काँग्रेस १३ औं महाधिबेशन: सभापतिमा को योग्य? रामचन्द्र कि शेरबहादुर ?

नेपाली कांग्रेसका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये को ठीक भन्ने प्रश्नको जवाफ खोज्नु निकै जटिल कार्य हो । सतही सत्य दुवै ठीक हुन्, त्यसैले कांग्रेसका शीर्षस्थ नेता बनेका छन्– बेठीक मानिस कुनै राष्ट्रिय राजनीतिक दलको उच्च तहका नेता बन्न सक्दैनन् । मानिसलाई ब्रह्माण्डको समष्टि मान्ने हो भने हरेक मानिस बेग्लाबेग्लै गुण–अवगुणबाट सज्जित भएको यथार्थ स्वीकार गर्नुपर्ने हुन्छ । त्यसर्थ रामचन्द्र पौडेल र शेरबहादुर देउवाका पनि निश्चित गुणात्मक अन्तर छन् । कुनै पनि मानिसको मूल्याङ्कन गुण र दोषका आधारमा गरिन्छ । साधारण जीवन व्यतीत गरिरहेका मानिसलाई गुणी भए एउटा र दोषी भए अर्कै रूपमा समाज, संस्था या नागरिकले बुझ्ने र व्यवहार गर्ने गर्दछन् । तर, राजनीतिमा क्रियाशील व्यक्ति गुणी भए पनि खास अवस्थामा अस्वीकार्य हुन सक्छन् ।

विशेषगरी अल्पविकसित र विपन्न मुलुकको राजनीतिमा पश्चिमा समृद्ध मुलुकमा जस्तो व्यक्तिको निष्पक्ष मूल्याङ्कन गरिँदैन । अल्पविकसित मुलुकको राजनीतिमा व्यक्ति जस्तोसुकै भए पनि अन्य विभिन्न ‘फ्याक्टर’ले उसको उपादेयता र स्थान निर्धारण गर्ने गर्दछ । तर, नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गर्ने नेपाली कांग्रेससम्बद्ध नेताहरूको स्थिति भने केही भिन्न छ । अन्य कतिपय दलमा जस्तो कांग्रेसमा कोही पनि व्यक्ति रातारात नेता बन्न असम्भव छ । अप्राकृतिक किसिमबाट कुनै व्यक्ति रातारात ‘नेता’ बन्न आइपुगे भने तिनको हैसियत चिरस्थायी हुन मुस्किल पर्छ । कृष्णप्रसाद सिटौला र सुजाता कोइरालालाई हतारमा उच्च तहको जिम्मेवारीमा पुर्‍याइएकोले यतिबेला उहाँहरूलाई आफ्नो ‘हैसियत रक्षा’ चुनौतीको विषय बन्न पुगेको छ ।

गिरिजाप्रसाद कोइराला र कुन्नि क–कसका कारण सिटौला र सुजाताको हैसियत अस्वाभाविक किसिमबाट उचालिएकोमा सिटौलाले आफ्नो बेग्लै क्षमता प्रस्तुत गरेर ‘अन्डरमाइन्ड’ गर्न नहुने व्यक्तिका रूपमा आफूलाई स्थापित गराउनुभएको छ । तर, सुजाता भने आफ्ना मृत पिताको नाममा झुन्डिरहनुपर्ने बाध्यताबाट गुज्रँदै हुनुहुन्छ । उहाँहरूले आफ्नो हैसियत जोगाउन ज्यादै टिठलाग्दो सङ्घर्ष गरिरहनुपरेबाट पनि विगतको ‘चढाइ’ स्वाभाविक थिएन भन्ने स्पष्ट हुन्छ । स्वाभाविक किसिमले उचाइ ग्रहण गर्दै गएका भए शेरबहादुर देउवाझैँ पटक–पटक सभापति पदमा पराजित हुँदा पनि शीर्ष तहका नेताको कोटिमा सुजाता र सिटौलासमेतको नाम उक्लन सक्थ्यो । हतार गर्दा ‘माथि जान नसक्ने, तल बस्न नचाहने’ अप्ठ्यारो स्थितिमा उहाँहरू पुग्दै हुनुहुन्छ ।

