देउवासँग किन तर्सिए कम्युनिस्टहरू ?

सर्वाधिक कट्टर राष्ट्रवादी ती हुन् जो परम्परावादमा आस्था, विश्वास र भरोसा राख्दछन् । राष्ट्रप्रतिको भक्ति, स्वीकारोक्ति र सम्मानबराबरको परम्परावादी कट्टरताले खास अवस्थामा धार्मिक कट्टरतालाई पनि उछिनेका दृष्टान्त विश्व–इतिहासमा भेटिन्छ । राष्ट्र अर्थात् देशबाहेक धर्म, संस्कृति, रीतिरिवाज, संस्कार, विवाह, परिवार र चालचलन पनि परम्परावादको परिधिमा पर्दछन् । त्यसैले परम्परा भन्नु नै एउटा विशिष्ट मूल्य–मान्यतासहितको सभ्यता भनेर बुझ्न सकिन्छ ।

भौतिक विकासको उत्कर्षमा पुगेका पश्चिमा मुलुकभित्र परम्परावादमा विश्वास राख्ने राजनीतिक दलहरू प्रादुर्भाव हुनु र तिनले सत्ता राजनीतिमा सुदृढ पहुँच स्थापित गर्नुले मानिस विज्ञानसम्मत समृद्धिको अवस्थामा पनि परम्परामुक्त हुन सक्दैनन् भन्ने स्पष्ट गर्दछ । प्रजातन्त्रको जननी मानिएको मुलुक इङ्ग्ल्यान्ड र शक्तिशाली प्रजातान्त्रिक देश संयुक्त राज्य अमेरिकामा ‘कन्सर्भेटिभ’ पार्टीहरू मजबुत रहनुले यही तथ्य स्पष्ट गर्दछ । बेलायत र अमेरिकामा कन्सर्भेटिभ पार्टीका नेताहरू आफू सच्चा परम्परावादी (Real conservative) भएको दाबी गर्दै जनतासँग मत माग्ने गर्दछन् । ज्ञातव्य छ, इङ्ग्ल्यान्डमा ‘कन्सर्भेटिभ’ नाममै पार्टी क्रियाशील भए पनि अमेरिकामा चाहिँ ‘रिपब्लिकन’ पार्टीले परम्परावादको प्रतिनिधित्व गर्ने दाबी गर्दछ । सन् २००८ मा बाराक ओबामा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्दै गर्दा उनीमाथि कतिपय आलोचकले ‘वामपन्थी र कम्युनिस्ट’ भएको आरोप लगाएका थिए । त्यसबेला रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार जोन मकेनचाहिँ आफू खाँटी परम्परावादी भएको र रोनाल्ड रेगनको सच्चा अनुयायी रहेको दाबीसहित मत माग्दै थिए । ओबामाप्रति उर्लिएको युवा आकर्षण र लहरले मकेनको दाबीलाई ओझेलमा पारिदियो । तथापि अमेरिकाजस्तो उदार मानिने मुलुकमा समेत परम्परावादमा विश्वास गर्ने पार्टी सधौ सत्तानिकटमा या सत्तामा रहिरहनुले परम्परावादको महत्व र त्यसप्रतिको जनआकर्षण जाहेर गर्दछ ।

अमेरिकामा डेमोक्रेटिक पार्टीलाई राष्ट्रघाती या राष्ट्रविरोधी मानिादैन । देशहितको निम्ति राख्ने सोच अलिक उदार रहने गरेकोले आप्रवासी र असीमित स्वतन्त्रताका पक्षधरहरूले डेमोक्रेटिक पार्टीलाई समर्थन दिने गरेका छन् । आफूलाई परम्परावादी भएको बताउने रिपब्लिकन पार्टीमा राष्ट्रियता र राष्ट्रहितप्रति भिन्न प्रकारको संवेदनशीलता भेटिन्छ । सामाजिक रीतिरिवाज, पारिवारिक एकता र मर्यादित यौन संस्कारको पक्षमा उभिएको रिपब्लिकन पार्टीप्रति आप्रवासीहरू कम आकर्षित हुने कारणचाहिँ उसले लिने कठोर आप्रवाससम्बन्धी नीति नै हो । जे होस्, राष्ट्रवाद एउटा परम्परावाद हो र परम्परावादीहरू नै बलिया राष्ट्रवादी हुन् भन्न अमेरिकाको रिपब्लिकन र बेलायतको कन्जर्भेटिभ पार्टीले सहयोग पुर्‍याएको छ । नेपालको सन्दर्भमा नेपाली कांग्रेसले राष्ट्रियतालाई उच्च प्राथमिकतामा राख्दै आएको छ, यसर्थ यो पार्टी राष्ट्रवादी हो र राष्ट्रवादी भएकै कारण कांग्रेस खाँटी परम्परावादी पनि हो ।

