नयाँ सभापतिसँगको अपेक्षा

नेपाली कांग्रेसमा परिवारविशेषको एकछत्र राज अब अन्त्य भएको छ र कांग्रेसका आमकार्यकर्ताले पारिवारिक राजनीतिको दासताबाट करिब–करिब मुक्ति पाएका छन् । दुई दशकअघि गिरिजाप्रसाद कोइरालाबाट सुरु भएको परिवारवादी नेतृत्व सुशील कोइरालासम्म आइपुग्दा निकै पट्यारलाग्दो र निराशाकारक बनेको थियो । देशको सबैभन्दा पुरानो, एक मात्र प्रजातन्त्रवादी पार्टी संसद्को पहिलो ठूलो दल त बनेको हो, तर नेतृत्वका कारण कांग्रेस ऊर्जा र उत्साहविहीन भएको महसुस गर्न थालिएको थियो । सभापति पदमा रहँदै सुशील कोइरालाको दु:खद् र अप्रत्याशित निधन भएपछि कोइरालाबाट नेतृत्व कोइरालामा सार्दै जाने क्रम भङ्ग हुन पुग्यो । परिवारका सदस्यहरूबीच ‘को पहिलो’ भन्ने विवाद उत्पन्न भएको र कोइराला परिवारका सदस्यहरूभन्दा वरिष्ठतम् तहमा अन्य अनेकौँ नेताहरू स्थापित भइसकेकाले सुशीलको निधनलगत्तै कुनै कोइराला अघि सर्ने–सार्ने स्थिति बन्न सकेन ।

कसैलाई ‘लालबहादुर शास्त्री’ नबनाईकन पार्टीको मूल नेतृत्वमा पुग्न नसकिने अवस्था बोध गरेका कोइरालाहरू अन्तत: रामचन्द्र पौडेललाई अघि सारेर डा. शशाङ्क कोइरालाको नेतृत्वमा एकजुट हुने र अगाडि बढ्ने निष्कर्षमा पुगे । कोइरालाहरूले धैर्य गर्न सके र चौधौँ महाधिवेशनसम्म पार्टीहितमा निरन्तर क्रियाशील रहन सके भने गुमेको पार्टी सत्ता कोइराला परिवारमा फर्कन असम्भव छैन । तत्कालका निम्ति चाहिँ कांग्रेसको संस्थापन पक्ष बदलिएको छ र नेतृत्व शेरबहादुर देउवाले सम्हाल्नुभएको छ । नवनिर्वाचित सभापति देउवाका सामु देखिएका मुख्य चुनौती र ती चुनौतीहरूसँग मुकाबिला गर्न अवलम्बन गर्नुपर्ने नीति, रणनीति र कार्यनीतिबारे सङ्क्षिप्त वर्णन गर्नु यहाँ उपयुक्त ठानिएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई संस्थागत गर्दै आलोचक या असहमत पक्षलाई समेत आवश्यकता र उपयोगिताका आधारमा समेटेर अघि बढ्नुपर्ने हुन्छ । आलोचक या असहमत पक्षलाई उपेक्षा र अपहेलना गर्ने व्यवहार पुरानो संस्थापन पक्षबाट कसरी हुने गर्दथ्यो र त्यसको पीडा कस्तो हुन्छ भन्ने कुराको अनुभव देउवा र खुमबहादुर खड्कालाई जति सायदै अरूमा होला । हुन त उहाँले पुरानो संस्थापनलाई समेत समेटेर अघि बढ्न चाहेको सङ्केत चुनावी टिम निर्माण गर्ने क्रममा नै व्यवहारत: दिइसक्नुभएको छ । आगामी दिनमा यो व्यवहारलाई उहाँले अरू कसिलो बनाउँदै जानुहुने विश्वास गरिएको छ । त्यस्तै पार्टीमा युवा पुस्तालाई भूमिका दिन पनि उहाँले अवश्य कञ्जुस्याइँ गर्नुहुने छैन भन्ने आशा धेरैले गरेका छन् । भ्रातृ संस्थाहरूको अधिवेशन यथाशीघ्र सम्पन्न गरी नयाँ नेतृत्व स्थापित गर्ने र पार्टीपङ्क्तिलाई क्रियाशील तुल्याउने कार्यमा पनि देउवाले विलम्ब गर्नुहुने छैन भन्ने ठानिएको छ । यसबाहेक कार्यकर्ताको मूल्याङ्कन पद्धतिको विकास गर्ने र पार्टीलाई समयानुकूल प्रभावी बनाउन पनि देउवाको भूमिका महत्त्वपूर्ण हुने विश्वास आमकांग्रेसजनले गरेका छन् ।

