देउवा: हिजो, आज र भोलि

तत्कालीन सभापति सुशील कोइरालाको दैहिक अवसानको एक महिना नबित्दै शोकलाई बिर्साएर नेपाली काँगे्रसले आफ्नो तेह्रौँ महाधिवेशन सम्पन्न गरेको छ । निकै तडकभडक र तामझामपूर्ण शैलीमा सम्पन्न महाधिवेशनले पार्टीको सर्वोच्च पद सभापतिमा शेरवहादुर देउवा निर्वाचित गरेको छ । दशौँ महाधिवेशनमा आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धी देउवाको सभापति हुने इच्छा पूरा नभएपछि एघारौँ महाधिवेशन अलगअलग रूपमा सम्पन्न भएको थियो । त्यसबेला देउवालाई पार्टी फुटाएको आरोप पनि लगाइएको थियो । बाह्रौँ महाधिवेशनमा पुनः सभापतिका लागि प्रतिस्पर्धी हुँदा देउवाले सुशील कोइरालासँग पराजय बेहोर्नु परेको थियो । तर देउवाले हरेश नखाई सङ्गठनमा सक्रिय भई रहनुभयो । अन्ततः तेह्रौँ महाधिवेशनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको रुवा खोलाको एक सामान्य विद्यार्थी देउवाको काँग्रेसको सभापति बन्नेसम्मको राजनीतिक यात्रा कम रोमाञ्चक छैन । तीनपटक देशको प्रधानमन्त्रीको कार्यभार समालिसक्नुभएका देउवा विविध कारणले राजनीतिक–चर्चामा रहनुभयो । वैचारिक र सैद्धान्तिक आधारका लागिभन्दा पनि आक्रामक व्यक्तित्व, सत्ता–चातुर्य, साङ्गठनिक चुस्तता तथा कार्यकर्ता संरक्षणका दृष्टिले प्रायः चर्चामा रहने देउवा सभापतिमा निर्वाचित भएसँगै नेपाली काँग्रेस नयाँ धारको राजनीतिमा प्रवेश गरेको विश्वास गरिएको छ ।
देउवालगायत नयाँ पदाधिकारी र सदस्य निर्वाचित गर्नुका अतिरिक्त अन्य कुनै विषयमा खासै विमर्श गर्न नसकेको काँग्रेसको तेह्रौँ महाधिवेशनबाट लामो समयको अन्तरालपछि कोइराला परिवारबाहिर पार्टीको सर्वोच्च नेतृत्व हस्तान्तरण भएको एकथरि दाबी छ तर यो दाबीमा एक प्रकारको दम्भको अनुभूति पनि छ । देउवाको प्रतिस्पर्धी पौडेल विजयी भएको भए पनि नेतृत्व कोइराला परिवारबाहिर नै हस्तान्तरित हुने थियो । हो, पौडेल विजयी भएको भए उहाँसँग कोइराला परिवारको वैचारिक निकटता र धारको निरन्तरता रहेको मानिन्थ्यो भने देउवा–नेतृत्व त्यो निकटता र धार स्वीकार गर्न तयार छैन । यस मनोदशाका आधारमा काँग्रेसको भावी दिशा प्रभावित हुने निश्चित छ । सभापतिमा विजयी भएलगत्तै देउवाले सबैलाई मिलाएर एक ढिक्का बनाएर पार्टी सञ्चालन गर्ने उद्घोष गर्नुभएको छ । यो उद्घोष स्वागतयोग्य छ । उहाँसँग संयुक्त सरकार सञ्चालनको अनुभव छ । यो अनुभवलाई उहाँले पार्टी सञ्चालनमा पनि प्रयोग गर्न सक्नुहुन्छ तर योसँगै अर्को पक्ष विचारणीय छ । संयुक्त सरकार सञ्चालनका सन्दर्भमा संसदीय पद्धतिमै केही विकृति भित्र्याएको भनी देउवाको आलोचना गर्ने गरिएको छ । यो आलोचना ठीक वा बेठीक आफ्नो ठाउँमा होला तर पार्टी सञ्चालनका सन्दर्भमा यो आलोचनालाई पृष्ठपोषका रूपमा स्वीकार गरी देउवाले भावी कार्यदिशा र नीति तय गर्नु वाञ्छनीय छ । यो आलोचना पूर्णतः असत्यमा आधारित छ भनेर अगाडि बढने प्रयत्न हुने हो भने यसले झन् अप्ठ्यारो थप्ने निश्चित छ ।
नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो पार्टी हो, जो लोकतन्त्र र समाजवादमा विश्वास गर्छ । हाल संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको यो लोकतान्त्रिक दलको तेह्राँै महाधिवेशनले एकपटक फेरि दलभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई मूर्त रूप प्रदान गरेर अरूका सामु उदाहरण प्रस्तुत गरेको छ । वडा, गाउँ, नगर, निर्वाचन क्षेत्र, जिल्ला हुँदै केन्द्र्रसम्मको नेतृत्व–निर्वाचनको प्रक्रियाले जो कोहीलाई पनि आकर्षित गरेको छ । यी सबै प्रकारका अधिवेशनमा कम्तीमा पाँच लाख व्यक्तिको सहभागितालाई सामान्य ठानिनु हुँदैन । अहिलेलाई सबै प्रकारका अधिवेशन (केही अपवादबाहेक) सम्पन्न भएका छन् । यसलाई अत्यन्तै स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गरिनुपर्छ र प्रतिस्पर्धालाई लोकतन्त्रको अवयव मानिनुपर्छ । प्रतिस्पर्धाका समयमा कार्यकर्ताहरू समूहमा विभाजित भएको पक्कै पनि हो तर यो विभाजनलाई क्षणिक मानेर अब सिङ्गो काँग्रेस देश निर्माणमा जुट्नुको विकल्प छैन । प्रतिस्पर्धाकालीन तुसहरूको उचित व्यवस्थापनका माध्यमबाट सबैलाई समायोजन गरी पार्टीमा समान सहभागिताको अनुभव गराउने दायित्व अब देउवाको काँधमा छ । हिजोको दिनमा देउवाले एक गुटको नेतृत्व गरेको आरोप लागेको हो तर अब सर्वोच्च नेतृत्वप्राप्तिपछि पनि स्वयं देउवा र हिजोका दिनमा उहाँलाई सघाउनेबाट पुरानै मनोविज्ञान प्रदर्शित हुने हो भने सिङ्गो काँग्रेसको भविष्य सङ्कटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । देउवाले सभापतिका हैसियतले लिने पहिलो निर्णयबाट नै यो मनोविज्ञानको अन्त्यको अनुभूति अपेक्षित छ ।
देउवाको विजयसँगै काँग्रेसमा हिजोको चालीस र साठीको मनोदशा र कार्यदिशा पनि अन्त्य भएको मान्न सकिन्छ । यस आधारमा हिजो संस्थापन र प्रजातान्त्रिक भनी कोरिएको विभाजन–रेखा मेट्ने दायित्व देउवाकै हो । हिजोको संस्थापन आज पार्टीभित्र प्रतिपक्षीको भूमिकामा पुगेको छ भनियो भने त्यो असङ्गत हुने छैन । देउवाको हिजोको हैसियत (वरिष्ठ नेता) मा पौडेल पुग्नुभएको छ । देउवाको सफल कार्यकालका लागि पौडेलको सहयोग अपरिहार्य छ । पार्टीभित्र वैचारिक र सैद्धान्तिक नेताका रूपमा स्वीकार्य पौडेलको सहयोग उहाँले कसरी र कुन आधारमा प्राप्त गर्नुहुनेछ त्यो प्रतीक्षामा छ । विगतमा उपसभापतिका हैसियतमा पौडेलले नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत काँग्रेसलाई गति प्रदान गर्न महìवपूर्ण भूमिका निर्वाह गरेको सबै काँगे्रसजनले स्वीकार गरेका छन् । कुनै गुटको निर्माण नगरी मध्यमार्गी नेताको छवी बनाउनुभएका पौडेललाई उचित संयोजन र सम्बोधन गरी उहाँको अनुभव पार्टी हितका लागि प्रयोग गर्नु देउवाको सफलताका लागि निर्णायक सावित हुन सक्छ । सायद सभापति देउवाले यस तथ्यलाई अस्वीकार गर्नुभएको छैन ।