त्यसैले परम्परावादी बन्न र त्यसलाई स्वीकार गर्न कांग्रेसले लज्जाबोध गरिरहनुपर्दैन । त्यस्तै आफ्नो देशको मौलिक धर्म, संस्कृति, संस्कार र परम्परागत मूल्य–मान्यताको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै हो । देशको मौलिकता जोगाउन अग्रसर हुँदा कसैले दक्षिणपन्थी भन्छ भने त्यसलाई गौरवका साथ ग्रहण गर्न कांग्रेस तयार हुनुपर्ने हुन्छ । वामपन्थीलाई विरोधी, विद्रोही, सधौ नकारात्मक मानसिकताका, उग्र, अशान्त, विवेक र बौद्धिकतामा भन्दा बाहुबलमा निर्भर, वर्गीय समाज तथा भौतिक सुखमा मात्र विश्वास राख्ने, अराजक र प्रचलित मूल्य–मान्यता एवम् स्वतन्त्रताविरोधी मानिस या मानिसको जमात मान्ने हो भने दक्षिणपन्थीलाई शान्त, स्थिर, अनुशासित, परम्परागत मूल्य–मान्यताको रक्षक, भौतिक सुखको साथै आध्यात्मिक शान्तिका पक्षपाति, मानवीय स्वतन्त्रताका हिमायती, सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणमा विश्वास राख्ने मानिस या मानिसको समूहका रूपमा बुझ्न सकिन्छ । यसर्थ वामपन्थीभन्दा दक्षिणपन्थी हुनुमा गौरव गर्न सकिने पर्याप्त आधार रहेको भेटिन्छ ।

सुदृढ राष्ट्रियता र राष्ट्रहितका निम्ति कांग्रेसले विगतका गल्ती–कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ भन्ने सन्देश कांग्रेसको तेह्रौा महाधिवेशनले दिएको छ । शेरबहादुर देउवा, डा. शशाङ्क कोइराला, खुमबहादुर खड्का, डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई प्राप्त मतले आमकांग्रेसजन विगतका निर्णयको समीक्षा गरी कांग्रेसको मौलिक पहिचान पुनस्र्थापित गर्न चाहन्छन् भन्ने सन्देश दिएको छ । गिरिजाप्रसाद कोइरालाको एकल निर्णयबाट कांग्रेसको नाममा भए–गरेका त्रुटिपूर्ण कार्यको सुधार हुनुपर्छ भन्ने चाहना आमकांग्रेसजनले उल्लिखित पाँच नेतालाई सर्वाधिक समर्थन दिएर गरेका छन् । महाधिवेशनले बीपी कोइरालाको विचारमार्ग पक्षधर नेताहरूलाई मजबुत हैसियत दिनुको सीधा अर्थ बीपीवादलाई पछ्याउनुपर्छ भन्ने नै हो । बीपीका भाइ गिरिजाप्रसाद कोइराला युघिष्ठिरका भाइ अर्जुन नभई रावणका भाइ विभीषणजस्तो हुन पुगेको महसुस कांग्रेसभित्र र बाहिरका समेत कैयनले दशकअघि नै महसुस गरेका हुन् ।