यसरी पार्टीलाई गतिशील एवम् प्रभावकारी बनाउनेबाहेक विभिन्न राष्ट्रिय मुद्दाहरूमा उत्पन्न वैचारिक अस्पष्टता हटाउँदै स्पष्ट नीति तर्जुमा गर्न पनि देउवा चुक्नुहुनेछैन भन्ने विश्वास देशवासीहरूले गरेका छन् । नयाँ संविधान निर्माण गर्ने क्रममा कांग्रेसले केही वैचारिक, दार्शनिक र नीतिगत मुद्दाहरूमा वामपन्थी कम्युनिस्टहरूसँग सम्झौता गर्नुपरेको थियो । संविधानमा उल्लिखित प्रावधानहरूलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्नु या गर्न खोज्नु एउटा जटिलतम् कार्य हो । खासगरी संसदीय प्रजातन्त्रलाई विश्वमा प्रचलित प्रजातान्त्रिक विधि र मूल्य–मान्यताअनुरूप बनाउनु, स्वतन्त्र र खुला अर्थनीतिलाई प्राथमिकता दिँदै लगानीको वातावरण सिर्जना गर्नु, संविधानमा उल्लिखित समाजवाद शब्दको स्पष्ट परिभाषा गर्दै समाजवादी आर्थिक कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनु, धर्मनिरपेक्षताका कारण उत्पन्न धार्मिक एवम् सामाजिक समस्यालाई जनमत र जनभावनाअनुरूप समाधानका उपाय अवलम्बन गर्नु, राष्ट्रियता र राष्ट्रिय एकता तथा सार्वभौमसत्ता मजबुत तुल्याउने गरी प्रदेशहरूको सीमा व्यवस्थापन गर्नु, देशमा औद्योगीकरणका निम्ति अनुकूल वातावरण बनाउनु, युवाहरू स्वदेशबाट पलायन हुने क्रम नियन्त्रण गरी रोजगारीका अवसर प्रवद्र्धन गर्नु, अवरुद्ध विकास निर्माण कार्यलाई सुचारु गर्दै देशको आर्थिक विकासलाई गति दिनु र उल्लिखित समस्याहरूको समाधान नयाँ संविधान कार्यान्वयनसँगै खोज्नु देउवाका निम्ति चुनौती हुन् । पार्टी सङ्गठनलाई सुदृढ एवम् प्रभावी र व्यापक बनाउने क्रमसँगै राष्ट्रिय समस्या समाधानमा पनि देउवाको ध्यान जान आवश्यक ठानिएको छ ।

पछिल्लो दशकभित्र वामपन्थी कम्युनिस्टहरू मुलुकको राजनीतिमा हावी भएका छन् र उनीहरूका कारण देशको आर्थिक विकासमा अवरोध पैदा हुन पुगेको छ । छिमेकी मुलुकहरूसँगको सम्बन्ध पनि कम्युनिस्टहरूकै कारण असन्तुलित र तनावमय बनेको छ । राज्य संयन्त्रमा भएको कम्युनिस्ट घुसपैठले राज्यलाई पक्षपाति बनाएको छ र ट्ेरड युनियनहरूको जगजगीले विधिको शासनलाई चुनौती दिइरहेको छ । वामपन्थी कम्युनिस्टकै कारण देशको हरेक क्षेत्रलाई राजनीतीकरणले छियाछिया बनाएको छ । मुलुकको सबैभन्दा ठूलो प्रजातन्त्रवादी पार्टीको मूल नेताको नाताले देउवाबाट उल्लिखित समस्या समाधानको निम्ति अग्रसरता लिनुपर्ने आवश्यकता छ । कांग्रेसको मौलिक नीति, कार्यक्रम र दृष्टिकोण ‘प्रिभेल’ गर्दा आर्थिक–सामाजिक क्षेत्रमा जे–जस्ता उपलब्धिहरू हासिल भएका थिए तिनको स्मरण गर्दै विद्यमान अवस्था–व्यवस्था सुधार गर्नुपर्ने दायित्व पनि देउवाकै काँधमा आएको छ । तेह्रौँ महाधिवेशनमा कांग्रेसका करिब दुईतिहाइ प्रतिनिधिले शेरबहादुर देउवालाई रोज्नुको मूल कारण उहाँबाट सुधारको सम्भावना छ भन्ने विश्वास नै हो ।

विद्यमान चुनौतीको पहाड भत्काउनु सहज कार्य अवश्य होइन, तर चुनौती पार गर्ने साहसिक कदम नचाली देउवाले आफ्नो उपयोगिता र उपादेयता प्रमाणित गर्न सक्नुहुने छैन । आफ्नैहरूले गर्न नसकेका र अरूले बिगारेका काम बनाउन सक्दा मात्र देउवाको धमाकेदार उपस्थितिको अर्थ रहने यथार्थबोध देउवा स्वयम्मा हुनुपर्छ । नयाँ रूपमा देउवाको उदय राष्ट्र निर्माणको निम्ति हो भन्ने पुष्टि गर्न सक्नुभयो भने नेपाली इतिहासमा उहाँको नाम स्वर्णाक्षरमा अङ्कित हुने विश्वास गर्न सकिन्छ । भिड्न र मिल्न सक्ने, खुम्चन र फैलन सक्ने, आवश्यकताअनुसार अघि बढ्न र पछि हट्न सक्ने, सहमति र सङ्घर्ष दुवै विधामा उत्तिकै प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने देउवाबाट पनि देशको गतिरोध अन्त्य हुन सकेन भने हामीले ठान्नुपर्छ– ‘देश बन्न अझ कैयन दशक प्रतीक्षा गर्नुपर्नेछ ।’

२६ फाल्गुन २०७२, बुधबार ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..