काँग्रेस १३ औं महाधिवेशन: सुन्न पाइएन, ‘प्रजातान्त्रिक समाजवादको आदर्श, नीति र सिद्धान्तको बहस’

नेपाली काँग्रेस यतिखेर१३ औं महाधिवेशनको तयारीमा जुटे पनि नेतृत्व चयन बाहेकका समग्र मुद्दा ओझेलमा परेका छन् । करीव तीन हजार प्रतिनिधिले भाग लिने यो महाधिवेशन आदर्श, सिद्धान्त, नीति, कार्यक्रम र सङ्गठनभन्दा पनि नेता केन्द्रित हुँदैछ । बाह्रौँ महाधिवेशनपछि स्थापित चालीस–साठीको धाँजा मेट्न नेपाली कांँग्रेसको प्रयत्न हुनु पर्नेमा अब विस्तारो बीस र बीसका अनेक धाँजा बनाउने खेल आरम्भ भएको छ ।

खासगरी कथित संस्थापनको नाउँमा चलिरहेको कोलाहल आफैँंमा विचित्रको छ । संस्थापनमा पनि तीन पुस्ते राजनीतिको उत्तराधिकारित्व कसले लिने भन्नेमा चलेको होडमा कोइराला परिवारमा स्पष्ट मतान्तर देखिएपछि संस्थापनको कोलाहलको आवाज निकै परसम्म सुनिन लागेको छ । ०५३ देखि नै पार्टीको फरक धारका रूपमा शक्ति आर्जन गरेका शेरबहादुर देउवाको पक्ष अपेक्षाकृत एउटै धारमा जुटेको देखिन्छ । संस्थापनका नाउमा रामचन्द्र पौडेल पहिलो र आधिकारिक दाबेदार भए पनि उहाँका विरुद्ध हिजोका दिनमा कोइराला परिवारले प्रदान गरेको एउटै थालमा भातभान्सा गरिरहेका कृष्णप्रसाद सिटौलादेखि कोइरालाको वंश बिंडो थेग्न अग्रसर सुजाता कोइरालासमेत उहाँविरुद्ध सभापति पदको दावेदारी गर्दै सार्वजनिक हुनु भएको छ । जसले जेसुकै भने पनि र पार्टीको आन्तरिक जीवनमा जेजस्तो असर परेको भए पनि ०५३ देखि निर्मित धारको प्रथम पङ्क्तिको शीर्षस्थानमा नेपाली कांँग्रेसभित्रको प्रतिपक्षका रूपमा देउवा र संस्थापनका सिंढीका रुपमा पौडेल नै हुन पुग्नु भएको छ । रामचन्द्र पौडेलबाहेक संस्थापन पक्षको शीर्षत्व अरू कसैले दाबी गर्नु अत्यन्त हास्यास्पद देखिन्छ ।

यसरी हेर्दा अब संस्थापन पक्षबाट विगतमा भएका असल कामको जस र अपजस दुवैको जवाफ पौडेलले नै दिनुपर्ने हुन्छ । अपजसको जवाफ दिनुको अर्थ जसको फाइदासमेत उहाँकै पक्षमा हुनुपर्छ । कृष्णप्रसाद सिटौला वा सुजाताको अथवा ०५९ मा देउवाको अनन्य सहयोगी हुँदै पुनः कोइरालाका कित्तामा संलग्न प्रकाशमान सिंहको सभापतीय दाबीको अर्थ केही पनि हँुदैन । प्रकाशमान सिंह ०४६ को संयुक्त जनआन्दोलनको नायकत्व गर्नुभएका सर्वोच्च नेता गणेशमान सिंहका छोराका रूपमा आफ्ना पिताजीलाई गिरिजाप्रसाद कोइरालाबाट लगाइएको घाउको बदला लिन ०५९ मा शेरबहादुर देउवासँगै प्रजातान्त्रिक कांँग्रेसको नेतृत्वमा पुग्नुभएको थियो । ०६४ को संविधानसभा निर्वाचनका समयमा रामचन्द्र पौडेलवाट संसदीय दलको उपनेता पदधारण गरेपछि प्रकाशमानको उचाइ बढ्यो र उहाँ बाह्रौँ महाधिवेशनमा पार्टी महामन्त्रीमा विजयी हुनपुग्नुभयो ।