एकात्मक अभ्यासमा रमाइरहेको मुलुकलाई केन्द्रीकृत शासन पद्धतिको विकल्पका रूपमा विकेन्द्रीकरणको नीति अवलम्बन गर्नुपर्नेमा बिनाबहस–छलफल सङ्घीयतामा जाने निर्णय लिनु, बहुसङ्ख्यक जनताको भावना र चाहनाविपरीत मुलुकलाई धर्मनिरपेक्ष तुल्याउनु, कानुनी, संवैधानिक र राजनीतिक प्रक्रिया पूरा नगरी सीधै गणतन्त्र घोषणा गराउनु, संसदीय प्रजातन्त्रको मौलिकता र मूल्य–मान्यताविपरीत समानुपातिक निर्वाचन प्रणालीमा जानु तथा आरक्षणलाई स्थायी र मौलिक अधिकारझौ प्रयोग गर्ने स्थिति बनाउनुलाई गिरिजाप्रसाद कोइरालाको गम्भीर त्रुटि मानिएको छ । आमकांग्रेसजनले विगतका उल्लिखित त्रुटि कुनै न कुनै तरिकाले सुधार हुनुपर्छ भन्ने चाहना राखेका छन् र छानी–छानीकन नेता चयन गरेर उनीहरूले आफ्नो इच्छा उजागर गरेका हुन् ।

सभापतिमा भारी बहुमतले निर्वाचित भएलगत्तै शेरबहादुर देउवाले मुख्य दलहरू मिलेर सरकार बनाउनु उपयुक्त नहुने भन्दै प्रमुख दलमध्ये एउटाले सरकारको र अर्कोले मुख्य प्रतिपक्षको भूमिका निर्वाह गर्नु नै प्रजातन्त्रको सुन्दरता भएको स्पष्ट गर्नुभएको छ । देउवाले मुख्य दुई दल मिलेर सरकार गठन गर्दा प्रतिपक्षी भूमिका कमजोर हुने र त्यसले अन्तत: प्रजातन्त्रलाई नै क्षति पुर्‍याउने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई समेत सहभागी गराएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विचार सार्वजनिक गर्दै गरेको पृष्ठभूमिमा नेता देउवाबाट अभिव्यक्त विचारले कांग्रेसको सैद्धान्तिक अडान स्पष्ट गरेको छ । यसबाट देउवा विगतका त्रुटि सच्याउन तयार रहनुभएको सङ्केत पनि मिलेको छ । कम्युनिस्टहरू संसदीय प्रजातन्त्रको मौलिक गुण ‘डिलिट’ गर्न प्रयासरत रहँदै आएका बेला देउवाले व्यक्त गर्नुभएको विचारलाई उनीहरूले चुनौतीको रूपमा ग्रहण गरेको महसुस गर्न सकिन्छ ।

कांग्रेसद्वारा नयाँ नेतृत्व चयनलगत्तै देउवाको विचार अभिव्यक्तिपछि प्रचण्डले ‘कम्युनिस्टहरू एकताबद्ध हुने समय आएको’ प्रतिक्रिया दिनुले वामसंसारमा त्रास पैदा गरेको बुझ्न सकिन्छ । स्मरणीय छ, वामपन्थी कम्युनिस्टहरू वैचारिक एवम् सैद्धान्तिक रूपले नै प्रतिपक्षविहीन शासन सत्ताको पक्षमा हुन्छन् । उनीहरू संसदीय प्रजातन्त्रलाई विस्थापित गर्दै जाने प्रयोगात्मक अभ्यासअन्तर्गतको रणनीतिक चालअनुसार विभिन्न शीर्षकमा राष्ट्रिय सहमतिको सरकार गठन र सञ्चालन गर्ने प्रस्ताव अघि सार्दै छन् । हिजो ‘संविधान निर्माणको निम्ति राष्ट्रिय सरकार’ भनियो र भ्रष्टाचारलाई गाउँ तहसम्म संस्थागत गरियो, अहिले उनीहरू संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार भन्दै छन् र भोलि यिनैले देश विकासका निम्ति राष्ट्रिय सरकार पनि भन्नेछन् ।