प्रकाशमान सिंह र डा. शशाङ्क कोइरालाले पनि ‘गणतन्त्रात्मक’ मुलुकमा आफ्ना पिताजीका नामको व्याज खान हतार गर्नुभयो भने उहाँहरूले अन्तत: भोग्ने नियति पनि सिटौला र सुजाताकै जस्तो हो । तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेल पार्टीमा पुर्‍याएको लामो योगदान तथा सङ्घर्षपूर्ण जीवनका कारण स्थापित नेता हुनुहुन्छ । उहाँहरूले पुर्‍याउनुभएको योगदान र सङ्घर्षकै कारण आम पार्टी कार्यकर्ताहरूले उहाँहरूप्रति सम्मानभाव र भरोसा राखेका हुन् । दुई नेताका योगदान र सङ्घर्ष तुल्य भए पनि वर्तमानको आवश्यकता, गुणगत विशिष्टता र मात्र एक पदका निम्ति हुने प्रतिस्पर्धाका कारण सभापतिमा कसको चयन हुनु उपयुक्त हुनसक्छ भन्नेबारेमा सूक्ष्म अध्ययन, विश्लेषण तथा विचार–विमर्श हुनु वाञ्छनीय छ । त्यसनिम्ति दुवै नेताहरूको विशेषता र विशिष्टताबारे विवेचना गर्नु उपयुक्त ठानिएको छ ।

देउवा र पौडेल दुवै साधारण जनपारिवारिक पृष्ठभूमिबाट माथि उठ्नुभएको नेता हुनुहुन्छ । उहाँहरू आफ्नो पिताजी, माताजी या दादाजीका नामको व्याज असुलेर उचाइ बढाएका नेतामा पर्नुहुन्न । आ–आफ्नै मिहिनेत, सङ्घर्ष, क्षमता र भाग्यले उहाँहरूको व्यक्तित्व निर्माण गरेको हो । दुवै नेताको राष्ट्र, प्रजातन्त्र र पार्टीप्रतिको निष्ठामा कमी भएको महसुस गरिँदैन । बीपी कोइरालाबाट दीक्षित दुवैको जीवनगाथा सङ्घर्षपूर्ण छ, तथापि देउवा र पौडेलबीच केही त्यस्ता विशिष्टता छन् जसका आधारमा हामी अहिलेको अवस्थामा सभापतिका लागि को उपयुक्त हुनसक्छन् भन्ने निष्कर्षमा पुग्न सक्दछौँ ।

रामचन्द्र पौडेल

रामचन्द्र पौडेललाई कांग्रेसभित्र ‘राइट टु लेफ्ट’ नेताका रूपमा लिइन्छ । वाम पृष्ठभूमिका पौडेलमा वामपन्थी कम्युनिस्टसँग वैचारिक सामना गर्न सक्ने विश्वास छ । वैचारिक बहसमा कम्युनिस्टहरूलाई ‘तह लगाउनसक्ने’ क्षमता उहाँमा अवश्य छ । तर, उहाँ आफैँ पनि कांग्रेसभित्र वाम रुझानका नेतामध्ये पर्नुहुन्छ । पौडेलको विचार–चिन्तन प्रजातान्त्रिक हुँदाहुँदै पनि उहाँले प्रतिनिधित्व गर्ने धार वाममुखी नै छ । गणतन्त्र घोषणापछि मुलुकमा कांग्रेस र कम्युनिस्ट अर्थात् प्रजातन्त्रवादी र अधिनायकवादी शक्ति आम्ने–साम्ने भएका छन् । कांग्रेस अब मध्यमार्गी भूमिकामा जीवित रहन नसक्ने हुँदा यसले राष्ट्र, विश्वमा प्रचलित प्रजातन्त्र, स्वतन्त्र एवम् बजारमुखी अर्थप्रणाली, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र राष्ट्रको मौलिक धर्म, परम्परा तथा संस्कृतिको संरक्षण गर्ने दायित्व वहन गर्नुपर्ने हुन्छ र यसो गर्दा दक्षिणपन्थी भएको आरोप कांग्रेसमाथि लाग्न सक्छ, त्यसो त लागिरहेकै पनि छ । रामचन्द्र पौडेलमा दक्षिणपन्थी होइने सन्त्रास रहेको महसुस पटकपटक गर्न सकिन्छ । अबका दिनमा दक्षिणपन्थी बन्ने त्रासमा रहने व्यक्तिबाट कांग्रेसको नेतृत्व कुशलतापूर्वक वहन हुन मुस्किल छ ।

