवहार जनताको चासो हो । प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन, लोकतन्त्र वा गणतन्त्र जुनसुकै व्यवस्था आए पनि जनताको जीवनस्तरमा सुधार आउन सकेको छैन । सरकारी अड्डामा पञ्चायतको भूत अझै सवार छ । साना साना काममा पनि खुला घुसखोरी छ । भ्रष्टाचार निवारणविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग सक्रिय छ तर पनि सरकारी कर्मचारीलाई घूस नदिई कुनै काम बन्दैन । सर्वसाधारण कसैको भनसुनविना आफ्नो प्रशासनिक मुख्यालय सिंहदरबार प्रवेश गर्न पाउँदैन । पहँुचवालाले राज्यकोष दोहन गरिरहेकै छन् मुगु, जाजरकोटमा सर्वसाधारण सिटामोल÷जीवनजल जस्ता आधारभूत औषधि पाउनसकेका छैनन् । के गणतन्त्र भनेको सरकारी कार्यालयका नामपाटी फेरिनु मात्र हो र ? गणतन्त्रको आएपछि पहुँचवाला सीमित नेताले बाहेक सर्वसाधारणले के फरक पाए, उनीहरूको जीवनमा के सुधार आयो ? यो विश्लेषण गरी लोकतन्त्रको सार्थक अनुभूति जनतामा दिलाउनु आवश्यक छ ।

सर्वसाधारण जनताको भोगाइमा सरकारको कार्यशैली ०५२ सालमा माओवादी सशस्त्र सङ्घर्ष सुरु हुनु पूर्वको अवस्था र अहिलेको अवस्थामा तात्विक भिन्नता छैन । यो बेग्लै कुरा हो, सत्ताको लाभ लिइरहेका कारण जनयुद्ध गरेको माओवादी मौन छ तर गणतन्त्रपछिका सरकारले जनताको जीवनमा केही सुधार ल्याउन सकेनन् । जे कारणले माओवादी जनयुद्ध भएको थियो, ती आधारभूत कुरा ज्यूँका त्यूँ छन् । केवल सरकारको नाम फेरिएको, पात्रहरूको आलोपालो चलिरहेको छ ।

०६२-६३ सालको जनआन्दोलनमा जनताको उत्साहजनक सहभागिता हुनुका बहुआयामिक कारण थिए । माओवादी सशस्त्र सङ्घर्षका नाममा राज्य र गैरराज्य पक्षबाट भएका अत्याचारले जनता निशास्सिएका थिए । निर्दोष व्यक्ति दोहोरो सत्ताको जाँतोमा पिल्सिएका थिए । सुराकीको नाममा माओवादीको शिकार बन्थे । सिटामोल किनीखाने औकात नभएका, झुपडीका कङ्कालतुल्य मनुवाले पालेका खसी÷भाले नयाँ÷पुरानो सत्ताका सिपाहीका आहारा बन्थे । सुरक्षा जाँचको नाममा मध्यरातमा सर्वसाधारणको ओछ्यानमा प्रहरी बुट बजार्दै पुग्थे । यात्रा गर्दागर्दै सर्वसाधारण माओवादी धरापमा पर्थे । यो वा त्यो आरोपमा बेपत्ता बनाइन्थे । त्यो कहालीलाग्दो ‘काँडेतार’ युगबाट उन्मुक्ती पाउने आशमा जनता आन्दोलनमा होमिएका थिए । बेरोजगार युवाले स्वदेशमै रोजगारीको आशा राखेका थिए, जमिन नहुने सुकुम्बासीले एकटुक्रा जमिन र बासको अपेक्षा राखेका थिए, गृहिणीले लोडसेडिङ अन्त्य हुने अपेक्षा राखेका थिए । समग्रमा देशमा शान्ति, गरिखान पाउने अवसर र आर्थिक समृद्धिमार्फत आफ्नो जीवनमा सुधारको अपेक्षा सबै जनताको थियो । ती अपेक्षामा परिवर्तनकारी राजनीतिक शक्ति एकाकार देखिएका थिए तर जनआन्दोलनको एक दशक नबित्दै दलले जनतासामु गरेका प्रतिबद्धता बिर्से । दलहरू परिवर्तन भएनन् बरु पुरानै कार्यशैली दोहोर्याए । गणतन्त्रपछि पनि सत्ता टिकाउने नाममा जायज नाजायज खेल भए । पजेरो काण्डको पुनरावृत्ति भयो । जनतालाई लोकतन्त्रप्रति यति वितृष्णा भयो कि– त्यही टँुडिखेलमा घोडेजात्राको दिन भीड लाग्यो, लोकतन्त्र दिवसको दिन सन्नटा छायो !

