काँग्रेस तेह्रौँ महाधिवेशनले चयन गरेको नेतृत्व, संभावना र सफलताको चुनौती

नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनबाट आएको नेतृत्व स्वाभाविक रहेको छ । स्वाभाविक निर्वाचन परिणामका आधारमा सभापतिका रूपमा जिम्मेदारी पाउनुभएका शेरबहादुर देउवाको सफलता वा असफताले नै भोलिको काँग्रेसलाई मार्ग निर्देश हुनेछ । देउवाले आफ्नो सभापतीय जिम्मेदारी लगत्तै नेपाली सञ्चार माध्यमसँग कुरा गर्दै आफ्नो विजय भन्ने शब्दको बदला यो निर्वाचनलाई जयविजयका रूपमा नहेर्न आग्रह मात्र गर्नु भएन, उहाँले आफूलाई साथीले निर्वाचनमार्फत जिम्मेदारी दिएको प्रतिक्रिया दिनुभएको छ । उहाँले बडो आत्मविश्वासका साथ सभापतिमा केही मतले पछाडि पर्नुभएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई समेत पार्टीमा साथ लिएर जाने, पार्टीभित्रको कथित साठी र चालीसको भागबण्डाको अन्त्य गरी नेपाली काँग्रेसलाई एकधारमा हिँडाउने निष्कर्ष सुनाउनुभएको छ । नेपाली काँग्रेसमा जटिल बन्दै गएको धार पद्धतिले भोलि यो पार्टीलाई कमजोर बनाउने र अन्ततः असन्तुष्टि सङ्गठित हुँदै नयाँ विभाजनको बाटो खुल्नेसम्मको वातावरण देखिनथालेको अवस्थामा देउवाको यो प्रतिबद्धता निश्चय पनि सकारात्मक छ । शेरबहादुर देउवाका लागि यो आफैँले गरेको प्रतिबद्धता नै मूल चुनौती हो भन्ने यो पङ्क्तिकारको मान्यता रहेको छ ।
देउवा सरल स्वभाव र भलाद्मी भएका कारण स्वार्थ समूहको कुण्डली र निःस्वार्थ सहयोगीको सुझावलाई खुट्याउने सामथ्र्य राख्नु हुन्छ भन्ने आम विश्वास छ तर उहाँबाट देखाइने राजनीतिक व्यवहार र चरित्रबाट यो विश्वासको परीक्षण हुनेछ । नेतृत्व पाउनासाथ सामथ्र्यवान रहेको प्रमाणित हुँदैन । त्यो नेतृत्व अर्थात् देउवाकै भाषामा जिम्मेदारी पूरा गरेमा मात्र सामथ्र्य रहे नरहेको पुष्टि हुन्छ । यसनिम्ति नेपाली काँग्रेसभित्रका मतदाताले कम्तीमा पनि एक वर्ष प्रतीक्षा नगरी हुँदैन । देउवा सकारात्मक भएर मात्र पुग्दैन । प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र पौडेलदेखि कृष्णप्रसाद सिटौला समेतको भूमिका सकारात्मक हुनु जरुरी हुन्छ ।
यस पटकको चुनावका लागि नेपाली काँग्रेसभित्रको गठबन्धन अलि पृथक चरित्रको देखिएको थियो । पृथक विश्वास लिएर सार्वजनिक भएकामा एउटा आश्चर्य लाग्दो समीकरण देखिएको थियो भने हिजो एउटै विश्वासमा टिकेका पनि भिन्न गठबन्धनका यात्री रहेका थिए । गगन थापासँग वैचारिक धार जोडेका प्रदीप पौडेल र गुरुराज घिमिरेले आफ्नो राजनीतिक अभिभावक अरुलाई नै बनाउने समीकरण बनाउन पुगे भने हिजोसम्म प्रजातान्त्रिक समाजवादको परिभाषा र व्याख्या गर्दै हिँड्नुभएका रामचन्द्र पौडेलले पारिवारिक विरासतको समर्थन खोज्ने नाउमा गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता विरुद्ध नेपाली काँग्रेस हिँड्नुपर्ने स्पष्ट आसय व्यक्त गर्ने डा. सशाङ्क कोइरालालाई महामन्त्रीमा उभ्याउने काम गर्नुभयो । धर्म, सङ्घीयता र गणतन्त्रका विरुद्ध कठोरधारमा रहनुभएका डा. शेखरदेखि डा. सशाङ्कसम्म समाजवादको परिभाषा गर्दै हिँड्ने र देशको आजको परिवर्तनलाई अघि बढाउन कृत सङ्कल्पित रामचन्द्र पौडेलसँग जोडिन पुगे । अर्कातिर धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्रलाई मूल उपलब्धि मान्ने विमलेन्द्र निधिदेखि यी परिवर्तनविरुद्ध आन्दोलन चलाउन सक्रिय खुमबहादुर खड्का, गोविन्दराज जोशी, केवि गुरुड, लक्ष्मणप्रसाद घिमिरे, चिरञ्जीवी वाग्लेसम्मलाई एउटै समूहमा आबद्ध गर्ने रणनीतिमा शेरबहादुर देउवा अग्रसर हुनुभयो ।
वास्तवमा स्वाभाविक राजनीतिको कुरा गर्ने हो भने खुमबहादुर खड्का र डा. सशाङ्कको समान विचार एउटाधारमा रहनुपर्ने थियो र देउवा र रामचन्द्रको गठबन्धन अर्को बन्नुपर्ने थियो तर जय–पराजयको राजनीतिक खेलमा यस्तो समान विचारको अर्थ रहँदैन । देशमा यतिखेरको चौबाटोमा कुरेर बसेको चौमुखी घोडाजस्तो भएर सरकार जसरी चलिरहेको छ त्यसरी नै नेपाली काँग्रेसभित्रको सहकार्य र गठबन्धनको स्वरूप देखिन पुगेको छ ।
त्यसो त उदारवादका प्रवक्ता डा. रामशरण महतदेखि समाजवादका प्रखर भाष्यकार प्रदीप गिरीसमेत नेपाली काँग्रेसको एउटै डुङ्गामा अटाएको देखिन्छ । यो डुङ्गाका सहयात्रीमा विचार मिल्नुपर्छ वा लय मिल्नुपर्छ भन्ने देखिँदैन । जुनरूपमा भए पनि डुङ्गा चलिरहनुपर्छ र त्यसमा जस्तोसुकै सहकार्य, गठबन्धन वा सहमति गर्दै अटाउनुपर्छ भन्ने दृष्टिकोण मात्र देखिन्छ । यसैकारण सभापति शेरबहादुर देउवाका लागि यो समीकरणलाई सन्तुलित बनाउँदै आगामी दिनमा नेपाली काँग्रेसको आदर्श, सिद्धान्त, कार्यक्रम, रणनीति र सङ्गठन विस्तारको रथलाई दुर्घटनारहित बनाउन सक्नु अर्को अहं चुनौती हुनसक्छ ।
हिजो नेपालको संविधान बनाउने नायकत्व लिने नेपाली काँग्रेसले कुनै जस लिएको छैन । धेरै मुद्दा विवादमा नै थिए । नेपाली काँग्रेसको कार्य समितिमा कुनै निर्णय नै नभई एकप्रकारले गिरिजाप्रसादको स्वविवेकमा प्रयुक्त हुकुमीशैलीबाट चलेको काँग्रेसभित्र ती विवादका मुद्दा दोहोरिएर आउन सक्छन् । संविधान आफैँमा समाधान भएर आउनुपर्नेमा समस्याको अर्को कारण भएर सार्वजनिक भएको छ । जारी भएको एक महिना नपुग्दै संशोधनमा जानुपर्ने बाध्यता त्यसै आएको थिएन । सुशील कोइराला कुन विवश परिस्थितिमा पुगेर हो संविधान जारी गर्न असोज ३ गते नै बाध्य हुनुभयो यो आफैँमा अनुद्घाटित विषय भएको छ । यसैकारण यो संविधान परिवर्तनको द्योतक भए पनि यसले राष्ट्रको चाहना, आवश्यकता र आम नागरिकको मन जित्न असमर्थ भएको छ । त्यसको स्पष्ट सङ्केत नेपाली काँग्रेस केन्द्रीय समितिको निर्वाचनबाट समेत मिलिरहेको छ । अन्यथा संसद्मा छ वर्षसम्म संविधानका विषयमा वा जनताका समस्याका विषयमा एक शब्द नबोल्नुभएका सशाङ्क कोइराला महामन्त्रीको उम्मेदवार बन्ने पूर्व सन्ध्यामा धर्म, गणतन्त्र र सङ्घीयतालाई नेपाली काँग्रेसले पुनरावलोकन गर्नुपर्छ भन्नुहुने