विचार र व्यवहारमा यान्त्रिकता रामचन्द्र पौडेलको अर्को विशेषता हो । समय, परिस्थिति र आवश्यकताअनुरूप चल्नेभन्दा आफूभित्र बनिबनाउ धारणाअनुसार चल्न–चलाउन प्रयत्नशील रहने पौडेलको स्वभाव मित्र या हितैषी बढाउने प्रकारको छैन । उहाँ अरूले बुझाएको या सुनाएकोभन्दा आफूलाई लागेको या आफूले बुझेको कुरा सही ठान्नुहुन्छ । त्यसैले उहाँ बारम्बार भ्रमित भइरहनुहुन्छ । पौडेलको अर्को विशेषता सानो संसारमा रमाउनु हो । उहाँ सहजै कसैमाथि विश्वास गर्न सक्नुहुन्न र अन्य कोहीमाथि भरोसा राख्ने उहाँको स्वभाव होइन । उदारतापूर्ण व्यवहार र फराकिलो दृष्टिकोणको अभावका कारण उहाँको संसार साँघुरिएको छ र सानो संसारमा उहाँ मग्न हुनुहुन्छ । सानो संसारले ठूलो पार्टीको सभापति बनाउन सहयोग पुर्‍याउने विश्वास गर्न सकिँदैन । रामचन्द्र पौडेलका विचार र अभिव्यक्ति स्पष्ट छन्, उहाँ आफ्ना कुरा तर्कपूर्ण तरिकाले राख्न सक्नुहुन्छ ।

तर, उहाँका अभिव्यक्तिलाई सुन्ने पक्षले किन गम्भीरतापूर्वक लिने गर्दैनन् यो अध्ययनको विषय हुनसक्छ । रामचन्द्र पौडेलको सोच–व्यवहारका कारण पार्टीमा उहाँको आफ्नै नेटवर्क बन्न सकेन । पौडेल आफैँ कोइरालाहरूको नेटवर्कमा चाहिँ संलग्न रहँदै आउनुभयो र त्यही नेटवर्कलाई नै उहाँले आफ्नो ठान्नुभयो । आफूलाई गुटविहीन नेता भएको दाबी गर्नुहुने उहाँले जसलाई आफ्नो ठान्नुभएको थियो अहिले तिनैले ‘रिङ्ग आउट’ गरिदिएका छन् । सुशील कोइरालापछि ‘संस्थापन’ पक्षका सर्वमान्य नेता बन्नुपर्ने रामचन्द्र पौडेललाई अहिले कथित संस्थापन पक्षले नै लत्याइदिएको छ । पौडेलको अन्तर्राष्ट्रिय सम्बन्ध अत्यन्त दुर्बल रहेको छ । देशको सर्वाधिक ठूलो प्रजातान्त्रिक दलको मुख्य नेतासँग हुनुपर्ने स्तरको अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन उहाँ कसरत त गर्दै हुनुहुन्छ, तर यसमा सफल भइसक्नुभएको छैन ।