०६३ सालको परिवर्तन ‘चप्पल लगाउने वर्ग’ ले ल्याइदिएका थिए, जनआन्दोलनको अग्रपङ्क्तिमा उनीहरू नै थिए तर चप्पल लगाउने वर्गले ल्याइदिएको परिवर्तनमा पहुँचवालाले रजाइ गरे । चप्पल लगाउने वर्गका केही नेता त रूपान्तरण भई अभिजात्य संस्कारित बने तर चप्पलवालाले तुना फेर्न सकेका छैनन् । नयाँ चप्पल कारखान खोल्नुपर्ने राज्यकोषको चरम दोहन उनै पहुँचवालाले गरे, साधन स्रोत आफ्नै परिवारमा केन्द्रित गरेर पुस्तौँलाई पुग्ने सम्पत्ति जोडे । जसले जनआन्दोलन सफल बनाउन मुख्य भूमिका खेले उनीहरू अहिले पनि कष्टकर जीवन बाँचिरहेका छन्, जो जनआन्दोलनको विपक्षमा थिए उनीहरूले अवसर लुटिरहेका छन् । जनता निराश भए भने कुनै पनि राजनीतिक व्यवस्था टिकाउ हुनसक्दैन ।

अध्ययनले के देखाएको छ भने, सशस्त्र द्वन्द्व भएका मुलुकमा द्वन्द्वपछिको सङ्क्रमणमा एउटा अभिजात-नवधनाढ्य वर्गको जन्म हुन्छ । राज्य कमजोर भएको मौकामा व्यापारीले तस्करी र कालो बजारीमार्फत करोडौँ कमाउने गरेका छन्, नेपालमा पनि त्यही भयो । स्वयं जनयुद्ध गरेका क्रान्तिकारीसमेत कमाउधन्दामा लागे । हिजोका सर्वहारा नेताले केही वर्षमै नाटकीय ढङ्गले काठमाडौँका सुविधा सम्पन्न ‘भिल्ला’ कब्जा गर्न थाले, चिल्ला गाडीमा सयर गर्ने भए । परन्तु जे कारणले जनयुद्ध भएको थियो वा जनआन्दोलन उठेको थियो, ती मुद्दा सडकमै छरपष्ट छन् । धनी र गरिबबीचको खाडल झन् फराकिलो बन्दैछ । बाँच्नका लागि सर्वसाधारण बिउका लागि विष हालेर राखेको गहुँ खाएर मर्नुपरेको छ, छोराछोरी पाल्न नसकेर तराईमा आमाहरूले नाबालकसहित खोलामा हाम फल्ने प्रवृत्ति बढेको छ । शिक्षा र स्वास्थ क्षेत्रमा भएको व्यापारीकरणका कारण सर्वसाधारण न्यूनतम सुविधाबाट समेत वञ्चित बन्नुपर्ने अवस्था छ । संविधानले शिक्षा र स्वास्थ्य राज्को दायित्व हुने भनेको छ तर पैसा नहुनेहरू उपचार गर्न नसकेर मर्नुपर्ने अवस्था विद्यमान छ तर यावत् निराशाजनक अवस्था रहे पनि नेपाली जनता धैर्यशील छन् । उनीहरूमा लोकतन्त्रप्रति विश्वास छ । त्यो विश्वासलाई दह्रो बनाएको छ संविधानसभाबाट जारी भएको संविधानले । यसले जनतालाई धेरै बलियो बनाएको छ, हक अधिकारसम्पन्न बनाएको छ । सबैभन्दा ठूलो राजनीतिक उपलब्धि गणतन्त्र नै स्थापना भइसकेको अवस्थामा जनआन्दोलनका लागि ठूलो राजनीतिक एजेण्डा बाँकी छैनन् तर जनआन्दोलन उठ्ने कारक तत्व भने पर्याप्त छन् । स्रोत साधनमा पहुँचवालाको मनोमानी, कुशासन, भ्रष्टाचार, महँगी, कालोबजारी, नातावाद–कृपावाद र बेथिती यस्तै ढङ्गले मौलाउँदै जाने हो भने परिदृश्यमा नदेखिएको कुनै ‘नायक’ ले यिनै विकृति र विसङ्गतिविरुद्ध नेतृत्व लिनेछ । हुनसक्छ त्यो जनआन्दोलन वा क्रान्ति उठ्न केही दशक वा देव गुरुङले भनेझैँ ५० वर्ष किन नलागोस् !

Sushil panta
(विश्लेषक सुशील पन्त पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै नेपालको परिवर्तित राजनीतिक घटनाक्रमलाई सुक्ष्म तवरले विश्लेषण र समीक्षा गर्दै आउनु भएका परिचित हस्ताक्षर हुन्)

११ बैशाख २०७३, शनिबार ११:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध,..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न..