नयाँ ध्रुवीकरण : गृहयुद्धको पृष्ठभूमि

राजनीतिमा मूल प्रवाहप्रति आलोचनात्मक दृष्टिकोण राख्नेलाई वामपन्थी र सकारात्मक दृष्टिभाव राख्नेहरूलाई दक्षिणपन्थी भनिन्छ । विकासक्रमसँगै शब्दार्थ परिमार्जित, विस्तारित र अनेकार्थी हुन सक्छन्, वामपन्थी र दक्षिणपन्थी शब्दको अर्थ पनि सुरुवाती समयको भन्दा व्यापक र विस्तार भएको छ । पछिल्लो समयमा खासगरी माक्र्सवादको जन्मपश्चात् धर्म, संस्कृति, परम्परा, राष्ट्रवाद, सुधारवाद र पुँजीवाद स्वीकार गर्नुलाई दक्षिणपन्थी सोच भन्न थालिएको छ भने पूर्वस्थापित हरेक मान्यताप्रति आलोचनात्मक दृष्टिकोण राख्नेलाई वामपन्थी भन्ने गरिएको छ । धेरै मानिस वामपन्थी भन्नेबित्तिकै कम्युनिस्टहरूलाई बुझ्ने गर्दछन् । वास्तवमा हरेक कम्युनिस्ट वामपन्थी हुन्छन् तर हरेक वामपन्थी कम्युनिस्ट हुन सक्दैनन् । नेपालमा वामपन्थी कम्युनिस्टहरूको दृष्टिमा अहिले दक्षिणपन्थी देखिएको नेपाली कांग्रेस वि.सं. २०६२ देखि २०७२ असोज ३ गते संविधान जारी नहुँदासम्म वामपन्थी भूमिकामा थियो । संविधान जारी भएयता कांग्रेस दक्षिणपन्थी, राप्रपा नेपालजस्ता दलहरू अति दक्षिणपन्थी तथा एमाले र एमाओवादीलगायतका दलहरू वामपन्थी भूमिकामा छन् ।

संसारभरिको राजनीति मूलत: दक्षिणपन्थी र वामपन्थी आधारभूमिमा विभक्त छ । तथापि कतिपय मुलुकमा मध्यपन्थी अर्थात् मध्यमार्गी राजनीति मूल प्रवाह बनेको पनि पाइन्छ । मध्यमार्गी राजनीति जीवित रहन पनि वामपन्थी र दक्षिणपन्थी सोचको राजनीति अस्तित्वमा रहेको हुनुपर्छ । दृष्टान्तका निम्ति नेपालको २०६३ सालअघिको राजनीतिक स्थितिलाई लिन सकिन्छ, जहाँ राजतन्त्रले दक्षिणपन्थी धारको प्रतिनिधित्व गरेको थियो भने विपरीत धु्रवमा हिंसात्मक र अल्पहिंसात्मक प्रवृत्तिका वामपन्थी कम्युनिस्टहरू थिए । त्यसैले त्यहाँ मध्यमार्गी शक्तिको गुञ्जाइस थियो र त्यस्तो शक्तिको प्रतिनिधित्व स्वाभाविक तवरमा नेपाली कांग्रेसले गरेको थियो । २०६३ को नियोजित राजनीतिक परिवर्तनको आसपास नेपाली राजनीतिक प्रवृत्तिमा फेरबदल भयो, मध्यमार्गी नेपाली कांग्रेस, जो त्यसअघि राजा र कम्युनिस्ट शक्तिमध्ये राजालाई प्रजातन्त्रका निम्ति कम हानिकारक ठान्थ्यो र वामपन्थी कम्युनिस्टहरूसँग अलिक बढी दूरीको सम्बन्ध राख्दथ्यो, त्यसले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्यायो । राजासँग बदला लिने मानसिकतामा रहेको कांग्रेस नेतृत्वले राजाविरुद्ध मोर्चाबन्दीको अगुवाइ मात्र गरेन, वामपन्थी कम्युनिस्टका एजेण्डालाई पनि उसले स्वीकार गर्‍यो ।