त्यस्तै तराईवासी जनताको मन–विश्वास जित्ने मामिलामा पनि उहाँ केही पछाडि हुनुहुन्छ । पौडेलको निर्णयक्षमता बलियो भएको विश्वास गरिँदैन । साँघुरो संसार र कमजोर निर्णयक्षमताका कारण पार्टीका नेता–कार्यकर्ताहरू उहाँबाट सुरक्षित महसुस गर्दैनन् । त्यसैले पौडेललाई प्रथम नेताको रूपमा ग्रहण गर्न पार्टीका धेरै नेता–कार्यकर्ताले सकिरहेका छैनन् । आफ्ना राम्रा गुणहरूको रक्षा गर्दै कमी–कमजोरी सुधार गरेर अघि बढ्ने तत्परता लिनुभएमा रामचन्द्र पौडेल तेह्रौँ महाधिवेशनबाट नभए अन्य कुनै महाधिवेशनबाट सभापति निर्वाचित हुन सम्भव छ ।

शेरबहादुर देउवा

अभिव्यक्ति अर्थात् प्रस्तुतीकरणमा कमजोर मानिने नेता शेरबहादुर देउवाको सोच र व्यवहारमा वामपन्थी गन्ध कहीँ–कतै देखापर्दैन । राष्ट्र र प्रजतन्त्रको पक्षमा हित हुने विषय कलात्मक ढङ्गले प्रस्तुत गर्न नसक्ने, तर निर्णय र व्यवहारबाट वैचारिक रूपमा सबैभन्दा स्पष्ट रहेको प्रमाणित गर्न सक्ने क्षमता देउवामा देखिन्छ । आवश्यकताअनुरूप खुम्चन, फैलन, कठोर हुन र लचकता देखाउन सक्ने विशिष्ट क्षमता देउवामा रहेको छ । माओवादीको हिंसात्मक युद्धकालमा बल प्रयोगको उच्चतम अभ्यास गर्नुहुने देउवाले नै माओवादीसँग संवादको औपचारिक द्वार पहिलोपटक खोल्नुभएको पनि हो । प्रजातन्त्र र राष्ट्रहितको मामिलामा कहिल्यै कसैसँग सम्झौता नगर्नुहुने देउवामाथि राजालाई सत्ता सुम्पेको आरोप लगाउने गरिन्छ ।

राजाको शासनसत्ता सुरु भएलगत्तै मध्यरातमा घरैबाट पक्राउ परी लामो समय कैद गरिनुभएका देउवामाथि राजाको सरकारले कति किसिमका मुद्दा लगाएको थियो भन्ने हेक्का धेरैले राखेको हुनुपर्छ । २०१७ सालमा बीपी कोइराला नेतृत्वको सरकार अपदस्थ हुनु प्रजातन्त्र र बीपीविरुद्धको कदम थियो भने ०५९ र ०६१ मा तात्कालिक राजाबाट चालिएका कदम पनि प्रजातन्त्र र शेरबहादुर देउवाविरुद्धको थियो भन्नैपर्छ । ०१७ सालमा बीपीले राजाको हातमा प्रजातन्त्र बुझाएका थिए भनी कसैले भन्छन् भने त्यसलाई अबुझ या पूर्वाग्रहीहरूको निकृष्टतम् अभिव्यक्तिका रूपमा बुझ्न सकिन्छ । ०५९ र ०६१ मा राजाबाट देउवा नेतृत्वको सरकार अपदस्थ भएका घटनामा पनि बीपी कोइरालाझैँ देउवा निर्दोष हुनुहुन्छ, जसले दोष देखेका छन् तिनले राम्रो चिकित्सककहाँ गई आँखाको परीक्षण गराउनु उचित हुनेछ ।