नेपालको राजनीतिमा राजधानीमा गणेशमानको, तराई मधेसमा महेन्द्रनारायण निधिको र आमरूपमा बीपी कोइरालाको विशेष प्रभाव रहेको छ । यो प्रभावलाई आजको समावेसिताको परिभाषाअन्तर्गत राख्ने हो भने कोइराला उच्च वर्गका पहाडी समुदायको, गणेशमान सिंह राजधानीसहित जनजाति क्षेत्रको र महेन्द्रनारायण निधि तराईमधेसका रूपमा ओदानका तीन खुट्टाजस्तो भएर नेपालको लोकतान्त्रिक आन्दोलनको तसला थेग्ने काम गरिरहेका मानिन्छन् । दक्षिण एसियाली चरित्रको, सामन्ती शैलीको र अहिले त साम्यवादी सत्तामा स्थापित हुँदै गएको वंशलतागत राजनीतिको अभ्यासबाट मुक्त हुन नसकेको नेपालको राजनीतिमा यसैकारण यी तीनोटा परिवार र उनका सदस्यको पकड नेपाली काँग्रेसमा बलियो देखिन्छ तर कोइरालाहरुको प्रथम पुस्ताको अवसान भएको छ र अर्को पुस्तामा तीनजना दाबेदार रहेको अवस्थाले कोइराला परिवारका लागि गणेशमान सिंह वा महेन्द्रनारायण निधिको वंशलताको सहयोग अनिवार्य हुन पुगेको छ । यसैकारण प्रकाशमान सिंहको वैशाखीमा उभिने प्रयास भइरहेको देखिन्छ तर यो वैशाखीलाई रामचन्द्र पौडेलको सहयोगी देख्नासाथ कोइराला वंशको नेतृत्व हातबाट फुत्कने भयबाट यतिखेर यस वंशका दाबेदारहरु चिन्तित छन् । यसैकारण रामचन्द्रलाई यात उठ्न नदिने, उठे पनि जित्न नदिने र जिते पनि आफ्नो कोइराला गुँडबाट फुत्कन नदिने रणनीतिमा सक्रिय स्पष्ट देख्न सकिन्छ ।
कोइरालाका अन्तिम उत्तराधिकारीका रूपमा रहेका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले पार्टीमा पृथक चरित्रको विकास गरेकै कारण गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता निर्वन्धसत्ता चरित्रले अपमान सहनुपर्ने अवस्था सिर्जना भएको थियो । यस्तो समयमा एकै कित्तामा रहेका गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई बाह्रौँ महाधिवेशनदेखि नै एक अर्काविरुद्ध प्रतिस्पर्धी बनाउने व्यूह रचना नेपाली कांँग्रेसको तेजोवध गर्नेबाट नै हुन पुगेको देखिन्छ । यदि विमलेन्द्र निधि र प्रकाशमान सिहंको एउटै कित्ता रहेको भए मधेस र राजधानीको मिलनबाट नवीनधार, नवीन संस्कृति निर्माण र समुदायकाबीच हुनसक्ने मनोमालिन्य घटाउने आधारले नेपाली कांँग्रेसमा सांस्कृतिकता वरण गर्नु सम्भव हुने थियो तर दुर्भाग्यवस राजनीतिको स्वार्थी खेलमा अहिले प्रकाशमान र विमलेन्द्रको धार फरक हुन पुगेको छ । कोइराला वंशको राजनीतिकवृक्ष सवल गराउनमा यी दुई जनाको पृथक कोण महìवपूर्ण हुन पुगेको छ ।