वि.सं. २००७ सालको परिवर्तन दक्षिणपन्थी राणा शाही र वामपन्थी भूमिकामा रहेको कांग्रेसबीचको अन्तरसङ्घर्षको परिणाम थियो । २००७ साल र त्यसयताका केही वर्षहरू दक्षिणपन्थी शक्ति र वामपन्थी प्रजातन्त्रवादीबीचको अन्तरद्वन्द्वबाट नै गुज्रिएका हुन् । २०४६ सालसम्म आइपुग्दा मुलुकको राजनीतिमा वामपन्थी कम्युनिस्टहरू पनि एउटा प्रमुख शक्तिका रूपमा विकसित भइसकेका थिए । कांग्रेसले वामपन्थी कम्युनिस्टहरूलाई बहुलवादमा आधारित संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र स्वीकार गर्न बाध्य तुल्याउँदै २०४६ को जनआन्दोलनमा साथ लिएको थियो, अर्थात् २०४६ को जनआन्दोलन र त्यसयताका दिनमा कांग्रेसले वामपन्थी कम्युनिस्टहरूलाई आफ्ना एजेण्डामा सहमत गराएको हो । त्यसैले २०४६ पछि पनि नेपाली कांग्रेस मध्यमार्गी भूमिकामा थियो । २०६२/०६३ को आन्दोलन र त्यसपछिका दिनमा भने कांग्रेसको सोच बदलियो । आन्दोलनको नेतृत्व २०६३ मा पनि कांग्रेसले नै लिएको हो, तर यसपटक कांग्रेसले आफ्ना मौलिक एजेण्डा परित्याग गरेर वामपन्थी कम्युनिस्टहरूको एजेण्डा स्वीकार गर्‍यो । गणतन्त्र घोषणासँगै नेपालमा मध्यमार्गी राजनीतिक धारको भूमिका विस्थापित भएको छ । कम्युनिस्टका एजेण्डा बोक्दाबोक्दै पनि संविधानको घोषणापश्चात् नेपाली कांग्रेस दक्षिणपन्थी कित्तामा परेको छ, वामपन्थी कम्युनिस्टहरूले अन्तरविरोधका नयाँ मुद्दाहरू स्थापित गरेका छन् । सङ्घीयतासहितको धर्मनिरपेक्षता लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक एवम् समावेशी राज्य प्रणाली नेपाली कांग्रेसको मौलिक एजेण्डा थिएन, होइन र हुन पनि सक्दैन ।

कांग्रेसले समानुपातिक–समावेशी अवयवसहितको सङ्घीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र ग्रहण गर्दा परेवाले कागको पखेटा भिरेजस्तो देखिएको छ । पखेटा जो–जसको भिरे पनि कम्युनिस्ट वामपन्थीहरू कांग्रेसलाई दक्षिणपन्थी नै मान्छन् र राजतन्त्र अस्तित्वमा नरहँदा सिङ्गै दक्षिणपन्थीहरूको माउशक्तिका रूपमा उनीहरूले कांग्रेसलाई हेरेका छन् । वामपन्थी कम्युनिस्टहरू अब नेपाली कांग्रेससँग अन्तरविरोधका नयाँ आधारहरू विकास गर्दै छन् । एमाले, माले र एमाओवादीदेखि नेमकिपासम्मका वामपन्थी कम्युनिस्टहरू एउटै कित्तामा उभिएर आफूलाई समाजवादी शक्तिका रूपमा स्थापित गर्ने कसरत गर्दै छन् र कांग्रेसलाई पुँजीवादी शक्तिको प्रतिनिधि राजनीतिक दलका रूपमा हेर्दै छन् । राजतन्त्रको अवशासनपश्चात् सामन्ती युगको समूल अन्त्य भएको विश्लेषण गर्ने उनीहरूले देशभित्र अबको अन्तरविरोध पुँजीवाद र समाजवादबीच पैदा भएको निष्कर्ष निकालेका छन् । त्यसैले पुँजीवादलाई परास्त गर्न कांग्रेसलाई कमजोर तुल्याउँदै विस्थापित गर्नुपर्ने निष्कर्षमा वामपन्थी कम्युनिस्टहरू पुगेका छन् । उनीहरूले जुन स्तरमा धु्रवीकरणको अभ्यास गरिरहेका छन् यसले तय गर्ने डेस्टिनेसन अत्यन्तै खतरनाक र दु:खदायी हुनसक्छ ।