देउवाको ‘क्यारेक्टर’ अवश्य ‘कम्प्रोमाइजिङ’ हो, उहाँले प्रजातन्त्र जोगाउन भरसक राजासँग अन्तरद्वन्द्व बढ्ने प्रकारले झमेला पैदा गर्ने सोच बनाउनुभएन र राजासँग समझदारी कायम राख्ने निहुँ या नाममा प्रजातन्त्रमा क्षति पुग्ने प्रकारका कुनै सम्झौता पनि गर्नुभएन । देउवाको नकारात्मक पाटोको उद्वरण गर्नुपर्दा कमजोर अभिव्यक्ति र झनक्क रिसाउने स्वभावलाई लिइन्छ । यसका बाबजुद देउवाको व्यवहार अत्यन्त सरल, मित्रवत् र सहज मानिन्छ । षड्यन्त्र र षड्यन्त्रमूलक क्रियाकलापबाट टाढा रहनुभएका उहाँलाई आत्मविश्वासी र ‘बोल्ड’ नेताका रूपमा धेरैले प्रशंसा गर्ने गर्दछन् । कांग्रेस पार्टीभित्र र सिङ्गै मुलुकमा बलियो ‘नेटवर्क’ निर्माण गर्न सफल देउवाको अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध पनि सुदृढ मानिन्छ ।

सम्भवत: नेपालको शीर्ष तहका नेताहरूमध्ये उच्च तहको अन्तर्राष्ट्रिय सम्बन्ध भएका एक मात्र नेता देउवा हुनुहुन्छ । राज्य सञ्चालनको गहिरो अनुभव सङ्गाल्नुभएका उहाँको उमेरलाई परिपक्व भन्नु नपर्ने कुनै कारण छैन, तर सोच र सक्रियताले देउवालाई युवा नमान्न पनि दिइरहेको छैन । कार्यकर्ता र समर्थकहरूको रक्षा गर्न सधैँ यत्नशील देउवाको ‘बोल्डनेस’लाई विद्यमान राजनीतिमा अपरिहार्य मानिएको छ । राष्ट्र, प्रजातन्त्र, जनता र कांग्रेसको रक्षाका निम्ति एउटा नेतामा हुनैपर्ने ‘फ्लेग्जिबिलिटी’ र ‘बोल्डनेस’ देउवामा देखिएको छ । विपक्षीसँग आवश्यकताअनुरूप ‘भिड्न’ र ‘मिल्न’ सक्ने क्षमताका कारण नेपाली राजनीतिमा शेरबहादुर देउवा नामको बेग्लै पहिचान कायम हुन पुगेको छ ।

कांग्रेसभित्र साठी र चालीस प्रतिशत भागबन्डाको राजनीतिलाई कार्यकर्तापङ्क्तिले जायज र स्वाभाविक मान्न सकिरहेको छैन । हालको संस्थापन पक्षबाट नै कोही सभापति विजयी बन्ने हो भने कांग्रेसमा ‘साठी र चालीस प्रतिशत’वाला राजनीतिले निरन्तरता पाइरहने निश्चित छ । देउवाले सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएमा उहाँले सबैलाई समेटेर अघि बढ्नुपर्ने परिस्थिति निर्माण हुने विश्वास गर्न सकिन्छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहिरहँदा देउवाले हालको संस्थापनका नेताहरूलाई समेत समेटेर बृहत्तर टिम बनाउने जुन योजना बनाउनुभएको छ, यसले देउवाको भावी यात्राको स्वरूपको सङ्केत गरेको छ ।

हाल संस्थापन भनेर चिनिने पक्षको टिममा देउवासमर्थक कोही–कसैलाई सामेल नगरिनु, तर देउवाले भने ‘संस्थापन’का नेतालाई समेत आफ्नो टिममा सामेल गर्नुले उहाँ कस्तो स्वभाव–चरित्रका नेता हुनुहुन्छ भन्ने मात्र स्पष्ट गरेको छैन, सभापति पदमा विजयी बनेमा उहाँ आफ्नो यात्रा कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने पनि छर्लङ्ग पारेको छ । यसरी सभापति पदका मुख्य प्रतिस्पर्धी नेताहरू दुवै योग्य भए पनि विद्यमान चुनौतीहरूको सामना गर्न सक्ने नेताका रूपमा चाहिँ शेरबहादुर देउवालाई नै लिनुपर्ने अवस्था छ । आमकाङ्ग्रेसजनले पनि यो वास्तविकतालाई आत्मसात् गरेको हुनुपर्छ ।

१९ फाल्गुन २०७२, बुधबार ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..