सुन्दा प्रिय लाग्ने यिनै नाराभित्र कम्युनिस्टहरूको प्रतिपक्षविहीन एकदलीय शासन पद्धति अभ्यास गर्ने नियत लुकेको छ । कम्युनिस्ट वामपन्थीका तर्फबाट आएको ‘त्यस्तो’ प्रस्तावलाई सैद्धान्तिक रूपमै अस्वीकार गरेर देउवाले कांग्रेस अब प्रचलित संसदीय प्रजातन्त्रको मर्म रक्षाको पक्षमा दृढतापूर्वक उभिने सङ्केत दिनुभएको छ । जनभावना र प्रजातन्त्रप्रतिकूल अन्य मुद्दाहरूमा पनि सुधारको अगुवाइ देउवाबाट हुने अपेक्षा गरिएको छ । कांग्रेसले यसरी राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनभावनाअनुकूल आफ्ना अडान राख्दा देश, जनता र प्रजातन्त्रप्रति राम्रो नियत–भाव राख्नेहरू आतङ्कित या त्रसित भइरहनुपर्ने छैन । तर, अपेक्षाविपरीत कम्युनिस्टहरूमा एकप्रकारको सन्त्रास देखापरेको छ, उनीहरूमा देखिएको यही सन्त्रासले भविष्यमा ध्रुवीकरण र ‘कन्फ्रन्ट्रेसन’को अवस्था पैदा नगर्ला भन्न सकिँदैन । यद्यपि जुन मुलुकको राजनीतिमा कम्युनिस्ट प्रभाव ज्यादा रहन्छ त्यहाँ सामाजिक, आर्थिक एवम् राजनीतिक द्वन्द्व चलिरहन्छ । जहाँ द्वन्द्व चलिरहन्छ, त्यहाँ शान्ति र स्थिरताको सम्भावना रहन्न । शान्ति र स्थिरताबिना विकास र समृद्धि प्राप्तिको कल्पना पनि गर्न सकिँदैन । त्यसैले सधौको लागि द्वन्द्व खोज्ने कि एक चरणको द्वन्द्वबाट सधौको निम्ति शान्ति, स्थिरता र समृद्धि प्राप्तिको यात्रा रोज्ने भन्ने प्रश्न कांग्रेस र आमनेपालीबीच खडा भएको छ । कम्युनिस्टले झौ ‘हुत्तिएर’ वा आक्रामक ढङ्गले परिवर्तन खोज्ने चरित्र प्रजातन्त्रवादी या कांग्रेसको होइन । अमेरिका, ब्रिटेन, जर्मनी, दक्षिण कोरिया, जापान, सिङ्गापुर र मलेसिया कुनै वामपन्थीले बनाएका होइनन् । आजको चिनियाँ सम्पन्नताको सूत्रधार पनि दक्षिणपन्थी भनिएका देङ सियाओ पिङ हुन् ।

नेपालको इतिहासमा सबै कम्युनिस्ट क्रान्तिकारीहरू सत्तामा पुगेको यो पहिलोपटक हो र नेपालको आर्थिक विकासदर सबभन्दा कम (करिब दुई प्रतिशत मात्र) भएको पनि यो नै पहिलोपटक हो । ०४६ को परिवर्तनसागै वामपन्थी कम्युनिस्टलाई कांग्रेसले आफ्ना एजेण्डामा ल्याएको थियो र माओवादी हिंसात्मक युद्ध (२०५२) सुरु गर्नुअघि कांग्रेसको एकमना सरकार रहँदा (२०५१ मङ्सिर) सम्म आर्थिक विकास दर ७.२ प्रतिशत पुगेको विदित छ । २०६३ को परिवर्तनले कांग्रेसलाई कम्युनिस्टको एजेण्डामा पुर्‍यायो र देश वामपन्थी कम्युनिस्टमय भइरहँदा मुलुकको आर्थिक विकास दर चाहिँ दुई प्रतिशतमा झरेको छ । त्यसैले गल्ती जहाँबाट सुरु भएको हो सुधार त्यहीँबाट प्रारम्भ हुनुपर्छ । शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले सुधारको ऐतिहासिक कदम चाल्ने अपेक्षा सर्वत्र गरिएको छ, यही अपेक्षाका कारण वामपन्थी कम्युनिस्टहरूमा भने बेग्लै सन्त्रास पैदा गरेको छ ।

४ चैत्र २०७२, बिहीबार २२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..