तर महिला नेताका रूपमा सुजाताको दाबी अत्यन्त स्वाभाविक हुने छ । उहाँले कोइराला वंशको वा गिरिजाप्रसादको राजनीतिक वंशलताका रूपमा दाबी गर्दा जति अस्वाभाविक हुन्छ यदि उहाँले नेपाली राजनीतिमा महिला नेतृत्वको स्थापनाका विषयमा दावी गर्नु र आफ्नो उमेदवारीलाई महिला सशक्तीकरणका सन्दर्भमा उठाउनु त्यति नै जायज र प्राकृतिक हुन जान्छ । कोइराला वंशका डा. शेखर कोइराला र डा. सशाङ्क कोइराला सभापति पदका दाबेदार हुनुहुन्न । उहाँहरूमध्ये एकजनाले महामन्त्रीको दाबी गरिरहेको हुनसक्छ । तर अबका दिनमा कोइराला परिवारमा क्रमशः तीनवटा विपरीत धारको प्रसव पीडा देखिंँदैछ । बीपी कोइरालाको धारको डा. सशाङ्क, गिरिजाप्रसादको धारको सुजाता र नोनाधारको डा. शेखरका रूपमा विकास हुने सङ्केतहरू देखा परिरहेका छन् । सुजाताले आफ्नो सभापतीय उमेदवारीको दावा निरर्थक प्रस्तुत गर्नुभएको होइन । कोइराला वंशको राजनीतिक धारलाई समृद्ध गराउने हो भने सशाङ्क र शेखरका सामु सुजाताले आफ्नो यो निर्णयमार्फत यक्षप्रश्न खडा गरिदिनुभएको छ । यो प्रश्न नैतिकसमेत छ । आफ्नै बहिनी विरुद्ध शेखर वा सशाङ्क कसरी जान सक्छन् ? यदि बहिनी विरुद्ध गएका अवस्थामा कोइराला परिवारको राजनीतिक वंशलता छिन्नभिन्न हुन्छ र नगएमा रामचन्द्र पौडेलजस्ता सधैंँका सहयोगीदेखि उहाँलाई समर्थन गर्नेहरूको विश्वास गुम्दै कमजोर धारमा चित्त बुझाउनुपर्ने हुन्छ । तर सुजाताले आवेशमा आएर र भोलिका दिनमा सत्ताको क्रयविक्रय वा राजनीतिको लेनदेनमा आफ्नो हात बलियो पार्न मात्र सभापति पदको दाबेदारी पेस गरेको हो भने उहाँको राजनीतिक तौल शून्यमा पुग्ने खतरा रहन्छ । सुजाताको उम्मेदवारी भए पनि र नभए पनि केही दिन यता देखिएको संस्थापन पक्षको खिचलोको फाइदा भने देउवाका पक्षमा नै हुने छ । यसरी हेर्दा देउवा दिन प्रतिदिन गह्रुंँगो उम्मेदवार प्रमाणित हुँदै हुनुहुन्छ ।

नेपाली कांँग्रेसले निर्वाचनमार्फत वा महाधिवेशनमार्फत लोकतान्त्रिक संस्कृतिलाई समृद्ध गराउनुलाई मुख्य मुद्दा बनाउनु आवश्यक थियो । लोकतान्त्रिक संस्कृति बेगरको लोकतान्त्रिक पार्टी वा लोकतान्त्रिक व्यवस्थाको कुनै मूल्य हुँदैन । नेपालका सन्दर्भमा नेपाली काँंग्रेस मात्र लोकतन्त्रको लामो इतिहास भएको र अनेक परिवर्तनको नेतृत्व गर्दै जीवित रहेको पार्टी हो भन्नेमा कसैको पनि विमति रहँदैन तर तेह्रौँं महाधिवेशनका केही दिनमात्र बाँकी रहँदासम्म लोकतान्त्रिक संस्कृतिको सानो किरण पनि कांँग्रेसमा देखिएको छैन । बत्तीस सय प्रतिनिधिमध्ये करीब पाँच सयले उम्मेदवारीको तयारी गरिरहेका छन् । त्यसका लागि सबैजसोका सम्पर्क कार्यालय छन् र प्रचार सामग्री भरमार हुँदै गएको छ ।

लाग्छ, यो निर्वाचन नेपाली कांँग्रेस पार्टीभित्रको नभएर अर्को कुनै विपक्षी दलसँग प्रतिस्पर्धा हुँदैछ । उम्मेदवारी होडमा हुनसक्ने खर्चले नेपालमा गरिब तप्काका नागरिकलाई उपचार गर्ने नयाँ प्रविधियुक्त पाँचवटाभन्दा बढी अस्पताल निर्माण गर्न सकिने देखिँदैछ । योभन्दा विडम्बना अरू केही हुँदैन । तैपनि महाधिवेशनले नेपाली कांँग्रेसलाई एकजुट गराउने र विगतमा रहेका अनेक पृथकधारलाई मेट्ने काम गर्नुपर्ने थियो । सुसंस्कृत राजनीति, सभ्य लोकतान्त्रिक शक्ति निर्माण, पारदर्शी आर्थिक सामाजिक व्यवस्था र सुशासनको सन्देश दिनसक्ने बनाउनु पर्ने थियो । नेपाली काँंग्रेस विस्तारै यसबाट पलायन भएको छ । जुन लोकतन्त्रका लागि सुखद सन्देश हुन सक्दैन ।

१९ फाल्गुन २०७२, बुधबार ००:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..