साङ्गठनिक चातुर्यताका दृष्टिले देउवाको छवी काँग्रेसभित्र चामत्कारिक नेताका रूपमा निर्माण भएको छ । उहाँको यो छवी भोलि पार्टीभित्र, बाहिर र सरकारका सन्दर्भमा कसरी प्रयुक्त हुनेछ, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासोको विषय छ । धेरैको अनुमान छ, काँग्रेसको नयाँ नेतृत्वसँगै सरकार परिवर्तनको सन्दर्भ उठ्नेछ । यस सन्दर्भमा काँग्रेसइतर दल र नेताहरूबाट केही अभिव्यक्ति पनि सार्वजनिक भएका छन् । सरकार परिवर्तन तत्काल सम्भव होला नहोला तर सरकारबारेको काँग्रेसको दृष्टिकोण भने तत्काल सार्वजनिक हुने अपेक्षा गरिएको छ । सुशील कोइरालाको अवसान र काँग्रेसको नयाँ नेतृत्वको चयनपछि, विपक्षी दलले हिजोका दिनमा काँग्रेसबारे विकसित गरेको दृष्टिकोण अर्थहीन बन्न पुगेको सन्दर्भमा, काँग्रेसको नयाँ दृष्टिकोणले निकै अर्थ राख्ने अस्वीकार गर्न मिल्दैन ।
सभापतिका रूपमा देउवाका सामु अन्य केही मुद्दा पनि महìवपूर्ण रूपमा छन् । काँग्रेसको विधान संशोधन त्यस्तै एक महìवपूर्ण मुद्दा हो । विगतमा विधान संशोधनमार्फत् नयाँ पद सिर्जनाको विपक्षमा रहेका देउवाले अब महासमितिमार्फत् विधान संशोधनको मुद्दालाई टुग्याउनु पर्नेछ । यस्तै मधेस मुद्दाको सम्बोधन उहाँका लागि अर्को चुनौतीको विषय बन्नेछ । मधेसलाई उहाँले हेर्ने र मधेसले उहाँलाई हेर्ने दुवैथरि दृष्टिकोण आरोपित छन् । यस्तोमा सबैलाई स्वीकार्य हुने गरी समस्याको समाधान पहिल्याउनु र हिजोजस्तै मधेसमा काँग्रेसको सङ्गठन विस्तार गर्ने विषय नेतृत्वका लागि कम चुनौतीपूर्ण हुनेछैन । यसैसँग जोडिएको छ, नाकाबन्दी, नाकाबन्दीले सिर्जना गरेको असामान्य अवस्था र भारतसँगको सम्बन्ध । यी विषयमा पनि देउवाले नेतृत्वका हैसियतले काँग्रेसको दृष्टिकोण विकसित गर्नुपर्नेछ । यसैगरी सभापति देउवाका सामु अर्को चुनौती उपस्थित छ, भूकम्पपछिको पुनर्निर्माणको । पछिल्ला दिनमा काँग्रेसले पुनर्निर्माणका सन्दर्भमा स्पष्ट दृष्टिकोण विकसित गर्न नसकेको र राहत तथा पुनस्थापनामा शिथिल देखिएको आरोप खेप्दै आएको छ । देउवाले यस सन्दर्भमा पनि चातुर्य र कुशलता प्रदर्शन गर्नु अपेक्षित छ ।
देउवाका सामु उपस्थित सबैभन्दा ठूलो चुनौती हो संविधान कार्यान्वयनको । संविधान निर्माणमा हिजो देउवाको सहभागिता काँग्रेसका नेताका रूपमा मात्र थियो तर अहिले भूमिका परिवर्तित भएको छ । संविधानको कार्यान्वयनको जिम्मेबारी पार्टी सभापतिका दृष्टिले देउवाको काँधमा थपिएको छ । हिजो पार्टी नेतृत्वको आलोचनामात्र गरे पनि शायद पुग्थ्यो तर अब उहाँले आलोचनाहरूको सम्बोधन गर्नुपर्नेछ । संविधानप्रति मधेसलगायत विभिन्न पक्षका असन्तुष्टि छन् । संविधानलाई सबैको दृष्टिमा स्वीकारयोग्य बनाई कार्यान्वयनमा लैजानु निश्चय पनि सहज छैन । तर आँट गर्नु अपरिहार्य छ । आँट गरे नयाँ इतिहास रच्न सफल हुनुहुनेछ देउवा तर यो कार्य उहाँ एक्लै र उहाँको हिजोको गुटबाटमात्र सम्भव हुने छैन । यसका लागि सबै काँग्रेसजनलाई विश्वासमा लिई वास्तविक अर्थमा पार्टीलाई एक ढिक्का बनाउन सक्नुपर्छ । सभापतिका रूपमा उहाँले सार्वजनिक गरेको पहिलो अभिव्यक्तिबाट उहाँ यस कार्यमा कति सफल हुनुहुनेछ भन्ने आँकलन प्रारम्भ भइसकेको छ ।

२९ फाल्गुन २०७२, शनिबार ००:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..