थिएन । यसरी परिवर्तनको विषयप्रति असहमति देखाउने डा. कोइरालासँगै निरन्तर पुनरावलोकनका पक्षमा बोल्ने अर्का कोइराला डा. शेखर, खुमबहादुर खड्काका पक्षमा मत सर्वाधिक भएर आउने थिएन । अर्थात् नेपाली काँग्रेसका वर्तमान गाउँप्रतिनिधि र सदस्यको ठूलो पङ्क्ति आजको परिवर्तनको विपक्षमा छ भन्ने जसरी देखिन्छ, त्यससंँगै हिजोको परिवर्तन निम्ति अग्रसर हुकुमीशैलीको नेतृत्वप्रति समेत असहमत रहेछ भन्ने प्रमाणित हुन्छ । शेरबहादुर देउवाका सामु यो अर्को विषद् सैद्धान्तिक चुनौती हुन पुगेको छ ।
सिद्धान्ततः रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौला वा गगन थापालाई एउटै डालोमा बोक्न कठिन छैन तर केन्द्रमा बहुदृष्टिकोण, बहुउद्देश्य र बहुधारका पक्षमा भएको प्रतिनिधित्वलाई संयोजन गर्नु विशेष चुनौती देखिन्छ । यो चुनौतीलाई देउवाले कुनरूपमा बुझ्नसक्नु हुन्छ, उहाँको आगामी कार्यकालको अर्थवत्ता त्यसैमा हुनेछ ।
यससँगै नेपाली काँग्रेसमा अनेक समस्या छन् । आन्तरिक लोकतन्त्रको विषय आफैँ गम्भीर छ । पार्टीमा समयसमयमा हुने निर्वाचन प्रणालीले मात्र लोकतान्त्रिक संस्कृतिलाई पूर्णता दिँदैन । निर्वाचन प्रणाली निश्चय पनि एक विशेष आधार हो लोकतन्त्रको तर अनेक आन्तरिक विधि व्यवहार र आचरणको अनुपालन आवश्यक हुन्छ । देउवाका सामुन्ने ती विधि व्यवहारसमेत सहीरूपमा प्रयोग हुनसकेनन् भने ती आफैँमा चुनौतीका सर्जक हुन्छन् । नेपाली काँग्रेसमा यतिखेर कार्यकर्ता प्रशिक्षणको विषय अत्यन्त गौण रहेको छ । अतिराजनीतीकरणको फाइदा अरु दल खासगरी साम्यवादमा विश्वास गर्ने वामपन्थी दलले लिइरहनुमा प्रजातान्त्रिक प्रशिक्षणको अभाव नै हो ।
नेपाली काँग्रेसका मानिस हिजोका दिनमा जो सत्तामा पुगे तिनीहरूले निजी समृद्धि खोज्ने बाहेक अरु कुनै पनि काम गरेनन् । सञ्चार, शिक्षा, स्वास्थ्य, बैङ्किङ, सहकारी र अन्य उत्पदानमूलक व्यवसायमा त्यो आर्जित समृद्धिको उपयोग गर्ने सोच तिनीहरूमा आएन मात्र होइन, त्यस्ता व्यवसाय र सेवाप्रति समर्पित हुन र सक्रिय हुन प्रेरित गर्ने कामसमेत तिनीहरूबाट भएको छैन । युवा बेरोजगारीको समाधान खोज्ने वा आफ्नो सङ्गठन विस्तार गर्ने सन्दर्भमा नेपाली काँग्रेसको नेतृत्वका सामु यस्ता विषय गौण रहेको पूर्वावस्था छ ।
शेरबहादुर देउवामा पार्टीलाई एकताबद्ध राख्नु मात्रको जिम्मेदारी छैन, हिजोकोभन्दा पार्टी सबल, समर्थ, योग्य र स्पष्ट बनाउनु समेतको कार्यभार छ । देउवाले यो कार्यभारलाई कसरी अनुभव गर्नुहुन्छ त्यो उहाँको विषय हो तर यस कार्यमा अब धारको सिर्जना गर्ने कसरत गर्नु र आफ्नो तावा तताउँदै आफैँ रोटी सेक्ने काम नेतृत्वमा पुगेका पदाधिकारी वा अरु सदस्यले पनि गर्नु अनुचित हुने छ । यस्ता धार खडा नहुने वातावरण सिर्जना गर्ने काम सभापति देउवाको नै हो र यो काम कम चुनौतीपूर्ण देखिँदैन ।

२ चैत्र २०७२, मंगलवार २२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..