कोरिया विभक्त भएझैँ उत्तरतर्फ जनवादी या समाजवादी गणतन्त्र नेपाल र दक्षिणतर्फ प्रजातान्त्रिक गणतन्त्र नेपाल बन्ने सम्भावनालाई अहिले नै देख्न र त्यसो हुनबाट रोक्न नसक्ने हो भने सिङ्गो नेपालको अस्तित्व धेरै लामो समयसम्म जोगिन मुस्किल पर्नेछ । कम्युनिस्टहरू देशको सीमा रक्षाभन्दा आफ्नो सत्ता रक्षाप्रति संवेदनशील हुन्छन्, त्यसैले सत्ताका निम्ति देश विभाजनसम्म जान पनि उनीहरू हिचकिचाउँदैनन् । वामपन्थी कम्युनिस्टकै कारण कोरिया, चीन, भियतनाम र इथियोपियाजस्ता मुलुक विभाजित हुनुपरेको तथ्य स्मरण गर्नु हाम्रो निम्ति वाञ्छनीय हुनेछ । कम्बोडिया र पेरूजस्ता मुलुक पनि झन्डै विभाजनको पीडा भोग्न बाध्य भएका थिए । सोभियत सङ्घको विभाजनलाई कम्युनिस्टहरूको नीति र विचारसित जोडिएन भने विभाजनलाई बुझ्ने दृष्टिकोणमा कमजोरी हुनसक्छ । तर, नेपाली कांग्रेस भने ब्वाँसोका अघिल्तिर शरीर सुम्पिँदै आँखा चिम्लिएर सुत्ने साँढेजस्तै लम्पसार अवस्थामा देखिँदै छ । उसका अघिल्तिर न स्पष्ट दृष्टिकोण छ, न वामशक्तिसँग भिड्ने कुनै नीति, कार्यक्रम, योजना र प्रतिबद्धता नै छन् ।

२०६२ सालमा भारतको राजधानी नयाँदिल्लीमा बाह्रबुँदे सम्झौतामार्फत कांग्रेसले वामपन्थी कम्युनिस्टहरूको एजेण्डा स्वीकार गरेयता विकसित राजनीतिक घटनाक्रम क्रमश: वाममैत्री बन्दै गएको छ र २०७२ असोज ३ गते संविधानसभाको नाममा जारी गरिएको संविधानले देशलाई राज्य नियन्त्रित अर्थतन्त्रसहितको समाजवादी राजनीति प्रणाली स्थापनाका निम्ति पृष्ठभूमि तयार गरिदिएको छ । संविधानका अन्तर्वस्तु वामपन्थी कम्युनिष्टमैत्री रहेको तथ्यले यो संविधान निर्माणमा कांग्रेसको मौलिक राजनीतिक एवम् वैचारिक संलग्नता रहेको पुष्टि गर्दैन । वाममैत्री संविधानबाट उत्साहित वामपन्थी कम्युनिस्टहरू आगामी चुनौती झेल्न एकताबद्ध भएका छन् र उनीहरूको यो एकता नेपाल र नेपालीको पक्षमा भन्दा बढी छिमेकी मित्रराष्ट्र भारतलगायत पश्चिमा शक्तिशाली प्रजातान्त्रिक मुलुकहरूका विरुद्ध लक्षित छ । देशभित्र समाजवाद र पुँजीवादबीचको अन्तद्र्वन्द्व पैदा गरी कथित समाजवादको नाममा जनमत सिर्जना गर्दै आफ्नो निहित गन्तव्य हासिल गर्न कटिबद्ध वामपन्थी कम्युनिस्टहरूले भारत विरोधलाई राष्ट्रवादको प्रमुख आधार बनाएका छन् र देशभित्र भारत, युरोपियन युनियन तथा संयुक्त राज्य अमेरिकाविरोधी मोर्चा निर्माणको कसरत गरिरहेका छन् । यसरी उनीहरू चीनको पक्षमा नेपालभित्र जनमत बनाउँदै उत्तर कोरियाजस्तै नेपाललाई चिनियाँ धुरीको सशक्त ‘हवल्दार’को रूपमा स्थापित गर्न–गराउन खोज्दै छन् ।

यद्यपि छिमेकी मित्रराष्ट्र भारतको भूमिमा सेल्टर लिएर नेपालमा ‘क्रान्ति’को मायाजाल रच्नेहरूमाथि चिनियाँहरूले विश्वास गरिसकेको स्थिति छैन । चीनको विश्वासप्राप्तहरूले दर्शाउनेभन्दा बढी चिनियाँ भक्ति तिनले दर्शाउनुपर्ने हुन्छ जो चीनको विश्वास आर्जन गर्ने क्रममा छ । तत्कालका लागि नेपालका वामपन्थी कम्युनिस्टहरूले भारत, ब्रिटेन, अमेरिका र युरोपियन युनियनलगायत विश्वका समृद्ध प्रजातान्त्रिक मुलुकहरूको विश्वास गुमाइसकेका छन् र चीनको पूर्ण विश्वास प्राप्त गरिसकेका छैनन् । सबैको विश्वास आर्जन गर्नुपर्नेमा कसैको पनि विश्वास प्राप्त गर्न नसक्नुले उनीहरू कूटनीतिक मामिलामा अपरिपक्व र असफल रहेको सिद्ध गर्दछ । वामपन्थी कम्युनिस्टहरूको सफलता या असफलता एउटा लघु पाटो हो, उनीहरू नेपालभित्र नयाँनयाँ अन्तरविरोध सृष्टि गर्ने क्रममा चीन पक्षधर र चीनविरोधीहरूबीच पनि अन्तरविरोध पैदा गर्ने अभ्यासमा छन् । जुन अन्तरविरोध नेपालको सार्वभौमिक स्वतन्त्रता र राष्ट्रिय अखण्डतालाई अपाङ्ग बनाउन पर्याप्त हुनेछ भन्ने हेक्का सबै नेपाली र नेपालप्रेमीहरुमा रहन आवश्यक छ । विदेशीको इच्छा र इसाराअनुरूपको संविधान जारी गरेर पनि आफूलाई निर्लज्ज ढङ्गले राष्ट्रवादी दाबी गर्ने वामपन्थी कम्युनिस्टहरू पछिल्लो समयमा जसरी ध्रुवीकृत भएका छन् यसलाई उनीहरूको नियोजित चालबाजीका रूपमा बुझ्न सकिन्छ ।

नेपाली जनतामा रहेको राष्ट्रप्रेमी भावनाको दुरूपयोग गर्दै सत्ता र सडक अनन्तकालसम्मका लागि आफ्नै कब्जामा राख्ने कपटी सोचको रूपमा यसलाई लिन सकिन्छ । नेपाललाई उत्तरकोरियाझैँ राष्ट्रवादको नाममा संसारबाट एक्ल्याएर कुनै एक देशको हथेलीमा नचाउन प्रपञ्च रचिएको हो भने स्वनामधन्य क्रान्तिकारीहरूले बुझ्नुपर्छ– ‘नेपाल उत्तरकोरिया बन्न असम्भव बरु युगोस्लाभिया बन्न धेरै सम्भव छ ।’ नेपाल र नेपालीले यी वामपन्थी कम्युनिस्टहरूको के बिगारिदिएका थिए र उनीहरू यसरी नेपालकै अस्तित्व मेटाउन यत्नशील भएका हुन् प्रश्न उठाउन विलम्ब गर्नै नहुने भएको छ । कम्युनिस्टहरूको ‘निमित्त अग्रसरता’मा बनेको र उनीहरूद्वारा विश्वकै उत्कृष्ट दाबी गरिएको संविधानप्रति ब्रिटेनले असहमति जनाएको छ, भारतले त जनाइरहेकै थियो, अब अमेरिकाको पनि असहमति सार्वजनिक भएको छ । उनीहरूको असहमति विष्णुबहादुर मानन्धर र नारायणमान बिजुक्छेको वक्तव्यझैँ कागजको पानामा मात्र सीमित भएर बस्ने ठानिनु भूल हुनेछ । आफ्नो निहित राजनीतिक अभीष्ट पूरा गर्न वामपन्थी कम्युनिस्टहरूले देशभित्र नियोजित धु्रवीकरणको प्रयास गर्दै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूलाई समेत चिढ्याउँदा नेपाल विदेशीको क्रीडास्थल बन्ने र आन्तरिक युद्धको चपेटामा पर्ने खतरा बढेको छ । अफगानिस्तानमा कम्युनिस्टले जे गरे, कम्युनिस्टका नाममा त्यहाँ जे भयो र दशकौंदेखि अफगानिस्तान जस्तो नियति भोग्दै छ ठीक त्यस्तै नियति भोगको पृष्ठभूमि यहाँ बन्दै छ ।

नेपाली कांग्रेस आफ्नो मौलिक दर्शन र विचारधाराबाट स्खलित हुँदा वामपन्थी कम्युनिस्टहरूको दबदबा मात्र बढेन, देशको सार्वभौमिकता, शान्तिसुरक्षा र राष्ट्रिय एकता खतरामा मात्र परेन, मुलुककै अस्तित्व विलोपको सम्भावनासमेत देखिएको छ । त्यसैले नेपाली कांग्रेसले देशभरिका प्रजातान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूलाई समेट्दै विगतका गल्ती–कमजोरीप्रति आत्मालोचित भएर देशको पक्षमा निर्णय लिन थप विलम्ब गर्नै नहुने देखिएको छ । यो न्यूनतम क्षमता पनि दर्शाउन सकिँदैन भने कांग्रेसलाई आफ्नो राजनीतिक सामथ्र्य र औचित्य पुष्टि गर्न मुस्किल पर्नेछ ।

८ बैशाख २०७३, बुधबार २२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..